७-१३ वैशाख २०७१ | 20-26 April 2014

खाँचो एकता र पहलको

Share:
  

काठमाडौंको उपेक्षासँगै गरीबी र पछौटेपनको पर्यायका रूपमा चर्चा हुने गरेको सुदूरपश्चिमको यस्तो परिचय बदल्न यो क्षेत्रका अगुवा र व्यवसायीहरू जुर्मुराएका छन्। यो क्षेत्रलाई 'समस्याको थलो' हैन 'सम्भावनाको खानी' का रूपमा चिनाउन उनीहरूको प्रयास प्रभावकारी पनि हुँदैछ। यसै सन्दर्भमा पर्यटन, जलस्रोत र कृषिमा अपार सम्भावना बोकेको सुदूरपश्चिमलाई समृद्धितर्फ डोर्‍याउने उपाय के–के हुन सक्छन्? भन्ने मूल विषयको सेरोफेरोमा साप्ताहिक हिमाल खबरपत्रिकाले धनगढीमा आयोजना गरेको छलफलमा पर्यटन व्यवसायी, उद्योगी–व्यापारी र सरोकारवालाहरूले राखेका भनाइको सारसंक्षेपः

तस्वीरहरुः बिक्रम राई
यो क्षेत्रलाई सुदूरपश्चिम किन भनियो? सुदूरपूर्व छैन भने सुदूरपश्चिम कसरी भयो?

गोपाल हमाल, सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ

नेपाल एकीकरणका क्रममा निकै पछि मात्र एकीकरण भएको क्षेत्र हो, यो। राणाकालभरि यो शासकले बिर्ता बाँड्ने क्षेत्र मात्र बन्यो। केन्द्रको यस्तो धारणाबाट सुदूरपश्चिम नाम रहन गयो अनि काठमाडौंबाट धेरै टाढा रह्यो। काठमाडौंले यो क्षेत्रलाई 'सुदूरपश्चिम' भन्दै यहाँ अभाव, छाउपडी, देउकी, एचआईभी/एड्स मात्र छ भन्ने किसिमले चर्चा गरिरह्यो। १० हजार मेगावाट क्षमताको कर्णाली, ७ हजार मेगावाटको पञ्चेश्वर परियोजना, सेती, सुन्दर हिमाल, वनजंगल, प्राकृतिक स्रोत र पर्यटकीय सम्भावनाको कुरै गरिएन। केही वर्षअघि कैलाली उद्योग वाणिज्य संघले काठमाडौंमा 'सुन्दर सुदूरपश्चिम' तस्वीर प्रदर्शनी गर्दा धेरै मान्छे 'सुदूरपश्चिममा पनि हिमाल छ र!' भन्दै छक्क परेका थिए।

वेद उप्रेती, पाइलट

भारतमा 'नर्थइष्ट' भनिएको क्षेत्रले अरू राज्यभन्दा बढी प्राथमिकता पाउँछ। त्यसैले नाम होइन, यसलाई अवसर बनाउन नसक्नु समस्या हो। हामीले अब सुदूरपश्चिम भन्ने नामलाई नै अवसर बनाउनुपर्छ।

राजेश भण्डारी, उपाध्यक्ष, कैलाली उद्योग वाणिज्य संघ

सुदूरपश्चिम नाम फेर्ने कोशिश पनि गरियो। कैलाली उद्योग वाणिज्य संघको अगुवाइमा 'सुन्दर सुदूरपश्चिम' भन्ने अभियान चलाइएको छ। बस व्यवसायी, होटल व्यवसायी सबैले 'सुन्दर सुदूरपश्चिम' अभियानलाई अघि बढाएका छन्।

दिनेशराज भण्डारी, पूर्वअध्यक्ष, कैलाली उद्योग वाणिज्य संघ

सुदूरपश्चिम क्षेत्र भारतका १४–१५ वटा महानगरसँग सडक यातायातबाट जोडिएको छ। 'सुदूर' भनेर राष्ट्रिय स्रोतको भागबण्डामा पछि परे पनि यो अवस्था अवसर बन्न सक्छ। कैलाली उद्योग वाणिज्य संघले अगाडि सारेको सुदूरपश्चिमको समृद्धिको २१ बुँदे माग सम्बोधन हुने परिस्थिति बन्न थालेको पनि छ। हामी सुदूरपश्चिममा लगानी भएन भन्छौं, तर गर्न सकिने उद्यमको पहल नगरेका पनि हौं। हामी आकाश–धर्ती जोड्ने योजनाका कल्पना गर्छौं, तर स–साना काम गरेर अगाडि जान खोज्दैनौं।

ओमप्रकाश अग्रवाल, उद्योगपति

'सुदूरपश्चिम' भनेको एउटा सभ्यताको नाम हो। म ३२ वर्ष पूर्वमा बसें। पश्चिममा बस्न थालेको ३४ वर्ष भयो। जुन सभ्यता यहाँ छ, त्यो पूर्वमा छैन।

सुदूरपश्चिमसँग कस्ता सम्भावना छन्? त्यसलाई काठमाडौंले कसरी बुझन र स्वीकार्न थालेको छ? त्यसका लागि के के गर्न बाँकी छ?

गोपाल हमाल

सञ्चारमाध्यमहरूका कारण सुदूरपश्चिमका सम्भावनामाथि काठमाडौंले ध्यान दिन थालेको छ। तैपनि, पूर्वीक्षेत्रमा हुँदा बहुमूल्य लाग्ने कुरा सुदूरपश्चिममा चर्चाको विषय बन्दैनन्। दृष्टिमा दोष छ, सोचमा खोट छ। नेपालमा अरुण तेस्रो र माथिल्लो तामाकोशी मात्र ठूला जलविद्युत् आयोजना हुन् भने जस्तो गरिन्छ। कर्णाली, महाकाली, पञ्चेश्वरका कुरा खासै गरिन्न।

माथिल्ला तहमा पुग्ने यतैका मान्छेहरूले पनि सुदूरपश्चिमका सम्भावना देखाउन सकेनन्। पश्चिम सेती परियोजना बन्ने भएपछि यसको बिजुली भारत लैजाने भयो भनेर विरोधका स्वर गुञ्जिए। परियोजना नबन्ने भएपछि सबै चुप लागे।

सुदूरपश्चिम माथि पुग्ने भर्‍याङ मात्र बन्यो। कोही राम्रो शिक्षक भए काठमाडौं जानुपर्ने, व्यापारीले पनि त्यही गर्ने। त्यसैले, हामी गन्तव्य सुदूरपश्चिम बनाउनुपर्छ भनिरहेका छौं। टाठाबाठा काठमाडौं जाने, गरीब जनताले गुजाराका लागि वर्षमा १० महीना भारतमा विताउने अनि सुदूरपश्चिमको विकास कसले गरिदिने? तर, अवस्था फेरिंदैछ। युवापुस्ताले यहीं भविष्य खोज्न थालेको छ।

नेपालमा गरीबीको रेखामुनि रहेका जनता २५ प्रतिशत छन्, तर सुदूरपश्चिममा ४६ प्रतिशत गरीब छन्। यहाँका जनताले अरू नेपालीसरह हुन पाऊँ भन्ने अधिकार पाउने कि नपाउने? हामीले सहुलियत, अनुदान नपाउने हो भने २१ प्रतिशतको दूरी कहिले घटाउने?

वेद उप्रेती

फ्रान्सको पेरिस संसारकै सुन्दर मानवनिर्मित शहर हो। स्वीट्जरल्याण्डका हिमाल–पहाडलाई मानवनिर्मित विकासले सुन्दर पारेको छ। सुदूरपश्चिमका सबै जिल्ला सुन्दर छन्। युरोपतिर डल्पि्कन सेन्टर खोलिएका हुन्छन्, कैलालीका नदीमै डल्पि्कन छन्। कञ्चनपुरको शुक्लाफाँटाको प्रचारै भएको छैन। डोटीमा खप्तड छ, कतिपयले त्यहाँ मोटर लानुहुन्न भन्छन्। स्वीट्जरल्याण्ड र श्रीनगरमा स्की गर्ने ठाउँसम्म सडक पुर्‍याइएको छ। खप्तडलाई केबुलकारले जोड्ने हो भने सडक लैजानु पनि पर्दैन। दुईचार करोडकै लगानीमा खप्तड क्षेत्र उत्कृष्ट 'स्की प्वाइन्ट' बन्न सक्छ। सुन्दर हिलस्टेशन डडेल्धुरालाई नैनीताल जस्तै बनाउन सकिन्छ। अछामको रामारोशन टे्रकिङ रुट गज्जबको छ। स्थानीय बासिन्दा जुट्ने र सरकारले विशेष बजेट छुट्याउने हो भने सुदूरपश्चिममा गज्जबका सम्भावना छन्। यो काम हामी एक वर्षमै गर्न सक्छौं र यति गर्नसक्दा देशमै समृद्धिको ढोका खुल्छ।

गोपाल हमाल

सदस्य, नेउवा महासंघ

मोहन शर्मा, पूर्व महासचिव, कैलाली उवासंघ

हामी सडकमार्गबाट ४० करोड आवादी भएका भारतीय शहरहरूसँग जोडिएका छौं। ती निकै गर्मी हुने ठाउँ हुन्। त्यहाँबाट १० घन्टामा हिल–स्टेशन भएको डडेल्धुरा पुग्न सकिन्छ। नेपालको ३३ प्रतिशत जलविद्युत्को सम्भावना सुदूरपश्चिममै छ। कर्णाली, सेतीका कुरा हामीले कलेज पढ्दादेखि नै सुनिरह्यौं, तर बन्ने सम्भावना ३० मेगावाटको चमेलियामा मात्र देखिएको छ। खप्तड विकास समिति, चिसापानी क्षेत्र पर्यटन विकास समिति बने पनि ती राजनीतिक कार्यकर्ता भर्ती गरेर बजेट सिध्याउनेमै सीमित छन्। नीतिनिर्माण तहमा बस्नेहरूमा आर्थिक उन्नतिको भिजन देखिएन। हामीले पठाएका नेताहरूले सुदूरपश्चिमलाई बिर्सेका छन्।

परमानन्द भण्डारी, पर्यटन व्यवसायी, कञ्चनपुर

हिन्दीमा एउटा उखान छ– 'वनमे मयूर नाचे, कौन देखे?' मयूर त जंगलमा नाचेकै हुन्छ, त्यसलाई कसरी देखाउने? काठमाडौं बस्नेहरूलाई चितवन र पोखरा मात्र थाहा छ। पर्यटकीय हिसाबले सुदूरपश्चिममा के छ, कसरी घुम्ने प्रचार भएको छैन। शुक्लाफाँटामा विश्वमै दुर्लभ बाह्रसिङ्गेका झुन्ड छन्। पर्यटकले तिनका परेड देख्न पाएका छैनन्। यस्तो सम्भावना बोकेको ठाउँलाई हामीले चिनाउन सकेनौं, सरकार उदासीन छ।

भीमबहादुर साउद, निर्माण व्यवसायी, कैलाली

राजनीतिकरण सुदूरपश्चिमको विकास नहुनुको एउटा कारण हो। विकासका योजनाको चर्चा चल्नासाथ विरोधको श्रृंखला शुरू हुन्छ। हामीमा यस्तो संकुचित धारणा छ कि, एउटाले केही गर्दा अर्कोले विरोध गर्नै पर्छ। पश्चिम सेती यही संकीर्णताको शिकार भयो। मेडिकल कलेज, औद्योगिक क्षेत्र आदि खुल्न नसक्नु पनि त्यही कारण हो। शिक्षा र स्वास्थ्यको अवस्था कहालीलाग्दो छ। विकासका कुरामा सबै दल र पक्ष एक हुनै पर्छ।

प्रकाश भट्ट, पर्यटन व्यवसायी

हामीकहाँ देश–विदेशबाट पर्यटकको ओइरो लाग्ने स्थलहरू छन्। तर, प्रचारप्रसार गर्न सकिएको छैन। यस क्षेत्रको लागि नीतिगत छलफल नै भएन। पर्यटनको कुरा हुन्छ, तर प्राथमिकता छैन। पर्यटकीय सम्भावना भएका क्षेत्रहरूलाई अतिक्रमण हुन नदिन के गर्नुपर्छ? पर्यटन विकासका लागि कसको के भूमिका हो? ध्यानै छैन।

वेद उप्रेती, पाइलट

दिनेशराज भण्डारी

पूर्वअध्यक्ष, कैलाली उवा संघ

प्रकाश भट्ट

पर्यटन व्यवसायी

कृष्णबहादुर महरा, पर्यटन व्यवसायी

नीति निर्माताहरूले यो मुलुकको आर्थिक विकास केबाट हुन्छ भन्ने खुट्याएनन्। सुदूरपश्चिमका सम्भावनाको कुरा गर्दा जलस्रोत र पर्यटनको कुरा आउँछ। सुदूरपश्चिममा यो क्षेत्रको मात्र नभई समस्त देशलाई फाइदा हुने पर्यटकीय सम्भावना छ। धेरै ठूलो लगानी पनि गर्नुपर्दैन। खप्तडमा होटल बनाए पुग्छ, बगलेकमा मज्जाले होमस्टे चल्छ। खप्तडबाट सुरमासरोवर, मालिका, रामारोशन हुँदै रारा पुग्ने एउटा नयाँ ट्रेकिङ रुटको मार्केटिङ गर्न सक्दा विदेशीहरू ओइरिन्छन्। नेपाल सरकारले स्वीट्जरल्याण्डमा जस्तो खप्तड पुग्ने रेलमार्ग बनाउन नसक्ला, तर ट्रेकिङ–रुट त बनाउन सक्छ नि!

सञ्जय चौधरी, पर्यटन व्यवसायी

सुदूरपश्चिममा संघ–संस्थाहरू जुन किसिमले जुर्मुराएका छन्, मिडियाहरूले जुन किसिमको चासो दिएका छन्, त्यसले सुतिरहेका मान्छेहरूलाई बिउँझाएको छ। अब पर्यटनका विषयमा गुरुयोजना आवश्यक छ। यसका निम्ति लविङ गर्न पर्यटन बोर्ड र सम्बद्ध निकायमा यहाँका प्रतिनिधि चाहिन्छ। सुदूरपश्चिमले केन्द्रलाई झ्कझ्क्याउन थालेको ८–९ वर्ष भयो, यसलाई निरन्तरता दिनुपर्छ। हामीले सरकारबाट बढी अपेक्षा गरेकाले पनि निर्भरता बढ्यो। हामी सबै एकजुट भएर लाग्ने हो भने सरकारसँग धेरै निर्भर नरहेर पनि विकास गर्न सक्छौं।

चन्द्र ढुंगाना, अध्यक्ष, अछाम उवासंघ

हामी निर्वाहमुखी र विभाजित हुनु पनि विकास नहुनुको कारण हो। विषाक्त कुरा फाल्न सक्यौं भने समृद्धि भित्रिने छ। काठमाडौंले हामीलाई कसरी हेर्छ भने जस्तै हामीले त्यहाँ कस्तालाई पठायौं? भन्ने कुराको पनि समीक्षा गर्नुपर्छ। पोखरा तालैतालको शहर कहलिन्छ तर त्योभन्दा बढी ताल भएको अछाम चिनिंदैन। २० वर्षअघि सुदूरपश्चिम स्वर्ग हो भन्न थालेको भए अहिले यो स्वर्ग बनिसक्थ्यो। सुदूरपश्चिममा अभाव छ मात्र भनिएकोले यो गरीब बन्न पुग्यो।

ओमप्रकाश अग्रवाल

उद्योगपति

परमानन्द भण्डारी

पर्यटन व्यवसायी, कञ्चनपुर

मोहन शर्मा

पूर्व महासचिव, कैलाली उवासंघ

विश्वविद्यालय, मेडिकल कलेज, औद्योगिक क्षेत्र खोल्ने जस्ता कुरामा सुदूरपश्चिम एक नहुँदा बाधा पुगेको होइन? सँगसँगै सुदूरपश्चिमको समृद्धिको बाटोमा माओवादी हिंसाले कति बाधा गर्‍यो?

गोपाल हमाल

माओवादी द्वन्द्वमा सबभन्दा विकराल स्थिति भोगेको क्षेत्र हो, सुदूरपश्चिम। बढ्ता गरीबी भएकाले यो क्षेत्रले द्वन्द्वमा बढी पिल्सिनु पर्‍यो। अर्को कुरा, केन्द्रकाहरू रणनीतिक रूपमा खेल्दा रहेछन्। धनगढी विमानस्थल सञ्चालनको माग लिएर काठमाडौं जाँदा तत्कालीन पर्यटनमन्त्री सर्वेन्द्रनाथ शुक्लले 'तपाईंहरूलाई दिंदा महेन्द्रनगरले माग्छ, उसलाई दिए अछामले माग्छ' भनेका थिए। प्रधानमन्त्री भएका वेला शेरबहादुर देउवा भारत भ्रमणमा जाँदा सुदूरपश्चिममा आइटी कलेज बनाइदिने सहमति भयो, तर धनगढी, महेन्द्रनगर र टीकापुरले आ–आफ्नो ठाउँमा बनाउने जिद्दी गर्दा कहीं पनि बन्न सकेको छैन। केही कुरा बन्न खोज्दा विवाद हुन्छ, नबन्ने भएपछि सबै चुप लाग्छन्। नबन्ने अवस्था आउँदा हामी खुशी हुने भएका छौं।

धनगढीलाई क्षेत्रीय विमानस्थल बनाउने विषयमा कञ्चनपुरका साथीहरूसँग सहमति गरेर काठमाडौं जाँदा एउटै आवाज भएकाले विमानस्थल सञ्चालनमा आयो। विश्वविद्यालय महेन्द्रनगरमा नभए महाकालीको पानी बन्द गर्दिन्छुसम्म भन्यो, कञ्चनपुरले। कसैले कैलालीमा हुनुपर्ने अड्डी राखे। त्यसमा केन्द्रले खेल्न खोज्यो। विभाजन सुदूरपश्चिमको विकासको मुख्य बाधक हो। सुदूरपश्चिमवासीले खुला दिमागले कुन चीज कहाँ उपयुक्त हुन्छ, भनेर सोच्नुपर्छ।

वीरेन्द्र शाह, अध्यक्ष–डोटी उवासंघ

सुदूरपश्चिमका सम्भावना उजागर गर्न अब नौ वटै जिल्ला एकजुट हुनुपर्छ। सुदूरपश्चिम एक नभएसम्म यो क्षेत्रको विकास हुन्न। पर्यटन विकास समाजमा नौ जिल्लाको एउटा नेटवर्क बन्नु सुखद् कुरा हो। कैलाली सुदूरपश्चिमको केन्द्र भए पनि गन्तव्य खप्तड हो। सुदूरपश्चिमकै जेठो विमानस्थल दिपायललाई सञ्चालनमा ल्याउँदा खप्तड यात्रा सहज हुनेछ। त्यसका लागि सबभन्दा पहिले निजी क्षेत्र लाग्नुपर्छ।

कृष्णबहादुर महरा

पर्यटन व्यवसायी

राजेश भण्डारी

उपाध्यक्ष, कैलाली उवा संघ

भीमबहादुर साउद

निर्माण व्यवसायी, कैलाली

कृष्णबहादुर महरा

हामी सबै कुरा कैलाली र कञ्चनपुरमा खोज्छौं। डोटी, डडेल्धुरा वा अरू ठाउँमा विश्वविद्यालय वा मेडिकल कलेज खोल्न किन नहुने? मेडिकल कलेज डोटीमा खोल्दा कैलाली वा कञ्चनपुर पछि पर्ने होइन। तराई र पहाडका फरक सम्भावना छन्। जहाँ जे सम्भावना छ, त्यो गर्नुपर्छ। यो कुरा यहाँ हुन्छ भनेर सरकारले पनि बुझाउन सक्नुपर्‍यो।

ओमप्रकाश अग्रवाल, उद्योगपति

पूर्वमा सुक्खा बन्दरगाह, रेल्वे लाइन सबै दिइन्छ, पश्चिमलाई केही दिइन्न। सुदूरपश्चिमको कुनै नाकाबाट यहाँका कृषि उपज निर्यात हुन दिइएको छैन। केही सामान लखनऊ लैजान खोज्दा 'क्वारेन्टाइन चेकपोष्ट छैन' भनिन्छ। यहाँ भारत जाने सामान उत्पादन हुन्छ भने क्वारेन्टाइन चेकपोष्ट किन नदिने? मैले कलकत्ता बन्दरगाहबाट १० हजार क्वीन्टल तोरी ल्याउँदा दुई महीना लाग्यो, वीरगञ्जको व्यापारीले त्यही चिज सात दिनमा ल्याउँछ। सरकारी दृष्टिकोण नबदलिएसम्म सुदूरपश्चिम फस्टाउँदैन। वासुलिङ चिनी उद्योग सञ्चालनको पहल गरेको भए यहाँबाट वर्षमा १०० करोडको चिनी भारत निर्यात भएर किसानका घरमा समृद्धि भित्रिन्थ्यो। काठमाडौंले यो हेरेको छैन।

परमानन्द भण्डारी

वनवासा सुदूरपश्चिमको यस्तो नाका हो, जसले भारतका धेरै शहरसँग जोड्छ। तर, पुलबाट गाडीसहित जम्मा १० टन मालसामान लैजान मिल्छ, त्यो पनि दिनमा चारघण्टा मात्र। वनवासामा फराकिलो पुल बन्दा सुदूरपश्चिमको आर्थिक विकासमा ठूलो सघाउ पुग्नेछ, काठमाडौं–दिल्ली गर्ने पर्यटक यहींबाट जानेछन्। त्यो अवस्थामा आयात–निर्यात व्यापार सजिलो हुन्छ नै। उत्तराखण्डमा बहुराष्ट्रिय कम्पनीहरूले उद्योग खोलिरहेका छन्। पुल हुँदा दुवैतिरका त्यसबाट लाभ लिन सक्छौं।

सञ्जय चौधरी

पर्यटन व्यवसायी

चन्द्र ढुंगाना

अध्यक्ष, अछाम उवासंघ

वीरेन्द्र शाह

अध्यक्ष, डोटी उवासंघ

वेद उप्रेती

संसारका ठूला शहरका एक कुनाबाट अर्को कुनाको दूरी ५० किलोमिटर हुन्छ। धनगढी र महेन्द्रनगर लगभग त्यही दूरीमा छन्। कुनै पूर्वाधारमा विवाद गर्नुभन्दा फराकिलो सडक बनाउनेमा लाग्ने हो भने यी दुई नगर ३० मिनेट मात्र टाढा हुन्छन्। चार लेनको सडक र रेलमार्ग बनाएर नजिकिने हो भने विवाद गर्नै पर्दैन। त्यसरी दूरी छोटिंदा आत्मीयता बढ्छ, विकासले फड्को मार्छ। विवादमै रमाउने हो भने त्यसैमा वर्षौं बित्छ, योजना तुहिन्छन्।

दिनेशराज भण्डारी

धनगढी विमानस्थल सञ्चालन गर्न मुक्त कमैयाहरूले समेत सकेको खर्च गरे। विकासमा यस्तो उदाहरण अन्यत्र भेटिन्न। तर, यहींका एक मन्त्रीले 'एअरपोर्ट बनाएर को जहाज चढ्ने हो र?' भनेका थिए। आज जहाजमा सिट पाउन मुश्किल छ। काठमाडौंबाट आएका केही कर्मचारीले यहाँ राम्रो सुक्खा बन्दरगाह बन्न सक्छ भनेका छन्। पर्यटनका लागि त सुदूरपश्चिम स्वर्ग नै हो। खप्तडमा पर्यटक लैजान आवास सुविधा हुनुपर्‍यो। निजी क्षेत्रले शुरूमै होटल खोल्न नसक्लान्, त्यसैले पहिले सरकार अगाडि सर्नुपर्छ। होटल/रिसोर्ट खोल्नेलाई जमीन दिने वा सहुलियतमा ऋण दिने हो कि? भोलि पर्यटकको आवतजावत बढ्नासाथ निजी क्षेत्र अघि बढिहाल्छ।

comments powered by Disqus

रमझम