गुमेको पुस्ता, उडेका सपना

Share:
  
- लेखनाथ पौड्याल
द्वन्दका कारण विदेशिएको सिंगो पुस्ता हामीले नपाउने त पक्का छ, तर अबको पुस्ता खेर जान नदिन, युवा आवश्कतामाथि राष्ट्रिय बहस अनिवार्य छ ।
p26a
 
दीपेश।

राजनीतिमा अस्थिरता, अर्थतन्त्रमा अधोगति र समाजमा निराशा व्याप्त हुँदाहुँदै पनि दशैंको आगमनले उमङ्गको सञ्चार गरेको छ। विदेशिएकाहरूको घर फर्कने लर्को बढेको छ। फर्किनेहरू घरपरिवारसँगै दशैं मनाउन पाउने खुशीमा दङ्ग छन् भने फर्कन नपाएका अधिकांशले चाडको दिन समेत काममा बिताउनुपर्ने विवशता छँदैछ। चाड नजिकै आइपुग्दा यो पंक्तिकारले अध्ययनका क्रममा युरोप र भारतमा गरेको अनुभव र त्यहाँका नेपालीहरूका केही प्रतिनिधि घटनालाई यो लेखमा उतार्न खोजेको छ।  

२०५६ ताका देशमा उत्कर्षमा रहेको हिंसात्मक द्वन्द्वले गर्दा आर्थिक, सामाजिक जीवन त्रस्त थियो। यसबाट जोगिन धेरै गाउँ छोडेर विदेशिए या शहरकेन्द्रित भए। एउटा सिङ्गै पुस्ता आफ्नो स्वाभाविक जीवन अगाडि बढाउन वञ्चित भयो। विदेशमा राम्रो शिक्षा प्राप्त गर्ने महत्वाकांक्षाले विदेशिनेहरूमध्ये ठूलो संख्या मध्यमवर्गीय मेधावी विद्यार्थीको थियो, जो एसएलसी र उच्च माविमा राम्रो नतिजा प्राप्त गर्न सफल थिए, तर इन्जिनियरिङ र मेडिसिनको छात्रवृत्तिको प्रतिस्पर्धामा असफल भए र निजी लगानीमा अध्ययन गर्न सक्दैनथे।  
 
उडायो सपना सबै हुरीले... यो गीतले हुरीले उडाएको प्रेमको सपनाको कुरा गरे पनि यो चरितार्थ भएको छ, विदेशिएका अधिकांश युवाका उडाइएका जीवनका सपनाहरूमा। उच्च शिक्षाको महत्वाकांक्षा राखेर विदेशिएका वाग्लुङका दिपेश आचार्य (परिवर्तित नाम) स्वीट्जरल्याण्डको जेनेभामा छन्। उनको दिन– बिहान ८ बजेदेखि राती १ बजेसम्म रेस्टुराँमा काम गरेर बित्छ। दिपेश त्यहाँका नेपाली विद्यार्थीमध्ये राम्रै प्रगति गर्नेमा गनिए पनि उनको पछुतो बुझने कमै छन्।  
 
२०५७ को एसएलसीमा ८२ प्रतिशत ल्याएका दिपेशले १२ कक्षा पनि 'डिस्टिङ्सन' ल्याए, तर मेडिसिनको छात्रवृत्ति प्रतिस्पर्धामा सफल हुन सकेनन्। घरबाट लगानी गरेर पढाउन सक्ने अवस्था थिएन। साथीभाइबीच विदेश गएर आफैं कमाउँदै पढ्न सकिने चर्चा हुन्थ्यो। कन्सल्टेन्सीका काउन्सिलरहरूले काम पनि पाइने, दाम पनि कमाइने र पढाइ पनि हुने सपना देखाइदिए। तर, यथार्थ त्यस्तो रहेनछ। काम गरेर अध्ययनलाई सँगै लैजान सम्भव थिएन, आउँदाको ऋण तिर्नु थियो, पढ्ने शुल्क जम्मा गर्नु थियो अनि बाँच्नु पनि। उनी सामान्य इन्ष्टिच्यूटमा भर्ना भएर कमाउने काममा मात्र लागे। पढ्ने सपना अधुरै रह्यो। 
 
यस्तो व्यथा सुनाउने दिपेश एक्ला होइनन्। बुटबलको एभरेष्ट बोर्डिङ स्कूलबाट ८१ प्रतिशत ल्याई एसएलसीमा स्कूल टप गरेका गुल्मीका शोभित ढकाल (परिवर्तित नाम) काठमाडौंमा छात्रवृत्तिमा उमावि अध्ययन पूरा गरेपछि कन्सल्टेन्सीमार्फत पूर्वी युरोपको लात्भिया पुगे, इन्जिनियरिङ पढ्न। त्यहाँ पुग्दा न कन्सल्टेन्सीले भने जस्तो काम पाए, न पढ्ने वातावरण। बेरोजगारीको मार, घरको ऋण र कन्सल्टेन्सीको बेइमानीले उनको सपना मात्र उडेन, प्रतिभा पनि मर्‍यो। 'भिजिट भिसा' मा लण्डन पुगेका उनी अहिले व्यक्तिगत जीवनमा समेत कठिन यात्राबाट गुज्रँदै एक भारतीय रेस्टुराँमा काम गरेर होटल म्यानेजमेन्टमा डिप्लोमा गर्दैछन्।  
 
जेनेभामा चितवनका शोभाकर गौतमको जन्मदिनमा सहभागी पारस नाम बताउने एक नेपाली युवकको अवस्था दर्दनाक देखियो। आमा र बुबा दुवै प्राध्यापन पेशामा रहेका एक शिक्षित परिवारको सन्तान उनी पढ्नका लागि माल्टा पुगे। तर, काम नपाउँदा पढाइलाई निरन्तरता दिन सकेनन् र स्वीट्जरल्याण्डको जुरिच नजिक शरणार्थी क्याम्पमा बेवारिसे जीवन बिताइरहेका छन्। उनको दिनचर्या बिउँझेदेखि ननिदाएसम्म मदिरामा डुबेर बित्छ। नेपालको बेरोजगारी छल्न जर्मनी पुगेका क्षितिज भट्टराई (परिवर्तित नाम)ले पढ्न सकेनन्। अहिले साथीहरूसँग मिलेर उनी सरसफाइको काम गर्दै बचाएको पैसा जम्मा गरी क्लिनिङ एजेन्सी खोलेका छन्। करीब २० हजार युरो तिरेर उनले त्यहाँको 'ग्रीन कार्ड'का लागि नक्कली विवाह पनि गरेका छन्। 
 
p26b
 
सोभित।

माओवादी द्वन्द्वबाट प्रताडित तनहँुका कान्छा थापा (परिवर्तित नाम) भारतको हैदरावादमा चाउमिन बनाउने ठेलामा काम गर्दैछन्। माओवादी द्वन्द्वका बेला उनी पढ्ने लम्जुङको पाणिनि संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक मुक्तिनाथ अधिकारीको माओवादीले बीभत्स हत्या गरेपछि सिर्जित त्रासबाट माओवादीसँग असहमति राख्नेहरू मात्रै होइन, राजनीति नबुझने अवस्थाका कान्छा जस्ता कलिला विद्यार्थी पनि मुक्त हुन सकेनन्। उनी आफ्नो लाहुरे दाजु काम गरिरहेको ठाउँमा पुगेर महीनामा करीब भारु ३००० ले गुजारा चलाउँछन्। जिन्दगीप्रति उनको ठूलो गुनासो छ। 

सशस्त्र संघर्षमा बल पुर्‍याउन माओवादी नेतृत्वले बुर्जुवा शिक्षाको बहिष्कारका नाममा ग्रामीण क्षेत्रमा पढ्दै गरेका थुप्रै विद्यार्थीलाई स्कूल छुटाएर कार्यकर्ता बनायो। त्यतिबेला क्रान्तिको भुमरीमा सबै शिक्षित बन्ने र जनयुद्ध सफल भएपछि सबैले आफ्नो योगदान, क्षमता, दक्षता अनुरुपको औपचारिक वैज्ञानिक शिक्षाको व्यवस्था र प्रमाणपत्र दिने आश्वासन बाँडेर ठूलो पंक्तिलाई शिक्षाबाट विमुख बनाइयो। शान्ति वार्तापछि न यिनले वैज्ञानिक शिक्षा प्राप्त गरे न त कुनै प्रमाणपत्र नै। उल्टो सेना समायोजन प्रक्रिया र राजनीतिक नियुक्तिहरूमा कथित बुर्जुवा शिक्षा प्राप्त गर्नेहरूले नै अवसर लुटे, जनयुद्धका नाममा त्याग गर्नेहरूको बिचल्ली सिवाय केही भएन।
 
यी कथाका पात्रहरू फरक परिवेशमा, फरक कारणले, फरक मुलुकमा पुगे तापनि यिनीहरूको अधिकांश विषयमा समानता थियो। यीमध्ये कसैले पनि आफ्नो यथार्थ परिचय खुलाउन चाहेनन्, कान्छा बाहेक सबैले आफ्नो परिवारसँग आफ्नो दुःख लुकाएका र पढिरहेको बताएका छन्। तर, कान्छाले समेत आफ्नो नाम नखुलाइदिन आग्रह गरेबाट स्पष्ट छ– उनमा माओवादी त्रास कायमै छ। उता युरोप पुगेका अधिकांश विद्यार्थी, सक्कली वा नक्कली बिहे गरेर त्यहाँ बस्ने वातावरण मिलाउने दाउमा छन्। 
 
यी कथाहरू उनीहरूको निजी मात्र होइन मुलुकले गुमाएको एउटा सिङ्गै पुस्ताको कथा हो। यो पुस्ताले नेपालमा पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र जीवित राख्यो तर उनीहरूको भत्किएका सपनाका मूल्यमा। र नेपाली समाजले पनि आफ्नो विकासक्रममा अध्ययनमा अब्बल पुस्तालाई गुमाएको छ। यसबाट राज्य संयन्त्रमा अब्बलहरूको अभावलाई कसले पूरा गर्छ, प्रश्न टड्कारो छ। अब्बलहरूको रिक्ततामा मुलुकको विकासमा पर्ने असरले ल्याउने सामाजिक समस्याका बारेमा हाम्रो राजनीतिक नेतृत्व, त्यसमा पनि यही पुस्ताको नेतृत्व गर्ने दाबा गर्नेहरू अर्थात् युवा राजनीतिकर्मीहरूले समेत यो विषयको गाम्भीर्य बोध गर्नु त परै जाओस्, सामान्य चासो पनि देखाएका छैनन्।  
 
p26c
 
क्षितिज।

जनवादी शिक्षाका लागि बुर्जुवा शिक्षा बहिष्कारका नाममा पढाइबाट वञ्चित गरी सशस्त्र संघर्षमा होमिएका कार्यकर्ता हुन् वा त्रासले बाहिरिएका युवाहरू, उनीहरूको बिचल्ली र गुमेको रचनात्मक भविष्यको मूल्य माओवादी नेतृत्वले कहिले बुझला? अभिभावकहरू आफ्नो सन्तानको भविष्यप्रति अझ् गम्भीर हुँदै छोराछोरीको विदेश जाने लहैलहैबाट कहिले मुक्त होलान्? च्याउझै उम्रेका कन्सल्टेन्सीहरू अर्काका सपना बेचेर गरिने लूटको खेतीबाट माथि उठेर जिम्मेवार बन्ने समय कहिले आउला? राजनीतिक नेतृत्व र सरकार जनशक्ति व्यवस्थापन र रोजगारप्रति कहिले गम्भीर बन्लान्? यी सबै अपेक्षा हुन्। गुमाएको यो पुस्ता हामीले नपाउने पक्का छ तर विषय अर्को पुस्ता गुमाउने वा बचाउने भन्ने मात्र हो। अबको पुस्ता नगुमाउन यस विषयले गम्भीरताका साथ राष्ट्रिय बहसमा स्थान पाउन जरूरी छ।  

त्यही गुमेको पुस्ताप्रति समर्पण र दशैंको शुभकामना! 
comments powered by Disqus

रमझम