काममा विश्वास

Share:
  
- निशा राई
नेपाली तन्नेरीहरूले आत्मनिर्भर बन्न काम गर्ने संस्कार अँगालेका र परिवारको हेरचाह गर्ने दायित्व निर्वाह गरिरहेका उदाहरण भेटिन थालेका छन्।
p53a
 
प्रदीप ।

सात वर्षअघि गुल्मी तुराङबाट प्लस टु सकेर अष्ट्रेलिया जान ठिक्क परेका अशोक बस्नेत 'प्यासिफिक ट्रेडिङ हाउस' भन्ने लिक्विड डिष्ट्रिब्युटर कम्पनीका मार्केटिङ म्यानेजर छन्। त्यसबेला बाबुको मृत्युपछि एक्ली आमालाई छोड्न नसकेर काठमाडौंमै अड्किएका अशोकले चार वर्षपछि विदेश गएका दाजु ऋषिबहादुरलाई समेत फर्काएर आफन्तको पनि सहयोगमा प्यासिफिक ट्रेडिङ हाउस खोले। शुरूदेखि नै मार्केटिङमा लागेका अशोकको मासिक आय रु.५० हजार छ। पैसा भन्दा ठूलो कुरा, उनले व्यापार बुझेका छन्। “अष्ट्रेलिया गएको भए के गरिरहेको हुन्थें, थाहा छैन”, उनी भन्छन्, “तर, नगएर जितेको छु।” 

सात कक्षा पढ्दापढ्दै काठमाडौं आएर एउटा कार्गो कम्पनीमा काम गरेका नवलपरासीका राम अधिकारीले ठमेलमा आफ्नै फास्टवे एक्सपोर्ट एण्ड कार्गो कम्पनी खोलेका छन्। उनी भन्छन्, “रु.३ लाखबाट थालेको कम्पनी अहिले वार्षिक रु.१० लाख कमाउने भएको छ।” ऋण काढेर विदेश गएका रामका साथी त्यहाँ काम गर्न र दाम कमाउन धेरै गाह्रो छ भनेर इमेल पठाउँछन्, राम भने स्वदेशमै आरामले कमाइरहेका छन्। 
p53
 
उत्सव।

प्लस टु सिध्याएका काभ्रे पोखरीचौरी–४ का उत्सव रसाइलीको जीवन विपत्तिबाट उठेको हो। उनका दाजु सुरेन्द्र र दिदी रीना द्वन्द्वमा राज्यपक्षबाट मारिएका थिए। भाग्यवश सिविन नेपालको होस्टेलमा बसेर निःशुल्क पढ्न पाएका उनले त्यसै बेलादेखि र एसएलसी गरेर होस्टेल छाडेपछि पनि ट्युसन पढाएर आफ्नो र घरको खर्च चलाए। जवान छोरा–छोरी गुमाएकी आमा सुन्तली एउटा दशैंमा घर आउँदा उत्सवले तिलहरी ल्याइदिएको सम्झिन्छिन्। केही महीनादेखि एफएम रेडियोमा कार्यक्रम प्रस्तुत गर्न र 'मेरो सिनेमा डटकम' मा रिपोर्टिङ गर्न थालेका उनी भन्छन्, “घरमा पैसा पठाएको दिन बढी आनन्द लाग्छ।”  

मकवानपुर टिस्टुङका राजु कार्कीका सिपालु हातहरू भोटाहिटीको रक एण्ड रोल साइकल स्टोरमा साइकल पुछ्नेदेखि फिटिङ र मर्मत गर्ने काममा तल्लीन देखिन्छन्। काठमाडौंको भीमसेनस्थानमा कोठा लिएर आमा, दाजु र बहिनीसँगै बसेका उनी बुबाको मृत्युपछि कक्षा ९ को पढाइ छोडेर परिवारको जिम्मेवारी सम्हाल्न पुगेका हुन्। बिहान–बिहान चार घन्टा पढाइको लागि छुट्याएर प्राइभेट एसएलसीको तयारी गरिरहेका राजुले ६ महीनाअघि दाजुलाई लागूपदार्थको दुर्व्यसनबाट छुटाउन पुनर्स्थापना गृहमा राख्न रु.३० हजार जुटाएका थिए। उनी भन्छन्, “मेरो लागि काम परिवार धान्ने मेसो, जिन्दगीका रहर पूरा गर्ने र भविष्य बनाउने बाटो हो।”  
 
p52a
 
अशोक ।

काठमाडौंको बालाजु गोलढुङ्गाका मनोज फुँयालले प्लस टु सिध्याएर केही समय जागिर खाएपछि कुखुरा पाल्न थाले। १० वर्षअघि बाबुले १२ वटा चल्लाबाट शुरू गरेको व्यवसायलाई ५००० कुखुरामा पुर्‍याएका उनको दैनिकी बिहान सबेरै कुखुरालाई दाना दिएर शुरू हुन्छ र अण्डा संकलन, बिक्री र पैसाको हिसाब–किताब गरेर बित्छ। “एक चोटिमा रु.५ लाखसम्म नाफा भएको छ”, मनोज भन्छन्, “गोलढुङ्गामा दुईतले पक्की घर बनाउने बुबाको सपना पूरा गरें, बहिनीलाई वर्षको चार लाखको खर्चमा नर्सिङ पढाइरहेको छु। हात बाँधेर बसेको वा जागिरको पछाडि लागेको भए यो सम्भव हुने थिएन।”  

धादिङ नलाङ–२ का तेजबहादुर अर्याल (प्रदीप) फूलको बजारमा होमिएका छन्। २०५८ सालमा एसएलसी दिएर खालीहात राजधानी पसेका प्रदीपले कमाएको ठूलो पूँजी फूलका बिरुवा उत्पादनमा प्राविधिक कुशलता, बजारको ज्ञान र आत्मविश्वास हो। गाउँमा बाबुआमा र पढिरहेका भाइबहिनीको खर्च धानेका उनले पाँच वर्ष अरूको नर्सरीमा काम गरेर सिनामंगलमा आफ्नै लालीगुराँस नर्सरी खोले। अहिले फराकिलो ठाउँ खोज्दै खुमलटार सरेका छन्। पाँच जनालाई रोजगारी दिएका प्रदीपले धादिङमा साझेदारीमा पनि नर्सरी चलाएका छन्। कट फ्लावरको काम गर्न खोजिरहेका उनी भन्छन्, “पूँजी भए निर्यातको लागि फूल उत्पादन गर्ने सीप आर्जन गरेको छु।”  
p52d
विपना।
p52c
सम्झना।
p52b
राम।

काठमाडौं असनमा बस्ने सिन्धुपाल्चोक भोटेचौरकी विपना धिमाल स्नातकोत्तर तहमा अध्ययनसँगै दुई गैर–सरकारी संस्थामा तालिम संयोजकको काम गरिरहेकी छन्। महीनामा रु.१६ हजारभन्दा बढी कमाउने विपना डेरा भाडा, पढाइ खर्च र अन्य आवश्यकता पूरा गरेर उब्रेको पैसा आमाबाबुलाई दिन्छिन्। विपना भन्छिन्, “अहिलेलाई पढाइ र कामको अनुभव मेरो प्राथमिकता हो।” असनमै बस्ने बीबीएस पढ्दै युथ एनजीओ फेडरेशनमा काम गरिरहेकी रामेछापकी सम्झ्ना श्रेष्ठ भाइको र आफ्नो पढाइका लागि आमाबाबुलाई आर्थिक बोझ् दिनु नपरेकोमा सन्तुष्ट छिन्। सम्झ्ना भन्छिन्, “झ्ट्ट हेर्दा पढाइ र जागिर एकअर्कामा बाधक हुने जस्तो लागे पनि यसले प्रतिस्पर्धामा सजिलो बनाउँछ। मलाई जागिरले गर्जो टार्ने पैसासँगै अनुभव र आत्मविश्वास दिएको छ।” 

यी तन्नेरीमध्ये धेरैको व्यवसाय, जागिर र तलबको आकार ठूलो छैन। तर समाजशास्त्री डा. मृगेन्द्रबहादुर कार्की उनीहरूको प्रयासलाई नेपाली समाजमा देखिएको एउटा सुखद संकेतको रूपमा लिन्छन्। उनी भन्छन्, “नेपाली तन्नेरीहरूले आत्मनिर्भर हुन आफैं काम गर्ने बानीलाई संस्कारको रूपमा ग्रहण गर्न थालेका छन्।” 
comments powered by Disqus

रमझम