अवकाशपछि पनि सक्रिय

Share:
  
- रामेश्वर बोहरा
अवकाशपछि पनि सुरक्षा निकायका धेरैजसो पूर्व प्रमुख सक्रिय नै देखिन्छन्।

देबकी बिष्ट
दोस्रो संविधानसभा निर्वाचनका लागि दलहरूले निर्वाचन आयोगमा समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची बुझाउँदा रवीन्द्रप्रताप शाह 'निवर्तमान प्रहरी महानिरीक्षक' भएको १३ महीना पुग्दैथियो। ३० वर्ष प्रहरी सेवामा रहेका उनलाई एकीकृत माओवादीले पछि समानुपातिकतर्फबाट ५४ सभासदमा पनि पार्‍यो।

त्यो वेला शाहले 'दुश्मनका रूपमा आमनेसामने लडेको दलमा आबद्ध भएको' भन्दै आलोचना खेप्नुपर्‍यो भने एमाओवादीमा पनि पार्टीमा योगदान नदिएकालाई सभासद बनाइएकोमा विरोध भयो। तर, शाहले प्रतिक्रिया नजनाएर दुवैतिरका विरोध नसुने झैं गरे। “सक्रिय जीवन विताएको व्यक्ति अवकाशपछि निष्त्रि्कय जीवनमा पुगेको वेला प्रधानमन्त्री र उपप्रधानमन्त्री भइसकेका एमाओवादीका तीन शीर्षनेताले संविधान बनाउने जिम्मेवारीमा लैजान्छौं भनेपछि नाइँ भन्न सकिनँ” शाह भन्छन्, “तर, अहिले एमाओवादीबाट सभासद बनेकोमा भन्दा राजनीतिसँग नमिल्ने मेरो स्वभाव र चरित्रका कारण अप्ठेरो लागिरहेको छ।”

फेरिएको भूमिका

अवकाशपछि राजनीतिमा लाग्ने शाह पहिलो प्रहरी प्रमुख होइनन्। पञ्चायतीकालीन प्रहरी प्रमुख खड्गजित बराल, डीबी लामा, ध्रुवबहादुर प्रधान र माओवादी विद्रोह उत्कर्षमा रहेको वेला प्रहरी महानिरीक्षक रहेका प्रदीपशमशेर जबरा पनि सक्रिय राजनीतिमा लागेका थिए। तर, सशस्त्र विद्रोह गरेको पार्टीसँग जोडिनुले शाहको चर्चा अरूभन्दा बढी भयो।

सेवा अवधिका कारण अवकाशमा गए पनि आफूलाई 'रिटायर्ड' नठान्ने, शारीरिक र मानसिक रूपमा सक्रिय जीवन बाँकी रहेको ठान्ने तथा सक्रिय रहने सोचले पूर्व प्रहरी प्रमुखहरू अवकाशपछि नयाँ भूमिकामा जाने गरेका छन्। अवकाशपछि पाउने निवृत्तिभरणले जीवनका आवश्यकता पूरा नहुने भएकाले कतिपय आर्थिक उपार्जन गर्नुपर्ने बाध्यतामा हुन्छन्। त्यस्तो वेला सेवामा हुँदा हासिल गरेको ज्ञान, सीप र अनुभव उनीहरूका लागि सहयोगी बन्ने गर्छ। शाहभन्दा अघिका प्रहरी प्रमुख रमेश चन्द ठकुरीका निम्ति आर्थिक आर्जन गर्नु अनिवार्य रहेको देखिन्छ।

ठकुरी अहिले शिवम् सिमेन्ट उद्योगको व्यवस्थापन हेर्छन्। प्रहरी सेवाबाट अवकाशपछि पनि 'अन्तरात्माले अवकाश लिने वेला भएको स्वीकार नगरेकोले' त्यो काम गरेको उनको भनाइ छ। ठकुरी भन्छन्, “सेवामा रहँदा प्रशासनिक तथा व्यवस्थापकीय अनुभव रहेको, जनप्रशासनमा स्नातकोत्तर गरेको र वित्तशास्त्र पनि अध्ययन गरेकाले आर्थिक उपार्जन होस् भनेर यो काम गरेको हुँ।”

३० वर्ष प्रहरी सेवामा कार्यरत रहे पनि अवकाश हुँदा पेन्सन नपाउने भएकाले उनका लागि आर्थिक उपार्जन अनिवार्य रहेको देखिन्छ। पदमै रहँदा पनि पछिल्लो डेढ वर्ष उनले तलब पाएनन्। 'सुडान घोटाला प्रकरण' मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि निलम्बनमा परेका उनले विशेष अदालतले मागेको रु.५ करोड आफन्तबाट सापटी लिएर धरौटी बुझाए। ३० वर्ष जागीरपछि पनि पेन्सन नपाएको, भ्रष्टाचार आरोपमा ठूलो रकम धरौटी राख्नुपरेको र आम्दानीको अरू बाटो नभएकाले जागीर गर्नु चन्दको बाध्यता भएको पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह राना बताउँछन्।

बिक्रम राई
नर्भिक अस्पतालस्थित कार्यकक्षमा पूर्व एआईजी राजेन्द्रबहादुर सिंह।

चार महीनाअघि अवकाश पाएका राना भने अझै नयाँ भूमिकामा देखिएका छैनन्। “अहिलेसम्म केही सोच नबनाए पनि सक्रिय जीवनबाट एकैपटक निष्त्रि्कय हुन नसकिने अनुभव भएको छ” राना भन्छन्, “आफूलाई ठीक लागेको गर्दा व्यस्त पनि राख्न सकिने भएकाले केही गर्ने सोच छ।”
सेना र निजामतीभन्दा नेपाल प्रहरीका अवकाशप्राप्त प्रमुख र अन्य वरिष्ठ अधिकारी 'दोस्रो इनिङ' मा देखिने गरेका छन्। २०६३ मा प्रहरी प्रमुखको दाबेदारबाट बाहिरिएर अवकाश पाएका पूर्व एआईजी राजेन्द्रबहादुर सिंह अहिले नर्भिक अस्पतालको व्यवस्थापन हेर्छन्। अर्का पूर्वएआईजी कृष्ण बस्नेत वयोधा अस्पतालको व्यवस्थापकीय जिम्मेवारीमा छन् भने अर्का पूर्वएआईजी गोविन्दप्रसाद थापा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको परियोजनासँग आबद्ध छन्। धेरैजसोले 'कन्सल्ट्यान्ट' को रूपमा काम गरे पनि कैयौं व्यवसायमा लागेका छन्।

सशस्त्र प्रहरी बलबाट अवकाश पाएका अधिकारीहरू पनि नयाँ भूमिकामा देखिने गरेका छन्। त्यस्तामा सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक सनत बस्नेत छन्। धुम्बाराही, काठमाडौंमा केही पूर्व सुरक्षा अधिकारीहरूसँगको साझेदारीमा विपत् व्यवस्थापन पढाउने 'समर्पण एकेडेमी' कलेज खोलेका उनी बेलायतको नर्थह्याम्प्टन युनिभर्सिटीसँगको साझेदारीमा 'नयाँ आयाम मल्टिडिसिप्लिनरी इन्ष्टिच्युट' पनि शुरु गर्ने योजनामा छन्। उनको यो आयोजनामा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु र अन्नपूर्ण पोष्ट दैनिकका लगानीकर्ता रामेश्वर थापा पनि छन्। “अहिले पनि सशस्त्रमा हुँदा जत्तिकै व्यस्त छु” बस्नेत भन्छन्, “केही नगरेको भए मलाई सम्झ्ने कमै हुन्थे होलान्। शुरूमा नयाँ भूमिका गाह्रो भए पनि अहिले सहज भएको छ, युनिफर्म फेरिएर मेरो योगदान कम भए जस्तो लागेको छैन।”

पूर्व प्रधानसेनापतिद्वय रुक्माङ्गद कटवाल (दायाँ) र छत्रमानसिंह गुरुङ सैनिक सेवामा रहँदाका अनुभव समेटिएका पुस्तक लेखनमा व्यस्त छन्।
सेना प्रमुखबाट अवकाश पाएकाहरू भने नयाँ भूमिकामा कमै देखिने गरेका छन्। यसो हुनुमा अवकाश हुँदा उनीहरूको उमेर ६१ वर्ष पुग्ने भएकाले हुन सक्छ। पूर्व प्रधानसेनापति सच्चितशमशेर राणा भने यसको अपवाद हुन्, उनी तत्कालीन राजा ज्ञानेन्द्रको सक्रिय शासनको पक्षमा राजनीतिमा सक्रिय थिए। पूर्व प्रधानसेनापतिद्वय रुक्माङ्गद कटवाल र छत्रमानसिंह गुरुङ भने अहिले संस्मरण लेख्न व्यस्त छन्।

अवकाश पाएका अन्य वरिष्ठ सैनिक अधिकारीहरू चाहिं सक्रिय नै देखिएका छन्। पूर्वरथी बालानन्द शर्मा अवकाशपछि सेना समायोजन विशेष समिति सचिवालयको प्रमुख हुँदै अहिले प्राध्यापन गर्छन् र सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक बस्नेतको 'समर्पण एकेडेमी' मा पनि आबद्ध छन्। छत्रमान प्रधानसेनापति हुँदाका उपरथी दमनबहादुर घले अवकाशपछि त्रिपुरेश्वरस्थित आँखा अस्पतालको व्यवस्थापकीय जिम्मेवारीमा छन्।

उमेर कारण

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख र वरिष्ठ अधिकृतहरू ३० वर्षे सेवा अवधिपछि अवकाश पाउने भएकाले सक्रिय रहनसक्ने उमेर छँदै घर जानुपर्छ। ठकुरी प्रहरी महानिरीक्षकबाट बाहिरिंदा ५४ वर्षका थिए भने बस्नेत सशस्त्र प्रहरी महानिरीक्षकबाट अवकाश हुँदा ५२ वर्षका। “आफूले ठूलो लगानी गरेका व्यक्तिबाट पूरा काम नलिई अवकाश दिने राज्यको नीति खोटपूर्ण छ” एक पूर्व प्रहरी अधिकारी भन्छन्, “यो नीतिले अवकाश जानेमा केही व्यवस्था गर्नुपर्ने गलत सोच विकास गराउने देखिन्छ।”

भारत, अमेरिका लगायतका मुलुकमा भने सेवानिवृत्त सुरक्षा अधिकारीहरूलाई राज्यले 'थिङ्कट्याङ्क' को जिम्मेवारी दिने गरेको देखिन्छ। तर, नेपालमा अवकाशप्राप्त सुरक्षा अधिकारीहरूलाई त्यस्तो जिम्मेवारी दिने चलन छैन। पछिल्लो समय नेपाल प्रहरीका पूर्व एआईजी केशव बराल भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा नियुक्त भएर अपवाद बनेका छन्।


'ज्ञान र अनुभवको सदुपयोग गर्दैछु'

रमेशचन्द ठकुरी,

पूर्व महानिरीक्षक, नेपाल प्रहरी

'अवकाशको वेला भयो' भनेपछि स्वीकार गर्नुपर्ने भए पनि अन्तरात्माले स्वीकार्न नसक्दो रहेछ। मनले 'रिटायरमेन्ट फिल' नगरेसम्म ज्ञान, सीप र अनुभव प्रयोग गरेर व्यस्त बनाउँदा नयाँ इनर्जी आउने भएकाले केही गर्ने मन हुन्छ। त्यसले घर परिवारलाई पनि आर्थिक सहयोग हुन्छ।

३० वर्ष प्रहरी सेवामा रहँदा मसँग प्रशासनिक र व्यवस्थापकीय अनुभव हुने नै भयो। अहिले मलाई आर्थिक रूपमा पनि सहयोग चाहिएको छ। जनप्रशासनमा स्नातकोत्तर गर्दा वित्तशास्त्र पनि पढेको थिएँ, त्यो ज्ञानको सदुपयोग गर्न खोजेको हुँ।

'निष्त्रि्कय जीवन गाह्रो हुन्छ'

रवीन्द्रप्रताप शाह, पूर्व महानिरीक्षक, नेपाल प्रहरी

म राजनीतिक सोच र चरित्रको मान्छे नभएकाले राजनीतिमा फिट हुन्न जस्तो लाग्छ। तर, म आईजीपी हुँदा एमाओवादी नेतृत्वको सरकार भएकाले प्रधानमन्त्री लगायत हाइप्रोफाइल नेताहरूसँग सङ्गत भयो। उहाँहरूलाई मेरो कार्यशैली चित्त बुझेर हुन सक्छ, समानुपातिकतर्फको सभासद बन्न आग्रह गर्नुभो। जसलाई नाइँ भन्न सकिनँ।

अहिले मलाई एमाओवादीबाट सभासद बनेकाले भन्दा पनि फोर्सको अनुशासित जीवनबाट आएकाले कताकता नमिलेको लागेर अप्ठ्यारो भइरहेको छ। निष्त्रि्कय जीवन विताउनुभन्दा सक्रिय जीवन बिताउन आग्रह स्वीकारेको थिएँ। त्यही भएर मैले संविधानसभा/व्यवस्थापिका संसद्को एउटा बैठक पनि छुटाएको छैन।
अवकाशपछि पनि मान्छेमा इनर्जी बाँकी हुन्छ, शारीरिक र मानसिक दुवै हिसाबले राष्ट्रलाई सेवा दिन सक्छु भन्ने आत्मविश्वास हुन्छ। व्यस्त जीवनबाट निष्त्रि्कय जीवनमा पुग्दा उकुसमुकुस हुन्छ। विभिन्न ठाउँमा गएर आफूलाई इङ्गेज राख्न खोज्नुको कारण त्यही हो।

'हिजोभन्दा सक्रिय छु'

सनत बस्नेत,

पूर्व महानिरीक्षक, सशस्त्र प्रहरी

सरकारी सेवाबाट अवकाश पाएपछि आफूलाई निष्त्रि्कय ठान्ने सोच धेरैमा छ। तर म अहिले पनि उत्तिकै व्यस्त छु। चुप लागेर बसेको भए समाजबाट हराउँथें होला। युनिफर्म फेरिए पनि मेरो सक्रियता र योगदान कम भए जस्तो लाग्दैन। समाजका लागि केही गर्नुपर्छ भनेर हिंडेको छु।

अवकाशले हाम्रो जीवनको एउटा चरण परिवर्तन गरेको मात्र हो। हाम्रा अनुभव प्रयोग गर्ने ठाउँ धेरै छन्। राज्यबाट अवसर पाए राम्रो, नपाए पनि केही छैन। आत्मविश्वास महत्वपूर्ण हो।

comments powered by Disqus

रमझम