२५-३१ जेठ २०७१ | 8-14 June 2014

बढ्यो टेलिभिजन व्यापार

Share:
  
विश्वकप फूटबल–२०१४ को आगमनसँगै टेलिभिजनको बिक्री उल्लेख्य बढेको छ।

२८ जेठदेखि ब्राजिलमा शुरू हुने २०औं विश्वकप फूटबलको दिन गनेर प्रतीक्षा गरिरहेका नेपाली फूटबलप्रेमीहरू ठूलो आकारका टेलिभिजन किन्दैछन्। सस्तो मूल्य र उच्च गुणस्तरको कम्पनीका टेलिभिजनहरू उनीहरूको रोजाइ बनेका छन्।

फूटबलप्रेमीको तयारी र रोजाइ बुझेका टेलिभिजन कम्पनीहरूले पनि विश्वकप फूटबलको वेला बिक्री बढाउन ग्राहकमाझ् आकर्षक योजना ल्याएका छन्। कतिपय टेलिभिजन कम्पनीले यो वेला नगद छुटको योजना ल्याएका छन् भने कतिपयले विद्युतीय उपहारको घोषणा गरेका छन्। अधिकांश कम्पनीले दुई साताअघि नै यस्तो उपहार योजना घोषणा गरेका छन् भने कतिपयले नयाँ योजना ल्याउने तयारी गर्दैछन्। अहिले टेलिभिजन बढी बिक्री हुनुमा यस्ता आकर्षक योजना पनि महत्वपूर्ण कारण रहेको व्यापारीहरूको भनाइ छ।

उपहारको बहार

नेपालमा पानासोनिक टेलिभिजनको बिक्री गर्दै आएको त्रिवेणी व्यापार टे्रडले विश्वकपलाई लक्षित गरी एक साताअघि विभिन्न योजना ल्याएको छ। एक महीनासम्म जारी रहने योजना अन्तर्गत रु.३६ हजार ३०० पर्ने २४ इन्चको टिभीमा २.१ को स्पिकर, रु.६० हजार पर्ने ३२ इन्चको टिभीमा ४.१ को स्पिकर, रु.८० हजार पर्ने ३९ र रु.१ लाख ४०० पर्ने ४२ इन्चको टिभीमा ५.१ को स्पिकर तथा रु.१ लाख ६० हजार पर्ने स्मार्ट र रु.२ लाख २२ हजार पर्ने थ्रीडीको ५० इन्च तथा रु.४ लाख ४५ हजार पर्ने ५५ इन्चको थ्रीडी टिभीमा स्मार्ट फोन उपहार दिइएको त्रिवेणी व्यापार टे्रडका मार्केटिङ म्यानेजर सनी श्रेष्ठले बताए। २४ इन्च बाहेक अरू सबै स्मार्ट टिभी हुन् भने ४२ इन्चमाथिका स्मार्ट र थ्रीडी।

सार्प।

ग्राहकको सुविधाका लागि कम्पनीले बिक्रीपछि बिग्रिएमा एक वर्षका लागि २४ घन्टाभित्र घरमै पुगेर निःशुल्क मर्मत गर्ने जनाएको छ। जापानिज ब्रान्डका यी टिभीले पहिले नै ग्राहकको विश्वास जितेको बताउँदै मार्केटिङ म्यानेजर श्रेष्ठले भने “स्टायलिस यी टिभीको माग बढ्दो छ।” विगतको विश्वकपमा टिभी बिक्रीको रेकर्ड राम्रो भएको भन्दै उनले अहिले पनि धेरै राम्रो हुने विश्वास व्यक्त गरे।

पानासोनिकले देशभरका करीब ६० डिलरबाट टेलिभिजन बिक्री गर्दै आएको छ।
एलजी, सीजी र तोसिबाको आधिकारिक बिक्रेता चौधरी ग्रुपका उपमहाप्रबन्धक सञ्जय राजभण्डारी टिभी ग्राहकका लागि आकर्षक योजना ल्याउने तयारीमा छन्। उनका अनुसार विश्वकपलाई लक्षित गरी चार वटा नयाँ ब्रान्डका टिभी सार्वजनिक गरिंदैछ। राम्रो स्किमका लागि केही दिन पर्खन ग्राहकलाई उनको आग्रह छ।

एलजी।

विश्वकपसँग मेल खाने ग्राहक योजना अन्तर्गत होम थिएटर, डीभीडी लगायतका इलेक्ट्रोनिक ग्याजेट ल्याउने चौधरी समूहको तयारी छ। बजारमा नियमित बिक्री हुने टिभीको तुलनामा यो समय ५० प्रतिशतसम्म बिक्री बढ्ने चौधरी ग्रुपका उपमहाप्रबन्धक राजभण्डारी बताउँछन्। सीजीले २२ इन्चदेखि ८४ इन्चसम्मका टिभी बिक्री गर्दै आएको छ। ३२ देखि ४२ इन्चको टिभी बढी बजारमा जाने गरेको बताउने राजभण्डारीका अनुसार कुल बजारको ४० प्रतिशत हिस्सा ३२ इन्चको टिभीले ओगटेको छ। नर्मल, स्मार्ट र स्मार्ट सीडी गरी तीन किसिमका यी टिभीको मूल्य रु.५० हजारदेखि रु.८५ हजारसम्म पर्छ।

सार्प ब्रान्डको टेलिभिजन बिक्री गर्दै आएको एसजी ग्लोबलले विश्वकपलाई लक्षित गरी ग्राहकमाझ् आकर्षक योजना ल्याएको छ। निर्देशक अखिल गुप्ताका अनुसार एसजी ग्लोबलले ल्याएको होम थिएटरको नयाँ योजना अनुसार ३२ देखि ३९ इन्चको टिभी खरीदमा प्रशस्त छुट दिइनेछ। टिभी खरीदमा नगद छुट दिइने पनि उनले बताए। गुप्ता शुक्रबारदेखि टेलिभिजनको बिक्री बढेको बताउँछन्।

नेपाल हिमा टे्रड लिंकले विश्वकपलाई लक्षित गरी सोनी डेज २०१४ नामको योजना ल्याएको छ। बजार प्रवर्द्धनका लागि कम्पनीले निश्चित मोडलमा छुट दिएको हिमा टे्रड लिंकका मार्केटिङ म्यानेजर विनिल बज्राचार्यले बताए। उनका अनुसार टेलिभिजनको खरीदमा ग्राहकलाई मोबाइल फोन, ब्लू रे प्लेयर, डीभीडी प्लेयर, टिसर्ट, ब्लू रे होम थिएटर दिइने छ। सामान्य अवस्थामा भन्दा विश्वकपमा दुई गुणा बढी टेलिभिजन बिक्री हुने हिमा टे्रड लिंकका मार्केटिङ म्यानेजर बज्राचार्य बताउँछन्। अघिल्लो विश्वकपभन्दा यो पटक बिक्री बढ्ने उनको आशा छ।

सामसुङ।

दर्शकहरूलाई फूटबलको मज्जा दिलाउन डिस मिडिया नेटवर्कले हाइ डेफिनेशन (एचडी) च्यानल भित्र्याएको छ। तीन साताअघि मात्र भित्र्याइएको नयाँ प्रविधिको यो च्यानलबाट दर्शकले नौलो स्वाद पाउने डिस मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुमन पोखरेल बताउँछन्। यो प्रविधिका लागि ग्राहकले शुरूमा रु.५ हजार ९९९ बुझ्ाउनुपर्छ। ६० वटा च्यानल आउने आधारभूत प्याकेजका लागि मासिक रु.३००; ७० वटा च्यानल आउने मिडियमका लागि मासिक रु.४०० र ८० भन्दा बढी च्यानलको डिलक्सका लागि रु.५०० शुल्क तिर्नुपर्छ भने एचडीका पाँच वटा स्पोर्टस् च्यानलका लागि मासिक थप रु.२०० बुझाउँदा पुग्छ।

डिस मिडियाले स्ट्यान्डर्ड डेफिनेशन (एसडी) च्यानल चार वर्षअघिदेखि नै शुरू गरेको थियो। ग्राहकले रु.३ हजार ९९९ बुझाएपछि निश्चित मासिक शुल्क बुझ्ाएर टेलिभिजन हेर्न सक्नेछन्। तर यसमा दर्शकले एचडीमा जस्तो फूटबलको मज्जा पाउने छैनन्। विश्वकप शुरू हुने दिन नजिकिंदै जाँदा एचडी टिभीको माग पनि सोचेभन्दा बढेको डिस मिडियाका प्रबन्ध निर्देशक पोखरेल बताउँछन्। “एचडीको औपचारिक शुभारम्भ गरेको तीन सातामै ग्राहकको रेस्पोन्सले हामी निकै उत्साहित भएका छौं” उनले भने।

सोनी ।

क्यासब्याक अफर

सामसुङ टेलिभिजनको आधिकारिक बिक्रेता हिम इलेक्ट्रोनिक्सले विश्वकपलाई लक्षित गरी २० जेठदेखि 'अमेजिङ क्यासब्याक फूटबल अफर' ल्याएको छ। २९ असारसम्म लागू हुने यो योजना अन्तर्गत ग्राहकले टेलिभिजन खरीद गर्दा तुरुन्तै नगद फिर्ता पाउने छन्। सामसुङका बिक्री प्रमुख गणेशराज पाण्डेका अनुसार टिभी खरीदमा ग्राहकलाई २५ प्रतिशतभन्दा बढी छुट दिइएको छ।

२३ इन्चदेखि ७५ इन्चको टिभी खरीदमा यस्तो योजना ल्याइएको पाण्डे बताउँछन्। जस अनुसार रु.३१ हजार ९९९ पर्ने २३ इन्चको टिभी खरीदमा ग्राहकले रु.७ हजार १०० नगद फिर्ता पाउने छन्। यसैगरी रु.११ लाख ९९ हजार ९९० पर्ने ७५ इन्चको टिभी खरीदमा ग्राहकले रु.३ लाख १५ हजार १०० फिर्ता पाउने छन्। अन्य किसिमका उपहारभन्दा नगद फिर्ता गर्दा ग्राहकलाई प्रत्यक्ष फाइदा पुग्ने भएकोले यस्तो अफर ल्याइएको बिक्री प्रमुख पाण्डेले बताए। अफर ल्याएको चार दिनमै टेलिभिजनको बिक्री उत्साहपूर्ण रूपमा वृद्धि भएको भन्दै पाण्डेले फूटबल विश्वकप शुरु भएपछि टेलिभिजन बिक्री दोब्बरभन्दा बढी हुने आशा व्यक्त गरे।

comments powered by Disqus

रमझम