११-१७ जेठ २०७१ | 25-31 May 2014

भोला चटर्जीलाई त्रिशक्तिपट्ट

Share:
  
- शंकर तिवारी
महेन्द्र राजा नबन्दै दिइएको त्रिशक्तिपट्ट पदवीले भोला चटर्जीलाई महेन्द्रको देहावसान भएको दुई वर्षपछि मात्र विभूषित गरिएको थियो।

बीपीका साथ भोला चटर्जी।
२००७ को क्रान्तिमा विशेष भूमिका निर्वाह गरेकोमा भोला चटर्जीलाई नेपाल सरकारले 'विख्यात त्रिशक्तिपट्ट' प्रदान गर्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले १६ अप्रिल १९५४ मा भोलालाई पत्र लेखेर यो निर्णयको जानकारी दिंदै बधाई समेत दिएका थिए। भोलाको १९६७ मा अंग्रेजी भाषामा प्रकाशित 'अ स्टडी अफ रिसेन्ट नेपलीज पोलिटिक्स' को अनुसूचीमा यो पत्र छापिएको छ। भोलाले पदवी पाएको एक वर्षमा राजा त्रिभुवनको मृत्यु भएपछि नयाँ राजा महेन्द्रले मातृकाप्रसादलाई हटाए। यस्तै राजनीतिक घटनाक्रमका कारण भोलालाई राजा महेन्द्रको मृत्यु भएको दुई वर्षपछि अर्थात् १७ नोभेम्बर, १९७४ मा मात्र त्यो पदवीबाट विभूषित गरियो। त्यो पनि कलकत्ताको महावाणिज्यदूतावासमा। त्यहाँ उनलाई तत्कालीन महावाणिज्यदूत रोमबहादुर थापाले विशेष समारोहबीच पदवी पहिर्‍याएका थिए। त्यसपछि लिखित मन्तव्य दिंदै थापाले भनेका थिए– '२००७ सालको जनक्रान्तिमा उल्लेख्य योगदान गरेबापत राजा त्रिभुवनले २० वर्ष अगाडि यो पदवी घोषणा गरे पनि बीचका वर्षहरूमा भोलाको नेपालप्रतिको निरन्तरको प्रेम र मैत्रीभाव बढेको र उनका लेखनीबाट दुई छिमेकी बीच समझ्दारी र समभाव बढाउन महत्वपूर्ण भूमिका खेलेको छ।'

भोलाले आफ्नो पुस्तक 'रिसेन्ट नेपलीज पोलिटिक्स' मा महेन्द्रको शासनका तीन विशेषता उल्लेख गरेका थिए। प्रजातान्त्रिक पद्धतिप्रति प्रतिशोध, नेपाली कांग्रेसप्रति वैरभाव र भारतप्रति घृणा। जसलाई पदवी दिन २० वर्ष ढिलाइ गर्नुको महत्वपूर्ण कारण मानिएको छ।

१९५४ सम्म कुनै विदेशी सर्वसाधारणलाई यति ठूलो पदवी दिने घोषणा भएको थिएन। २९ मई १९५३ मा सगरमाथा आरोहण गरेर फर्केका तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीलाई फरक फरक पदवी दिइएको थियो। त्यो वेलासम्म नेपाली रहेका तेन्जिङलाई नेपाल तारा दिइएको थियो भने एडमन्ड हिलारीलाई गोरखा दक्षिण बाहु (चौथो)। पञ्चायतकालमा भने नेपाली कला, साहित्य र संस्कृतिको सेवा गर्ने विदेशीलाई हरेक पाँच वर्षमा वीरेन्द्र प्रज्ञालङ्कार प्रदान गरिने चलन थियो।

भोलाले नेपालबारे पाँच कृति लेखेका थिए। उनको पहिलो कृति 'उन्नाइसौं पंचासका नेपाल' अर्थात् '१९५० को नेपाल' बंगालीमा छापिएको थियो। बीपी कोइरालाले भूमिका लेखेको यो पुस्तकको अहिलेसम्म नेपालीमा अनुवाद भएको छैन। बीपी शतवार्षिकीमा यो पुस्तक नेपालीमा अनुवाद हुनसक्दा इतिहासका धेरै पाटा सार्वजनिक हुने आशा गर्न सकिन्छ। २००७ सालको क्रान्तिबारे उपन्यासकार फणीश्वरनाथ रेणुले हिन्दीमा लेखेको 'नेपाली क्रान्ति कथा' को भने नेपालीमा अनुवाद भइसकेको छ।

भोलाको नेपालबारे दोस्रो कृति 'नेपाल्स् एक्सपेरिमेन्ट विद डेमोक्रेसी' १९७७ मा अंग्रेजीमा प्रकाशित भएको थियो। सन् १९८० मा प्रकाशित 'प्यालेस, पिपुल एन्ड पोलिटिक्स' उनको तेस्रो कृति थियो। सन् १९८२ मा प्रकाशित 'बीपी कोइराला―अ पोट्रेट अफ अ रिभुलुसनरी' उनको अन्तिम कृति हो। जसलाई अंग्रेजी संसारमा बीपी कोइरालालाई परिचित गराउने मानक पुस्तक मानिन्छ। साझा प्रकाशनले छापेको यो पुस्तकमा बीपीसँग लिइएको उनको व्यक्तित्वमा आधारित लामो अन्तर्वार्ता छ। बीपीका भाइ तारणीप्रसाद कोइरालाले सम्पादन गरेका झिल्को, आँधी, कल्पना जस्ता पत्रिकाहरूले पनि बीपीको जीवनलाई अभिलेख गरेका छन्।

जनमत संग्रह अगाडि नेपाली कांग्रेस प्रतिबन्धित जस्तै थियो। त्यही कारण कांग्रेसलाई सहानुभूति राख्ने भोलाका कृतिले नेपाली बजारमा पहुँच पाउन सकेनन्। केही पत्रिकाले ती पुस्तकको समीक्षा छापे पनि चर्काे आलोचना गरिएको हुन्थ्यो। साथीहरूबीच 'नेपाल बाबा' भनिने भोलाले आनन्दबजार पत्रिका समूह अन्तर्गत निस्किने अंग्रेजी, हिन्दी, बंगाली, पत्रिका र हिन्दुस्तान स्ट्यान्डर्डमा नेपालबारे लामो समय रिपोर्टिङ गरेका थिए। त्यतिवेला आनन्दबजार पत्रिकाको कर्पोरेट सञ्जाल एशियाकै ठूलो अखबार घराना मानिन्थ्यो।

comments powered by Disqus

रमझम