२५-३१ जेठ २०७१ | 8-14 June 2014

लौ न केही गरौं

Share:
  
कुनै पनि वस्तुलाई क्षयीकरण गर्दै लैजानु प्रकृतिको नियमै हो भने त्यस्तो प्रक्रियालाई ढिलो पार्नु मान्छेको काम हो।

शुक्रसागर

तस्वीरहरुः सुनिल डङ्गोल
न्यातपोल मन्दिरका दुई कटुवाल। जसमध्ये दायाँपट्टिको मूर्ति चर्किएको छ।
भक्तपुरको न्यातपोल (पाँचतले) मन्दिर नेपाली वास्तुकलाको अनुपम नमूना हो भन्नेमा दुईमत छैन। यो मन्दिरको सबभन्दा तल्लो पेटीमा रहेका दुई वटा कटुवाल मूर्तिले मन्दिरको वास्तुमा बढाएको शोभाको वर्णन गरिसाध्य छैन। एकपटक विचार गरौं, ती मूर्ति विक्षत अवस्थामा पुग्दा वा बिग्रँदा मन्दिरको शोभा कस्तो होला! दुःखको कुरा, त्यो विरुपता अवश्यंभावी बन्दैछ– दुई दिन अघि वा पछिको कुरा मात्र हो।

कसैको निम्ति यो विषय विना मतलबको गन्थन हुन सक्छ। विषयगत विद्यार्थी वा सम्बन्धित शिल्पीको निम्ति भने यो अति संवेदनशील विषय बनेको छ। यो चिन्तालाई लिएर १६–२२ नोभेम्बर २००७ को नेपाली टाइम्स अंग्रेजी साप्ताहिकमा तस्वीर सहित एउटा लेख छपाएको थिएँ, केही होला कि भन्ने आशले। तर, लेख छापियो, लेखकले पारिश्रमिक पायो, सकियो। न सांस्कृतिक शहर भक्तपुरका महान् नेताको आँखामा पर्‍यो त्यो लेख, न त धरोहरहरू बचाउने अधिकारप्राप्त सांस्कृतिक सम्पदा संरक्षण कार्यालय (जर्मनी सरकारले खोलिदिएको) का कर्तव्य परायण प्रमुखले पढेर केही गरे। आफूभन्दा ५० मीटर परको त्यो सम्पदालाई के भएको रै'छ हेरौं न त सम्म भनेनन्, तिनले। लेख त्यसै रह्यो, प्राकृतिक प्रक्रियाले मूर्तिको क्षयीकरण भने दिनानुदिन बढ्दो छ। अब हृदयविदारक दृश्य देख्ने दिन मात्र आउन बाँकी छ, जुन दिननयाँ पुस्ताले धिक्कार्ने छन्, हामीलाई।

कटुवालका यी मूर्तिहरू आजको चापागाउँ क्षेत्रका बासिन्दाले करीब १५ किलोमिटर उबडखाबड बाटोमा ठेल्दै–तान्दै भक्तपुर पुर्‍याइदिएका रहेछन्। कति दिन लाग्यो थाहा छैन, तर जम्मा ४,२३६ श्रम दिन लागेको ऐतिहासिक तथ्य भेटिएको छ (हे. पाण्डुलिपि)। मूर्ति पाटनका शिलाकर्मीहरूले बनाएको पाण्डुलिपिको अर्को पृष्ठमा उल्लेख छ।

आवश्यक सावधानी

कुनै पनि वस्तुलाई क्षयीकरण गर्दै लैजानु प्रकृतिको नियम हो। त्यस्तो प्रक्रियालाई ढिलो पार्नु मानिसको काम हो। मानिस पनि मर्छ, तर आयु लम्ब्याइन्छ। ५० वर्षअघि मानिसको औसत आयु ४० वर्षभन्दा कम थियो, तर अहिले नेपालमै पनि ६८ वर्ष नाघिसकेको छ। ढुंगाबाट बनेको वस्तुमा पनि यो नियम लागू हुन्छ। मानिसको मृत्यु भए जस्तै ढुंगाको मूर्तिलाई पनि अन्ततः प्राकृतिक प्रक्रियाले माटो बनाउँछ। ढुंगा या ढुंगाबाट बनेको वस्तुलाई तापक्रम, आर्द्रता अनि वायुमण्डलमा भएको अम्लीय र जमीनको क्षारीय तत्वले खियाइरहेको हुन्छ। त्यो प्रक्रियालाई कम गर्दा वस्तुको नष्ट हुने समय लम्बिन्छ। नेपालमा दक्षिण र पूर्व कुनाबाट क्षयीकरण प्रक्रिया तीव्र हुन्छ। राति जति तापक्रम घट्छ, दिनमा त्यही अनुपातमा बढ्छ र ढुंगाभित्रको क्षार कणको आकारमा तीन दोब्बरसम्म घटबढ भई आणविक शक्ति उत्पन्न हुन्छ।

अहिले चर्किएको अनुहार (बायाँ) र देखिन सक्ने दुष्परिणाम।

वायुमण्डलको आर्द्रताले कणहरूलाई भित्र लैजान र बाहिर ल्याउन मद्दत पुर्‍याइरहेको हुन्छ। तापक्रमले क्षार तत्वको कणहरूलाई फुलाउँदा र खुम्च्याउँदा आणविक शक्ति उत्पन्न हुन्छ। क्षार कणहरू भित्र पस्दा चर्किने प्रक्रिया बढ्छ। २४ घन्टामा दुई पटक तापक्रम उच्चतम र न्यूनतम विन्दुमा पुग्ने प्रक्रियाले वस्तुभित्रको क्षार तत्वको कण बढ्ने–घट्ने प्रक्रियालाई ध्वंसात्मक बनाउँछ। आर्द्रताले ती कणलाई दिउँसो बाहिर र राति भित्र लैजान्छ। बाहिर आएर बसेको क्षार तत्व सेतो देखिन्छ। नेपालका अधिकांश घरको दक्षिणी मोहडामा क्षार तत्वले गर्दा नून देखा पर्छ। त्यो भनेको तीव्र क्षयीकरणको संकेत हो।

दक्षिणमा रहेका न्यातपोलको कटुवाल मूर्तिहरूको दशा पनि यही हो। ती मूर्तिका पूर्वको मुखाकृतिको विषयमा यो गन्थन गर्नुपरेको हो। तिनीहरूको देब्रे गालापट्टिबाट आएको चिरान चिउँडो र दायाँ जुँगामुनिबाट धमाधम दायाँ गालातिर गइराखेको छ। समय रहँदै त्यसको रोकथामका उपाय नअपनाउने हो भने त्यसले सम्पूर्ण अनुहारलाई नै फक्लक्क खसाउने पक्का छ। त्यो चिरानभित्र क्षार तत्व पसेर चलिरहेको ध्वंसात्मक प्रक्रिया रोक्नु अत्यावश्यक भइसकेको छ। अन्यथा पश्चात्ताप बाहेक बाँकी केही रहन्न।

समाधानको उपाय

आजको विश्वमा सबै समस्याको समाधान गर्ने जुक्ति छ। यूरोपतिर यस्ता ढुंगाका मूर्ति जोड्ने विशेष किसिमको सुपर ग्लू पाइन्छ, जसले चिरिएको भागमा पानी छिर्न नदिई क्षयीकरणलाई धीमा बनाउँछ। कटुवाल मूर्तिहरूको चिरिएको भागलाई शुद्धीकरण गरिएको पानीले सफा गरेर सुपर ग्लूमा समान प्रकृतिको ढुंगाको धूलो मिसाइ चिरिएको भाग पुर्न सकिन्छ।

मूर्तिको आँखा मुन्तिर गालामा स–साना माइक्रोड्रिल गरेर खिया नलाग्ने स्टिलको पेच कसेर पनि चिरा बढ्ने क्रमलाई ढिलो पारेर बहुमूल्य सम्पदालाई विरुप हुनबाट जोगाउन सकिन्छ। यति गर्न पनि विशेषज्ञको सेवा भने चाहिन्छ, जुन गाह्रो छैन। नेपालमै त्यस्तो जनशक्ति छ, खोज्नुपर्‍यो। अंग्रेजीमा एउटा उखान छ– 'समयको एक टाँकाले पूरा कोटको मूल्य बच्छ।'

आश गरौं, यो पटक कसैको ध्यान जाला।

comments powered by Disqus

रमझम