साहित्यिक सरगर्मी

Share:
  
- अनुशील
केही युवाको निजी प्रयासमा शुरू भएको साहित्यिक महोत्सवले सुस्ताएको नेपाली साहित्य क्षेत्रलाई तरंगित बनाइदिएको छ।
r2
 
दर्शक दीर्घामा साहित्यकारको भीड ।
तस्बीरहरुः डम्बरकृष्ण श्रेष्ठ

नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा 'दि बुकवर्म ट्रष्ट'ले ४–७ असोजमा राजधानीमा आयोजना गरेको दोस्रो 'एनसेल नेपाल लिटरेचर फेस्टिभल' नेपाली साहित्य क्षेत्रका लागि महत्वपूर्ण रह्यो। यही समूहले गत वर्ष गरेको यस्तै महोत्सवले पनि नेपाली साहित्य बजारलाई पुनर्ताजगी दिएकै थियो। यस्ता सफलता र अनुभवबाट हौसिएका आयोजक आउँदो वैशाखमै पोखरामा अर्को साहित्यिक महोत्सव गर्ने तयारीमा जुटिसकेका छन्। 

महोत्सवमा नेपाल र भारतका चर्चित लेखक, कवि, समाचोलक र पत्रकारहरूले आफ्ना पाठकसँग आमने–सामने बसेर अनुभव साटासाट र विचार आदान–प्रदान गरे। महोत्सवमा छलफल सत्र नै ४४ वटा भए– नेपाली भाषा, साहित्य, कला, पत्रकारिता, समाज र अर्थतन्त्र सम्बन्धी। यस्ता छलफलसँगै चारै दिन समानान्तर रूपमा चलेका पुस्तक लोकार्पण कार्यक्रमहरूमा पनि लेखक–पाठक सम्वाद चलिरह्यो। नेपाली साहित्य केन्द्रित प्रकाशन संस्था र पाठकको संख्या बढिरहेको अवस्थामा लेखकहरूसँग प्रत्यक्ष सम्वाद हुनु आफैंमा महत्वपूर्ण थियो। महोत्सवमा नेपाली पाठकले चर्चित भारतीय लेखकहरूसँग पनि अन्तरङ्ग सम्वाद गरे।  
 
उपयोगी छलफल–बहस 
स्थानीय पाठकमा पुस्तक मोह जगाउँदै नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय आयाम दिने मुख्य उद्देश्य बोकेको 'एनसेल नेपाल लिटरेचर फेस्टिभल' मा नेपाली मिडिया र समाजदेखि सिनेमा र अर्थतन्त्रसम्मका विषयमा निकै उपयोगी छलफल भए। यस हिसाबले पनि बढी परिष्कृत र बृहत् मानिएको यसपटकको महोत्सवमा साहित्यलेखनका सुख–दुःख, द्वन्द्वमा साहित्य, आत्मलेखन–आत्मलाप, आञ्चलिक स्वाद, गजल, नारी चिन्तन, बाल साहित्य, भाषा, शुद्ध–सुन्दर लेखाइदेखि कविता शक्तिसम्मका विषयमा आयामिक विमर्श भए। यस अन्तर्गत 'सन् १९९० पछिको नेपाली समाज', 'इतिहासको पुनर्लेखन', 'अर्थतन्त्रका तीन आधार', 'हाउ मिडिया टक्स टु अस', 'न्यू मिडिया', 'नाटक जारी छ', 'नेपाली सिनेमामा नायिका छनोटको आधार' जस्ता शीर्षकमा आएका सम्बन्धित क्षेत्रका अनुभवीहरूका विचारोत्तेजक भनाइहरू सबैका लागि साँच्चै उपयोगी थिए।  
 
r3
 
छलफलमा सहभागी आउट लूक साप्ताहिकका प्रधान
सम्पादक विनोद मेहता र नेपाली टाइम्स का
सम्पादक कुन्द दीक्षित। 

१७ वर्ष आउटलुक पत्रिकाका सम्पादक रहेका विनोद मेहता र भारतीय लेखकद्वय अमित त्रिपाठी र अद्वैता कलाले नेपाली पाठकसँग रमाइलो गरी अनुभव साटे। मेहतासँग कुन्द दीक्षितले सोधेको आउटलुक अनुभव नेपाली सञ्चारकर्मीहरूका लागि निकै रोमाञ्चक रह्यो। सम्पादकहरू किशोर नेपाल, सुधीर शर्मा, अजयभद्र खनाल र नारायण वाग्लेले नेपाली मिडियाबारे खुलेर छलफल गरे। शुद्ध नेपालीसँगै लेखकीय शैली तथा अनुवादका बारेमा खगेन्द्र संग्रौला, बसन्त थापा, शरच्चन्द्र वस्ती र मोहन मैनाली आदिको छलफल निकै उपयोगी थियो। हिमाल का सम्पादक किरण नेपालले पूर्व अर्थमन्त्री डा. रामशरण महत र विश्लेषक झ्लक सुवेदीसँग चलाएको 'अर्थतन्त्रका तीन आधार' शीर्षकको बहसमा आर्थिक भविष्यप्रतिको नेपाली आशा र निराशाका धेरै पहलुहरू खुले। प्रा. चैतन्य मिश्र, स्तम्भकारद्वय विश्लेषक सीके लाल र अजय दीक्षित तथा राजनीतिकर्मी घनश्याम भुसालबीचको नेपाली समाजको रूपान्तरण बारेको बहस निकै रोचक रह्यो।  

r4
 
साहित्यकार श्रवण मुकारुङ,
सरुभक्त र शारदा शर्मा ।

महोत्सवमा मनप्रसाद सुब्बाको उपस्थितिले प्रवासी नेपाली साहित्यको प्रतिनिधित्व गर्‍यो भने सरुभक्त, गणेश रसिक, मनुमञ्जिल, रमेश क्षितिज, सीमा आभासको सहभागिताले नेपाली मोफसलको। वरिष्ठ हुन् कि कनिष्ठ, राजधानीमै बस्ने कवि–साहित्यकारहरू त झ्न् छुट्ने कुरै भएन।  

यस्ता 'फेस्टिभल'हरूले नेपाली साहित्यको दायरा र गुणस्तर उकास्नेमा सन्देह छैन। पठन संस्कृति र साहित्य प्रबर्द्धनका साथै विश्वमा नेपाली साहित्य चिनाउने बौद्धिक मन्थन हुने यस्ता गतिविधिमा राज्यले विशेष ध्यान दिनुपर्ने कुरामा दुईमत हुन सक्दैन। आयोजक संस्थाका उत्साही युवकहरू सहयोगको याचना गर्दै संस्कृति मन्त्रालय नपुगेका भने हैनन्। तर, राजनीतिक गञ्जागोलमा अल्झेको सरकारलाई कला–साहित्यको प्रबर्द्धन गर्ने फुर्सद नभएको बुझन सकिन्छ।  
comments powered by Disqus

रमझम