२३-२९ चैत २०७० | 6-12 April 2014

अब माउन्ट के–२

Share:
  
ट्रेकिङमै औंलामा गन्न सकिने महिला गाइड भएको अवस्थामा ओखलढुंगा, पात्लेकी माया शेर्पा (३५) हिमाल चढाउने माउन्टेन गाइड बनेकी छन्।

आफ्ना बुबा पासाङ वाङ शेर्पा ट्रेकिङ गाइड भएकाले सन् २००१ देखि यस क्षेत्रमा आएकी माया शेर्पा २००३ देखि माउन्टेन गाइड छिन्। अरुलाई हिमाल आरोहण गर्न सघाउने माउन्टेन गाइड बन्ने थोरै महिलामा पर्छिन् उनी। “दुई वर्षको ट्रेकिङ गाइड अनुभव पछि बढी जोखिम हुने माउन्टेन गाइड बनेकी हुँ” हिउँसँग खेल्दै हुर्केकी माया भन्छिन्।

२००३ मा सोलुखुम्बुको आमादब्लम हिमालमा विदेशी समूहलाई आरोहण गराएर यो पेशाको श्रीगणेश गरेकी माया त्यसयता पुमोरी, चोयु, बरुन्चे, सगरमाथा, लबुचे, मेरा पिक र किर्गीस्तानको काङतेङ्री हिमालको शिखरमा पुगेकी छन्। काङतेङ्री र आरोहणको लागि अप्ठ्यारो मानिने आमादब्लम पुग्ने पहिलो नेपाली महिला पनि माया नै हुन्।

मायाका अनुसार हिमाल चढ्ने/चढाउने कुरा मान्छेको जीवनसँग जोडिएको हुन्छ। यसका लागि शारीरिक र मानसिक दुवै रुपमा सक्षम हुनुपर्छ। त्यसो त कमैले गर्ने यस्तो साहसिक काममा सफल बन्दा पाइने पारितोषिक र सन्तुष्टि पनि विशेष नै हुन्छ। मायाले हिमाल आरोहणकै क्रममा जीवन साथी पनि पाइन्– नेदरल्याण्डका आर्नोड कोस्टर। आर्नोड पनि क्लाइम्बिङ गाइड हुन्। “उहाँ युरोपका पर्वतारोहीहरु लिएर आउनुहन्छ अनि सँगै हिमाल पुर्‍याउँछौं” आउटवयर ट्रेक्स एन्ड एक्स्पिडिसनकी प्रमुख समेत रहेकी माया भन्छिन्, “पूरै परिवार पर्यटन क्षेत्रमा छौं।”

माया, पासाङ ल्हामु शेर्पा आकिता र दावा याञ्जुम शेर्पाको समूह आउँदो असारमा पाकिस्तानको के–२ हिमाल आरोहणमा जाँदैछ। पासाङ र दावा पनि माउन्टेन गाइड हुन्। अप्ठ्यारो हिमालमा गनिने के–२ अभियान सफल हुने बताउँदै मायाले भनिन्, “त्यसपछि हामी नेपाली महिला माउन्टेन गाइडको नाम अझ्ा चम्किनेछ।”

*ऋषिराम कट्टेल *

comments powered by Disqus

रमझम