दशैंमा मुस्ताङे च्याङ्ग्रा

Share:
  
p10a
 
 

यस वर्ष दशैं–तिहारका लागि मुस्ताङ जिल्लाका १६ गाविसका ३५ सय किसानले करीब ८० हजार भेडाच्याङ्ग्रा तयार पारेका छन्। पशु सेवा कार्यालय मुस्ताङका अनुसार गत वर्ष यहाँबाट करीब ६० हजार भेडाच्याङ्ग्रा निकासी भएका थिए। तर, यो वर्ष उत्पादन बढे पनि भेडाच्याङ्ग्राको भाउ बढेको छ। पशुसेवा कार्यालयका प्रमुख गुरुप्रसाद खकुरालले गत वर्ष रु.७५०० मा बिक्री भएको भेडाच्याङ्ग्रालाई यो वर्ष रु.८५०० सम्म परेको बताए। “असोजको पहिलो सातासम्म यही भाउका करीब १५ हजार भेडाच्याङ्ग्रा बजार पुग्नेछन्”, खकुरालले भने। 

तल्लो मुस्ताङको लेते, कागवेनी; उपल्लो मुस्ताङका छोनुप, छोसेर, लोमान्थाङ गाविसका कृषकले समूह बनाएर व्यावसायिक पशुपालन गरेका छन्। पशुसेवा कार्यालयले उपल्लो मुस्ताङका तीन गाविसमा गठित १० समूहलाईगोठ, औषधि र तालिमको लागि रु.२ लाख ५० हजारका दरले सहयोग गरेको छ। गत वर्ष ३५० भेडाच्याङ्ग्रा बेचेका लेते– ४ का विनोद गौचनले यस पटक व्यापारीलाई ५६० भेडाच्याङ्ग्रा बेचेका छन्। चरन र मौसम राम्रो भएको यो वर्ष कम भेडाच्याङ्ग्रा मरेको बताए। “यस वर्ष व्यापारीले भाउ पनि राम्रो दिए”, गौचनले भने। 
 
यस वर्ष कमै तिब्बती भेडाच्याङ्ग्रा आउने फाइदा पनि मुस्ताङका किसानले पाएका छन्। तिब्बत गएका व्यापारीहरूलाई तिब्बती प्रहरीले दुर्व्यवहार गरेको र त्यसमाथि अति महँगो पनि भएकाले उताका भेडाच्याङ्ग्रा कमै भित्रिने दिव्यदीप मावि छोसेरका प्रधानाध्यापक हरिबहादुर केसीले बताए। ह  
धु्रवसागर शर्मा, जोमसोम 
 
सीता एयर दुर्घटनाले उब्जाएका प्रश्न 
 
p11
 
तस्वीर: विक्रम राई

१२ असोज बिहान सवा ६ बजे काठमाडौंबाट लुक्लाका लागि उडेको सीता एयरको डोर्नियर–२२८ जहाज धावनमार्ग छोडेको केही मिनेटमै दुर्घटनामा पर्दा चालक दलसहित सात नेपाली, सात बेलायती र पाँच चिनियाँ गरी १९ जनाको ज्यान गयो। प्रत्यक्षदर्शीहरूका अनुसार काठमाडौं विमानस्थल नजिकको सुकुम्बासी वस्तीलाई छलेर मनोहरा खोलाकिनारमा खसपछि विमानलाई आगोले लपेटेको थियो।

लगेज–यात्रुले भरिएको जहाजले उचाइ नलिइसकेको अवस्थामा चरा ठोक्किंदा नियन्त्रण नभएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। जानकारहरू विमानमा विद्युतीय गडबडी भएको हो भने, डोर्नियर जहाज चालकको नियन्त्रण नरहने तथ्यलाई नजरअन्दाज गर्न नमिल्ने बताउँछन्। मकवानपुरको शिखरपुरमा अग्नि एअरको डोर्नियर जहाज विद्युतीय गडबडीकै कारण खसेको थियो।  
 
विमान दुर्घटनासँगै थुप्रै प्रश्नहरू उब्जिएका छन्। दाहिने मोडिनुपर्ने विमान (अल्फा वान डिपार्चर) देब्रे घुम्दासम्म टावरले किन थाहा पाएन? 'बर्ड हिट' भन्ने वाहेक पाइलट र टावरको सम्वाद किन हुन सकेन? पाइलटले आपतकालीन अवस्था किन डिक्लिएर गरेनन्? रेडियोले काम नगरेर वा चालक आत्तिएर वा टावरले नसुनेर? फेरि फाँटमै अवतरण गर्दा पनि पेट घिसारिनुपर्नेमा जहाजको नाक किन जोतिन पुग्यो? यी र यस्ता प्रश्नहरूको जवाफले नै विमान दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन सक्नेछ। यीमध्ये कतिपय प्रश्नको जवाफ त ककपिट भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डरको विस्तृत विवरण आएपछि मिल्ला नै।  
 
२०६५ असोजदेखि २०६९ असोजसम्म नेपाली आकाशमा भएका सात वटा विमान दुर्घटनामा स्वदेशी–विदेशी गरी ११३ जनाको ज्यान गएको छ। यतिका क्षति भए पनि सरकारले औपचारिकता पूरा गर्न छानबिन आयोग गठन र प्रतिवेदन धमिरालाई खुवाउने भन्दा गतिलो काम गरेको छैन। नेपाल एयरलाइन्स्का पूर्व क्याप्टेन एमटी लामा आयोगहरूले पनि मृत्यु भइसकेको पाइलटलाई दोषी देखाउँदै दुर्घटनाको वास्तविक कारणहरू छल्ने गरेको बताउँछन्। लामा भन्छन्, “वास्तविक कारण थाहा नभएपछि सुधारको गुञ्जायस नै रहेन।” 
 
सन्त गाहा मगर 
 
वृद्ध–वृद्धाले भत्ता पाएनन्  
 
p11a
 
 

सरकारले सामाजिक सुरक्षा अन्तर्गतको बजेट नपठाउँदा पूर्वी पहाडी जिल्ला खोटाङका ३२ गाविसका ४७३४ वृद्धवृद्धा, १९७६ विधवा, ९९ अपाङ्ग र १५०३ जना दलित बालबालिका गत आवको माघदेखि असारसम्मको भत्ताबाट बञ्चित भए। सरकारले भत्ता प्रयोजनको रु.२ करोड २३ लाख ७२ हजार नपठाएकाले वृद्धवृद्धाहरूले १४ भदौमा सदरमुकाम आएर धर्ना दिंदा पनि खालीहात पठाउनुपरेको स्थानीय विकास अधिकारी युवराज अधिकारीले बताए।

धर्ना कार्यक्रममा एमाले खोटाङ जिल्ला अध्यक्ष विशाल भट्टराईले सगरमाथा चढ्ने पार्टी अध्यक्ष पुष्पकमल दाहालका छोरालाई बजेट विनियोजन गर्ने भट्टराई सरकारले वृद्धाहरूको भत्ता रोकेको आरोप लगाएका थिए। धर्ना कार्यक्रमपछि विभिन्न गाविसबाट आएका करीब डेढ सय वृद्धवृद्धाले स्थानीय विकास अधिकारी अधिकारीलाई विरोधपत्र बुझाएका थिए।
 
सइन्द्र राई, दिक्तेल 
comments powered by Disqus

रमझम