छोरालाई चिठी

Share:
  
- केदार शर्मा
p9
 
तस्वीर: भानु भट्टराई

आयुष्मान छोरा,  

उप्रान्त हामीलाई निकानन्दै छ। तँ पनि सञ्चै रहेको टीभीको समाचारबाट थाहा भयो। तर तँलाई पहिलो पटक टेलिभिजनमा देख्दा हामीलाई खुशी होइन, दुःख लाग्यो। आमाले त भित्तातिर फर्केर आँशु नै पुछी। त्यस साँझ् हामी आपसमा बोल्न पनि सकेनौं।  
 
टीभीमा देखेपछि हातमा ढुङ्गा बोकेर क्याम्पसका झयालढोकामा हान्दै गरेको तेरो अनुहार केही गर्दा पनि मेरा आँखाबाट हटेको छैन। तँ ठूलै बहादुरी गरे झै कुर्लिइस्, ढुङ्गै हानेर विश्वविद्यालयलाई सुधार्ने खालको कुरा गरिस्। हामीलाई साह्रै नमज्जा लाग्यो। आफ्नो पढेलेखेको छोरो राक्षसी उपद्रव र अराजकतामा लाग्दा उसको प्रहार आफैंमा परे झै हुँदो रहेछ।  
 
तँ सानामा राम्रो पढ्थिस्। माड्साबहरूले तेरो तारिफ गर्दा हामी आफूले पढ्न नपाएको चोट बिर्सन्थ्यौं। तेरो पढाइका लागि हामीले कहिल्यै आफ्नो दुःख देखाएनौं।
 
सएलसीमा तेरो सेकेण्ड डिभिजन मात्र आउँदा रिटोटलिङ गराउने भनिस्, छोराले राम्रै गरेको रहेछ र त रिटोटलिङ गराउने भन्दैछ भनेर चित्त बुझायौं। त्यो खर्च र दुःखको उपादेयता केही नभए पनि साइन्स पढ्छु भनिस्र पढाइ पनि बिगारिस्। त्यसबेला तैंले आन्दोलन, बन्द हडताल आदिलाई दोष लगाइस्। तँलाई आफ्नो असफलताको दोष अर्काका थाप्लामा थोपर्ने रोग त्यसै बेलादेखि लागेको हो। तर हामीले कही भन्न सकेनौं। अनि बीए पढ्छु भनिस्। पढेर बुद्धि आउँछ भन्ने कुरामा हामीलाई त्यसबेलासम्म विश्वास थियो। 
 
सानामा आशलाग्दो नभएको भए निराशा पनि हुँदैनथ्यो होला, हामीले आश गरिरह्यौं र तेरो रिजल्टमा फस्ट डिभिजन भन्ने कहिल्यै सुन्न पाएनौं। अनि पास भए भइहाल्यो नि भनेर चित्त बुझाउन थाल्यौं। पछि पछि त हामीसित पढाइको कुरा गर्न नै छाडिस्, हामीले नबुझने भएर नभनेको होला भनेर चूप लाग्यौं। बीए सकेपछि तैंले केही इलम समाते हुने भन्ने लागे पनि धेरै पढ्छु भन्ने छोरालाई नपढ् भन्न सकेनौं। सकी नसकी खर्च पेलिरह्यौं, हाम्रो दुःखको कमाइ ढुङ्गा र ईंटा बनेर विश्वविद्यालयका भवनमा बर्सला भन्ने कहिल्यै नसोची।  
 
तेरा ती हुल्याहा साथीहरू पनि सबै तँजस्तै होलान्, जसलाई सधैंभरि आफ्नो असफलताहरूलाई छोप्ने काम्लो चाहिन्छ, बहानाबाजीमा बाँच्छन्। एमए पढ्न थालेका धेरैले पढाइबारे कसैले केही नसोधून् जस्तो गरेको मैले अनुभव गरेको छु। “थेसिस मात्रै बाँकी छ” भन्ने बानी लागेकाहरूलाई “विश्वविद्यालय नै खत्तम छ” भन्ने बहाना पनि चाहिरहन्छ।  
 
हामीले कहिल्यै केहीमा पनि निहुँ पारेनौं। तेरी आमा घर खेतको काममा सकी नसकी जोतिइरहेकी छ। सानो जागिर धानेर म पनि सक्दो काम गरिरहेको छु। कहिले पानी नपरेर बाली बिग्रिन्छ, कहिले धेर पानी परेर। हामीले दोष लगाउने ठाउँ कहीं छैन। माली गाईलाई थुनेलो भएर एउटा पासो बिग्रियो, कोसित गुनासो गर्नु? खोल्याङको अलैंची बिग्रियो, हामी अलैंचीका सरा बोकेर सडक जाम गर्न गएनौं। चियाको भाउ नआउँदा फ्याक्ट्रीका झयालढोका फोरेनौं। तैंले जति नपढे पनि अराजकताले अयोग्यहरूलाई अवसर दिने बाहेक केही गर्न सक्दैन भन्ने हामीलाई थाहा छ। हुनुपर्ने कुरा भएका छैनन्, नहुनुपर्ने भइरहेका छन्। सबै कुरा हाम्रो हातमा छैनन्, त्यसैले हामी जो छ त्यसलाई राम्रोसित गर्न खोज्छौं। कति सकौंला कति नसकौंला। तँ र तेरा साथीहरूले जस्तो गति चाहिं छाड्दैनौं।  
 
आमा त दशैंका मुखमा छोरालाई त्यस्तो किन लेखेको भन्दै थिई, मलाई भने तँभित्रको महिषासुरलाई सम्झाउने दशैंकै मुखमा हो जस्तो लाग्यो र यति लेखें। जे बुझछस्, तेरो खुशी।  
 
सदाको आशीर्वादसहित, 
बुबा 
comments powered by Disqus

रमझम