३० चैत २०७० - ६ वैशाख २०७१ | 13-19 April 2014

स्वाइन फ्लुमा मास्क

Share:
  
- डा. सुमनराज ताम्राकार
बजारमा पाइने साधारण मास्कले स्वाइन फ्लुबाट जोगाउँदैन, र पनि त्यो लगाउनु जरूरी छ।

सडक–गल्लीमा मास्क लगाएर हिंड्नेहरूको संख्याले नेपालमा फेरि स्वाइन फ्लुको त्रास फैलिएको देखाउँछ। यो त्रास साढे तीन वर्ष अघिको जस्तो नभए पनि यसले सरुवा रोगप्रति जनचेतना बढेको देखाउँछ। मौसम परिवर्तनसँगै लागेको रुघाखोकीसँग स्वाइन फ्लुका लक्षण मिलेको समाचारले पनि मास्क लगाउनेको संख्या बढाएको हो। मास्कले स्वाइन फ्लुबाट नजोगाए पनि यसको फाइदा द्विविधापूर्ण छ।

अहिले सन्त्रास फैलाइरहेको स्वाइन फ्लुको विषाणुको आकार ०.०८–०.१२ माइक्रोमिटर (माइक्रोन) व्यासको हुन्छ। अलि राम्रो खालको मास्कले ०.३ भन्दा ठूलो तत्वलाई मात्र फिल्टर गर्न सक्छ। मोटरसाइकल चलाउँदा, बाटोमा हिंड्दा धूलो, धूवाँ एवं साधारण रुघाखोकीबाट बच्नको लागि भने यस्तो मास्कले धेरै सहयोग पुर्‍याउँछ। संक्रमित र संक्रमणबाट जोगिन चाहने व्यक्तिले साधारण नै भए पनि मास्क लगाउनुपर्छ। मास्क लगाएपछि त्यसलाई पटक–पटक छोइराख्नुहुँदैन।

जोगिने उपाय

कुनै पनि रोग लागिसकेपछिको उपचारभन्दा त्यो रोग लाग्नै नदिनु जाती कुरा हो। मानिसमा संक्रमित हुने विषाणुहरू हात, कागज र काठमा ८ घण्टासम्म र प्लास्टिक तथा धातुमा ४८ घण्टासम्म जीवित रहन्छ। त्यसैले संक्रमितले चलाएका वस्तुहरूको राम्ररी सरसफाई गर्नुपर्छ। संक्रमण फैलिएको वेला स्कूल, सिनेमा हल, ब्यारेक, होस्टेल, सार्वजनिक यातायात लगायतका हूलमूल हुने ठाउँमा जाँदा सतर्कता अपनाउनुपर्छ। नाक, मुख, आँखा छोइराख्नुहुँदैन। खोक्दा, हाच्छिउँ गर्दा मुख छोप्नुपर्छ। राम्ररी पकाइएको खानेकुरा खानुपर्छ। साबुनपानी वा स्पिरिटले पटक–पटक हात धुनुपर्छ।

सुँगुरमा पाइने एक प्रकारको भाइरसबाट स्वाइन फ्लुको महामारी फैलन्छ। पाँच वर्षभन्दा मुनिका बालबालिका, ६५ वर्षभन्दा माथिका वृद्धवृद्धा र मधुमेह, रक्तचाप, मिर्गौला, फोक्सोका रोगी एवं शरीरको प्रतिरोधात्मक क्षमता कम भएका अन्य जोसुकैलाई स्वाइन फ्लु लाग्ने बढ्ता सम्भावना हुन्छ। स्वाइन फ्लुको लक्षण देखा पर्नुभन्दा २४ घण्टा अघिदेखि ८ दिन पछिसम्म संक्रमित व्यक्तिले अन्यलाई सार्ने सम्भावना हुन्छ। त्यसैले, शंकास्पद वा संक्रमित व्यक्ति अस्पताल वा घरमै बस्नुपर्छ। समयमै ट्यामी फ्लु वा रेलेन्जा नामक एन्टी भाइरल औषधि खाएमा संक्रमण बढ्ने गति र रोगको जटिलता घट्छ।

ए, बी र सी भाइरसमध्ये सुँगुरमा ए प्रकारको भाइरस पाइन्छ। स्वाइन फ्लु एचवान एनवान भाइरसले गर्दा हुने संक्रमण हो। एचवान एनवान भाइरस मुख र नाकको माध्यमबाट मानिसको शरीरमा पस्छ। भीडभाडमा स्वाइन फ्लुको भाइरस चाँडै फैलिने खतरा हुन्छ। स्वाइन फ्लु लाग्दा सामान्य रुघाखोकीमा जस्तै ज्वरो आउने, कम्पन छुट्ने, घाँटी–जीउ दुख्ने, आलस्य हुने आदि लक्षण देखिन्छ। यसको अलावा पेट दुख्ने, पखाला लाग्ने पनि हुन सक्छ। रगत कल्चर गरेर वा पीसीआर प्रविधिबाट स्वाइन फ्लु संक्रमण छ, छैन निर्क्योल गरिन्छ।

स्वाइन फ्लुको भाइरस प्रत्यक्ष सम्पर्कबाट पनि सर्ने हुनाले पटक–पटक साबुनपानीले हात धुने वा अस्पताल वा स्वास्थ्य निकायमा काम गर्ने व्यक्तिले स्पिरिटले हात पुछिराख्ने बानी बसाउनुपर्छ। भाइरसले आफ्नो स्वरुप नबदलेसम्म एकै व्यक्तिमा स्वाइन फ्लु संक्रमण दोहोरिने सम्भावना हुँदैन। स्वाइन फ्लुको महामारी होस् या अरू वेला, त्रासले होइन संयमले काम गर्नुपर्छ। आफ्नो वरिपरि संक्रमण फैलिएको शंका लागेमा सम्बन्धित निकायमा तत्काल खबर गरिदिनुपर्छ।

comments powered by Disqus

रमझम