११-१७ जेठ २०७१ | 25-31 May 2014

कुखुराको मासुमा एन्टिबायोटिक

Share:
  
- सन्त गाहा मगर
पोल्ट्री फार्ममा कुखुरालाई दिइने एन्टिबायोटिक मासुको माध्यमबाट उपभोक्ताका शरीरमा प्रवेश गरिरहेको छ। रोग नलागिकनै शरीरमा पुगेका एन्टिबायोटिकका कारण मानिस बिरामी हुँदा हाई डोज एन्टिबायोटिकले समेत छुन छाडेको छ।

उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, युरिक एसिड– पछिल्लो समय शहरिया नेपालीको घरैपिच्छेको समस्या बनेको छ। बढ्दो शहरीकरण, बदलिएको जीवनशैली, आर्थिक दबाब र तनाव यसको कारण रहेको आमबुझाइ छ। यो समस्याबाट पार पाउन चिकित्सकहरू सल्लाह दिन्छन्– नियमित व्यायाम, तनावरहित जीवनशैली र मांसहारी भए 'ह्वाइट मिट'। थुप्रै खालका 'ह्वाइट मिट' मध्ये सबभन्दा सहज र सुलभ बनेको छ– ब्रोइलर कुखुरा।

नेपालमा ब्रोइलरको उत्पादन बढेसँगै आम नेपालीको आहारमा पौष्टिकता वृद्धि भएको विभिन्न आँकडाले देखाएकै छन्। नेपाल दाना उद्योग संघका अध्यक्ष डा. तिलचन्द्र भट्टराईका अनुसार नेपालीले वर्षमा सरदर ६५ वटा अण्डा र ४.८ किलो मासु खान थालेका छन्। आ.व. २०६९/७० मा ७ लाख ८३ हजार ७०१ टन मासु र १ अर्ब ७६ करोड ४६ लाख ४८ हजार ९५७ वटा अण्डा उत्पादन भएको थियो। आव २०६८/६९ को तुलनामा मासु २८ हजार ४२३ टन र अण्डा २७ करोड ४० लाख ७४ हजार १४ बढी उत्पादन हुनुले पनि उपभोगमा वृद्धि भएको देखाउँछ।

ब्रोइलर उपभोगको व्यापकतासँगै बढेको पौष्टिकताका कारण नेपालीको शरीरको आकार पनि बढेको मानिन्छ। यसक्रममा एउटा डरलाग्दो तथ्य फेला परेको छ– कुखुराको मासु मार्फत स्वास्थ्यका लागि एकदमै हानिकारक एन्टिबायोटिक पनि नेपालीको शरीरमा प्रवेश गरिरहेको छ। पछिल्लो पुस्ताका नेपालीको शारीरिक वृद्धिमा कुखुराको मासु मार्फत पौष्टिकता पूरा भएर भन्दा पनि ब्रोइलरलाई छिटो हुर्काउन दिइने ग्रोथ हर्मोनको कारण भइरहेको छ। कुखुरालाई दिइएको एन्टिबायोटिक्स मासु मार्फत लिंदा हाम्रो शरीर कुनै रोग लाग्ने वित्तिकै हाइडोजको एन्टिबायोटिकले समेत छुन नसक्ने अवस्थामा पुगिरहेको छ भने ग्रोथ हर्मोनले बालबालिकालाई हलक्क बढाइरहेको छ। १० वर्षको बालक वयस्क जस्तो वा किशोर उमेरमै अधबैंसे जस्तो देखिनुको प्रमुख कारण यही भएको विज्ञहरूको भनाइ छ।

शान्त महामारी

गएको १७ वैशाखमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जेनेभास्थित प्रधान कार्यालयमा भर्चुअल पत्रकार सम्मेलन गरेर रोगको प्रभावकारी उपचार नहुने र रोकथाम समेत गर्न नसकिने एन्टीमाइक्रोवायल रेसिस्टेन्स (एएमआर) को मात्रा बढ्दै गरेको तथ्य सार्वजनिक गर्‍यो। डा. कारमेम पेसाओ नेतृत्वको विशेषज्ञ टोलीको अनुसन्धानले एएमआरको मुख्य कारक ब्याक्टेरिया भएको पुष्टि गरेको र विकासशील देशहरूमा उपचारै हुन नसक्ने अवस्था देखिएको डब्लुएचओको निष्कर्ष छ।

पत्रकार सम्मेलनमा डब्लुएचओको स्वास्थ्य सुरक्षातर्फका सहायक महानिर्देशक डा. केइजी फुकुदाले नेपाल लगायत ११४ देशको तथ्याङ्कमा आधारित रहेर गरिएको अनुसन्धानले कतिपय रोगमा औषधिले कामै नगर्ने तथ्य फेला परेको बताए। उनले 'एएमआर भविष्यको नभएर आजैको जल्दोबल्दो मुद्दा हो' भनेका थिए। डा. फुकुदाले औषधिले काम नगरेपछि बिरामीहरू दुईदेखि सोह्र दिनसम्म बढी अस्पताल बस्नु परेको डब्लुएचओको निष्कर्ष पनि सुनाए।

ग्लोबल एन्टिबायोटिक रेसिस्टेन्स पार्टनरसीप (गार्प) का नेपाल अध्यक्ष डा. बुद्ध बस्नेत एएमआरको प्रभाव कम गर्न बेलायत, स्वीडेन जस्ता देशले एन्टिबायोटिक प्रयोगमा प्रतिबन्ध लगाउन थालेको बताउँछन्। एएमआर अहिले 'शान्त महामारी' जस्तै भइसकेको डा. बस्नेतको भनाइ छ। उनका अनुसार, ब्रोइलर कुखुरा लगायतका पक्षी र पशुहरूलाई दानाबाट दिइने एन्टिबायोटिक्स एएमआरको प्रमुख कारक हो। “तर, समस्या यति गम्भीर भए पनि नेपालमा वास्ताको विषय बनेको छैन”, डा. बस्नेत भन्छन्।

स्रोतः नेपाल दाना उद्योग संघ

हुन पनि, नेपालमा मान्छेले खाने एन्टिबायोटिक समेत डाक्टरको प्रेसक्रिप्सन विनै बिक्री वितरण भइरहेको छ। चितवनको रामपुर कृषि क्याम्पसकी प्राध्यापक डा. शारदा थपलिया मानव स्वास्थ्यमा मात्रै होइन वातावरणमै प्रत्यक्ष नकारात्मक असर पार्ने एन्टिबायोटिक्सको प्रयोग कुन–कुन पोल्ट्री फार्मले कसरी प्रयोग गरिरहेका छन्, अनुगमन नै नभएको बताउँछिन्।

कलेजो–पाङ्ग्रामा बढी

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दुई वर्षअघि गरेको अध्ययनले ब्रोइलर कुखुराको मासुमा अत्यधिक एन्टिबायोटिक्स (भेटेनरी ड्रग रेसिड्युज) भेटिएको थियो। विभागको अध्ययन प्रतिवेदनमा कुखुराको मासुमा टेट्रासाइक्लिन, म्याक्रोलिड्स, अमिनो ग्लिसाइड्स, सल्फोनामाइड, पेनिसिलिन लगायतको मात्रा बढी पाइएको उल्लेख छ। विभागले ७५ वटा नमूना संकलन गरेर 'एन्टिबायोटिक रेसिड्यु इन चिकेन मिटः ए पोटेन्सियल थ्रेट टु फुड सेफ्टी' शीर्षकमा अध्ययन गरेको थियो, जसमा ५० प्रतिशत नमूनामा उच्च मात्रामा एन्टिबायोटिक भेटियो। ब्रोइलरको मासुमा भन्दा पाङ्ग्रा र कलेजोमा एन्टिबायोटिकको मात्रा बढी पाइएको छ। (हे. इन्फोग्राफिक्स)

उत्पादकहरूले ब्रोइलर र पशु दानाको बोरामा 'इन्गि्रडियन्ट' सूची नै नराखेर निर्धक्क बेच्न पाएपछि त्यसमा के के मिसाइएको छ भन्ने जानकारी कुखुरा पालकहरूलाई हुँदैन। (हे. कानूनले नछुने दाना उद्योग) बरु, उनीहरू कुन दाना खुवाउँदा ब्रोइलर छिटो बढ्यो त्यही किन्न हौसिन्छन्। उता भेटेनरी डाक्टरहरू 'दानाबाट आहार नपुगेका कुखुरा' लाई विभिन्न इन्जेक्सन लगाउनु परेको कुरा लुकाउँदैनन्। पोल्ट्री फार्महरूमा जेन्टामाइसिन, इनरोफ्लसासिन, टेट्रासाइक्लिन, अक्सिटेट्रासाइक्लिन, ईरीथ्रोमाइसिन, स्ट्रेपटोमाइसिन, एमोक्सिलिन, डक्सिसाइक्लिन, नियोमाइसिन, सल्फाडाइजिन, टि्रफाडाइजिन, ट्राईमीथोप्राइम, नरफ्लोक्ससिन, अमिकासिन, कोलिस्टाइन, म्याक्रोलिड्स, अमिनो ग्लाकोसाइड्स, सल्फनामाइड, पेनिसिलिन जस्ता एन्टिबायोटिकको प्रयोग।जस्ता एन्टिबायोटिक दिने गरिएको जावलाखेलका एक भेटेनरी डाक्टरले बताए। अर्का भेटेनरी डाक्टर सुनिल सापकोटाले कम एन्टिबायोटिक लेख्दा आफ्नो क्लिनिकमा स्वात्तै ग्राहक घटेको तीतो अनुभव सुनाए।

जेन्टामाइसिन, इनरोफ्लसासिन, टेट्रासाइक्लिन, अक्सिटेट्रासाइक्लिन, ईरीथ्रोमाइसिन, स्ट्रेपटोमाइसिन, एमोक्सिलिन, डक्सिसाइक्लिन, नियोमाइसिन, सल्फाडाइजिन, टि्रफाडाइजिन, ट्राईमीथोप्राइम, नरफ्लोक्ससिन, अमिकासिन, कोलिस्टाइन, म्याक्रोलिड्स, अमिनो ग्लाकोसाइड्स, सल्फनामाइड, पेनिसिलिन जस्ता एन्टिबायोटिकको प्रयोग।

प्रतिबन्धित एन्टिबायोटिक

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अध्ययन अनुसार टेट्रासाइक्लिन, म्याक्रोलिड्स, अमिनो ग्लिसाइड्स, सल्फोनामाइड, पेनिसिलिन जस्ता एन्टिबायोटिक दाना र औषधिको रूपमा कुखुराको मासुमा पुगेका हुन्। ब्रोइलरलाई दिइनेमध्ये टेट्रासाइक्लिन र पेनिसिलिन नेपालमा २०४० बाटै प्रतिबन्धित भएको स्वास्थ्य सेवा विभागको वेबसाइट धधध।ममब।नयख।लउरदबलम)मचगनक।उजउ ले बताउँछ। वेबसाइट अनुसार, टेट्रासाइक्लिनको भिटामिन 'सी' सँगको कम्बिनेसन र सल्फोनामाइडसँगको पेनिसिलिन १३ असार २०४० देखि उत्पादन, बिक्री–वितरण, आयात र प्रयोगमा प्रतिबन्धित भएको हो। यसैगरी, टेट्रासाइक्लिन लिक्विडको ओसार–पसार, उत्पादन, आयात–निर्यात र भण्डारणमा ३ मंसीर २०४७ देखि रोक लगाइएको हो। यो औषधि भेटेनरी प्रयोजनमा भने प्रयोग गर्न सकिने वेबसाइटमा उल्लेख छ। तर, मान्छेका लागि प्रतिबन्धित एन्टिबायोटिक कुखुराको मासु मार्फत मान्छेकै शरीरमा पुगिरहेको छ, जसमा सरकार मौन देखिन्छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक जीवनप्रभा लामा स्वस्थ मासु उत्पादनका लागि कुखुराको पूरै खाद्य चक्र स्वस्थ हुनुपर्ने बताउँछिन्। पौष्टिक तत्वको राम्रो स्रोत मानिने मासु गुणस्तरीय नहुँदा जनस्वास्थ्यमा नकारात्मक असर परिरहेको लामाको भनाइ छ। (हे. बक्स) उता उपभोक्ता हित संरक्षण मञ्चका सचिव रामचन्द्र सिंखडा भन्छन्, “एन्टिबायोटिक सहितको मासु वा पौष्टिकता विनाको मासु बेच्नु उपभोक्तामाथिको अपराध हो।”

एन्टिबायोटिक प्रयोगले छिट्टै मोटाएका कुखुरा।

बजारमा बिक्रीका लागि तयार ब्रोइलर कुखुराको मासु।

मुख्य माध्यम ब्याक्टेरिया

बिरामी हुँदा मात्रै खानुपर्ने एन्टिबायोटिक दिनहुँ मासुसँगै शरीरमा पुग्नुलाई विज्ञहरू एचआईभी/एड्सभन्दा खतरनाक महामारीलाई निमन्त्रणा दिएसरह भएको बताउँछन्। गार्प नेपालका कार्यक्रम निर्देशक तथा मुख्य अनुसन्धानकर्ता डा. समिरमणि दीक्षितले मासुबाट मानव शरीरमा प्रवेश गरेको एन्टिबायोटिक एड्सको जीवाणुभन्दा खतरनाक हुनसक्ने बताए। (हे.बक्स) खानाकै रूपमा मुखबाट शरीरमा पुगेको एन्टिबायोटिक थप हानिकारक हुने विभिन्न अध्ययनहरूले पनि देखाएकै छन्।

डा. दीक्षितका अनुसार, जिउँदो ब्रोइलरलाई दिइने एन्टिबायोटिक निश्चित तापक्रममा पकाउँदा नष्ट हुने भए पनि त्यही एन्टिबायोटिक खाएर हुर्केको ब्याक्टेरिया भने मर्दैन। त्यस्ता हजारौंमध्ये एउटा मात्रै ब्याक्टेरिया शरीरमा प्रवेश गर्‍यो भने दिन दुई गुणा रात चौगुणा बढ्छ। मानव शरीरको औसत तापक्रम ३७ डिग्री सेल्सियसमै फैलन/हुर्कन सक्ने ब्याक्टेरिया स्वास्थ्यका लागि सबभन्दा घातक मानिन्छ। ब्रोइलर कुखुराको मासुमा पाइने ब्याक्टेरियाले मानिसलाई समेत कडा बिमारी लाग्दा मात्र दिइने कोलिस्टिन जस्ता एन्टिबायोटिक समेत पचाएर आइसकेको हुन्छ। “यसले गर्दा एन्टिबायोटिकले काम नगरेर बिरामीको मृत्यु भएको पाइएको छ”, डा. दीक्षित भन्छन्।

केरी इन्गि्रडियन्ट्स इन्डिया प्रालिका नेपाल प्रमुख हरिहर गुरागाईं ब्याक्टेरिया नष्ट हुने गरी पकाउँदा मासुबाट पाउनुपर्ने पोषिलो तत्व नपाइने बताउँछन्। उनका अनुसार मासु र अन्य वस्तु काट्न एउटै चक्कु वा चपिङबोर्ड/अचानोको प्रयोग गर्ने र दिनभरि नबिकेको मासु साँझ्मा मात्रै फ्रिजमा राख्ने गर्दा ब्याक्टेरियाको सहज संक्रमण हुन्छ। मासु जस्ता पोषिलो पदार्थ ब्याक्टेरियाका लागि त्यसै पनि उर्वर भूमि हो। त्यसमाथि नेपालमा मासु पसल, होटल, रेस्टुरेन्ट व्यवसाय गर्न खाद्य सुरक्षा सम्बन्धी आधारभूत तालिम पनि लिनुपर्दैन।

गएको माघ दोस्रो साता नवलपरासीको रामनगरस्थित जटायु रेस्टुरेन्टमा ११ वटा गिद्ध मरेको भेटियो। अघिल्लो वर्ष पनि नवलपरासीकै माकर गाविसमा ९ वटा गिद्ध मरेका थिए। यसको कारण थियो– एन्टिबायोटिक दिइएको गाईगोरुको सिनो। जनस्वास्थ्यको विषयमा कलम चलाइरहने डा. अरुणा उप्रेती यसलाई एन्टिबायोटिक दिइएको मासु खानेलाई पर्ने असरको ज्वलन्त प्रमाण मान्छिन्। सरकारले गाईवस्तुलाई दिइने डाइक्लोफिनेकको प्रयोगमा प्रतिबन्ध लगाइसकेको अवस्थामा नवलपरासीमा ती गिद्धहरू मरेका थिए, जसले यसको प्रयोग घटेको छैन भन्ने देखाउँछ। डा. उप्रेती भन्छिन्, “सरकारले डाइक्लोफिनेक लगायतका जनस्वास्थ्यमा असर पार्ने जुनसुकै एन्टिबायोटिकको प्रयोगलाई निरुत्साहित गर्न कडा अनुगमन गर्नुपर्छ।”

एन्टिबायोटिक प्रयोग भएको मासुबाट बनेको परिकार खाँदै।

अस्वाभाविक वृद्धि

पोल्ट्री फार्ममा कुखुरालाई छोटो समयमै अस्वाभाविक रूपमा बढाउन र चाँडै अण्डा पार्ने बनाउन औषधिको रूपमा ग्रोथ हर्मोन दिइन्छ, जुन अन्ततः मासु र अण्डा खानेहरूको पेटमा पुग्छ। केरी इन्गि्रडियन्ट्सका नेपाल प्रमुख गुरागाईं कुखुरालाई हलक्क बनाउन र छिटो अण्डा पार्ने गराउन दिइने हर्मोनले ती मासु र अण्डा खानेको शरीरमा पनि त्यही काम गर्ने बताउँछन्। गुरागाईं भन्छन्, “हुर्कन एक वर्ष लाग्नुपर्ने कुखुरा दुई महीनामै तीन किलोको भए जस्तै १० वर्षका केटाकेटी वयस्क जस्तो देखिनुमा त्यही हर्मोनको करामत छ।”

ग्रोथ हर्मोनले उमेरभन्दा बढी शारीरिक विकास गर्ने मात्र होइन अरू समस्या पनि ल्याउँछ। आवश्यकताभन्दा चाँडो शारीरिक वृद्धि हुँदा सामान्यतया अधबैंसे भएपछि मात्र देखिनुपर्ने उच्च रक्तचाप, मधुमेह, हृदयघात जस्ता रोग किशोरावस्थामै लाग्न थालेको चिकित्सकहरू बताउँछन्। त्यति मात्रै होइन आवश्यकता भन्दा बढी मोटो भएर साथीभाइसँग मिल्न नसक्दा बालबालिकामा नकारात्मक मानसिक असर पर्ने मनोचिकित्सक बताउँछन्।

खाने कसरी पिउने कसरी पुस्तकका लेखक डा. राजु अधिकारी ग्रोथ हर्मोन प्रयोग भएको मासु खाएपछि त्यसले मान्छेको शरीरमा भएको हर्मोनमा असन्तुलन पैदा गर्ने बताउँछन्। उनका अनुसार हर्मोन असन्तुलित हुनुको सीधा असर थाइराइड र प्रोस्टेट ग्रन्थीमा पर्छ। त्यसबाहेक, ध्यान एकाग्र नहुने, कम उमेरमै यौनाङ्गहरू विकास हुने डा. अधिकारी बताउँछन्। त्यही कारण, अमेरिकामा पोल्ट्री ग्रोथ हर्मोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ भने अष्ट्रेलियामा पनि ग्रोथ हर्मोन वा एन्टिबायोटिक खुवाइएको कुखुराको मासु बेच्न पाइँदैन।


'मानव शरीरमा एन्टिबायोटिकसँग अभ्यस्त ब्याक्टेरिया पसेको छ'

डा. समिरमणि दीक्षित

कार्यक्रम निर्देशक, गार्प नेपाल

कुखुरालाई दिइने एन्टिबायोटिकले मानव स्वास्थ्यसँगै समग्र वातावरणमा असर गर्ने हुनाले यसको नकारात्मक प्रभावबारे अनुसन्धान थालेका छौं। अध्ययन एन्टिबायोटिक प्रयोगको परिस्थिति विश्लेषणमा केन्द्रित हुनेछ। कडा रोगको उपचार गर्दा मानिसलाई दिइने एन्टिबायोटिकसँग अभ्यस्त भइसकेका ब्याक्टेरिया मान्छेको शरीरमा प्रवेश गर्दा हाई डोजको एन्टिबायोटिकले पनि काम गर्दैन। रोग लागेपछि खाने औषधि अगाडि नै खाइरहेको अवस्था छ।

'कुखुराको मासुमा भेटेनरी ड्रग रेसिड्युज पाइयो'

डा. जीवनप्रभा लामा, महानिर्देशक

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग

कुखुराको मासुको गुणस्तरमा त्यसले खाने दाना, पानी र हुर्कने वातावरणले पनि असर गर्छ। एन्टिबायोटिक दिइएको छ भने त्यसले असर नपर्ने कुरै हुँदैन। हामीले अनुसन्धान गर्दा कुखुराको मासुमा भेटेनरी ड्रग रेसिड्युजको मात्रा देखिएको छ। पाङ्ग्रा, कलेजो, आन्द्राभुँडीमा भेटेनरी ड्रग रेसिड्युजको मात्रा मासुको तुलनामा बढी पाइएको छ। बिरामी, सुत्केरी वा साना नानीहरूलाई कलेजो, पाङ्ग्रा खुवाउने चलन छ, जुन गलत हो। विदेशमा तोकिएको मापदण्ड पूरा गरेर हुर्काइएको पशुपक्षीको मासु मात्र बेच्ने अनुमति दिइन्छ। दूषित दाना खाएर हुर्केको कुखुराको मासुलाई सीधै प्रतिबन्ध लगाएको हुन्छ। हामीकहाँ यस्तो हुन सकिरहेको छैन।


कानूनले नछुने दाना उद्योग

सविता श्रेष्ठ
चितवनको भरतपुर–१३, कल्याणपुरस्थित नेपाल वेलहोप एग्रिटेक प्रालिले उत्पादन गरेको कुखुराको दानाको बोरामा के–के मिसाइएको छ भन्ने (इन्गि्रडियन्ट) उल्लेख छैन। कुन–कुन वस्तु कति–कति मात्रामा मिलाएर दाना बनेको छ भन्ने थाहा नपाइकनै पोल्ट्री व्यवसायीहरू कुखुरा हुर्काउन बाध्य छन्। बोरामा इन्गि्रडियन्ट सूची नराखेर दाना उत्पादन गर्ने वेलहोप एक्लो होइन, देशभरका १२० वटै उद्योग विना इन्गि्रडियन्ट सूची निर्धक्क सञ्चालनमा छन्। ती उद्योगहरूबाट दैनिक खपत हुने चार लाख २० हजार बोरा (२१०० टन) दाना इन्गि्रडियन्ट सूची विनै बजारमा आइरहेका छन्।

मकै, भटमास, सूर्यमुखी र तिलको पिना, हड्डीको धूलो, ढुटो, चोकर र विभिन्न औषधिको मिश्रणबाट दाना तयार गरिन्छ। गुणस्तरीय दाना उत्पादनका लागि कच्चापदार्थ पनि उच्च गुणस्तरको हुनुपर्छ। तर, के–के मिलाएर दाना बनाइएको हो भन्ने जानकारी नै लुकाइएपछि त्यस विषयमा जान्ने उपभोक्ताको अधिकारको त कुरै छाडौं, सार्वजनिक हितको समेत धज्जी उडाइएको छ। यसले दाना उद्यमीहरूले जे भन्छन्, त्यही पत्याउनुपर्ने अवस्था रहेको देखाउँछ। दाना उद्योग संघका अध्यक्ष डा. भट्टराई भन्छन्, “इन्गि्रडियन्ट सूची नभए पनि बजारमा गएका दाना कमसल छैनन्।” कतिसम्म भने, निश्चित समयमा निश्चित तौल नपुगेको कुखुरालाई बजारमा प्रचलित मूल्य नदिने नियम बनाइएको छ। साढे दुई किलोलाई मापदण्ड बनाइएकोले त्यसभन्दा साना कुखुरा सस्तोमा दिनुपर्छ, किसानले। ग्रोथ हर्मोन प्रयोगको एउटा कारण यो हो।

दाना पदार्थ ऐन, २०३३ मा दाना बिक्री गर्नुभन्दा पहिले त्यसभित्र कुन वस्तु कति मात्रामा मिलाइएको छ भन्ने स्पष्ट जानकारी दिनुपर्ने उल्लेख छ। ऐनको दफा ४ मा भनिएको छ– 'कसैले कुनै दाना पदार्थलाई अर्को दाना पदार्थ हो भनी वा कुनै निम्नस्तरको दाना पदार्थलाई माथिल्लोस्तरको दाना पदार्थ हो भनी ढाँटी वा झ्ाुक्याई बिक्री वा वितरण गर्नुहुँदैन।' कानून विपरीत दाना बिक्री गर्नेलाई पहिलो पटक जरिवाना सहित ६ महीना र दोस्रो पटक दुई वर्ष कैद सजाय हुने व्यवस्था छ।

तर, दानामा कमसल वा गुणस्तरीय कस्तो वस्तु छ भन्ने उल्लेख नै नगर्दा पनि कानून नलागेपछि उत्पादकहरूलाई खुदो भएको छ। उपभोक्ता हित संरक्षण मञ्चका सचिव रामचन्द्र सिंखडा उपभोक्तालाई ठग्ने नै मनसाय भएकाहरूले इन्गि्रडियन्ट सूची विनाको उत्पादन बजारमा पठाइरहेको बताउँछन्। अधिवक्ता समेत रहेका सिंखडा भन्छन्, “यो कानूनी प्रावधान र उपभोक्ता अधिकारको दृष्टिबाट समेत अपराध हो।”

comments powered by Disqus

रमझम