खप्तडका तीन अनुहार

Share:
  
- दीर्घराज उपाध्याय
सुदूरपश्चिमको भूस्वर्ग मानिने खप्तडको अनुहार हरेक मौसममा परिवर्तन हुन्छ।

खप्तडलाई सुदूरपश्चिमको भूस्वर्ग मानिन्छ। स्थानीय भाषामा '२२ पाटन, ५२ झोतीको संगम' भनिने खप्तड भौतिक सुविधा नभएर पनि विदेशीको रोजाइमा पर्नुको कारण त्यही हो।

यात्रा केही कठिन भए पनि खप्तड पुगेपछि बाटोको थकान बिर्सिइन्छ। हिउँदमा हिउँले पुरिने यहाँ टाढासम्म कोणधारी वृक्ष देखिन्छन्। डाँफे लगायत चराहरूको चिरबिरले वातावरणलाई अरू मनमोहक बनाउँछ।

धार्मिक महत्व

द्वापरयुगमा पाण्डवहरू खप्तडहुँदै स्वर्ग गएको किंवदन्ती छ। यसलाई १८ पुराणमध्येको स्कन्द पुराणमा खेचराद्रि पर्वत भनिएको छ। पछि 'खप्तड बाबा' ले यहीं बसेर धर्म विज्ञान, विचार विज्ञान लगायत ११ भन्दा बढी जीवनोपयोगी पुस्तक रचना गरे। गंगा दशहरा मेलामा स्नान गर्दा मोक्ष पाइने र सोचेको पुग्ने विश्वासमा जेठमा यहाँको त्रिवेणीमा ठूलो मेला लाग्छ।

यहाँ रहेका सहस्र लिंग, केदार ढुंगा, नाग ढुंगा, खापर दह पनि हिन्दू धर्मावलम्बीबीच चर्चित छन्। जसको प्रचार हुने हो भने भारतीय पर्यटक आउन सक्छन्।

जेठ, असार र साउनमा खप्तडका पाटन रंगीचंगी भुईंफूलले ढाकिएका हुन्छन्। असोज, कात्तिक, मंसीर, पुस, माघ र फागुनमा हिउँले छोपिन्छ। फागुन, चैत र वैशाखमा यहाँ सात थरी लालीगुराँस फुल्छन्।

यहाँको डाँफे कोट र भ्यु–टावरबाट भारतको नन्दादेवी हिमालदेखि दार्चुलाको अपि, बझ्ााङको सैपाल र बाजुराको बडीमालिका देखिन्छन्। यहाँ हिउँदमा स्की खेल्न र अरू वेला गल्फ खेल्न मिल्ने फराकिला मैदान छन्। दुवै खेल खेल्ने व्यवस्था मिलाउने हो भने धेरै पर्यटकलाई यहाँ ल्याउन सकिन्छ।

रारा जाने बाटो

खप्तड हुँदै नेपालको सबैभन्दा ठूलो रारा (मुगु) पुग्ने पर्यटकीय रुट खुलेकाले यसको महत्व अरू बढेको छ। गत फागुनको अन्तिम साता पहिलोपटक रूसी नागरिक अलेक्जेन्डर नेतृत्वको टोली खप्तडहुँदै दश दिनमा रारा पुगेको थियो, जर्मन टोली पनि चैत तेस्रो साता यही बाटोबाट रारा पुग्यो।

यहाँ दुर्लभ मानिने खस्रे भ्यागुता, बझाङी पा र हरियो छेपारो पाइन्छन्, खानासाथ मानिस मर्ने कालकूट वनस्पति पनि पाइने यस ठाउँमा अमृत भनिने पाँचऔंले र क्यान्सरको औषधि लौठ सल्ला पनि पाइन्छ। लौठ सल्लाको एक लिटर तेलको अन्तर्राष्ट्रिय मूल्य २५ हजार डलरभन्दा बढी छ। दाँत माझ्ने टुथपेष्टमा प्रयोग हुने वज्रदन्ती, चियामा प्रयोग हुने र पेटका अधिकांश रोग निको पार्ने सुनजाइ नामको वनस्पति पनि यहाँ पाइन्छ। सुनजाइको बजार मूल्य रु.४ हजार प्रति केजी छ। यहाँ दुई सय प्रजातिका चरा, १२५ जातका जडीबुटी र ५६७ प्रजातिका वनस्पति पाइन्छ।

कसरी पुग्ने खप्तड

डोटीको सिलगढी, अछामको चौखुट्टे र साँफे, बझाङको तमेल र बाजुराको काँडा भएर खप्तड पुगिन्छ। तर, डोटीको सिलगढीहुँदै जाने बाटो पर्यटकका लागि सबैभन्दा सजिलो हुन्छ।

काठमाडौंबाट हवाई वा सडक मार्गबाट धनगढी जानुपर्छ। काठमाडौं―धनगढीको एकतर्फी हवाई भाडा रु.६ हजारदेखि रु.११ हजारसम्म छ भने बसमा रु.११०० देखि रु.१६०० सम्म लाग्छ।

धनगढीमा एकरात बस्न होटलमा रु.३०० देखि रु.३००० सम्मका कोठा पाइन्छन्। भोलिपल्ट बिहान धनगढीबाट रु.३५० तिरेर बसमा चढ्ने हो भने ६ घन्टापछि सिलगढी पुगिन्छ।

सिलगढीमा रात बिताएपछि भोलिपल्ट बिहान शान्तिनगरसम्म जीपमा डेढ घन्टा यात्रा गर्नुपर्छ। त्यसपछि पैदलयात्राबाट तीन घन्टामा नाचन्थलीहुँदै बगलेक पुगिन्छ। बगलेकबाट खप्तडको बेसक्याम्प झ्िाग्राना पुग्न दुई घन्टा लाग्छ। त्यहाँ चिया तथा खाना पाइने होटल र खप्तड राष्ट्रिय निकुञ्जको सुरक्षा गर्न राखिएको नेपाली सेनाको पोष्ट छ।

झिग्रानाबाट पाँच घन्टा ठाडो उकालो चढेपछि बीचपानी पुगिन्छ, जहाँ निकुञ्जका कर्मचारी सुरेन्द्र बोगटीले चलाएको होटल छ। तर, त्यो होटलमा राति १२ जनालाई मात्रै सुत्ने ठाउँ छ। भोलिपल्ट त्यहाँबाट तेर्साे बाटोमा चार घन्टा हिंडेपछि खप्तडको पहिलो पाटन बुकीदह पुगिन्छ, जुन हिउँदमा बाक्लो हिउँले ढाकिएको हुन्छ। अरू वेलामा भने त्यो दहमा बुकीफूल देखिन्छ। त्यहाँबाट डेढघन्टा हिंडेपछि सैनिक गुल्म, निकुञ्ज कार्यालय र गेष्टहाउस भएको खप्तड पुगिन्छ।

खप्तडमा २० जनालाई मात्र सुत्ने ठाउँ छ। तर, टेन्ट लैजाने हो भने बाहिरै पनि बस्न सकिन्छ। नेपालको अग्लोमध्येको एक छहरा भेलछडो पुग्न त्यहाँबाट एक दिन लाग्छ भने केदार ढुंगा, सहस्र लिंग, खप्तड दह, भ्यू टावर, डाँफे कोट, खप्तड बाबा आश्रम लगायत सबै ठाउँ घुम्न तीन दिन छुट्याउनुपर्छ।

काठमाडौंबाट आउने पर्यटकले १० दिनमा खप्तड घुमेर फर्कन सक्छन्। जसका लागि एक जनालाई करीब रु.३० हजार चाहिन्छ।

comments powered by Disqus

रमझम