७-१३ वैशाख २०७१ | 20-26 April 2014

अब किताबमा कोच संस्कार

Share:
  
प्रकृतिका पुजारी भनेर चिनिने कोच राजवंशी हराउँदै गएको आफ्नो संस्कृति संरक्षणमा जुटेका छन्।

कमल रिमाल, विराटनगर

मोरङ कटहरीमा १ वैशाखमा रंगको सिरुवा मनाउँदै पूर्वमन्त्री भीमराज राजवंशी।
झापा, मोरङ र सुनसरी, कोच राजवंशी समुदायको बसोबास क्षेत्र हो। यो समुदायका युवा पुस्ता आफ्नो विधि–संस्कारबाट टाढिन थालेको अनुभव भएपछि अगुवाहरु जन्मदेखि मृत्युसम्मका संस्कारलाई लिपिबद्व पार्न जुर्मुराएका छन्। बाबुराम भट्टराई नेतृत्वको मन्त्रिमण्डलमा गृह राज्यमन्त्री भएका भीमराज राजवंशी भन्छन्, “नयाँ पुस्ताले किताब हेरेरै भए पनि आफ्नो संस्कार गरुन् भनेर लिपिबद्व गर्न थालेका हौं।”

संस्कार–दस्तावेज निकाल्ने काम राजवंशी संस्कृति संरक्षण तथा विकास केन्द्र मार्फत भइरहेको छ। केन्द्रका सचिव उमेशकुमार राजवंशीका अनुसार, १५ चैतमा मोरङको कटहरीमा आयोजना गरिएको भेलामा गुरु, गोसाइ, किर्तनिया दास र धामीहरूबाट आएका विधि प्रक्रियालाई टिपोट गरेर किताबको रूप दिने काम भइरहेको हो। राजवंशीहरूको जन्मदेखि मृत्युसम्मका संस्कारमा गुरु, गोसाइ, किर्तनिया दास र धामीहरूको भूमिका अनिवार्य हुन्छ।

किर्तनिया परम्परा

किर्तनिया दासले गाइन (कीर्तन) गरेको व्यक्तिको सात दिनभित्र मृत्यु हुने विश्वास राजवंशी समुदायमा छ। केन्द्रका सचिव उमेशकुमारका अनुसार, मानिसलाई गाइन सुनाएपछि मृत्युको बाटो खुल्छ। मृत्युपछि मलामीमा सुद्घाट गाइन गरिन्छ भने मलामीलाई शुद्ध पार्न तेरातघाट गाइन गरिन्छ। यसैगरी, मृत्युको १२औं दिनमा मतकमनि किर्तनिया (गाइन), १२औं दिनको बेलुका निसी किर्तनिया र राति गौचरन किर्तनिया गरिन्छ भने १३औं दिनको बिहानीपख भरकुवा गाइन र १३औं दिनमा शान्तिशुद्धीका लागि धेमाली दिवार बेला गाइन गरिन्छ। यसैगरी, शुद्ध शान्ति सकिएपछि धेमाली हवार बाद गाइन र भाकलहरूमा विहार बेलार गाइन गरिन्छ।

राजवंशीहरू वर्षमा एक पटक कुल पूजा गरेर गुरुबाट कानभाजा (मन्त्र) लिन्छन्। गुरुले कानमा मन्त्र सुनाइएपछि राजवंशीहरू पवित्र हुन्छन्। मन्त्र नपाएकाहरूको विवाह हुँदैन। गुरु वा गोसाइले ठाकुर देवताको पूजा गरेर मृत्यु शोकमा रहेको परिवारलाई शुद्ध पार्छन्। गाईगोरु मर्दा पनि घर शुद्ध पार्ने संस्कार रहेको राजवंशीहरू वैशाखभर धुमधामसँग प्रकृतिको पूजा गर्छन्। पूजास्थलमा अलग–अलग दिन पूजा गरिन्छ। हरेक पूजास्थलमा मेला लगाइन्छ र राति दिएको बलिलाई प्रसादको रूपमा ग्रहण गरिन्छ। धामी लीलाचन्द राजवंशीका अनुसार राति निसी पूजा गरेर ग्राम देवतालाई पाठो बलि दिने परम्परा छ।

सांस्कृतिक परिवर्तन

तस्वीरहरुः कमल रिमाल
१५ चैतमा भएको धार्मिक गुरु भेला।
१–२ चैतमा झापाको दुवागढीमा भएको राजवंशी सांस्कृतिक महोत्सवमा पहिलो पटक महिलाहरू नाचे। पुरुष नै महिला भएर नाच्ने परम्परा रहेकोमा यस वर्षबाट युवतीलाई प्रशिक्षण दिएर सांस्कृतिक नाचगानमा उतारिएको पूर्व राज्यमन्त्री भीमराज बताउँछन्। महोत्सवमा भारतको कुचबिहार, आसाम, सिलीगुडी, जलपाईगुडी र नेपालका गरी २० टोली थिए। राजवंशीहरू आफ्ना पुर्खा भारतको कुचबिहारबाट आएको विश्वास गर्छन्। पूर्वी तराईका तीन जिल्लामा करीब डेढ लाख राजवंशी छन्।

पूर्व राज्यमन्त्री भीमराजका अनुसार, भारतमा पहिल्यैबाट राजवंशी महिला नृत्य संस्कारमा सहभागी हुने चलन छ। नेपालमा पनि त्यसै गरिंदा महिला खुशी भएको जानकीदेवी राजवंशीले बताइन्। उनको बुझाइमा, पछिल्लो पुस्ता शहरिया हुँदै गएकाले बूढापाकाहरूले यस्तो निर्णय गरेका हुन्। अहिलेको पुस्ताले परम्परागत पोशाक पनि कमै लगाउन थालेका छन्। जन्म, विवाह र मृत्युमा पनि राम्ररी संस्कार पालना हुँदैन। पानी, माटो र वायुको पूजा गर्ने राजवंशीहरूको घर अगाडि धान रोप्नैपर्ने संस्कार छ। राजवंशी समुदायमा बच्चा जन्मिंदा आफैंले सालनाल काट्नुपर्ने नियम पनि पालना हुन छाडेको छ। सुत्केरी गराउन अस्पताल लैजाने चलन आउनुअघि घरमा जन्मिएको बच्चाको सालनाल नकाट्नेलाई जातबाट अलग गरिन्थ्यो। यस्तो सामाजिक कारबाहीमा परेका राजवंशीहरूलाई 'बोङ्हा' भनिन्छ। “संस्कार आफैंमा जड कुरा होइन”, पूर्व राज्यमन्त्री भीमराज भन्छन्, “त्यसकारण, समय सुहाउँदो बनाउने प्रयासमा छौं।”

राजवंशीहरूले समयसँगै परिवर्तनलाई आत्मसात् गरेको उनीहरूको अन्य सांस्कृतिक गतिविधिले पनि देखाउँछ। पहिलो पटक २०५३ सालमा आफ्नो भाषाको गीति अल्बम निकालेका राजवंशीहरूले २०६५ मा चलचित्र पनि बनाएका छन्। ल

comments powered by Disqus

रमझम