२८ वैशाख - ३ जेठ २०७१ | 11-17 May 2014

बाबुरामको बाटो

Share:
  
- सुवास देवकोटा
नयाँ शक्ति बनाउन एमाओवादी छाडेका बाबुराम भट्टराईका आगामी दिन सजिला छैनन्।

बिक्रम राई
१७ वैशाखमा राष्ट्रिय सम्मेलनका लागि विराटनगर जानुअघि आफू निकटस्थहरूको भेलामा एमाओवादी नेता बाबुराम भट्टराईले 'अब सँगै बस्न नसकिने भएकाले त्यही अनुसार मनस्थिति बनाउनुहोला' भनेका थिए। विराटनगरमा नाटकीय रूपमा पाँच दिनसम्म लम्बिएको सम्मेलनलाई काठमाडौंमा भने अनुसार नै उनले अधुरो र अन्योलमा पारेर हिंडे। काठमाडौं फर्केको भोलिपल्टै चीन उड्नुले पनि विराटनगर सम्मेलन छाड्ने उनको निर्णय नियोजित रहेको देखाउँछ।

भट्टराई राष्ट्रिय सम्मेलनको साटो विशेष महाधिवेशन गर्ने पक्षमा थिए। सम्मेलनमा महाधिवेशनमा जस्तो वैचारिक बहस नहुने भएकाले 'नयाँ शक्ति' बनाउने आफ्नो सोचमा पर्याप्त छलफल नहुने उनको निष्कर्ष थियो। त्यस्तो अवस्थामा जिल्लाबाट झ्न्डै एकलौटी प्रतिनिधि ल्याएका अध्यक्ष पुष्पकमल दाहाल फेरि पनि हावी हुने उनले बुझ्ेका थिए। त्यसैले उनी राष्ट्रिय सम्मेलन भए पार्टी विघटन हुने बताउँदै विराटनगर पुगेका थिए।

हुन त, दोस्रो संविधानसभा निर्वाचनमा बेहोरेको पराजयको जिम्मेवारी कसले लिने भन्नेमा पार्टी अध्यक्ष दाहालसँग सार्वजनिक विवाद चलेदेखि नै बाबुरामको एमाओवादीसँग मोहभंग हुन थालिसकेको थियो। उनले त्यो मनस्थिति लुकाएका पनि थिएनन्। दाहालले अध्यक्ष नछाड्ने भएकाले आफ्नो सोच अनुसार पार्टी चलाउन नपाइने तथा दाहालको सोचले पार्टीलाई पुनः बलियो बनाउन नसक्ने उनको निचोड थियो।

त्यही वेला भारतको दिल्लीमा भएको विधानसभा निर्वाचनमा अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीले सफलता पायो। त्यसले पनि उनलाई नयाँ पार्टी बनाएर अघि बढ्न सक्ने आत्मविश्वास दिलाएको हुन सक्छ। तर, त्यस्तै शक्ति बनाउन परम्परागत मार्क्सवादको मार्गदर्शन पर्याप्त हुने थिएन। त्यही कारण बाबुरामले मार्क्सवाद र उदारवादका राम्रा कुराहरूलाई 'फ्युजन' गर्नुपर्ने बताएका थिए।

नफर्कने सम्भावना

विराटनगरबाट काठमाडौं फर्केपछि पनि बाबुरामले निकटस्थहरूसँग एमाओवादीमा फर्कने सम्भावना नरहेको दोहोर्‍याए। फर्कन चाहँदा पनि राष्ट्रिय सम्मेलनले केन्द्रीय समिति निर्वाचित गरिसकेकाले अब उनीसँग एमाओवादी केन्द्रमा पुग्न मनोनीत हुने वा महाधिवेशन पर्खने विकल्प मात्र बाँकी छ। उपाध्यक्ष पाउँदा समेत चित्त नबुझ्ाएका बाबुराम मनोनीत भएर केन्द्रमा जाने सम्भावना छैन नै भन्दा हुन्छ। उनले तल्लो तहमा रहेर काम गर्ने बताए पनि कम्युनिष्ट पार्टीमा भूमिका निर्वाह गर्न पद नै चाहिने भएकाले त्यो पनि सम्भव छैन।

अध्यक्ष दाहालले पनि बाबुराम पार्टीमा फर्कने आशा मारिसकेको संकेत सम्मेलनपछिका प्रस्तुति मार्फत दिएका छन्। उनले विराटनगरबाट फर्केपछि आफ्ना निकटस्थ तथा वैद्य माओवादीका नेताहरूसँग पनि त्यस्तै भनेको स्रोतहरू बताउँछन्। बाबुराम र उनी पक्षधरहरू हिंडेपछि पनि सम्मेलनबाट केन्द्रीय समिति निर्वाचन गराउनुले दाहाल अब आफ्नै भरमा पार्टी चलाउने मनस्थितिमा पुगेको देखाउँछ। यो हिसाबले बाबुराम र दाहालको बाटो अब भिन्नै हुने निश्चित भइसकेको छ।

बाबुराम नरुचाउने ठूलो पंक्ति एमाओवादीमा रहेकाले दाहाललाई तत्काल बाबुरामको अभाव महसूस हुने पनि देखिंदैन। यस्तो अवस्थामा बाबुराम बाहेकको पार्टी बनाउने इच्छा राख्ने एमाओवादी र माओवादीमा रहेको पंक्तिले दुई पार्टीबीचको एकता अभियान अघि बढाउन सक्छ। एउटा संविधानसभामा रहेको र अर्कोले संविधानसभा निर्वाचन बहिष्कार गरेकाले तत्काल यो अभियान सफल हुन गाह्रो भए पनि ढिलो–चाँडो पार्टी एकता हुने देखिन्छ।

पार्टी नफुटाउने

मोहन वैद्यले जस्तो अर्को माओवादी पार्टी बनाउने पक्षमा बाबुराम छैनन्। पार्टी फुटाएर अर्को माओवादी बनाउने योजना भएको भए उनले विराटनगर सम्मेलनमा केन्द्रीय समितिमा आफ्नो पक्षलाई बलियो पार्न बल गर्ने थिए। त्यसो हुँदा वैद्यले जसरी पार्टी फुटाउन र पार्टीको भौतिक सम्पत्तिमा भागबन्डा खोज्न उनलाई सजिलो हुनेथियो।

बाबुरामले त्यसो नगर्नुमा संस्थापनले कारबाही गरोस् वा बाहिरै बसेर एमाओवादीसँग सम्बन्धविच्छेद गर्न पाइयोस् भन्ने चाहना रहेको देखिन्छ। त्यसो हुँदा निर्माण गर्न लागेको 'नयाँ शक्ति' मा माओवादी पृष्ठभूमि बाहिरका व्यक्ति पनि आएर पार्टीको दायरा फराकिलो हुने उनको बुझाइ हुन सक्छ।

बाबुरामले गैरमाओवादीलाई संगठित गर्ने प्रयास गरिरहेको सार्वजनिक पनि भइसकेको छ। तर, भारतीय नेता अरविन्द केजरीवालकै शैलीमा विभिन्न क्षेत्रमा प्रतिष्ठा आर्जन गरेका व्यक्तिहरूलाई जम्मा गर्ने उनको प्रयास सफल भएको छैन। मूलधारका पार्टीहरूसँगको असन्तोष सम्बन्धविच्छेद गर्ने तहमा नपुगेको र बाबुरामको माओवादी पृष्ठभूमि यो असफलताको कारण हुन सक्छ।

यसरी हेर्दा, आगामी दिनमा पनि बाबुरामले गैर–माओवादी तप्कालाई समेट्न सक्ने सम्भावना कमै छ। किनभने, १० वर्षे 'जनयुद्ध' को हिंसा तथा मानवअधिकार हनन्लाई हेर्ने विषयमा भोलि पनि उनी र गैर–माओवादी तप्का एकै ठाउँमा आउने सम्भावना धेरै छैन। माओवादी नाम छाड्दैमा विगतसँग पूरै सम्बन्धविच्छेद गर्न उनलाई जति गाह्रो हुनेछ, एक दिन पनि कम्युनिष्ट नभएका र एक जना मान्छेको रगतको छिटा नलागेकाहरूलाई बाबुरामको विगतको जिम्मेवारी लिन उत्तिकै कठिन हुनेछ।

एमाओवादीबाट पनि उनले ठूलो संख्यामा नेता/कार्यकर्ता तान्न सक्ने सम्भावना कम छ। एमाओवादीमा यसै पनि उनलाई पछ्याउँदै पार्टी छाड्न तयार हुने माओवादबाट दीक्षित नेता/कार्यकर्ता धेरै छैनन्। नयाँ पार्टीमा जानेहरूको भविष्य नहुने एमाले/माले, कांग्रेस/कांग्रेस (प्रजातान्त्रिक) र पछिल्लो पटक एमाओवादी विभाजनले देखाएको अवस्थामा बाबुरामलाई साथ दिनेहरू धेरै नहुने अनुमान गर्नु बेठीक नहोला।

यस हिसाबले भन्न सकिन्छ, एमाओवादीसँग सम्बन्धविच्छेद गर्ने निर्णय बाबुरामका लागि हितकर हुने छैन। तर, आफ्नो बुद्धि र व्यक्तित्वमा बढ्तै विश्वास भएका बाबुरामसँग यो 'रिस्क' लिनुको विकल्प पनि छैन।

comments powered by Disqus

रमझम