बीपीको विरोधाभास

Share:
  
- शंकर तिवारी
बीपीको व्यक्तित्व विरोधाभासले भरिपूर्ण थियो।

बीपी कोइराला र भोला चटर्जीबीच राजनीतिक सँगसँगै अनेक व्यक्तिगत पत्राचार भएको भेटिन्छ। चटर्जीसँग कोइराला परिवारका बीपीदेखि मातृका, तारिणी, केशवहुँदै गिरिजा, सुशील र सुशीला कोइरालासम्मले पत्राचार गरेका थिए। चिठीहरूले कोइराला परिवारका प्रत्येक सदस्यसँग भोलाको आत्मीय सम्बन्ध देखाउँछ। कोइराला परिवारका सदस्यहरूले अलग–अलग समयमा फरक प्रयोजनमा भोलालाई चिठी लेखेका छन्। बीपीले नेपाली कांग्रेस पार्टीको लेटरप्याडबाट उनलाई एउटा निजी चिठी लेखेका छन् (हे.तस्वीर) भने राजनीतिक चिठी हवाईपत्रमा। व्यक्तिगत चिठी काठमाडौंबाट र राजनीतिक चिठी बनारसबाट लेखिएको छ।

२००७ सालको क्रान्ति जनताका लागि सदिऔंदेखिको दासताबाट मुक्तिको लागि थियो भने शाहवंशका लागि एक शताब्दीपछि असली सत्ता हात पार्ने अवसर। शाह राजाहरू आफैं शक्ति खेलाउन चाहन्थे। यसको लागि बीपीभन्दा मातृका सहायकसिद्ध भए। बीपीले पत्रमा सरकारी पदमा नबसेको र विद्रोही स्वभावका कारण दरबारका मानिसहरूसँगको उठबस अप्ठ्यारो भएको भोलालाई लेखेका छन्। अन्तरिम सरकारको गृहमन्त्रीबाट राजीनामा गरेपछि प्रधानमन्त्री पद आफ्नै पोल्टामा आउँछ भन्ने विश्वास भए पनि बीपीले व्यक्तिगत चरित्रदेखि सामाजिक–राजनीतिक प्रभावका कारण प्रधानमन्त्री बन्न पहिलो आमनिर्वाचन नै पर्खनु पर्‍यो। मातृका भने २००६ साल अगाडि नै सरकारी अड्डामा जागीरे भएकाले अदव जानेर २००८–२०१५ को अवधिमा दुई पटक प्रधानमन्त्री भए। बीपीले भोलालाई मातृका प्रधानमन्त्री भएको समयमा चिठी लेखेको देखिन्छ, जसमा उनले दैनन्दिनको राजनीतिबाट निराशा बन्दै दर्शनका कुरा गरेका छन्।

बीपीको व्यक्तित्वमा भएका विरोधाभासहरूले उनको दार्शनिक पक्षलाई खारेको देखिन्छ। यो सानो चिठीले पनि उनले जीवनभरि साहित्य र राजनीतिमा भोग्नुपरेका जटिलताका विषयहरू उठाएको छ। उनले भोलालाई 'तिमी किन दर्शनको पार नलाग्ने अध्ययनमा लागेको?' भनी सोध्दै 'यो चिन्ता स्वप्नद्रष्टा र कविहरूको जिम्मामा छाडिदिए हुँदैन?' भनेका छन्। आफूले मान्ने भारतीय नेता जयप्रकाश नारायणको दर्शनप्रतिको झुकाव त्रुटिपूर्ण रहेको बताउँदै उनले भोलालाई लेखेका छन्– 'जेपी भौतिकवादलाई दुत्कार्दै अध्यात्मतर्फ ढल्केकोमा आश्चर्य लाग्छ। सही अस्तित्वको लागि अध्यात्म रोज्दै गर्दा भौतिकवादबाट टाढा रहनुपर्ने कारण मैले बुझन सकेको छैन।'

शुरूमा मार्क्सवादी प्रभावमा परेका बीपीले अध्यात्मको उपेक्षा गर्न खोजेको देखिन्छ। जुन कुरामा जेपीको आलोचना गरेका छन्, उनको चिन्तनमा त्यही आउनु चानचुने बदलाव थिएन। जीवनको उत्तरार्द्धमा बीपी अध्यात्मको नजिक पुगेको देखिन्छन्। यो चिठीले बीपीको मध्यजीवनको एउटा महत्वपूर्ण विरोधाभास केलाउन सघाउँछ। बीपीको शतवार्षिकी चलिरहँदा यो चिठीले प्रबुद्धहरूलाई उनको जीवनका विभिन्न पाटाहरू केलाउन सहयोग पुर्‍याउनेछ।

बीपीले त्यही चिठीको अर्को अनुच्छेदमा आफ्नोबारे खुलेर चर्चा गरेका छन्– 'म अहिले निराशाबाट गुजि्ररहेको छु। तर अर्कोतर्फबाट हेर्दा असावधानीपूर्ण चिन्तनको प्रचुरताबाट ग्रसित छु। मैले कुनै पनि कामलाई हलुका रूपमा लिने कुरामा विश्वास गर्दछु, लगभग खेलाँचीका तवरले। सफलता र असफलताबीचको दूरी साँघुरो छ र नचाहँदा नचाहँदै सफलता र असफलता अविराम रूपमा हात लाग्दो रहेछ। त्यो कारणले ममा निराशा पनि छैन।' बीपीले डायरीका पानाहरूमा जसरी नै चिठीमा पनि आफ्नोबारे खुलेर चर्चा गरेका छन्। उनी चञ्चल र कल्पनाशील थिए। राजनीतिबाट बचेको छोटो समय उनका लागि साहित्यिक उत्कण्ठा मेटाउने अपूर्व अवसर बन्थ्यो। यो चिठीमा उनले आफ्नो कुराको आफैं प्रतिवाद गर्दै निराश नभएको उल्लेख गरेका छन्।

भोलाका लागि नेपाल दोस्रो घर थियो भने बीपी अन्तरंग मित्र। अभिभावकविहीन बीपीले पनि मनका कुरा खोल्न सकिने मित्र पाएको हुनुपर्छ। मनोवेत्ताहरूका अनुसार प्रतिस्पर्धीहरूसँग होशियार व्यक्तिले हत्तपत्त मनको कुरा खोल्दैनन्। बीपीका लागि त नाना प्रकारका साहित्यिक र दार्शनिक चिन्तन बुझने साथीहरू भेट्नु पनि मुश्किल थियो। त्यस्तो अवस्थामा बीपीले भोलालाई लेखेको यो चिठी उनको विराट व्यक्तित्व बुझन सहायक हुन सक्छ।

comments powered by Disqus

रमझम