कम्युनिष्ट 'स्कूलिङ' फर्केर हेर्दा

Share:
  
- सुवास देवकोटा
नेताका भनाइ र गराइमा भिन्नता देखेपछि कार्यकर्ताहरू उल्टो दिशामा अघि बढ्छन् भन्ने कुरा कैयौं कम्युनिष्ट कार्यकर्ताको जीवनशैलीबाट देखिन्छ।
p28
 
भानु भट्टराई

बुबा (ऋषिराज देवकोटा 'आजाद') कम्युनिष्ट राजनीतिमा लाग्दालाग्दै तत्कालीन सरकारबाट १२ फागुन २०३७ मा मारिनुभयो, त्यसैले सानैदेखि कम्युनिष्ट राजनीतिप्रति भावनात्मक लगाव बस्यो। बुबाको हत्याको बदला लिनुपर्छ, असल कम्युनिष्ट बन्नेे प्र्रयत्न गर्नुपर्छ भन्ने भावना दह्रोसँग मनमा गडेको थियो, त्यसबेला। बुबाको हत्यापछि हाम्रो परिवारले तत्कालीन नेकपा मालेका कार्यकर्ताहरूको घर–डेरामा बाँडिएर आश्रय लिनुपरेकोले पनि हाम्रो सोच–विचार त्यस्तो बन्नु अस्वाभाविक थिएन।  

पार्टीको रेखदेखमा हुर्किएकाले सानैदेखि चिनियाँ युद्धकालीन कम्युनिष्ट कथाहरू पढियो। भियतनाम, क्यूवा, कोरियाका युद्धकालीन कम्युनिष्ट नायकहरूका जीवनी मनपर्ने साहित्य बने। १४ वर्षको उमेरमा शहीद बनेकी चिनियाँ ल्यू हुलान् प्रेरणा बनिन्। अमेरिकी मन्त्रीलाई बम राख्दा पक्राउ परेर मारिएका भियतनामी न्यूगेन भान ट्राईको जीवनीले उनी जस्तै बहादुर बन्ने लालसा जगायो। रूसी उपन्यास अग्निदीक्षा पढेर त्यसका लेखक निकोलाई अस्त्रोभ्स्की जस्तै हुने सपना देखियो। राम्ररी पढ्नुपर्छ, धेरै पढेर राम्रो जागिर खानुपर्छ, सुखी र सम्पन्न हुनुपर्छ भन्ने सोच किशोर हुँदासम्म कहिल्यै आएन।  
 
सादा जीवन उच्च विचार राख्नुपर्छ, प्रेमका गीत, सिनेमा सुन्न–हेर्न हुन्न भन्ने सिकाइयो। भूमिगत कार्यकर्ता हुन सजिलो होस् भनेर पञ्चायतकालभरि आफ्नो परिचय गोप्य राख्न प्रेरित गरियो। स्कूले जीवनमा प्रत्येक कक्षा फरकफरक ठाउँमा पढेकाले नजिकका साथी कोही बनेनन्। केटीहरूसँगको सम्बन्धबारे अव्यावहारिक र आदर्शपूर्ण कुरा सिकाइएकाले स्कूल पढ्दासम्म कोही केटी साथी भएनन्। कोर्षका किताबभन्दा कम्युनिष्ट साहित्य अध्ययन गरियो, स्कूले उमेरदेखि नै केही न केही लेख्न बानी पारियो। अहिलेको स्वभाव र व्यक्तित्व बाल्यकाल र किशोरवयको सिकाइ तथा त्यसको प्रतिक्रियाबाट विकास भएको हो भन्न मलाई अप्ठ्यारो लाग्दैन।  
 
पञ्चायतकालीन माले र अहिलेका माओवादी कार्यकर्ता देख्दा आफ्नो विगत तथा आफूले प्राप्त गरेको शिक्षाको झ्ल्झ्ली सम्झ्ना आउँछ। आजको एमालेको पूर्वरुप तत्कालीन मालेका अधिकांश भूमिगत कार्यकर्ता २०४६ सालको परिवर्तनपछि राजनीतिको वास्तविक रूप थाहा पाउनासाथ सक्रिय राजनीतिबाट अलग भए। बाठा नेताले राजनीति धेरै नै आदर्शको विषय भएको सिकाएका अनि घरपरिवार केही होइन, क्रान्ति र परिवर्तनका अगाडि औपचारिक शिक्षाको कुनै मूल्य छैन भन्दै पढाइ छाड्न लगाएका थिए। आफ्नो क्षमता र गुणको बखान आफैंले गर्ने होइन― अरूले गर्ने हो, ठूलाबडा कसैको चाकरी गर्ने होइन― स्वाभिमान ठूलो कुरा हो, आफ्नो लागि आफूले माग्ने होइन― पार्टीले देख्छ र दिन्छ; यस्तै सिकाइन्थ्यो त्यसबेला। भूमिगतकालमा नेताका यस्ता उपदेश पत्याएका कार्यकर्तालाई खुला परिवेशमा आएपछि ती फगत गफ रहेछन् भन्ने थाहा पाउन धेरैबेर लागेन। त्यही भएर राजनीतिलाई सराप्दै उनीहरू यसबाट पलायन भएका थिए।  
 
झ्ण्डै यस्तै स्कूलिङबाट आएका माओवादी कार्यकर्ताको स्थिति पनि धेरै भिन्न देखिन्न। 'हिंसा क्रान्तिको अनिवार्य अंग हो, क्रान्तिको कोटा चुक्ता गर्न मार्नु–मर्नु अपरिहार्य छ' भन्ने नारा द्वन्द्वकालभरि माओवादीको मूलमन्त्र रह्यो, तर तत्कालीन मालेले आफ्नो सुरुआतकालमा पनि माओवादीले जसरी हिंसालाई अँगालेको थिएन। २०३६–३७ सालपछि त माले जनसंगठन निर्माण र जनसंघर्ष जस्ता नरम बाटोमा लाग्यो। कम्युनिष्टहरूले प्रयोग गर्ने अर्थ न बर्थका शब्द जञ्जाल चाहिं आफ्नो बेलामा दुवैले उसैगरी प्रयोग गरेका थिए। तर मालेले कार्यकर्तालाई फकाएर औपचारिक अध्ययन छाड्न लगायो भने माओवादीले विद्यालयबाट विद्यार्थीहरूलाई बलजफ्ती लगेर कार्यकर्ता र लडाकू बनायो।  
 
व्यक्तिगत सम्पत्ति त्याग्ने नेताहरूको नाटकबाट प्रभावित भएर, 'क्रान्ति' अर्थात् सम्पूर्ण सत्ता कब्जा हुने सपना देखेर र पार्टीको निर्देशन मानेर कैयौं माओवादी कार्यकर्ताले घर त्यागे, औपचारिक अध्ययन छाडे, र आफन्त तथा समाजका सामु उनीहरू असामाजिक बने। त्यस्ता कार्यकर्ताले शान्तिवार्तामा आइसकेपछि नेताहरू यही व्यवस्थाबाट व्यक्तिगत उन्नतिमा लागेका धेरै समयसम्म पत्तो पाएनन्। जब पाए, निराश र आक्रोशित बने। एमाओवादी विभाजन र नेकपा–माओवादी गठनको एउटा महत्वपूर्ण कारण यो पनि थियो। नवगठित माओवादीले नेताहरू बिग्रे, धोकेवाज भए भन्ने नारा लगाएकाले युद्धकालको स्कूलिङ अनुसार 'नबिग्रिएका' अर्थात् व्यक्तिगत आर्जन गर्न नसकेका अधिकांश कार्यकर्ता त्यता लागेका छन्।  
 
नेताका भनाइ र गराइमा भिन्नता देखेपछि कार्यकर्ताहरू उल्टो दिशामा अघि बढ्ने रहेछन् भन्ने कैयौं कम्युनिष्ट कार्यकर्ताको जीवनशैलीबाट देखिन्छ। कैयौं माओवादी कार्यकर्ता युद्धकालमै व्यक्तिगत सम्पत्ति जम्मा गर्नतिर पनि लागे। उनीहरू कुराकानीको क्रममा व्यक्तिगत सम्पत्ति, स्वार्थ त्याग्ने नेताहरूको उपदेश साँचो नभएको यथार्थ बेलैमा बुझ्ेर विचार पुर्‍याएको बताउँछन्। राजनीतिको पूर्ण 'तत्वबोध' गरेर हुनसक्छ, त्यस्ता कार्यकर्ता जसरी भए पनि आफ्नो उन्नति गर्नुपर्छ भन्ने मामिलामा कम्युनिष्टहरूले गाली गर्ने हदभन्दा धेरै 'पूँजीवादी' भइसकेका छन्।  
 
कम्युनिष्टहरूले कार्यकर्तालाई अति आदर्शवादी बन्न सिकाए, सिकाउने गुरु पनि त्यस्तै भएका भए समाजको स्थिति बेग्लै हुन्थ्यो पनि होला। नेपाली समाजमा कम्युनिष्ट नेता–कार्यकर्ताको हिस्सा ठूलो भएकाले त्यसबाट समाजमा सकारात्मक प्रभाव पर्थ्यो। तर, अधिकांश गुरु नै आफ्नो आदर्शप्रति प्रतिबद्ध नभएकाले कार्यकर्ताहरूमा वितृष्णा र निराशा छायो, र प्रतिक्रियास्वरुप उनीहरू असामाजिक हुने हदसम्म पुगे।  
 
कम्युनिष्ट 'स्कूलिङ' का समाजलाई हानि पुर्‍याउने कैयौं नकारात्मक पक्ष छन्। श्रमजीवी वर्गको पक्षपाती भन्ने नेपाली कम्युनिष्टहरूले कार्यकर्तालाई कामकाजी बन्न कहिल्यै प्रोत्साहित गरेनन्। कार्यकर्ताको ठूलो सञ्जाल खडा गरेर त्यसमार्फत सत्तामा पुग्ने उद्देश्य राखेका उनीहरूको जोड जहिल्यै पनि पेशेवर कार्यकर्ता तयार गर्ने रह्यो। पेशेवर कम्युनिष्ट कार्यकर्ता राजनीति बाहेक केही काम गर्दैनन्, पेशा–व्यवसायमा लागे भने बिग्रियो भन्दै दुत्कारिन्छन्। अनि वैध आम्दानी नहुने त्यस्ता कार्यकर्ताको जीवन निर्वाहको उपाय चन्दा वा राजनीतिको आडमा गरिने ठेक्का–पट्टा, दलाली हुनपुग्छ। विभिन्न कम्युनिष्ट समूहका त्यस्ता पेशेवर कार्यकर्ता अहिले नेपालमा लाखौं छन्, तिनमा पनि दुई माओवादी पार्टीका सबैभन्दा धेरै। चन्दा आतङ्कको एउटा महत्वपूर्ण कारण यही हो।  
 
कम्युनिष्ट 'स्कूलिङ' का राम्रा पक्ष पनि छन्। एकपाखे नै किन नहोस्, अध्ययन गर्नु र अध्ययन गर्न प्रेरित गर्नु उनीहरूको राम्रो पक्ष हो। कमिटीमा रिपोर्टिङ गर्नैपर्ने हुनाले लेख्न सिकाइएकै हुन्छ। मिहिनेत गर्ने बानीलाई प्रोत्साहित गरिन्छ। समानताको नाराका आधारमा संगठित भएकाले ठूलासँग नदब्ने स्वाभिमान अरूभन्दा धेरै हुन्छ। त्यसैगरी, सानालाई माया र आदर गर्नु नि कम्युनिष्ट 'स्कूलिङ' को महत्वपूर्ण पक्ष हो। पार्टी र नेता–कार्यकर्ता तल्लो वर्गमा आधारित हुनपर्छ भनिएकाले सीमान्तकृत वर्ग तथा समुदायका कैयौं मानिसहरू राजनीतिको माथिल्लो स्थानमा पुगेका छन्। कम्युनिष्ट राजनीतिकै कारण त्यस्ता वर्ग र समुदायमा आत्मविश्वास जागेको छ।  
 
तर, संसार बदल्ने महान आदर्शको कुरा गर्ने धेरै कम्युनिष्टहरू सानो चित्तका भएको मैले पाएको छु। उनीहरू आलोचना–आत्मालोचना कमिटीको ज्यान हो भन्छन्, आफ्नो आलोचना सुन्न चाहँदैनन्। अरूले आफ्नो चियोचर्चो गरेको मन पराउँदैनन्, अरूको चियोचर्चोमा रुचि राख्छन्। खानपान, लवाईखवाई व्यक्तिगत रुचि–अरुचिको विषय हो भन्ने उदारता उनीहरूमा देखिन्न। आफ्नो जस्तै सोच, खानपान, लवाईखवाई अरूको पनि हुनुपर्छ भन्ने अधिकांश कम्युनिष्ट नेताहरूको धारणा हुन्छ। अहिले शीर्र्षस्थ स्थानमा रहेका एमालेका एक–दुई नेताबाट मैले सार्वजनिक स्थानमै खानपान र लवाईबारे आलोचना खेप्नुपरेकोले यसो भनेको हुँ।  
 
अहिले मुलुकमा अनेकौं राजनीतिक पार्टीहरू छन्, जसको गठन सत्ता प्राप्त गर्न वा नजिक पुग्न भएकोमा विवाद छैन। सामान्यतया राजनीतिमा समाजका टाठाबाठा मानिसहरू लाग्छन्, जो अरूलाई डोर्‍याउने क्षमता राख्छन्। नेपालमा मात्र होइन, संसारमै स्थापित मान्यता हो यो। तर, कम्युनिष्ट राजनीति यतिमै सीमित हुँदैन। अरू राजनीतिमा भन्दा यो राजनीतिमा संलग्नहरूको धेरै हदसम्म भावना पनि जोडिन पुग्छ। त्यसैले कम्युनिष्टहरू राजनीतिबाट निराश हुँदा अरू जस्तो राजनीतिबाट मात्र निराश हँुदैनन्; आफ्नो सिकाइ, विगत, जीवनपद्धति धेरैबाट उनीहरूको एकै पटक मोहभङ्ग हुनपुग्छ।  
 
कम्युनिष्ट राजनीतिमा सानैदेखि जोडिए पनि मेरो बुझाइ शायद अरू धेरैसँग मिल्दैन। सानैदेखि अरूको आश्रयमा बस्दा–बस्दा थाकेर होला, एसएलसी सकिनासाथ पार्टी कार्यकर्ताहरूको आश्रय छाडिदिएँ र रेस्टुरेण्टको वेटर बनें। सानैदेखि 'शिक्षा' पाए पनि पेशेवर कम्युनिष्ट कार्यकर्ता बन्न सकिएन, किशोरवय सकिनासाथ त्यस्तो मोह भंग भयो। पछि राजनीति गर्न गृहजिल्ला सिन्धुली पनि गएँ, तर चन्दा–सहयोगबाट बाँच्नुपर्ने बझेपछि त्यसो गर्न सकिन्न भन्ने लाग्यो र छिट्टै त्यो बाटोबाट फर्किएँ।
 
विदेशी कम्युनिष्ट क्रान्तिका रोमाञ्चक कथाबाट प्रभावित भएर स्कूल पढ्दा काभ्रेको नाला र धादिङको मलेखुमा सुरुङ खनियो, छाताको डाँठबाट भरुवा बन्दुक बनाउने प्रयत्न गरियो। तर, बिस्तारै उमेर बढ्दै गएपछि 'क्रान्ति' बारे आफ्नै बुझाइ बन्यो। त्यसका लागि मर्न–मार्न मन लागेन। तर पनि कम्युनिष्ट 'स्कूलिङ' को प्रभाव छँदैछ। त्यो कुनैबेला प्रतिक्रियात्मक रूपमा नकारात्मक भएर प्रकट हुन्छ भने कुनै बेला जस्ताको तस्तै। शायद अरूको भोगाइ पनि योभन्दा धेरै फरक नहोला! 
comments powered by Disqus

रमझम