फेरि बाटुली–पुतली

Share:
  
- अरुणा रायमाझी
रगत बगाएर माओवादीलाई गौरवशाली बनाउने कामरेड शिखा, जोशिलाहरू पार्टी सत्तासीन भएपछि पुनः फूलमती र मसिनी हुनपुगेका छन्।
p30
 
 
भानु भट्टराई

पार्टी प्रशिक्षणहरूमा अन्तर्राष्ट्रिय महिला आन्दोलनको कुरा सुनाइएका गाउँघरका धेरै युवती रोजा लक्जेम्बर्ग, च्याङ चिङ, क्लारा जेट्किन वा नादेझदा क्रुप्सकाया बन्ने सपना सजाउँदै माओवादी 'जनयुद्ध' मा हेलिएका थिए। उनीहरूले सर्वहारा वर्गसँगै महिला मुक्तिको सामूहिक सपनामा बाँधेर थप हजारौं दिदीबहिनीलाई पनि यसमा तानेका थिए।  

यसरी रोजा, च्याङ, क्लारा, नादेझदा आदिलाई आफ्नो पहिचानसँग जोडेका फूलमती, रूपमती, बाटुली, पुतलीहरू ज्वाला, क्रान्ति, योद्धा, अग्नि, बदला, मुक्ति, शिखा, सामना, जोशिला आदि बने। तीमध्ये कमरेड योद्धा, आँधीहरू शहीद भए। क्रान्ति, बदलाहरूले आफ्ना अंग दिए। मुक्ति, जोशिलाहरू बेपत्ता बनाइए। उनीहरूको बलिदानबाटै पार्टी क्रमशः गौरवशाली र सत्तासीन भयो। 
 
युद्धकालमा राज्यपक्षबाट सामूहिक बलात्कार र हत्या हुँदा कमरेड शिखा, सामनाहरू हच्किएनन्, बरु बलिदानको तयारी गरे। जति दमन भयो उति आगो बनेर खनिए। पार्टीले क्रान्तिमा आफ्नो शिर चढाउन उत्प्रेरित गर्दा उनीहरूमा शहीद बन्ने होडबाजी चल्यो। तर, पार्टी शान्ति प्रक्रियामा आएपछि स्थितिले पल्टा खाएको छ। र, युद्धकालका बहादुर कमरेड महिलाहरू पुरानै निरीह अवस्थामा पुगेका छन्।  
 
राज्य, केन्द्र, जिल्ला र एरियाहरूमा हिजो संघर्षको मैदानबाट भाग्ने 'दम्पट' हरूको पुनरागमन हुँदा, पार्टीमा नियमित 'स्कूलिङ' नहुँदा, आर्थिक पारदर्शिता कायम नराखिंदा, मूल्यमान्यताको वास्ता नगरिंदा, क्रान्तिकालमा जोडिएका सम्बन्धहरू टुक्रिंदा, सर्वहारावादी चिन्तनको खिल्ली उडाइँदा र राजनीतिक मुद्दामा पार्टी नेतृत्व पूर्ण असफल हुँदा यो स्थिति आएको हो। महिला मुक्तिको सवालमा सबैभन्दा प्रखर विचार बोकेको पार्टी माओवादीमा अहिले महिला उत्पीडन जल्दोबल्दो विषय बन्न पुगेको छ। 
 
हिजो र आजका कमरेड 
हिजो महिलामाथि हिंसा वा बहुविवाह गर्ने जो कोहीमाथि जनअदालतबाट कारबाही भयो। हिजो अध्यक्ष कमरेड 'महिलाहरू प्रतिक्रान्ति रोक्ने फलामे खम्बा हुन्' भनेर थाक्नुहुन्नथ्यो। आज ती फलामे खम्बाहरूलाई खिया लाग्ने ठाउँमा थन्क्याइएको छ। परिवर्तनको लागि जीवन अर्पण गरेकाहरूको रगत र पसिनालाई नाङ्गो ढंगले बदनाम गरिंदा कमरेड बदला र जोशिलाहरूलाई यो समाजमा पुनःस्थापना हुन नैतिक रूपमा अर्को ठूलो संघर्ष गर्नुपरेको छ।  
 
जातभात अन्त्यको लागि अन्तरजातीय विवाह गरेका कमरेड रूपमती, फूलमतीहरू आज परित्यक्त र घरबारविहीन बनेर प्रचण्ड–बाबुरामको दरबार अगाडि न्यायको भीख माग्न पुगेका छन्। हिजो प्रचण्ड र बाबुरामसँग काँधमा काँध मिलाएर हिंडेका कमरेड क्रान्ति र ज्वालाहरू अहिले २० मिटर परैबाट हात जोड्न बाध्य छन्।  
 
हिजो कार्यकर्ताहरूले जनताको घरमा सबैभन्दा राम्रो जे हुन्छ नेताहरूका लागि त्यसैको व्यवस्था गरे। आज ती कार्यकर्ताको व्यवस्थापन गर्नुपर्दा नेताले कार्यकर्ता नै बदलेका छन्। प्रचण्ड–बाबुरामहरूलाई साथ र सुरक्षा दिन अरू नै आइपुगेका छन्। युद्धको बेला उनीहरूको सुरक्षामा अहोरात्र खट्ने कमरेड फूलमती र रूपमतीहरू आज आफ्नै सुरक्षाको निम्ति चिच्याइरहेका छन्। कवि निभा शाहको भनाइमा, “पार्टी अहिले जोई, पोई र कोहीको मात्र भएको छ।”  
 
यस्तो अवस्थामा कमरेड सामना र मुक्तिहरूको आवाजलाई चिल्लाचाप्ला बोलीले दबाइएको छ। स–सानो झ्ुण्डमा आएका सुकिला कमरेडहरूले बराबरको हिस्सा लिंदा घरबार त्यागेर १०–१५ वर्ष पार्टीमा काम गरेकाहरू हेरेको हेर्‍यै भएका छन्। लडाईंको बेला 'दम्पट' भएर मेलो मार्ने बेलामा टुप्लुक्क आइपुगेका कमरेडहरूबाट असली कार्यकर्ता आक्रान्त छन्। पार्टी फुट्दा पनि सन्चो भएकोे छैन।  
 
नयाँ कार्यकर्ता आउँदैमा डराउनुपर्ने थिएन, नेतृत्वले 'चैते' र 'दम्पट'हरूलाई नबोकेको भए। हिजो माओवादीलाई गर्ने गाली सकिएपछि माओवादीमै आएर दुवै हातमा लड्डु लिएकाहरू तल्लो तहका कार्यकर्तामा देशभक्ति र राष्ट्रियता कमजोर भएको भाषण गरिरहेका छन्।  
 
माओवादीमा लागेका महिला कमरेडहरूका लागि हिजो पार्टी नै घर थियो। आज उनीहरूको न गाउँ छ, न त घर–ठेगाना। रोजा, च्याङ र नादेझदा बन्ने सपना भत्किएका कमरेड ज्वाला, क्रान्ति, बदला, मुक्ति, शिखा, सामना, जोशिलाहरू अहिले पुतली, बाटुली र मसिनीकै रूपमा गुमनाम बन्दैछन्। केन्द्रीय सत्ता सञ्चालक बनेको नेतृत्वका लागि भने ती पुराना कमरेडहरू बेपत्ता भएकै बेस। सोच र जीवनशैली नयाँ कमरेडहरूसँग जो मिलेको छ! 
comments powered by Disqus

रमझम