३० चैत २०७० - ६ वैशाख २०७१ | 13-19 April 2014

बदलियो बुटवल

Share:
  

शब्द/तस्वीरः दीपक ज्ञवाली

६ महीनाको अन्तरमा बुटवल आउने चकित हुन थालेका छन्। कारण हो– द्रुत गतिमा भएको शहरको भौतिक परिवर्तन। शहरमा रु.४० करोडका योजना सञ्चालनमा छन्। ६ लेन सडक, बृहत् खानेपानी आयोजना, बस टर्मिनल, अटोभिलेज सुधार, फोहोरमैला प्रशोधन, बिजुली र सोलार विस्तार जस्ता योजना जारी छन्। शहरको ८२ फिट फराकिलो राजमार्ग वरपरका सबै पुराना संरचना हटिसकेका र तिनका ठाउँमा नयाँ बनिरहेका छन्। भित्री सडक, गल्ली र नाली धमाधम बनिरहेका छन्। यी योजना पूरा हुँदा तीन महीनापछि बुटवल पूरै फेरिनेछ। रेल स्टेशन, सिटी हल जस्ता महत्वाकांक्षी योजनाको चर्चा पनि छ।

कुनै वेला नूनका लागि पहाडबाट घिउ लिएर आउनेहरु बटौली (बुटवल) मा सित्तैंमा जग्गा पाए पनि औलोको डरले बस्न मान्दैनथे। आज यहाँ जग्गाको भाउ आकाशिएको छ। २०५८ मा ७० हजार २५६ स्थायी जनसंख्या रहेको बुटवलमा अहिले यो संख्या १ लाख १८ हजार ४६२ पुगेको छ। अस्थायी समेत गरी यो शहरमा २ लाख २५ हजारभन्दा बढीको बसोबास छ। २०६८ मा उत्कृष्ट नगरपालिका घोषित बुटवलको उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, सञ्चार, अर्थ लगायतका क्षेत्रले फड्को मारेको छ।

comments powered by Disqus

रमझम