मलाई चाहिं त्यो मजलिस घरले मोह लगाएर राखेको छ, किनभने मेरो बुद्धि–विकासको जग नै त्यहीं बसेको हो। १९९४ सालको फागुनमा दाजुले मलाई स्कूलमा भर्ना गर्न ल्याउँदा त्यसै घरमा ल्याएर बुझाउनुभएको थियो। मेरो दरबार स्कूल प्रवेश त्यसै स्थलमा भयो। मेरो 'क्लासरूम' त्यस वर्ष त्यसै भवनको तल्लो तला उत्तरपश्चिमपट्टिको कोठामा परेको थियो।
यति बेलिविस्तार लगाएर यी कुरा म ऐले किन भनिरहेछु? पढ्नेहरूलाई पनि खुलदुल लाग्यो होला। खुलाएरै भन्नुपर्छ। २०७१ साल लाग्नुभन्दा केहीअघि हिमाल खबरपत्रिकाका सम्पादकजीले मलाई भेटेर भन्नुभयो, “दादाजी, केही वर्ष पहिले पाक्षिक हिमाल मा तपाईंले यौटा स्तम्भ चलाउनुभएको थियो केही समय। अब फेरि कुनै स्तम्भ चलाउने हैन?” कुराकानी लामै चल्यो अनि हामी 'चलाइहेरौं न त केही महीना फेरि' भन्ने टुङ्गोमा पुग्यौं। सम्पादकजीले मलाई पूर्ण स्वतन्त्रता दिनुभयो नाम, विषय इत्यादि छान्ने कुरामा। खुलासा यत्ति हो।
अब मेरो तोक
यो स्तम्भ 'व्यक्तिवादी' हुनेछ। यसमा 'म' ठाडै आउनेछ, लुकेर, 'यो स्तम्भकार' वा 'यस पंक्तिका लेखक' भएर होइन। विषयमा राजनीति आउने छैन किनभने ऐलेको राजनीतिक गतिविधि मैले बुझनै सकेको छैन। राजनीति नआए पनि यस स्तम्भमा राजकाज भने आउला। त्यो भनेको राणाकालका कुरा। मैले सम्झेसम्म राणाकालमा राजनीति भन्ने शब्द बोलचालमा पसेकै थिएन। ऊ वेला श्री ३ या श्री ५ ले गर्ने काम, सरकार चलाउने कुराहरू सबै 'राजकाजी कुरा' अन्तर्गत आउँथे। यो स्तम्भमा पुराना कुराकै पौल रहोस् भन्ने मेरो प्रयास हुनेछ। इतिहास इतिहासै भएर आउने छैन। आइहाले ती संस्मरण भएर झुल्कने छन्। भूगोल आउला तर त्यो पनि काठमाण्डू उपत्यकाभन्दा टाढा जाने छैन भन्ठान्छु, किनभने यो चारभञ्ज्याङ काटेर म २०१५ सालपछि मात्र घुमेको हुँ।
यही मजलिस घरकै कुरा गरूँ न। त्यो कहाँ थियो? काठमाण्डूको केन्द्र, टुँडिखेलसँगै कुम जोरेर खडा थियो त्यो। काठमाण्डू आफैं पनि काठमाण्डू थिएन, 'नेपाल' थियो। चापागाउँ नाघेर लेलेसम्म पुग्दा मलाई नै गाउँलेले “नेपाला'ट आ'का” भनेको सम्झ्न्छु। हो, त्यसवेलाको 'नेपाल' को यौटा 'ल्यान्डमार्क' थियो त्यो मजलिस घर, धरहरा, घन्टाघर र दरबार स्कूल जस्तै।
वीरशमशेरको शासनकालमा बेलाइतको एक जना फोटोग्राफर नेपाल आएर काठमाण्डू उपत्यका वरिपरिका फोटोहरू खिचेको थियो। उसले खिचेका फोटोहरूको एउटा याल्बम चन्द्रशमशेर महाराजको प्राइभेट लाइब्रेरीमा थियो। पछि त्यो याल्बम मदन शमशेर र रानी जगदम्बाहुँदै मदन पुरस्कार पुस्तकालयको फोटो अर्काइभमा आइपुगेको छ। त्यसमा यौटा फोटो त्यसवेलाको मजलिस घरको पनि मैले देखेको छु। फोटोमा मजलिस घर दरबार स्कूलभन्दा छुट्टै उभिएको देखिन्छ। अहिले पनि खडै छ त्यो मजलिस घर, तर दरबार स्कूलसँग जोडिएर। यो कसरी भयो भनेर मैले बुझ्ेको कुरो 'शिक्षक' मासिकको फागुन २०६९ को अंकमा लेखेको छु। कसैलाई चाख लागे पढे हुन्छ।
(यस लेखको शीर्षक 'मजलिस घरबाट' कै नाममा अबदेखि प्रत्येक १५ दिनमा दीक्षितको स्तम्भ प्रकाशित हुनेछ। – सं.)