नेपाली यसरी सुन्दर लेख्ने

Share:
  
- वसन्त थापा
भाषालाई सुन्दर बनाउने त्यसको प्रस्तुति, शिल्प र प्रयोगले हो।
p56
 
राजधानीमा हालै सम्पन्न एनसेल नेपाल लिटरेचर
फेस्टिभल मा 'शुद्ध र सुन्दर कसरी लेख्ने' विषयक
छलफलमा बसन्त थापा र साथमा शरच्चन्द्र वस्ती (बायाँ)।
तस्वीर: डम्बरकृष्ण श्रेष्ठ ।

भाषा सललल बग्ने पानी र व्याकरण त्यसलाई नियन्त्रित गर्ने नहर जस्तो हो। कहिले कहिले नहरमा पानी नअटाए जस्तै व्याकरणले सिर्जनालाई रोक्न सक्दैन। मलाई धेरै पछिसम्म 'रु' दीर्घ हुन्छ भन्ने थाहै थिएन। हिमाल द्वैमासिक को सम्पादन गर्न थालेपछि एकजना सहकर्मीबाट दीर्घ पनि हुन्छ भन्ने थाहा पाएँ। त्यस्तै मैले होश पाउँदा पाउँदै भाषामा, व्यावहारिक व्याकरणमा धेरै परिवर्तन आइसकेछ― 'शहर' सहर भइसकेछ, 'लण्डन' लन्डन हुनपुगेछ। तर त्यति हुँदैमा लेख्नेलाई त्यसले छेक्दैन। 

माड्सा'ब अर्थात् मदनमणि दीक्षित ठूला लेखक हुन्। मैले सन् १९७३ मा उहाँको सान्निध्यमा काम गर्ने अवसर पाएको थिएँ समीक्षा साप्ताहिक मा। उहाँका अक्षर गान्धीजीसँग पनि प्रतिस्पर्धा गर्ने खालका छन्। उहाँले 'पनि' लाई जहिल्यै 'पनी' लेख्नुभयो। हामी छाप्ने बेलामा ह्रस्व बनाउँथ्यौं, उहाँले किमार्थ सच्याउनुभएन। तर 'पनि' दीर्घ लेख्दा पनि त्यसले उहाँलाई प्रज्ञा–प्रतिष्ठानको कुलपति र ठूलो लेखक हुनबाट रोकेन। नामुद भारतीय लेखक खुशवन्त सिंहबारे एकपटक ठूलै पत्रकार कुलदीप नायरले लेखेका थिए, “खुशवन्त सिंह राम्रा लेखक हुन्, तर उनको व्याकरण ठीक छैन।” यथार्थ के हो भने, खुशवन्त सिंह ठूला लेखक हुन् कुलदीप नायर केवल पत्रकार। तर्कुले, बर्धने, जोड्ने, छुट्याउने प्रुफरिडिङका काम हुन्। मलाई अहिले पनि थाहा छैन― कारक, समास, अव्यय। शुद्ध लेख्नुपर्छ, कुनै शंकै छैन। व्याकरण आवश्यक छ, जथाभावी हिंड्नुहुँदैन। तर भाषालाई सुन्दर बनाउने त्यसको प्रस्तुति, शिल्प र प्रयोगले हो।  
 
अंग्रेजी भाषाका सामुन्ने हामी पछौटे छौं, हाम्रो शब्द भण्डार थोरै छ भन्ने हामीलाई लाग्छ। तर हाम्रो भाषालाई विशिष्टता प्रदान गर्ने केही गुणहरू छन्। एकपटक लालित्यबारे कविवर माधव घिमिरेले राम्रोसँग बताउनुभएको थियो। ऊ मुसुमुसु हाँस्यो, ऊ कालो कालो थियो (कालो होइन), पानी पर्ला पर्ला जस्तो छ (पर्ला भनिएको छैन)― यस्तो अंग्रेजीमा छैन। अनुकरणात्मक शब्द पनि हाम्रा विशेषता हुन्― प्याच्च बोल्ने, थ्याच्च बस्ने, गुर्लुम्म ढल्ने। बन्दूक पड्किनुलाई हिन्दीमा 'धड्याङ्' र अंग्रेजीमा 'ड्याङ्' भन्छन्, तर हाम्रो भाषाको 'ढ्याङ्' नै त्यो ध्वनिको नजिक जस्तो लाग्छ। 
 
हामी अंग्रेजीका सामुन्ने दबेको अनुभव गर्छौं, आफ्नो भाषाको शक्ति सामर्थ्य नबुझनाले। अहिले यता आएर नेपाली भाषामा ठूलो खतरा पैदा भएको छ― अंग्रेजीबाटै। अंग्रेजीमा नित्य नयाँ शब्द–शब्दावली प्रयोग भइरहेका छन्। हिजो 'स्टेकहोल्डर' भन्ने शब्द अवतरित भयो, हामीले त्यसलाई सरोकारवाला भन्यौं। 'ड्राइभर' भन्ने शब्द आयो; त्यसलाई गुरुजी, चालक त भन्न भएन, सारथि वा त्यस्तै केही भनेर अनुवाद गरियो। अहिले विकासे भाषामा 'एक्टर' भन्ने आएको छ, तर यो अभिनयकर्ता होइन। 'पोलिटिकल एक्टर' लाई के भन्ने? दाताहरूले, विकासे विशेषज्ञहरूले 'एकाउण्टिबिलिटी' हुनुपर्छ भने, नेपालीमा त्यसलाई जवाफदेहिता भनेर अनुवाद गरियो। तर त्यो सरासर गलत र भाषाको विशेषतालाई मार्ने काम हो। 'एकाउण्टिबिलिटी' मा उत्तरदायित्व, जिम्मेवारी पनि निहित हुन्छ। उनीहरूको भाषामा जस्तो एउटै शब्दको हाम्रोमा अभाव छ, तर हाम्रा आफ्नै विशेषताहरू पनि छन्। 
 
उदाहरणका लागि 'सौता' को अंग्रेजी मैले भेटेको छैन। पर्सि, निपर्सि, कानेकोर्सि, पोहोर, परार आदि पनि त्यस्तै हुन्। नातागोता बुझ्ाउने शब्दहरू जस्तै 'भान्दाइ' लाई अंग्रेजीमा के भन्ने? 'प्रयोग' भन्ने शब्दको पनि दुरुपयोग भएको छ। 'आकाशे पुलको प्रयोग गरौं' या 'अर्को ढोका प्रयोग गरौं' भनिन्छ,मानौं त्यो प्रयोगशाला हो। 'अर्को ढोकाबाट आउनुस्', 'आकाशे पुलबाट जानोस्' भने हुन्छनि! अंग्रेजीको 'युज' लाई हामीले सर्लक्कै ल्यायौं र जे पनि 'युज' हुनथाल्यो। नेपाली खुकुरी पनि चलाउन होइन, प्रयोग गर्न थालियो। 
 
अचेल किताब किन्छु, धेरै पढ्दिनँ। भाषाले तान्दैन। लेख्य साहित्यमा त भाषाले तान्नुपर्छ। कथासार मात्रै चाहिने हो भने त बाँदर्नी मैयाँका कथा, सुनकेशरी मैयाँका कथा, राजकुमार दिक्पालका कथा गजब छन् नि! सूक्ष्म वर्णनकै लागि हामीलाई भाषाको लालित्य चाहिन्छ। त्यो अभाव देखेपछि यसो एकदुई पृष्ठ पढ्छु, थन्क्याउँछु।
 
पद्य र गद्य दुवैमा उपमा, उपमेय, रूपकको निकै अभाव देख्छु। भारतीय सिनेमा गाइड मा शैलेन्द्रले क्या गजब उपमा लेखेका छन्― “तेरे मेरे दिलका तय था एक दिन मिलना, जैसे बहार आने पर तय है फूल का खिलना।” कस्तो गजब उपमा! त्यस्ता गीतको, उपमा र उपमेयको हामीकहाँ कमी छ। 
 
व्याकरण र लालित्यकै कुरा गर्दा अरुणा लामाले गाएकोे गीत छ, “यहाँ फूल नखिली छ, बहार आउन नै भुलेछ।” त्यो 'नखिली' भन्ने शब्द मलाई निकै मर्मस्पर्शी लाग्छ। तर त्यसलाई व्याकरणले मान्दैन, 'नखिली' को सट्टा 'फुलेनछ' भन्दा सुहाउँदैन। सिर्जनाका लागि कहिलेकाहीं व्याकरणका पर्खाल भत्काउनुपर्छ।
 
अर्को हामीलाई 'पोलिटिकल्ली करेक्ट' हुनुपर्ने अवस्थाले बिगारेको छ। अचेल 'नारी' लाई नारी भन्दैनन्,स्वास्नीमान्छे र आइमाई त झ्न् भन्नै भएन। महिला आयोग भन्दा त ठीक सुनिन्छ, तर तीजलाई महिलाहरूको चाड भन्दा नारीहरूको चाड भन्दा राम्रो सुनिन्छ नि! कुनै पुरुष स्त्रैण चरित्रको छ भन्नुपर्दा अब के त्यो पुरुष महिला जस्तो छ भन्ने? भोटेकुकुर होइन, हिमाले कुकुर रे! त्यसोभए भोटेताल्चा के हुने? हिमाली ताल्चा? भोटे नुन, हिमाली नुन हुनेभयो। हाम्रो धरानको भोटेपुल पनि हिमाली पुल हुनेभयो। मैले एकपटक हिमाल मा आफ्नो स्तम्भमा अपाङ्गतासम्बन्धी केही लेखेको थिएँ, 'डुँडे' या यस्तै। त्यसमा धेरै प्रतिक्रिया आयो, अपाङ्गलाई हेपियो भनेर। अब 'नहुनुभन्दा कानो मामा राम्रो' भन्ने उखानलाई के भन्ने? 'नहुनु मामाभन्दा एकनेत्र भएको मामा राम्रो' भन्ने? 
 
पश्चिममा कालो वर्णका मानिसलाई 'ब्ल्याक' नभनेर 'नन्ह्वाइट' अर्थात् अश्वेत भन्ने चल्यो। तर अमेरिकामा ओबामा राष्ट्रपति भएपछि आरामले 'ब्ल्याक प्रेसिडेन्ट' भने त। 'ब्ल्याक' लाई ब्ल्याक भन्दा के आपत्ति? 'पोलिटिकल्ली करेक्ट' हुने नाममा भाषाको प्राण हरण गर्नुहुँदैन। हरेक भाषा, शब्दका आ–आफ्नै विशेषता हुन्छन्। 
 
भाषामा नागरिकता पनि खोज्नुहुँदैन। जावेद अख्तरको गीतमा झ्ैं 'पंछी नदिंया पवनके झ्ोकें' जस्तै भाषाको कुनै सरहद हुँदैन। अस्ति मेरो प्रकाशनले झ्लक सुवेदीको किताब छाप्यो, ब्रिटिश साम्राज्यका नेपाली मोहरा भन्ने। एकजना साथीले 'मोहरा त हिन्दी शब्द पर्‍यो नि बसन्तजी' भने। त्यसो होइन। हामी पहिले उर्दू, अरबी, फारसी भाषाका धेरै शब्द प्रयोग गर्थ्यौं। म नै पहिले 'बाबजूद' शब्द धेरै प्रयोग गर्थें, तर पछि छोडें। हामी अहिले शनै शनै त्यस्ता शब्द लखेट्दैछौं। तर अहिले आएर लाग्छ, संप्रेषण भयो, बुझ्िन्छ र हाम्रोमा रत्तिइसकेका छन् भने राख्नुपर्छ। 'अड्डा' भनिन्थ्यो पहिले, अहिले 'कार्यालय' भएको छ। कार्यालय पनि ठीकै छ, तर अड्डालाई नफ्याँकौं।  
 
अंग्रेजीको 'बोस' को नेपालीमा हाकीम जस्तो उपयुक्त शब्द छैन, प्रमुख अधिकृत भनेर पुग्दैन। त्यस्तै 'नायब' भनेको 'उप' पनि होइन, 'सहायक' पनि होइन र 'कायम मुकायम' पनि होइन। नायब भन्ने शब्द नै हराउला भन्ने डर छ। हामीले आफ्नो शब्दभण्डारलाई संकुचित बनाउनुहुँदैन। 'टेन्सन', 'सरी', 'कम्प्युटर' जस्ता कति अंग्रेजी शब्दहरू नेपाली भइसके। अक्सफोर्डले अंग्रेजीमा प्रत्येक वर्ष बाहिरका नयाँ–नयाँ शब्द प्रविष्ट गराइरहेको छ, जसमा कैयौं नेपाली शब्दहरू पनि परेका छन्। 
 
केही व्यक्तिले नेपालीलाई 'खस भाषा' भनेको सुन्दा मलाई जङ् चलेर आउँछ। नेपाली भाषालाई यसअघि धेरै नाम दिइयो। 'पर्वते' पनि भनियो होला। जुद्ध शमशेरको पालाभन्दा अघि 'गोर्खा भाषा' भनिन्थ्यो। गोर्खा भाषा प्रकाशिनी समितिले गोर्खापत्र निकाल्थ्यो। पछि दार्जीलिङमा सूर्यविक्रम ज्ञवालीहरूले नेपाली साहित्य सम्मेलन गरेर 'नेपाली भाषा' भन्न जोड दिएपछि नेपाली भाषा प्रकाशिनी समिति भयो। तपाईंलाई 'नेपाली' भन्न चित्त बुझदैन भने 'गोर्खा भाषा' भन्नुस् न, 'खस' किन भन्नुहुन्छ? यो एक किसिमको राजनीतिक पूर्वाग्रह प्रेरित भावना हो। यद्यपि यस्तो भन्नेहरूको पनि रचना लेख्दा, झ्गडा गर्दा, भाषण गर्दा, सपना देख्दा सबै नेपालीमै हुन्छ; भन्ने बेला चाहिं खस भाषा भन्छन्। यो तौहिन गर्ने काम हो।  
 
अर्को चित्त नबुझ्ेको कुरो― हालसालै मैले कतै पढेको थिएँ, 'नेपाली विमातृभाषी भएर पनि उहाँले यति राम्रो लेख्नुभयो।' यो मलाई नै भने जस्तो लाग्यो र चोट पर्‍यो। म उहाँहरूको दृष्टिमा मगर समुदायको वा अहिलेको भाषामा भन्ने हो भने जनजातिको प्रतिनिधित्व गर्ने व्यक्ति परें, त्यसैले नेपाली मातृभाषी परिनँ, नेपाली भाषा मेरो भएन। अब उहाँहरूले 'तिमी विमातृभाषी भईकन पनि नेपाली राम्रै लेख्दा रहेछौ' भनेको मलाई सह्य हुन्छ? भाषाका खास सन्तान हुँदैनन्, जसले उपयोग र अभ्यास गर्‍यो तिनै हुन् भाषाका सन्तान।  
 
कसैका पिता ब्राह्मण होलान्, माता जनजाति भनिने समुदायकी। अब उनीहरूकोे मातृभाषा के हुने? यसरी मातृभाषाका नाममा हियाउनुहुँदैन। यो भूपी शेरचन, काइँला दाइ (बैरागी काइँला), इन्द्रबहादुर राई, अम्बर गुरुङको अनादर हो। नेपाली भाषा सबैको हो, सबै यसका सन्तान हुन्।  
 
एकपटक हृषीकेश शाहले भन्नुभएको थियो, “के गर्छन् यी बाहुनहरूले, यो नेपाली भाषा त हाम्रो मातृभाषा हो, उनीहरूको त संस्कृत हो।” ब्राह्मण मित्रहरू जो नेपाली भाषालाई आफ्नो मातृभाषा भनेर अभिमान वा गर्व गर्नुहुन्छ उहाँहरूलाई मेरो भन्नु छ― हो तपाईंहरूको मातृभाषा संस्कृत हो, तर नेपाली हामी सबैको भाषा हो। 
 
(एनसेल नेपाल लिटरेचर फेस्टिभलमा थापाले व्यक्त विचारको सम्पादित अंश।)
comments powered by Disqus

रमझम