१-३० कात्तिक २०६९ | 14 Oct- 15 Nov 2012

बर्माको सम्झना–२३

Share:
  

 

दोस्रो विश्वयुद्धको मध्यतिर बर्मामा रहेका रणशूर लिम्बूले लेखेको र बीस वर्षपछि जगदम्बा प्रकाशनले छापेको बर्माको सम्झ्ना अहिले विस्मृतिमा पुगेको छ। बर्मामा छँदाको अनुभवमा आधारित नेपाली जाति र भाषाप्रति प्रेम झ्ल्कने लिम्बूको पुस्तक पठनीय हुने ठानेर मंसिर २०६८ देखि क्रमशः प्रकाशित हुँदै आएको श्रृंखलाको अन्तिम भाग पेश गरेका छौं। – सम्पादक 
 
भारतीयलाई जापानीहरूले धपाएनन्। जापानी पनि त मानिसमाथि शासन गर्न अनि सबैलाई जोत्न भनी मरीमेट्छन्। उनले मानिस धपाई जंगलमा बसुँ भनेर त बर्मामा आएका होइनन् भनी भन्न सक्छौं। अनि बर्मीले धपाए कि भन्दा यही भन्नुपर्छ– बर्मी जनता त उहाँका प्रजा मात्र हुन् अगि यिनीमाथि अंग्रेज सवार थिए अब अंग्रेज धपाएर जापानी चढेका छन्, उनको के हुकुम छ र? हाँ, हूलमूलमा अराजकता हुन जाँदा केही उपद्रवप्रिय मानिसले केही उपद्रव गरे। परन्तु त्यस्ता उपद्रवीलाई जापानीहरूले पनि कठोर दण्ड दिंदैछन् भन्ने सुन्यौं। उपद्रवीलाई त कहीं पनि दण्ड मिल्नै पर्दछ, झ्न् नयाँ नयाँ जापानी शासन कायम हुँदै गर्दा त जरूरै कडा दण्ड मिल्यो होला। 
 
दुनियाँ रोई कराई अनेक प्रकारका कष्ट सही भारतको शरणमा पुगे। राजा, प्रजा, ठूला ठूला हाकिम ज्ञानीजनले सक्दो सेवा गरे पुगेसम्मको इन्तजाम गरे। उहाँबाट आउनेहरूमा महीना, दुई तीन छ महीनासम्म पनि गरीबहरूले सहायता पाए। अनि भारतमै आफ्ना आफ्ना रोजी कमाउने कामकाज खोज्न थाले। नेपालीहरूका लागि गौहाटी, पारवतीपुर, सीतामढी, गोरखपुर, रक्सौल इत्यादिमा सहायता गर्ने अड्डा खोलिए। साना साना ठाउँमा पनि सरकुलर पुगेको थियो कि बिरामी चोटपटक लागेका असहाय जनलाई सरकारी इन्तजामले उनका ठेगानामा पुर्‍याइन्छ भनी, नेपाल गभरमेन्टका यी कार्यहरूका पूर्ण विवरण प्रकाशमा आए जनताले थाहा पाउने थिए कि सरकारबाट कत्रो सहायता कार्य भयो जनतालाई यति मात्र याद छ– सरकारले धेरै धन खर्च गरी शरणार्थीहरूका निमित्त धेरै खालका सेवा गरे। गभरमेन्टका यी शुभ कार्यहरूका विवरण स्वर्णाक्षरले लेखिन पर्दछ। 
 
यी शरणार्थीहरूले बर्माबाट खाई नखाई अनेक खण्ड गरेर ल्याएका सय, दुई सय, पाँच सय रुपैयाँ फारो गरी गरी चलाउँदा पनि सकिंदै गएको छ, अनि कति त बिखर्ची भइसके। बर्मामा २५/३० रुपियाँमा पनि अर्काको नोकरी नगर्ने मानिस ८ रुपियाँको नोकरी गर्नमा भर्ती भएर जीवन बिताउन थाले। अनि कति यो ८ को काम नपाएर जगह जगह डुली हिंडेका छन्। कोही काम खोज्छन्, कोही घर, कोही केही। कसैका खर्च सकिनाले कोही आफ्ना मानिसले केही सहायता गर्ला कि भनी आफ्ना कष्ट वेदना सुनाई हिंडेका छन्। कोही बिरामी– हे ईश्वर भनी बसेका छन्। कतिका छोरा कहाँ गए, छोरी हराए। मालमत्ता चोरी भो, फलानोले ढाँटी छली मेरो जम्मै सम्पत्ति लगिदियो। स्वार्थी मानिसहरू पनि यही घातमा रहन्छन् कि कोही अनजान मानिस आए त त्यसका भाँडा अनि त्यसले ल्याएको धन इत्यादि उडाई हिंडांै। शरणार्थी त विज्ञजन भन्दछन्, स्वार्थीहरूका संसारमा त सबै दुनियाँ एकै हो। स्वार्थीलाई के थाहा छ कि यो अजनवीमाथि के बितिरहेको छ, उसले कति दुःख सहेर कति कष्ट गरेर यो १/२ ओटा लुगाफाटा २/३ ओटा भाँडा ल्याएको छ। गरीबको जीवन निर्वाह गर्ने यो साधारण वस्तुको पनि यी स्वार्थीहरूले गर्दा रहन दिन आँटेका छैनन्। अजनवी मानिसलाई झ्ट्टै चिनिहाल्छन् अनि– ए भाइ! ए दाइ! भन्दै मीठो मीठो कुरा गर्न थाल्छन्। अजनवी दुःखी हुनाले कसैको सहानुभूति पूर्ण व्यवहारमा झ्ट्टै विश्वास गर्छन् र आत्मीयताको व्यवहार गर्न लाग्छन्। स्वार्थी मानिस स्वार्थ साधन गर्ने मौका हेरीरहन्छन्। ए भाइ! चामल कसरी पाइन्छ? भनी भन्दा– उहिले त १५/२० माना पाइन्थ्यो अब त ७ माना मात्र पाइन्छ भन्छन्, होला भनी उसका कुरामा विश्वास गरी लियो। रहँदाबस्ता थाहा भो कि चामल त १२ माना पाइन्छ। त्यस्तै, ए भाइ, यो मेरो भाँडो रुँगीदे है, म अलि दिसा गइआउँ। हुन्छ, वेफिक्री हुनु होस्। अलि पछि हेर्दा दोटा भाँडा छैनन्। यस्तै रीतले लुगाफाटा भाँडाकुडा चोरी अनेक प्रकारका दुःख यी ठगहरूले नयाँ मानिसलाई दिन्छन्। कोही कोही भाग्यमानी मानिस मात्र सुखपूर्वक जीवन यापन गर्दा हुन् नहि त सबै दुःखी छन्। 
 
कतिको अब भागेर आउँदा भन्दा झ्न् कष्ट बढ्न गएको छ। आस्ते आस्ते खर्च सकियो, भने जस्तो काम पाएको छैन। चिया पत्ती टिप्ने बगानको काम गरेकोले खान पनि नपुग्ने हुन गो। नोकरी खोज्दा १०/१२ देखि बेसी मिल्दैन। ५/७ जना जहान् छन् के खाउँ के लाउँ पेटको ज्वाला शान्त गर्न स्वास्नी, आइमाईले लाएका ढुंग्री मुन्द्रीहरू बेची निर्वाह भइरहेको थियो। अब साना साना बालकहरूलाई लाइदिएका चाँदीका साना साना बालाको पालो आयो। यी साधारण ८/१२ आनाका बालाले कति दिन निर्वाह होला? अनि पछि कसो होला भगवान् नै जानोस्! 
 
केटाकेटी गरीबहरूका लागि दार्जीलिङमा चिया बगानको काममा लाग्ने छ भन्दछन्। नेपाल गभर्मेन्टका इन्तजामले जोगवनीमा एउटा कटन मील बन्न लागिरहेछ। केही दिनपछि उहाँ केही काम मिल्ने आशा छ। धरानमा हातले कपडा बन्ने काम खुल्नेवाला छ। यी उद्योगहरूले उन्नति गरेर यिनका रुप रंगले भारतमा प्रसिद्धी पाए हजारौं नेपालीहरूको रोजी चल्ला भन्ने आशा छ। जोगवनीमा एउटा जूट मील चलिरहेको छ– नेपालका प्रसिद्ध अधिकारी र मारवाडी राधाकिसन चमडियाका साझ्ामा। तर काम गर्ने जम्मै मानिस मदेशतिरका छन्। नेपालीहरू थोरै छन्। नेपाली राजभित्र नेपालीहरूले काम गर्नपाए नेपालीहरूको पनि यही इच्छा हुनु स्वाभाविकै हुनजाने थियो कि आफ्नै घरको काम छाडी किन देश विदेश लाग्नू? विदेश गई अनेक प्रकारका अपमान किन सहनू? हूलमूलमा भागी भागी किन हिंड्नू? नेपाली कलाकौशलको उन्नति भई देशको दुःख दरिद्रताको निवारण गर्ने सामर्थ्य छ। नेपाल राज्यभित्र अनेक प्रकारका कलकारखाना खुल्दै गएका, खुल्ने भएका देख्ता नेपालीहरूको पनि भविष्य उज्यालो देखा पर्न लागिरहेछ। कहीं बिजुली, कहीं जूट मील, कहीं कटन मील, कहीं आयल मील, राइस मील नेपाली सीमानाभित्र देखा पर्न लागिरहेछ भने पछि पछि यी मीलहरूका समूचा इञ्जिन बन्न लागे देश मेसीनका लागि पनि स्वतन्त्र हुने आशा छ। अनि खेतीपातीका लागि पनि उन्नति जरूरै हुने छ। पहाडतिर ठूला ठूला कोफी, चिया–पत्ती अंगुर इत्यादिका खेतीका लागि प्रशस्त ठाउँ छन्, आरु, सुन्तला, मास प्रशस्त हुँदो रहेछ। अब गुलियोको लागि इखको खेतीको जमीनमा कार्य भए उत्तम हुनेछ। कपासको लागि कार्य हुन आँटिरहेका छन्। लक्षण शुभ देखिन्छ। यी कुराहरू भए पिछडिएका नेपाली भनी कसैले भन्न सक्ने छैनन्। 
 
बर्माबाट भागेर आउने मानिसको साथ अब कुन कुरो सबैभन्दा आवश्यक छ? उहाँका हूलदङ्गाबाट बाँचेर आएका मानिसका लागि अन्न प्रधान कुरो हो। अन्नमै प्राण, अन्नमै शक्ति, अन्नमै मानिसको सर्वस्व खर्च भएको हुनाले अन्नै प्रधान विषय भइरहेछ। हूल भएमा मानिस प्रथम अन्नै लुकाउँछन्। खाडल खनी जंगल लगी घरभित्र बारी बगंैचामा मानिस प्रथम अन्नकै जोगार गर्दछन्। हूल हुन मात्रको बेर छ सरकारका रुपियाँ पैसा झ्ट्टै चल्न छाडिहाल्छ। मानिस सुन चाँदीको भन्दा धेर ध्यान अन्नपट्टि दिंदा रहेछन्। बर्मा जस्ता अन्न हुने ठाउँमा त मानिस भुईं खनी खनी गाडिदिन्थे भने भारतमा केही हूल हुन गए भारतको कसो 
 
होला! उहाँ भन्दा यहाँ अन्नको धेरै कमी देखिन्छ। हूल नहुँदा त 'गेहुं गेहुं' शहर बजारको आर्तनाद सुनिन्छ भने हूल भए कसो होला? भारतका लागि यो सबैभन्दा ठूलो कुरा अन्न भइरहेको छ। महात्मा गान्धी, रवीन्द्रहरू धेरै दिनअघि भारतमा गरीब जनताले भरपेट खान पाउँदैनन् भनी भनी हिंड्दथे। अंग्रेज अधिकारी, जसलाई खानलाई केही कमी छैन, यी महात्माहरूका कुरालाई किन सुन्थे? आज देशमा उनका रक्षा गर्ने पल्टनलाई अन्न चाहिंदा 'अन्न धेर उब्जाऊ, सागपात धेर बनाऊ' इत्यादि भन्दछन्। यस्ता प्रचार इन्तजाम भारतमा अघि हुनु पर्थ्यो। जस्तै भए तापनि अन्नको उब्जनी र अन्नको जोहो खाई नखाई सबैले गर्नुपर्छ। खेती लाउने बेलामा केही साधारण उपद्रव हुन गए खेतीपाती जम्मै रहिजानेछन्, अनि वर्ष दिनलाई राखेकाले २ वर्ष काम चलाउनुपर्छ। अन्नका जोहो गर्ने मानिसले मात्र प्राण बचाउन सक्ला कि! अन्नको प्रशस्ततामा देशका प्रजाको कल्याण छ। अन्नहीन भएमा देश दुःखी हुनेछ। कहीं बाहिर देशबाट सहायता आउला भनी विचार गर्नै छैन। नेपाल गभर्मेन्टले अन्नको जोहो गर्न कहीं कहीं प्रयत्न गरेको थाहा पाइएको छ। यो प्रयत्न खूबै कडासित गरे देशको कल्याण हुने थियो होला। कारण भारतमा पुगेपछि अनि यहाँ केही दिन बसेपछि भारतको वायुमण्डल विचार गर्दा भारतको हाल पनि बर्माकै झ्ैं देखा पर्दछ। भारतीयहरूको विचार, भारतीयहरूको इच्छा भारतीय कार्य र बर्मामा जापानीहरू पुग्नुभन्दा प्रथम अवस्था र यहाँको अवस्था एकै देखा परिरहेछ। जापानी प्रचारकहरूका कार्य बर्माका जस्तै थाहा हुन्छ। यति हो कि बर्माका जति जापानी प्रचारको प्रवाहमा मानिस आएका छैनन्। अनि भारतीयहरूमा बर्माका जति प्रचार गर्ने गरेका पनि छैनन्। भारतमा जापानी प्रचारकहरूले कसरी आफ्ना कार्य गर्दारहेछन् एउटा पम्प्लेटको सही सही नेपालीमा अनुवाद हिन्दीबाट गरिएको यस्तो छः– 
 
“ऐतिहासिक सुवर्ण दिन ल् १०१२ दिसम्बर महीनाको ८ तारिख इतिहासमा सुनका अक्षरले लेखिएला। पछिल्लो सालको ८ तारीखबाट पूर्वी एशियालाई अंग्रेज र अमेरिकाका जालदेखि छुटाइने काम थालियो। जापानी बहादुरहरूले आश्चर्य लाग्दो गरी बढेर देखाए जहाँ यिनीहरूलाई शत्रुसित भिड्नुपर्‍यो उहीं शत्रुलाई हराए। थोरै दिनमा हङ्गकङ्ग, बर्मा, मलाया, डचइष्ट इण्डिज र फिलीपाइनमा अधिकार गरे। यति बेला शक्तिशाली जापानी पल्टन हिन्दूस्थानमा पस्ने दरबाजैमा पुगेका छन्। अंग्रेजहरू महात्मा गान्धीले भनेका नमानी भारतबाट गएनन् भने उनलाई भारतबाट निकाल्नका लागि जापानी भारततिर बढ्नेछन्। 
 
“अंग्रेज र उनका मित्रहरूमाथि युरोप र अफ्रिकाका रणक्षेत्रमा जर्मनीको हातबाट जुन मार खानपर्‍यो, त्यसले चर्चिल र उसको भाइहरूका बुद्धि भ्रष्ट र आशा नष्ट भयो। 
“अंग्रेजी राज थोरै दिनमा सिद्धिने छ। भाइ हो! आफ्नू धेरै दिनको इच्छा पूर्ण हुने बेला आएको छ। आफ्ना भाइहरू मिलेर शक्ति एकत्र गरेर आफ्नू भारतमातालाई बन्धनदेखि छुडाऊ! 
 
“स्वतन्त्रताका भाग्य स्वामीले बिगुल बजाएको छ, आफूहरू उनका साथ देऊ, अनि आफ्नो स्वतन्त्रता लेऊ– परदेशका हिन्दी स्वतन्त्र सभा” 
 
उपर्युक्त पम्प्लेटमा स्वतन्त्रता र अंग्रेज धपाउने कुराहरूको आड ली आफ्ना पल्टन बढाउने इच्छा गरेको थाहा हुन्छ। बर्मामा त यस्ता कुराहरूले धेरै प्रभाव उत्पन्न गरे। भारत उति लाटो छैन, स्वतन्त्रताको आडमा गुलामी; अंग्रेज धपाइने ठाउँमा जापान आउने कुरा बुझदछन्। अनि यस्ता कुरापट्टि ध्यान दिंदैनन् र भारतमा जापानी प्रभाव विशेष परेको छैन। उहाँ जो कटुता उत्पन्न भएको छ उ सिर्फ अंग्रेजी अहंकारपूर्ण व्यवहारले मात्र हो। अंग्र्रेज आज पनि भारतसित मित्रवत् व्यवहार गर्न लागुन् त भारतले पनि उनीहरूकै बाटो ग्रहण गर्ने छ। 
 
भारतमा जापानी प्रचारको साथसाथै आसाम, चटगाउँ, बंगालको कलकत्ता महानगरमा दिनरात बमको वृष्टि भइरहेको छ। हेरौं अब कसो हुँदोरहेछ। विश्वयुद्धमा परेर बर्माले जुन कुरो भोग्नुपर्‍यो यो प्रथम अध्यायमा भारतले कस्तो बेहोर्नु पर्दोरहेछ। संसारको आँखा भारतमा छ।
 
समाप्त
comments powered by Disqus

रमझम