उहिलेका नागरिक, प्रत्यक्ष

Share:
  
- कनकमणि दीक्षित
p18
 
हामीलाई नियाल्दै इतिहासका पात्रः यी
गुरुङ युवकको भेषभुषाले १५० वर्ष अगाडि,
र शायद त्यसभन्दा एक शताब्दीअघिको
पनि नेपालको झलक दिन्छ। राजा–रजौटा
मात्र होइन, साधारण नागरिकको यो तस्वीर
पिपल अफ् इण्डिया (सन् १८६८) मा
प्रकाशित छ। तस्वीरः चार्लस् कोमिन् टेलर
(सन् १८३०–७९)

 

p18a
 

पोजमा राजाः तत्कालीन राजा सुरेन्द्रवीरविक्रम शाह
(बीचमा) बेलायती रेसिडेन्ट जर्ज र्‍याम्से (सँगै बायाँपट्टि)
र दरबारका अन्य सदस्य (सन् १८६३)। 

 

p18b
 
गुरुङ 

 

p18c
 
लिम्बू 

 

p18d
 
मगर  
सिपाही टुकडीहरूः लिम्बू र मगरले जीउभन्दा अग्लो
धनु बोकेका छन् भने गुरुङ लिम्बू र मगरले फरक–फरक
तरीकाले खुकुरी भिरेका छन्। गुरुङको 'हिमाली' मार्का टोपी छ,
मगरको फेटा र लिम्बूको पहाडे टोपी।  

 

p19a
 
तामाङः 'मुर्मि' भनेर चिनाइएका यी तामाङ
युवकको टोपी 'हिमाली' पाराको छ, जसलाई
आजभोलि उक्त समुदायमा पहाडे टोपीले
विस्थापित गरेको देखिन्छ। 

 

p19b
 
 

 

p19c
 
नेवारः यी नेवार युवक बन्दव्यापारमा
लागेको एउटा समूहको तस्वीरमा
पनि देखा पर्दछन्। 
 

आम नेपाली नागरिकका पुराना फोटो तस्वीरको अभाव अनुसन्धानकर्ताहरूलाई धेरै खट्किंदै आएको छ। युरोपमा सन् १८५१ मा शुरू भएको ग्लास् प्लेट प्रयोग गरिने आधुनिक फोटोग्राफी प्रविधि दुई–चार वर्षभित्रै बेलायतको उपनिवेश रहेको भारतमा फैलियो। त्यहाँ व्यावसायिक फोटो स्टूडियोका साथै सरकारी कर्मचारीका फोटोग्राफिक क्लबहरू खुले।  

नेपालमा पनि सत्ताधारी राणा खलकले कलकत्ताबाट राजारजौटाका तस्वीर खिच्ने व्यवसायीलाई बोलाएर आफ्नो र आफ्ना दरबारको तस्वीर खिच्न लगाए। तर जसरी नेपालको प्राचीन चित्रकलामा देवदेवीका आकृति र धार्मिक यन्त्रबाहेक 'ल्याण्डस्केप' तथा 'पोट्रेट' देखिंदैनथे, त्यसैगरी फोटोग्राफीका शुरूका दशकमा पनि भलाद्मी पोजमा राणा परिवार र तिनका महल मात्र कैद भएका थिए। अलिपछि गैर राणा खान्दानले पनि फोटो खिचाए, तर तिनको पनि 'क्याण्डिड' र अनौपचारिक जीवनको तस्वीर विरलै खिचियो भने आम नागरिकतिर क्यामेराका लेन्स तेर्सिएकै पाइएन। 

सुरुआतका केही दशक फोटोग्राफीले हिमाल–पहाड–तराईका आम नेपाली नागरिकको वेवास्ता गर्‍यो र राजा–रजौटा, रानी–महारानी र भारदार खलकहरूलाई मात्र पछ्यायो― यही रहिआएको छ आम धारणा। तर यथार्थ पूर्णतः त्यस्तो होइन रहेछ। झ्ण्डै १५० वर्षअगाडि, युरोपमा फोटोग्राफी आविष्कार भएलगत्तै, नेपालका पहाडे समुदायहरूको तस्वीर खिचिएको रहेछ। जङ्गबहादुरको शासनकाल र सुरेन्द्रविक्रम राजा भएको त्यो बेला सन् १८६३ मा एक बेलायती फोटोग्राफरले गाउँले परिवेशमा पहाडे किसान र सिपाहीहरूलाई औपचारिक पोज गर्न लगाएर खिचेका करीब दुई दर्जन श्याम–श्वेत फोटा उपलब्ध रहेछन्। यसका साथै जङ्गबहादुर तथा सुरेन्द्रविक्रमका पनि औपचारिक र पारिवारिक फोटाहरू यस ऐतिहासिक एल्बममा छन्। 

यी फोटाहरूमध्ये धेरै सन् १८६८ मा लण्डनबाट प्रकाशित पिपल अफ् इण्डियाः दि रेसेज एण्ड ट्राइब्स् अफ हिन्दूस्तान मा छापिएका छन्, दायाँपट्टि 'एल्बुमेन' प्रविधिका तस्वीर र बायाँपट्टि सम्बन्धित समुदायको संक्षिप्त विवरण सहित। किताबमा भारतीय उपमहाद्वीप र हिमवतखण्डका ४८० तस्वीर र विवरण प्रस्तुत छन्। शायद 'इण्डिया' का जात–जातिको सन्दर्भ शीर्षकमै अंकित भएकोले धेरै नेपाली अनुसन्धानकर्ताको पर्याप्त ध्यान यतातिर नगएको हो, तर नेपाली जनजीवनको इतिहास बुझन यी तस्वीरले ठूलो महत्व राख्दछन्। 
 
 
p19d
 

सुनुवारः उपलब्ध पोट्रेटहरूमध्ये यी
फेटावाल सुनुवार युवकको तस्वीर
पनि उत्कृष्ट छ। 

 

p20
 
चार महिलाः माथिबाट घडीको सुईअनुसारः सुनुवार,
लिम्बू, लेप्चा (रोङ) र भोटिया। बितेका १५०
वर्षमा पुरुषको भन्दा महिलाको भेषभुषामा
कम फेरबदल देखिन्छ।

 

p20a
 
खस्ः यी दुई 'खस्' युवकलाई जबर्जस्ती विश्राम गरेको पोज गराइएको
बुझिन्छ।

 

p21a
 
 पोट्रेटमा पनि देखिने सुतेका युवकले
आजभोलि हराएको माथिल्लो बस्त्र
लगाएका छन्; टोपी भने तगुवा
पहाडे डिजाइनकै छ।  

 

p21b
 
तामाङः प्रत्यक्ष पोज गराइएको यो
समूहमा दुई पुरुष फुर्सदिला
देखिन्छन् भने महिलाले दाउराको
भारी बोकेकी छन्। 

 

p21c
 

नेवार बाँडाः अन्य सामूहिक पोजका तस्वीर
सामरिक छन् भने नेवार समुदायको समूहको
रूपमा बाँडा पुजारी प्रस्तुत छन्। 

 

दक्षिण एशियामा मात्र होइन फोटोग्राफीको विश्व इतिहासमै महत्वपूर्ण परियोजना मानिएको यो तस्वीर संग्रहबाट भर्खरै आएको फोटोग्राफी प्रविधिको प्रयोग गरेर बेलायती साम्राज्यवादीहरूले एकातिर लोप हुन आँटेका ठानिएका जात–जातिहरूलाई अभिलेखीकरण गर्न चाहेका थिए भने अर्काेतर्फ उपमहाद्वीपमा आफ्नो पकड जमाउन यहाँका जात–जातिको जानकारी राख्न खोजेका। सन् १८५७–५८ को 'सिपोइ म्यूटिनी' नामक भारतीय विद्रोह भर्खरै टरेको त्यो बेला ब्रिटिश शासकहरूलाई यहाँका रैथाने समुदायबारे बढी जान्न–बुझन परेको पनि थियो। संजोग मान्नुपर्दछ, स्वतन्त्र नेपाल ब्रिटिश भारतीय साम्राज्यको अंश नभए पनि पिपल अफ् इण्डिया को लागि नेपाली सर्वसाधारणका तस्वीर पनि खिचिए। यसबाट कम्तीमा उतिबेलाका नागरिकहरूको फोटोग्राफ हामीलाई उपलब्ध भएको छ।  
 
पिपल अफ् इण्डिया अभियान फोटोग्राफीमा चासो राख्ने त्यतिबेलाका भाइस्रई लर्ड क्यनिङ्गको निजी निर्देशनमा चलाइएको थियो। उनले आफ्नो कार्यभार सकेर बेलायत फर्कनुअघि यस संकलन कार्यको नेतृत्व गरेका थिए। त्यतिबेलासम्ममा भारतभरि खटिएका 'सिभिल सर्भिस' का अफिसरहरूले फोटोग्राफीलाई उत्साहका साथ अपनाइसकेका थिए। उनीहरूकै क्यामेराबाट 'एल्बुमेन' प्रविधिका यी श्याम–श्वेत तस्वीर तथा तिनका शाब्दिक विवरण तयार पारिएको हो। पिपल अफ् इण्डिया मा सन् १८६०–६५ तिर खिचिएका ४८० फोटा छन्र ती सात भोलुममा १८६८–७५ मा प्रकाशित भएका थिए। यो कृतिको छपाइ 'गभर्मेन्ट अफ् इण्डिया' द्वारा लण्डनमा भएको थियो, त्यतैका दुई सम्पादकको संयोजनमा।
 
अलग्गै 'नेपाल खण्ड' रहेको यस किताबमा मुख्यतः नेपालका केही पहाडे समुदाय प्रस्तुत छन्। नेपालकै अन्य जातजातिलाई पहिल्याउन उक्त खण्ड बाहिर पनि जानुपर्दछ, विशेषगरी तराई–मधेशको समुदाय र हिमाली भेकको प्रतिनिधित्व खोज्न। यसो गर्दा लेप्चा, भुटिया, राजवंशी, मुसहर र मुसलमानका तस्वीर पनि फेला पर्दछन्, जसले नेपाल र भारत दुवै मुलुकमा बसोबास गर्ने समुदायलाई समेट्छ। पिपल अफ् इण्डिया का लागि उतिबेलाको साम्राज्यका अफिसर–फोटोग्राफरले 'सीमान्तकृत' समुदायलाई प्राथमिकता दिएको बुझिन्छ, नेपालमा होस् वा अन्यत्र। 
 
p21d
 
लिम्बूः तगुवा टोपी लगाउने यी वयस्कले
जुँगा मुसारेको देखिन्छ । 

 

p22
 

 समथर क्षेत्रका समुदायः नेपालको तराई–मधेशका
नागरिक पिपल्स अफ् इण्डिया संग्रहको नेपाल
खण्डमा फेला परेनन्, तर नेपालमा पनि
पाइने केही सीमान्तकृत समुदायका पोट्रेट
बिहार खण्ड अन्तर्गत पाइए। जस्तैः राजवंशी,
मुसहर र मुसलमान (बायाँदेखि दायाँ) ।  

 

p22a
 
 मगरः यी वृद्धको टोपी  'हिमाली'
मार्काको छ। 

 

p22b
 
असमका कचरीः यो तस्वीर संग्रहमा
नेपाली पुरुषले लगाएका माथिल्लो
पहिरनको प्रष्ट उदाहरण दिन भारतको
असम प्रान्तका कचरी समुदायका
पुरुषको तस्वीर यहाँ प्रस्तुत छ।
यी पात्रले लगाएको जस्तै पहिरन
नेवार, गुरुङ, तामाङ र खस सबैले
लगाउनु भनेको इतिहासकालमा
पनि नेपालको उपमहाद्वीपका अन्य
समुदायसँग गहिरो सम्पर्क थियो
भन्ने प्रष्ट पार्दछ।   

 

p22c
 
गुरुङ समूहः 'गुरुङ ग्रुप' नामकरण गरिएको
यो तस्वीरमा पोट्रेटका पात्र युवक
अन्य दुई जनासँग भलाकुसारी गर्दैछन्। 

 

p23a
 
हिमाञ्चलको तस्वीरः नेपाल बाहिरका पहाडे
मूलका व्यक्तिको फोटो खिचिएको शिमलाको
यो तस्वीरमा एकजना 'गोर्खाली' ले खुकुरी
उठाएका छन् भने बीचमा 'सुद' थरका
राजपूत र छेउमा स्थानीय ब्राम्हण उभिएका छन्।

 

p23b
 
तामाङः दुई तामाङ युवकलाई सडक
खन्ने ज्यावल हातमा
लिएर पोज गराइएको देखिन्छ।
अहिले पनि सडक खन्न उपयोग
गरिने 'पीक' नामक ज्यावल त्यतिबेला पनि रहेछ। 

 

यस लेखका साथ प्रस्तुत उहिलेका नेपालीका तस्वीरहरू कसले खिचे होलान् भन्ने कौतुहलको समाधान अनुसन्धानकर्ता जे.पी. लस्टीले सन् १९९२ को हिस्ट्री अफ फोटोग्राफी जर्नलमा गरेका छन्। उनका अनुसार नेपाल खण्डका फोटोग्राफर थिए, त्यति बेलाको लैनचौरस्थित ब्रिटिश रेसिडेन्सीमा एसिस्टेण्ट रेसिडेण्ट क्लेरेन्स कोमिन् टेलर। कलकत्ताबाट नेपाली जातजातिको माग आउँदा तत्कालीन रेसिडेन्ट जर्ज र्‍याम्सेले आफूसँग स्रोत साधन र फोटोग्राफी क्षमता भएको व्यक्ति नभएका बताए। जब राजपूतानामा भर्खरै फोटोग्राफी सिकेका टेलर काठमाडौं खटिए र खर्च तथा सामग्री पनि जुट्यो, सन् १८६३–६५ मा तस्वीरहरू तयार भए। शुरूमा रेसिडेन्ट र्‍याम्सेले तत्कालीन सर्वेसर्वा शासक जङ्गबहादुरले तस्वीर खिच्न रोक्छन् भन्ने ठानेका रहेछन्, तर जङ्गबहादुरले उत्सुकतापूर्वक अनुमति दिएर आफ्नो लागि फोटो अल्बम् समेत मागे। नेपाली फोटोग्राफीबारे गहिरो अध्ययन गरेका इतिहासकार प्रत्यूष वन्त लेख्छन्, “अरू कुनै प्रमाण नआएसम्म सी.सी. टेलरले सन् १८६३ मा खिचेका यी तस्वीरहरू नै नेपालभित्र खिचिएका पहिलो फोटोग्राफ मान्नुपर्छ।”  
 
तस्वीरहरू खिच्न जङ्गबहादुरले गोरा साहेबलाई विभिन्न समुदायका उद्गम थलोमा जान प्रमाङ्गी दिने सम्भावना कमै भएकोले सबै तस्वीर काठमाडौंमा खिचिएको अनुमान गर्न सकिन्छ। सिपाही र लडाकूका पहिरनमा गुरुङ, मगर तथा लिम्बू टुकडीहरू हेर्दा काठमाडौं दरबारको अनुमतिमा गोर्खाली सेनाका सदस्यहरूको तस्वीर खिचिएको हुनुपर्दछ।   
 
टाइम् क्याप्सुल  
नेपालका पहाडी समुदायका तस्वीरमा देखिने पहिरन, रहनसहन र परिवेशले पहाडको जनजीविका १५० वर्षअघि कति कष्टकर रहेछ भन्ने संकेत गर्दछन्। इतिहासकार लुड्विग स्टिलरले द साइलेन्ट क्राई पुस्तकमा कसरी एकीकरणपश्चात् साम्राज्यवादी सोचले गरिएको पश्चिमतर्फको चढाइको खर्चले सम्पूर्ण नेपाली जनतालाई गरीब बनायो भनेर लेखेका छन्। जङ्गबहादुरको उदयताका खिचिएका यी तस्वीरले त्यस बेलाका नेपाली जनताको विपन्नता आज हाम्रोसामु ल्याइदिएका छन्। तर के पनि भन्नुपर्छ भने भारतवर्षमा केन्द्रित संग्रहका तस्वीरहरूले उपमहाद्वीपमा सबैतिर नै गरीबीको अवस्था संकेत गरेका छन्।  
 
यो कृतिमा नेपालको पहाडमा गुरुङ, लिम्बू, मगर, 'मुर्मि' (तामाङ), सुनुवार र नेवार समुदायका मुख्यतः पुरुषहरूको तस्वीर राखिएको छ। सामूहिक पोजका तस्वीर पनि छन्।  
 
पिपल अफ् इण्डिया को उत्कृष्ट तस्वीरमध्ये पर्दछ गुरुङ पुरुषको पोट्रेट (पृ.१८), जसलाई धेरैले उक्त कृतिबारे चर्चा गर्दा अगाडि सारेको पाइन्छ। गलामा जन्तर झुण्डिएका, तगुवा पहाडे टोपी लगाएका, टोपी मुनि लामो कपाल फैलिएको, ओठमाथि जुुँगाको रेखी बसेको र एकटकसँग क्यामेराको लेन्समा हेरेका यी युवकले हामीलाई १५० वर्षको अन्तरालबाट नियालिरहेका छन्। उनी भनिरहेछन्, 'हाम्रो तस्वीर हेरेर आफ्नो इतिहास बुझने चेष्टा गर!' वास्तवमा यी तस्वीरहरू नेपाली जनजीविकाका 'टाइम् क्याप्सुल' जस्ता हुन्।  
 
यी गुरुङ पुरुषको माथिल्लो पहिरन नेवार, खस् र लिम्बू 'मोडल' को जस्तै छ― छाती छोप्ने 'मेखलो' अनि बाहिरी पहिरनमा हात र कुम छोप्ने र दुवैतर्फबाट नाइटोतिर ल्याएर तुना बाँध्ने आजभोलि नदेखिने डिजाइन। यो लोप भइसकेको पहिरनबारे अनुसन्धान जरुरी देखिन्छ, र यसपछिको शताब्दीमा लवेदाले कसरी यसलाई विस्थापित गर्‍यो भन्ने पनि मननयोग्य छ।  
 
शिरमा कसैले फेटा (सुनुवार) या तगुवा नेपाली टोपी (खस्, नेवार, गुरुङ) लगाएका छन् भने तामाङ र मगरका पोट्रेटमा आजभोलि केही तिब्बती लामाले जस्तै कान छोप्ने खालको टोपी लगाएको देखिन्छ। प्रायः सबै पुरुषका कम्मरमा खुकुरी छन्, नेवारको बाहेक।  
 
सुनुवार, भोटिया र लिम्बू महिलाको तस्वीर हेर्दा तिनै समुदायका आजभोलिका महिलाको पहिरन र श्रृंगार भन्दा धेरै फरक पाइँदैन, जबकि पुरुषहरूको पहिरन र भेषभुषामा उतिबेलादेखि अहिलेसम्म धेरै फेरबदल आएको छ। 
 
सिपाहीको टुकडीको रूपमा पोज गरेका गुरुङ, लिम्बू र मगरहरू गोर्खाली फौजका अंश हुँदा हुन् तापनि उनीहरूका पहिरन तथा युद्ध औजारहरू धनुकाण सहितको तस्वीरले एकीकरण पूर्वको समयको समेत आभास गराउँछन्। यो कुराले महत्व राख्ला–नराख्ला, तर लिम्बू टुकडीका सदस्यले खुकुरी बायाँ कम्मरमा तल फर्काएर पटुकामा घुसारेका छन् भने मगर र गुरुङले कदको बीचबाट दायाँपट्टि ढल्कने गरी। यसमा स्थानीयता लुकेको पनि हुन सक्छ। चाखलाग्दो कुरा, उतिखेर सबैतिरका पहाडे पुरुषले केश कान भन्दा तल झ्ण्डै कुमसम्म आउने गरी राख्दा रहेछन्। 
 
नेपाली सबअर्ल्टन्  
आजभोलि समुदायको नामकरणको छलफल चलिराख्दा उतिबेलाका बेलायती अफिसरले भने तस्वीरसँगै राखेका विवरणमा तमुलाई गुरुङ र तामाङलाई 'मुर्मि' अनि लिम्बूलाई 'याक्थुङ्' नभनी लिम्बू नै भनेको पाइयो। प्रत्यूष वन्तका अनुसार तस्वीरहरूसँग छापिएको समुदायहरूको विवरण पूर्व बेलायती रेसिडेन्ट ब्रायन हड्सन्को लेखनमा आधारित छ। 
 
अधिकांश 'मोडल' हरू युवा देखिन्छन् भने एक लिम्बू वयस्क र एक मगर वृद्ध छन्। पहिरनको सन्दर्भमा बाँडा भनेर चिनाइएका नेवार पुजारी समूहले जामा लगाएको छ। उतिबेला फोटा खिच्दा एक्सपोजर लिन एक–दुई सेकेण्ड लाग्ने हुनाले तस्वीरहरू स्वस्फूर्त अवस्थामा नभई पोज गराएर खिच्नुपर्ने आवश्यकता थियो। तर पनि टेलरले कतिपय फोटो सेसनमा क्यामेरामा सामान्य र अनौपचारिक अवस्था दर्शाउन खोजेका छन्। त्यसै अनुरुप एक खस पुरुष कोदालो छेउमा राखेर आफ्नो मित्रको काखमा निदाइरहेको जस्तो गर्दछन्।  
 
p24
 
पिपल्स अफ् इण्डिया को आवरण पृष्ठः
बर्मादेखि अफगानिस्तान र विशेषगरी
वर्तमान भारत राज्यका समुदायहरुको
तस्वीर राखिएको यस संग्रहमा
नेपालको खण्ड पनि छ। यसरी 'भारत'
अन्तर्गत राखिनुले पनि शायद यसमा
छापिएका नेपालसम्बन्धी ऐतिहासिक
महत्वका तस्वीरले धेरै चासो बटुल्न सकेनन्।  
 
 
नेपालको इतिहाससँग जोडिएको पिपल अफ् इण्डिया का यी तस्वीरको गहिरो अध्ययन र समाजशास्त्रीय विश्लेषण जरूरी छ। इतिहासविद्, अर्थशास्त्री, मानवशास्त्रीले पक्कै इतिहासकालका यी नेपाली नागरिकको अनुहार, रहनसहन र भेषभुषाबाट उतिबेलाको नेपालबारे तथ्यहरू तान्न सक्ने छन्। 
 
१५० वर्षअघिको नेपाल दर्शाउने यी तस्वीरले त्यसभन्दा एक–दुई शताब्दीअघिकै युगको चित्र समेत हाम्रोसामु ल्याइदिएका छन्। किनभने उतिबेला सामाजिक संक्रमण आज जस्तो चलायमान थिएन। नेपाली 'सबअर्ल्टन्' जनताको इतिहासमा शोध गर्नेलाई यी फोटाहरूले निश्चय नै सघाउ पुर्‍याउने छन्। 
 
सहयोगका लागि धन्यवादः 
साजन सुवेदी, मदन पुरस्कार पुस्तक

 

comments powered by Disqus

रमझम