३० चैत २०७० - ६ वैशाख २०७१ | 13-19 April 2014

सिम्माको आगमन

Share:
  

जाऊ तिमी संसार हेर्न, जहाँ जहाँ छन् सपना तिम्रा

त्यहीं त्यहीं पुग तिमी, उड तिमी उड तिमी

उड तिमी चरा भएर...

बिक्रम राई
श्रवण मुकारुङको शब्द र न्ह्यू बज्राचार्यको संगीतको यो गीतसँगै नेपाली गायन क्षेत्रमा सिम्मा राई (२६) को आगमन भएको छ। इन्टरनेटमा साउन्ड क्लाउडमा सुन्न सकिने यो गीत जस्तै सिम्मा संगीत आकाशमा उड्न तयार छिन्।

समाजशास्त्रमा स्नातकोत्तर गरिरहेकी पेशाले कम्प्युटर इन्जिनियर सिम्मा पहिलो पटक १० वर्षअघि स्कूलस्तरीय गायन प्रतिस्पर्धामा प्रथम भएकी थिइन्। प्लस टु पढ्दै गर्दा भएको अन्तर कलेज प्रतिस्पर्धामा पनि उनी प्रथम भइन्। पुराना नेपाली, हिन्दी गीत गाउने र अरुको क्यारिकेचर गर्ने स्कूल पढ्दाको सोखले गायनतर्फ तानेको सिम्मा बताउँछिन्। “आशा भोश्लेको जस्तै आवाज र हाउभाउमा गाउँदा अरुले मन पराएपछि गाउन सकिएला जस्तो लागेको थियो”, उनी भन्छिन्।

अहिले उनको पूरा ध्यान संगीतमा छ। पियानो बजाउन सिकिरहेकी सिम्माले राजधानीका केही रेस्टुरेन्टमा एकल प्रस्तुति दिइसकेकी छन्। अरुका नेपाली, हिन्दी, अंग्रेजी र ज्याज गाइरहेकी सिम्माको आफ्नै गीत भने 'उड तिमी...' मात्रै हो। शास्त्रीय गायनको कक्षा समेत लिइरहेकी उनी दुई वटा नयाँ गीत रेकर्डको तयारीमा छन्। सिम्मा भन्छिन्, “अब गायनमै 'करिअर' बनाउने हो।”

यु ट्युबमा गितार बजाउँदै अंग्रेजी गीत गाइरहेको देखिने सिम्माका नारायणगोपाल, अरुणा लामा, शान्ति ठटाल र सुक्मित गुरुङ नेपाली आदर्श हुन्।

अनुशील

comments powered by Disqus

रमझम