कृपया पशुबलिका बारेमा नबोल्नुस्

Share:
  
- केदार शर्मा

दशैंका बेला चल्ने एउटा हुँइया हो― 'निर्दोष पशुहरूको बलि नदिऊँ!' हस् हजूर, आज्ञा शिरोपर छ। तर दोषी पशु चिनाइदिने जिम्मेवारी चाहिं हजूरको। 

अर्काथरी पण्डित कुर्लिन्छन्, “पशुबलि दिनु भनेको साँच्चै पशु काट्ने होइन, आफ्नो मनभित्रको पशुलाई नाश गर्ने हो।” देवीको स्तोत्र मन्त्रादिमा पटक–पटक चर्चा हुने रक्त, मांस आदि चाहिं कुन मनबाट निस्किन्छ? विभिन्न पशुलाई देवताका प्रतीक वा वाहन मान्ने धर्मले तिनै पशुलाई पापी वा नराम्रो कामको प्रतीक मानेको प्रमाण के छ? भारतवर्षमा अनेकन मतहरू हजारौं वर्षदेखि मिलिजुली बसेको बिर्सेर शाक्त विधि–विधानबारे गैर शाक्तले यसरी ट्याउँ ट्याउँ बोल्न हुन्छ? 
 
अर्काथरी छन्, काठमाडौंको मिश्रित समाजको सौन्दर्यमा हुर्किए पनि त्यहाँको धार्मिक सहअस्तित्व र सहिष्णुता सिक्न नसकेका आधुनिक बुद्धिजीवीहरू। आफूलाई 'बुद्धिष्ट', हिन्दू वा 'सेक्युलर' (धर्मनिरपेक्ष) भन्ने उनीहरू आ–आफ्नै पाराले दशैं मनाउँछन्र प्रत्येक दशैंअघिको उनीहरूको एउटा अनुष्ठान हुन्छ, पशुबलिका विरोधमा वक्तव्यबाजी। पशुबधलाई 'अमानवीय' भन्ने उनीहरू मासु खानुलाई चाहिं अमानवीय मान्दैनन्, मानौं मासु खाँदा पशुबध पनि 'मानवीय' हुन्छ। नेपालमा पशुबधलाई अमानवीय हुन नदिन गर्नैपर्ने मासु खाइने पशुहरूको पीडारहित बधबारे चाहिं एक शब्द उच्चारण गर्दैनन्। हाम्रो सामाजिक–सांस्कृतिक परिवेशमा आधुनिक बधशालाबाट मात्र मासुको आपूर्ति हुने कुरा कल्पना गर्न सजिलो पनि छैन। मासुका लागि पशुपक्षी काट्ने र बलि दिने प्रक्रियामा आधारभूत अन्तर नभएपछि पशुबलिको मात्र विरोध गर्नु वा दशैं वा गढीमाई मेलाका बेलामा मात्र संवेदना जाग्नु पत्रपत्रिकामा आफ्नो नाम पढ्ने लालसा बाहेक केही होइन। 
 
संसारका सबैजसो प्रमुख धर्ममा भिन्न–भिन्न सम्प्रदायहरू छन्। धार्मिक रूपमा स–साना अन्तरका कारण पनि उनीहरूबीच लडाईं भएका उदाहरणहरू छन्। आफूलाई हिन्दू मान्ने विभिन्न सम्प्रदायमा पनि एउटै धर्मका अनुयायी मान्नै नमिल्ने किसिमका आकाश–जमिनका अन्तर छन्। कोही निर्गुणलाई मान्छन्, कोही सगुणको अभ्यर्थना गर्छन्। कोही वैष्णव छन्, प्राणीहरूको बध गर्दैनन्; कोही देवी देवतालाई रगत नै चढाउँछन्, पञ्चमकारका अन्य अनुष्ठानहरू समेत पूरा गर्छन्। भारतको महाराष्ट्रका गणेश लड्डु मात्र खान्छन्, काठमाडौंका गणेशलाई पशुरक्त पनि स्वादिष्ट लाग्छ। दक्षिण भारतका ब्राह्मण निरामिष हुन्छन्, तर बङ्गाल, मिथिलाञ्चल र हिमालय क्षेत्रका बाहुनहरूका भान्सामा निश्चित पशु–पक्षीको मासु र माछा पाक्छ। शास्त्रीय हिन्दूहरू सुँगुर खाँदैनन् तर बसाइँसराइका क्रममा सुँगुर खाने समुदायहरूसित घुलमिल हुँदा त्यसप्रति सहिष्णुता बढेको छ। गङ्गाको मैदानका वा दक्षिण भारतका हिन्दूले कहिल्यै नाम नसुनेका देवी देवताले हिमाली मन्दिरहरू भरिएका छन्। हामीले एक अर्काका आचारव्यवहार धेरै फरक भए पनि तिनको अपमान नगरी बाँच्न जानेका छौं। अति जान्ने सुन्नेहरू धुरा नपसे हाम्रो समाज यस्तै रहिरहनेछ।  
 
तीन वर्षजति अघि गुल्मीको भार्से गाउँको जुनियाँकोटमा एउटा प्रश्न सोधिएको थियो, “मगरहरूलाई त बौद्ध धर्मावलम्बी पनि भनेको सुनिन्छ। तर तपाईंहरूको यत्रो कोट छ, हतियारको पूजा गर्नुहुन्छ, बलि दिनुहुन्छ, यो विरोधाभास भएन?” त्यहाँका सामाजिक अगुवा श्यामलाल थापाले भन्नुभएको थियो, “हामी मूल रूपमा प्रकृतिपूजक हौं। पहिले पनि लडाका हौं र एक शताब्दीभन्दा अघिदेखि नेपालका र विदेशका फौजमा छोरा पठाइआएका छौं। छोरालाई रणमा पठाउँदा देवीको र हतियारको पूजा गर्नु र रगतसित चिनारी गरेर पठाउनु हाम्रो परम्परा भइसकेको छ।”  
 
आफूले अभ्यास नगर्ने धार्मिक विधिहरूको व्याख्या गर्ने ज्ञान र नैतिक हक कसैमा हुँदैन। इस्लामको कुनै पन्थमा आफ्नै शरीरमा रगताम्मे हुने गरी प्रहार गर्ने चलन छ। फिलिपिन्सका इसाईहरू येशुखि्रष्ट जसरी आफैं क्रसमा टाँगिएका दृश्य टेलिभिजनमा देखिन्छ। मन नपर्न सक्छ, तर एउटा हिन्दू वा कुनै पनि विधर्मीलाई त्यसका बारेमा सार्वजनिक टिप्पणी गर्ने हक हुनुहुँदैन।  
 
आफू मात्र जान्ने जस्तो गरेर अर्कालाई तिम्रो धर्म र परम्परामा यो भएन र ऊ भएन भन्नु भलाद्मीपन होइन, आधुनिक शैलीको अतिक्रमण मात्र हो।
comments powered by Disqus

रमझम