७-१३ वैशाख २०७१ | 20-26 April 2014

क्षेत्रप्रताप अधिकारी

Share:
  

१९९९ चैत–२०७० चैत
क्षेत्रप्रताप अधिकारी सरल तर गहिरो कलम भएका लेखक थिए, जसले उनलाई बौद्धिक/अबौद्धिक सबैबीच समान रुपमा लोकप्रिय बनायो। उनले थुप्रै कविता र हाईकू–हाइजिम पनि लेखे, तर गीतकारका रुपमा प्रशिद्ध भए। उनका रहर लागेर, गामवेसीका गीत, पहाडदेखि पहाडसम्म, नफुलेका फूलहरू, फेरि एउटा परिवर्तन, तर देश हारिरहेछ, अकविता, युद्धका छायाहरू लगायत १० कृति प्रकाशित छन्। २०३४ सालमा प्रकाशित गामवेसीका गीत ले तनहुँको मिर्लुङमा जन्मेका अधिकारीलाई नेपाली समाजमा गामवेसीका गिताङ्गेका रुपमा स्थापित गराएको थियो।

सानैमा रोदीघर चहारेका अधिकारीको लेखन लोकसाहित्य र लोकसंस्कृतिबाट उठेको थियो।

नारायण गोपालले गाएको 'म त लालीगुराँस भएछु...', 'मलाई छोडी मेरो छाया...', गोपाल योञ्जनले गाएको 'शान्तिभन्दा पर अर्को भेट्नुपर्ने बुद्ध छैन...', कुन्ति मोक्तानले गाएको 'गोठालो जाँदा...' र पछिल्लो पटक रामकृष्ण ढकालले गाएको 'जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ, सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ' बोलको गीतले अधिकारीलाई नेपालीका घर–घर र मन–मनमा पुर्‍यायो। मानिसको हृदयको गहिराइ नाप्न सक्ने सरलताले अधिकारीलाई लोकप्रशिद्ध बनायो।

१५ वर्षको उमेरमा चार दिनको बाटो हिंडेर काठमाडौं आएका क्षेत्रप्रताप अधिकारीले कक्षा सातदेखि एमएसम्म रात्रिकक्षा पढे। महीनामा ३० रुपैयाँ तलब पाउने हुलाकको पियनबाट जागीर शुरु गरेका उनी साझा बसको कन्डक्टरदेखि साझा प्रकाशनको अध्यक्षसम्म भए। उनी मूलतः गामवेसीका शब्दशिल्पी र मानवीय चाहतका कोमल प्रवक्ता थिए, तर पंचायतको उत्तरार्द्धमा सहायकमन्त्री पनि हुन पुगे, जसले परिवर्तित राजनीतिक सन्दर्भमा उनको लोकप्रियतामा धब्बा पनि लगायो– खास गरेर मल्लिक आयोगको प्रतिवेदन मार्फत।

लामो समय साझा प्रकाशनमा रहँदा अधिकारीले धेरैलाई लेखक बनाए। छत्तीस कुनामा छरिएका कविता खोजेर उनले नछापिदिएका भए भूपि शेरचनको 'घुम्ने मेचमाथि अन्धो मान्छे' ले साझा पुरस्कार पाउने नै थिएन। तिनै अधिकारी गएको ३० चैतबाट सम्झनाका विषय भएका छन्।

उनका दुई छोरा छन्।

comments powered by Disqus

रमझम