३० चैत २०७० - ६ वैशाख २०७१ | 13-19 April 2014

बदलियो नेपाल, फेरिए नेपाली

Share:
  

पछिल्लो अढाइ दशक अभूतपूर्व राजनीतिक परिवर्तन देखे/भोगेका नेपालीको लवाइ―खवाइ, बसाइ―हिंडाइ, किनाइ―उपभोग गराइ, मनोरञ्जनको तरीका र सोचाइमा पनि त्यस्तै परिवर्तन आएका छन्। सडक तथा हवाई यातायात र संचारको विकासले पहिलेको 'विशाल नेपाल' केही घन्टामा छिचोल्न र केही मिनेटमा खबर आदानप्रदान गर्न सकिने बनेको छ। गाउँहरू विस्तारै साना बजार, साना बजारहरू साना शहर र साना शहरहरु महानगरमा परिणत हुँदैछन्। सबै प्रकारका भौतिक परिवर्तनले नेपालीको सोच्ने, बोल्ने, हिंड्ने लगायत सबै क्षेत्रमा आमूल परिवर्तन ल्याएका छन्।

यस्ता परिवर्तनले काठमाडौं सहित ठूला शहरमा बस्ने मात्र नभएर साना बजार र गाउँमा बस्ने युवालाई पनि विकसित देशका युवाले जस्तै सपना देख्न सक्ने बनाएको छ। विद्यालय शिक्षापछि विदेशका राम्रा कलेज र विश्वविद्यालय पढ्ने अनि अन्तर्राष्ट्रिय जागीर खाएर सम्पन्न जीवन बाँच्ने सपना देख्ने युवाको संख्या बढ्दैछ। यसले आउँदो नेपाली पुस्ता अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने बन्दै गरेको देखाउँछ।

आधा शताब्दीको अन्तरः ५० वर्षअघि र पछि हजुरबुबा स्व. द्वारिकादास श्रेष्ठ र नाति कशिसदास श्रेष्ठले खिचेको राजधानीको बौद्ध स्तूपा। यी तस्वीरहरु राजधानीको दरबारमार्गस्थित सिटी म्युजियममा सार्वजनिक प्रदर्शनीका लागि राखिएका छन्।

आश्चर्यजनक परिवर्तन

चप्पलको साटो जुत्ता, टोपी र दौरा–सुरुवालको साटो प्यान्ट सर्ट लगाउने र काँधमा रेडियोको साटो हातमा मोबाइल बोक्ने अहिलेका नेपालीका भाषा पनि पहिले जस्तो छैन। युवाहरू अंग्रेजी मिसिएको नेपालीमा कुरा गर्न थालेका छन् भने अरू उमेर समूहका पनि पहिले जस्तो आञ्चलिकतामा आधारित नभएर रेडियो र टेलिभिजनको जस्तो भाषा प्र्र्रयोग गर्न थालेका छन्।

गाउँ–गाउँसम्म पुगेको सडकमा सार्वजनिक सवारी साधनहरु उपलब्ध भए पनि मोटरसाइकलमा हुँइकिन रुचाउने युवा उल्लेख्य छन्। हत्तपत्त गाउँ नछाड्ने नेपालीलाई सार्वजनिक र निजी सवारी साधनको वृद्धि, अनेकौं क्षेत्रमा बढेको अवसर र कामले कहिले पूर्व त कहिले पश्चिम पुर्‍याउन थालेको छ। ब्याङ्क, वित्तीय संस्था, राष्ट्रिय अन्तर्राष्ट्रिय संघ–संस्था र वैदेशिक रोजगारीका कारण कमाइ बढेकाले किनमेल, खानपिन, बसाइ लगायतका क्रियाकलापमा उल्लेखनीय परिवर्तन आएको छ। नयाँ कपडा लगाउन दशैं जस्ता ठूला चाड पर्खनुपर्ने अवस्थाको अन्त्य भइसकेको छ। दुई छाकले चित्त बुझाउनुपर्ने अवस्था पार गरेका नेपालीको ठूलो संख्या अहिले दिनमा चार पटक खान थालेका छन्। बसाइको स्तरोन्नति भएर पक्की वा कच्ची जे भए पनि कोठामा बस्ने भएका छन्।

यस्ता परिवर्तनसँगै नेपालीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको छ। सरदर आयु निकै बढेको छ, मातृ र बाल मृत्युदर घटेको छ। दुई दशकअघिसम्म ५० वर्ष नपुग्दै बूढो भएको ठान्ने नेपाली अहिले त्यो उमेरमा पनि युवा महसूस गर्ने भएका छन्। पहिलेभन्दा औसत उचाइ बढेको छ भने अनुहारमा पनि चमक आएको छ।

मानसिक परिवर्तन

घर बाहिर निस्किएर महिला बोल्दा पोथी बासेको भन्ने नेपाली समाजमा अहिले राजनीति, सामाजिक संघ–संस्था, जागीर र व्यापारमा लागेर सफल हुने महिलाको संख्या हजारौं छ। जयस्थिति मल्लले लागू गरेको हिन्दू वर्णाश्रममा आधारित जातीय उँच–नीच घटेर सबै समुदायका मानिस कुम जोडेर हिंड्ने भएका छन्। लिंग, समुदाय, वर्ग वा क्षेत्रजनित हीनता उल्लेखनीय रूपले घटेको छ।

खेती उँभो, जागीर तेर्सो र व्यापार उँधो भनेर खेतीलाई उत्तम, जागीरलाई मध्यम तथा व्यापारलाई अधम मान्ने नेपाली समाज परिवर्तन भएर बन्दव्यापारले महत्व पाउन थालेको छ। जागीर त्यस्तै आकर्षक पेशा बनेको छ भने निर्वाहमुखी परम्परागत कृषिमा पनि धमाधम यान्त्रीकरण हुन थालेको छ। पछिल्लो समय व्यावसायिक कृषि शुरू भएर युवा पुस्ता पनि त्यता फर्कन थालेको छ।

पेशा―व्यवसाय सम्बन्धी सोचमा आएको बदलावले समाजको आधारभूत चरित्रमै परिवर्तन ल्याएको छ। राष्ट्रिय आयमा कृषिको योगदान घटेको छ भने सेवा―व्यवसायको योगदान त्यही मात्रामा बढेको छ। यो यस्तो महत्वपूर्ण समय हो, जसले नेपाललाई सामन्ती समाजबाट पूँजीवादतर्फ हिंडाएको, औद्योगिकीकरणको आधार तयार पारेको र समृद्धिको मार्ग पहिल्याएको छ। यसरी नेपाल बदलिंदा नेपाली स्वतः फेरिएका छन्।

comments powered by Disqus

रमझम