२८ वैशाख - ३ जेठ २०७१ | 11-17 May 2014

एनसेलमा निःशुल्क विकिपिडिया

Share:
  

एनसेलका ग्राहकले विश्वकै ठूलो अनलाइन पुस्तकालय विकिपिडिया निःशुल्क चलाउन पाउने भएका छन्। एनसेलले विकिमिडिया फाउन्डेसनसँगको सहकार्यमा २४ वैशाखबाट 'विकिपिडिया जिरो' नामक नयाँ सेवा शुरु गरेको हो। यो सेवा अन्तर्गत एनसेलको इन्टरनेट सेवा प्रयोगकर्ताले विकिपिडियामा रहेका जानकारीमूलक लेख तथा अध्ययन सामग्री निःशुल्क हेर्न/पढ्न पाउने छन्। ओपेरा मिनी, ब्ल्याकवेरी तथा अन्य प्रोक्सी ब्राउजर रहेका मोबाइल सेटमा भने यस्तो सेवा उपलब्ध हुने छैन।

दरबारमार्गमा हाइसेन्स

हाइसेन्स ब्रान्डका उत्पादनको आधिकारिक बिक्रेता नवीन डिष्ट्रिब्युटर्सले शेर्पा मल दरबारमार्गमा नयाँ शोरुम संचालनमा ल्याएको छ। विश्वमा उच्च बिक्री हुने यो ब्रान्डका टिभी, रेफ्रिजेरेटर, एयर कन्डिसनर र वासिङ मेशीन उपलब्ध शोरुममा छिट्टै अन्य उत्पादनको पनि बिक्री शुरु गरिने कम्पनीले जनाएको छ। नवीन डिष्ट्रिब्युटर्सले दुई दशकदेखि विभिन्न ब्रान्डका घरायसी उपकरणको व्यापार गर्दै आएको छ।

निम्बसको कृषि केन्द्र

निम्बसले दुई वर्षभित्र देशभर २०० वटा कृषि केन्द्र स्थापना गर्ने भएको छ। पहिलो केन्द्र काठमाडौंको कालीमाटीमा खुल्ने तथा यही महीनाभित्र नारायणगढ र वीरगञ्जमा पनि शोरुम खोल्ने कम्पनीले जनाएको छ। यी केन्द्रमा किफायती मूल्यमा गुणस्तरीय बीऊ, पशु चिकित्साका औषधि, मल, पेलेट फिड, कृषि सामग्री तथा मेशीन पाइने छ।

शंकरको माइलस्टोन्स

शंकर समूहको जगदम्बा स्टील्सले कम्पनीको भावी रणनीतिक योजना र हालसम्मका उपलब्धि समीक्षा गर्न माइलस्टोन्स कार्यक्रम गरेको छ। कार्यक्रममा कम्पनीका उत्पादनले आईएसआई प्रमाणपत्र प्राप्त गरेको जानकारी दिइएको थियो। जगदम्बा आरएमएस रेडिमेड स्टीलले छडबाट निर्मित काटिने र मोडिने उत्पादन उपलब्ध गराएको तथा भविष्यमा ५०० डी श्रेणीका नयाँ श्रृंखलाका टीएमटी छड ल्याउने जनाइएको छ। कार्यक्रममा क्रिकेट टीम जगदम्बा जायन्ट्सको पनि घोषणा गरिएको थियो। एनपीएलमा समावेश हुने यो टीमको नेतृत्व क्याप्टेन शक्ति गौचनले गर्नेछन्।

दृष्टिविहीन महिला क्रिकेट

वुमन ड्रिम अर्गनाइजेसनले पेरिविन्कल सर्भिस र क्रिकेट एसोसिएसन अफ ब्लाइन्ड, नेपालसँगको सहकार्यमा दृष्टिविहीन महिला क्रिकेट प्रतियोगिता गर्ने भएको छ। १५ जेठमा पुल्चोक इन्जिनियरिङ क्याम्पसको चाकुपाट पिचमा हुने टी २०/२० प्रतियोगितामा काठमाडौं र कास्कीबीच प्रतिस्पर्धा हुनेछ। विजेतालाई नगद र अन्य पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। कार्यक्रमस्थलमा विभिन्न कलाकारको प्रत्यक्ष प्रस्तुति, फुड स्टल आदि रहनेछ।

पदमार्ग पहिचान चिन्ह

मिडिया सेवा प्रदायक कम्पनी म्याक्स मिडियाले दोलखाको कुरीबजारदेखि कालिञ्चोक मन्दिरसम्म पदमार्ग पहिचान चिन्ह स्थापना गरेको छ। कालिञ्चोक संरक्षण समिति तथा स्थानीय बासिन्दाको सहयोगमा त्यस क्षेत्रमा पदमार्ग पहिचान गर्न सजिलो हुने गरी ३२ स्थानमा बोर्ड मार्फत बाटो देखाउने संकेत चिन्ह राखिएको हो। मिडियाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तो काम गरेको हो।

एनएमबी ब्याङ्कले जनकपुरमा २७औं शाखा स्थापना गरेको छ। जनकपुरको भानुचोकमा खोलिएको शाखाले सम्पूर्ण ब्याङ्किङ सेवाका अतिरिक्त एनएमबी ब्याङ्क सुलभ रेमिट, एटीएम समेत सेवा दिनेछ।

सनराइज ब्याङ्कको छैटौं वार्षिक साधारणसभाले सर्वसाधारण शेयरधनीका तर्फबाट डा. दीपकप्रसाद भट्टराई र दीपक नेपाललाई ब्याङ्कको संचालक सदस्यमा निर्वाचित गरेको छ। साधारणसभाले संस्थापक शेयरधनीहरुको ७० प्रतिशत शेयरमध्ये १९ प्रतिशत शेयर सर्वसाधारण समूहमा परिणत गर्ने निर्णय गरेको छ।

एनआईसी एशिया ब्याङ्कले रु.५० करोडको ऋणपत्र बिक्री गरेको छ। बिक्री खुल्ला गरिएको चौथो दिनमा नै बण्ड बिक्री भएको ब्याङ्कले जनाएको छ। सातवर्षे अवधिको यो ऋणपत्रको व्याजदर ७.२५ प्रतिशत छ। इक्रा नेपालले एलए माइनस ग्रेडिङ दिएको यो द्वितीय बजारमा पनि खरीद बिक्रीको लागि सूचीकृत हुनेछ।

कुमारी ब्याङ्कको १३औं साधारणसभाले आगामी कार्यकालको लागि संस्थापक शेयरधनीका तर्फबाट नूरप्रताप राणा, सन्तोषकुमार लामा, उत्तमप्रसाद भट्टराई र नरेश दुगड तथा सर्वसाधारणको तर्फबाट पुनाराम भण्डारीलाई सञ्चालक पदमा निर्वाचित गरेको छ।

comments powered by Disqus

रमझम