३० चैत २०७० - ६ वैशाख २०७१ | 13-19 April 2014

जीवनदाता महिला

Share:
  
- मीना शर्मा
मृत्युको मुखमा पुगेका मानिसलाई मिर्गौला दान दिएर बचाउनेमा महिला अगाडि छन्।

सासू धनमाया श्रेष्ठका साथ बुहारी शोभा श्रेष्ठ।
पाँच वर्ष पहिले दुवै मिर्गौलाले काम गर्न छाडेका काठमाडौं बूढानीलकण्ठका हेमराज श्रेष्ठ (४१) लाई उनकी श्रीमती ज्ञानी श्रेष्ठले मिर्गौला दिएर बचाइन्। श्रीमतीले मिर्गौला नदिएको भए श्रेष्ठले उतिवेलै मृत्युको सामना गर्नुपर्ने थियो। २४ साउन २०६५ मा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण गराएका श्रेष्ठको स्वास्थ्य अहिले सामान्य छ। शिक्षण अस्पतालमा पहिलो मिर्गाैला प्रत्यारोपण भएकाले त्यतिवेला धेरैले भारत जान भनेका थिए। तर, आफूहरूले स्वदेशमै आँट गरेको बताउने श्रेष्ठ नियमित परीक्षण र खानपानमा होशियारीले अहिलेसम्म कुनै समस्या भोग्नु नपरेको बताउँछन्।

श्रीमती श्रेष्ठको पनि स्वास्थ्य राम्रो छ। मिर्गौला दिएर सँगै बाँच्न पाउँदाको खुशी शब्दमा व्यक्त गर्न नसकिने बताउने उनी आफूले चाहेर पनि श्रीमान् बचाउन नसकेर एक्लै बाँचेका धेरै दिदीबहिनी रहेका बताउँछिन्। “म चाहिं भाग्यमानी नै रहेछु”, श्रीमती श्रेष्ठ भन्छिन्, “आफ्नै अंग दिन मिलेकाले श्रीमान्लाई बचाइदेऊ भनेर अरूसँग गुहार माग्नु परेन।”

यस्तै, गत वर्ष मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा श्रीमतीको मिर्गौला प्रत्यारोपण गराएका पाल्पाका हर्षबहादुर राना (३३) अहिले सामान्य अवस्थामा छन््। वैदेशिक रोजगारमा कतार गएका उनी मिर्गौलामा समस्या आएपछि घर फर्केका थिए। नेपालमा प्रत्यारोपण गरिएकामध्ये ६० प्रतिशतभन्दा बढी मिर्गौलादाता श्रीमती छन्। मिर्गौला दिएर छोरा बचाउने आमा, बुहारी बचाउने सासू र दाजुभाइलाई बचाउने दिदीबहिनी पनि छन्। काठमाडौंकी शोभा श्रेष्ठ (४५) लाई सासू धनमाया श्रेष्ठ (६५) ले मिर्गौला दिएर बचाइन्। १७ असार २०६५ मा शिक्षण अस्पतालमा सासूले दिएको एउटा मिर्गौला प्रत्यारोपण गराएकी शोभा भन्छिन्, “आमाले जन्म दिनुभयो, सासूले पुनर्जन्म।”

साउदी अरबमा काम गर्दागर्दै मिर्गौलामा समस्या आएर फर्केका तेह्रथुमका राजकुमार लिम्बू (२५) लाई पनि आमा इन्द्रमाया लिम्बू (६०) ले बचाइन्। २२ चैत २०६८ मा छोरामा मिर्गाैला प्रत्यारोपण गराएकी इन्द्रमाया अहिले आफूलाई संसारकै एक जना खुशी आमा ठान्छिन्। उनी भन्छिन्, “उसलाई सन्चो भएको छ, मेरो लागि योभन्दा खुशीको कुरा के हुन्छ र!” विराटनगरकी सुग्वती सर्दार (६२) ले पनि छोरा अन्तराम सर्दार (४२) लाई मिर्गौला दिएर बचाइन्। २० महीना अगाडि शिक्षण अस्पतालमा आमाको मिर्गौला प्रत्यारोपण गराएका अन्तरामको स्वास्थ्य अवस्था अहिले सामान्य छ। “आमाको जस्तो मन कसको हुन्छ र!” नियमित परीक्षणका लागि काठमाडौं आएका अन्तराम भन्छन्, “मेरी आमाले मलाई दुई पटक जन्माउनुभयो।”

भिन्नाभिन्नै मन

श्रीमती ज्ञानी श्रेष्ठका साथ श्रीमान् हेमराज श्रेष्ठ।
२०६५ सालदेखि मिर्गौला प्रत्यारोपण सेवा शुरू भएको त्रिवि शिक्षण अस्पतालमा अहिलेसम्म २४० जनाले नयाँ जीवन पाएका छन्। तीमध्ये मिर्गौला लिनेमा ७० प्रतिशत पुरुष र ३० प्रतिशत महिला छन् भने दिनेमा ६५ प्रतिशत महिला छन्। मिर्गौला रोग तथा प्रत्यारोपण विशेषज्ञ डा. दिव्यासिंह शाहका अनुसार संसारभरि नै पुरुषलाई बचाउने महिलाको संख्या बढी छ। “पुरुषमाथि पूरै परिवार आश्रित हुने भएकाले सबै मिलेर बचाउन लाग्ने हुँदा मिर्गौला लिने पुरुषको संख्या बढी देखिएको हो”, डा. शाह भन्छिन्।

मिर्गाैला रोग पनि पुरुषलाई बढी लाग्ने गरेको तथ्याङ्कले देखाउँछ। डा. शाहका अनुसार, खानपान र जीवनशैलीका कारण महिलाको तुलनामा पुरुषमा स्वास्थ्य समस्या देखिने गरेको हो। आफ्नो मिर्गाैला दिएर छोराछोरी बचाउने बाबुहरू नभएका हैनन्, तर धेरैजसो पुरुषले चाहेर पनि मिर्गौला दिन सक्दैनन्। “मधुमेह, उच्च रक्तचाप, बढी तौल लगायतका स्वास्थ्य समस्या पुरुषमा बढी हुन्छ”, डा. शाह भन्छिन्, “आफैं रोगी रहेको मानिसले चाहेर पनि अंगदान गर्न सक्दैन।”

मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरमा वैशाख २०६९ देखि फागुन २०७० सम्म भएका ३० वटा प्रत्यारोपणमा २० महिला र १० पुरुष दाता रहेको तथ्याङ्क छ। यसमध्ये मिर्गौला लिनेमा २६ जना पुरुष छन्। केन्द्रका कार्यकारी प्रमुख डा. पुकारचन्द्र श्रेष्ठ अंग दानका लागि पुरुषभन्दा महिला नै बढी तयार हुने बताउँछन्। उनका अनुसार, श्रीमान्लाई बचाउन जति सहज रूपमा श्रीमती तयार हुन्छन्, श्रीमती बचाउन श्रीमान् अग्रसर हुँदैनन्। “श्रीमान् नहुँदा म र बच्चाबच्चीको अवस्था के होला भन्दै श्रीमतीहरू मिर्गौला दिन तयार हुन्छन्, तर श्रीमान्हरू दुवै जना कमजोर भए परिवार कसरी चलाउने भन्दै पन्छिन खोज्नेहरू बढी हुन्छन्”, डा. श्रेष्ठ भन्छन्।

तस्वीरहरूः देवकी बिष्ट
आमा इन्द्रमाया लिम्बूका साथ छोरा राजकुमार।
राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक डा. ऋषिकुमार काफ्ले यस्तो मनोवृत्ति प्रत्यारोपणमा मात्र नभई डायलासिसमा समेत देखिने बताउँछन्। जसले कमाउँछ उसलाई बचाउनुपर्छ भन्ने सामाजिक संरचनागत मनोविज्ञानको प्रभाव उपचारमा पनि देखिने गरेको उनी बताउँछन्। “श्रीमतीको मन पनि कमलो हुन्छ”, डा. काफ्ले भन्छन्, “त्यसमाथि धर्म–संस्कार र सामाजिक मनोविज्ञानको दबाब पनि उनीहरूमाथि परेको हुन्छ।”

गत वर्षदेखि विपन्न, एचआईभी/एड्स, हेपाटाइटिस बी र सी भएकाहरूलाई सरकारले दिएको निःशुल्क डायलासिस सेवा लिन आउनेमा पनि पुरुष बढी छन्। श्रीमतीले घरपरिवार एक्लै चलाएर श्रीमान्लाई उपचार गर्न पठाए पनि कमै श्रीमान्ले त्यस्तो त्याग गर्ने हुँदा महिलाले सेवा उपभोग गर्न नपाएको डा. काफ्ले बताउँछन्। राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा २०७० वैशाखदेखि माघसम्म सेवा लिएका ४०० मध्ये २६७ पुरुष र १३३ जना महिला छन्। त्यस्तै, निदान अस्पताल पुल्चोकमा जेठ २०६८ देखि अहिलेसम्म मिर्गौला दिन मिल्ने वा नमिल्ने भनेर परीक्षण गर्न आएका ३३५ जनामध्ये २६१ महिला र ७४ जना पुरुष छन्।

कानूनी व्यवस्था

मानव शरीरको अंग प्रत्यारोपण सम्बन्धी ऐन, २०५५ मा नजिकका नातेदारले मात्र अंग दिन पाउने प्रावधान छ। यो कानूनले बिरामीका छोराछोरी, आमा–बाबु, दाजुभाइ–दिदीबहिनी, काका, भतिजा–भतिजी, बाबुतर्फको बाजेबज्यै, छोरातर्फका नातिनातिना, छोरीतर्फका नातिनातिना र दुई वर्षदेखि अटूट सम्बन्ध कायम भएका पति–पत्नी, धर्मपुत्र, धर्मपुत्री, सौतेनी आमाबाबु र सासू–ससुरालाई नजिकको नातेदार मान्छ। यो कानून विपरीत मिर्गौला प्रत्यारोपण गर्नेलाई पाँच वर्ष कैद र रु.५ लाख जरिवाना हुने प्रावधान छ।

प्रत्यारोपण केन्द्रका निर्देशक श्रेष्ठ आफन्त नहुनेहरू यो कानूनका कारण पनि धेरै पैसा खर्चेर भारत जान बाध्य छन्। यो कानूनमा संशोधन नभएसम्म बिरामीका निकट मित्र, टाढाका आफन्त वा कुनै उदारमनाहरूले अंगदान गरेर मानिसको ज्यान बचाउने अवसर नपाउने डा. श्रेष्ठ बताउँछन्। “भारतमा नातेदार बाहेकका अंगदाता पनि भरपर्दा छन् र आर्थिक लेनदेन भएको छैन भन्ने प्रमाणित भए अंगदान गर्न पाउने कानून छ”, डा. श्रेष्ठ भन्छन्।

comments powered by Disqus

रमझम