फरिश्ता बनेर घर फर्कने हैन?

Share:
  
- डा. तीर्थबहादुर श्रेष्ठ
p32
 
 
भुजुङ, लमजुङका एक किसान परिवार।
तस्विर: बद्री पौड्याल

आजभोलि दशैं आयो, छुट्टी पाउँला, घरजाउँला, आमाबुबा भेटौंला, टीका थापौंला, गाउँ चाखौंला भन्नेजस्ता धोकोले जनमानसमा डेरा जमाएको छ। हाम्रो शिक्षा पद्धतिले गाउँले जीवनलाई गँवार जीवन ठान्छ। गाउँको पाठशाला उत्तीर्ण भएपछि हाम्रा नानीहरूका लागि आफ्नै गाउँ बस्न लायक हुँदैन। आमाबाबु र परिवार पनि त्यही चाहन्छन् किनभने गाउँमा आधुनिक शिक्षाको सुविधा छैन। चलाख र चनाखाहरू विद्या आर्जनको बहानामा शहर, बजार र सदरमुकाम पलायन हुन्छन्। यो सिलसिला सदरमुकामबाट राजधानी वा अरू सुविधासम्पन्न शहर मात्र हैन विदेशसम्म पुग्छ। शिक्षाले भन्दा विकराल अवस्था वैदेशिक रोजगारीले सिर्जना गरेको छ। नेपालका ५६ प्रतिशत परिवारका सक्षम सदस्य आफ्नो गाउँवस्ती र भूगोलमा श्रम गर्दैनन्। यस परिप्रेक्ष्यमा नेपालका सबै जिल्ला र गाउँहरू दशैं कुरेर बसेका छन्, आफ्ना भूमि पुत्रपुत्रीहरू फर्केर आउलान् कि भनेर।

अझै पनि नेपालको तथ्याङ्कले भन्छ― ८० प्रतिशत नेपाली किसानकै घरमा जन्मन्छन् र किसानी जीवनमा आवद्ध हुन्छन्। नेपाल विविधताको देश हो। जाति र धर्मले भिन्न भए पनि कर्मले सबै किसान हौं। जमिनलाई उर्वरा बनाउनु र त्यसको उब्जनी भित्र्याउनु सबैको कर्म हो। जुनसुकै व्यवसायका मानिस भए पनि माटोको मर्मबाट कोही बञ्चित हुँदैन। धान कहिले रोप्ने, मकै कहिले छर्ने, गहुँ कहिले काट्ने वा उवा कहिले चुट्ने त्यो ज्ञान गाउँमै हुन्छ। भैंसी कहाँ आहाल बस्छ, गाई कहाँ चर्न जान्छ, चौंरी कहिले लेक लाग्छ आदि ज्ञान प्रत्येक गोठाले केटाको मस्तिष्कमा जन्मैदेखि मौलाएको हुन्छ। बयर कहिले पाक्छ, काफल कहाँ फल्छ, गुराँस कहिले फुल्छ, ऐंसेलु कहिले टिप्ने, लप्सी कसरी झार्ने, सुन्तला कसरी टिप्ने यी सबै ज्ञानले पोख्त हुन्छन् गाउँले केटाकेटी। कहाँ दुवाली थाप्ने, कसरी बल्छी खेल्ने वा जाल हान्ने सबै विद्यामा निपुण हुन्छन् हाम्रा युवा।  

लगभग २०० प्रकारका पर्यावरण प्रणाली (इकोसिस्टम) सँग लडीबुडी खेलेर नेपालीहरू यी कुरामा अभ्यस्त भएका हुन्। कोशीटप्पुका सिमसारसँग, गोक्योको हिमतालसँग वा माइपोखरीको ठक्ठकेसँग। लेकमा चौंरी र च्यांग्रा चराउने च्याङ्वाहरू र औलबेंसीमा च्वाँचे (सुँगुर) खेद्ने ठिटाहरू वा गाईबाख्रालाई मुरली सुनाउने गोठालाहरू सबै आ–आफ्ना अनुभव र ज्ञान बटुल्दै दिन बिताउँछन्। वन, पाखा, भीर र चउरबाट घाँस, डालेघाँस, स्याउला र सोत्तर जम्मा गरेर घरगोठमा ओसार्ने छोरीबुहारीका हरेक हँसियाले वन र वनस्पतिलाई चिनेको हुन्छ। तिनको घाँस, स्याउला र सोत्तरको डोकोमा वनस्पतिको ज्ञान र विज्ञानको ओझिलो बोझ् पनि हुन्छ। आफ्नो परिवेशसँग परिचित प्रत्येक नेपाली राष्ट्रका अमूल्य पूँजी हुन् जसलाई मानवपूँजी (ह्युमेन क्यापिटल) भनिन्छ। त्यही पूँजीमा उपयुक्त लगानी गर्र्नु आजको मूल चुनौती हो। आफ्नो प्राकृतिक सम्पदा जल, जमिन, जंगल र जडीबुटी तथा आफ्नो संस्कृति र परम्परालाई विकासको मूलबाटोमा डोर्‍याउने शिक्षा पद्धति, तालिम तथा लगानीका प्राथमिकताहरू पहिल्यायौं भने मात्रै नयाँ नेपालको नक्सा कोर्न सम्भव हुन्छ।

अहिले विभिन्न जिल्ला, गाउँ, वस्तीका मानवपूँजी विभिन्न सेवा, नोकरी वा रोजगारी खोज्दै पलायन हुने क्रम बढ्दो छ। कुनै युवाले परदेशको भूमिमा पाइला चाल्न थालेपछि नेपालको त्यो अमूल्य मानवीय पूँजी स्वतः अवमूल्यन भएर मात्र श्रमको एक पिण्ड अर्थात् श्रमिकको रूप धारण गर्दछ। लगभग ३० लाख युवा पूँजी आज रोजगारीका नाममा विदेशिएका छन्। नेपालीको पसिनाले मध्यपूर्वका मरुभूमिहरू हराभरा बन्दैछन्, यता आफ्नो उर्वराभूमि मरुभूमिमा परिणत हुँदैछन्। बाँझो वस्तीमा वर्षने वर्षा पनि निरीह बनेर बग्दै खेर गइरहेको छ। विदेशी रोजगारीबाट प्राप्त हुने विप्रेषण (रेमिट्यान्स) रकम पनि पूँजीको रूपमा स्थानीय विकासमा लगानी हुँदैन। उपभोगवादी मानसिकताले अधिक रकम विकासमा भन्दा विलासमा र नयाँ विचौलियाको चलखेलमा बिलाउने गर्दछ। परिवारका युवा सदस्यहरू घरबाट टाढा हुँदा समाजमा भित्रिने विकृतिहरू दिन परदिन बटारिंदै र उल्झ्नहरू बढ्दैछन्।  

दशैंमा घर फर्केको युवा पुस्ताले आफ्नो जिल्ला, गाउँ र जन्मस्थलको परिदृश्यलाई कसरी विश्लेषण गर्छ, भविष्यको परिकल्पनामा आफूलाई कहाँ उभ्याउँछ भन्ने जिज्ञासा धेरैको मनमा पलाउनुपर्ने अवस्था सिर्जना हुँदैछ। राज्य विभाजन, संघीयता र जातीयताको सन्नीपात ज्वरोले थला परेको नेपाललाई उन्मुक्ति दिन आफ्नो थलोको प्राकृतिक एवं सांस्कृतिक वैभव र सम्पदालाई नयाँ दृष्टिकोणबाट मूल्याङ्कन गर्नु आवश्यक छ। युरोप, अमेरिका वा जापानका मदिरालयमा छिरेको नेपाली ठिटो काठमाडौं फर्क्यो भने उसले नेपाली भट्टीमा सीएनएनले बखान गरेको 'ऐला' खोज्नेछ। नेवा राज्यको रडाकोले भन्दा नेवारी रक्सीले जातीय आत्मीयता बढाउने कुरामा विश्वास गर्न सकिन्छ। “बैर कराती मन्दिर मस्जिद, मेल कराती मधुशाला”, एक प्रसिद्ध हरफ पनि हो कवि हरिवंश राय बच्चनको।

काठमाडौंदेखि पश्चिम कञ्चनपुर र दार्चुलासम्म वा पूर्व कञ्चनजंघा र केचनासम्म नेपालका विभिन्न माटोमा विभिन्न सुवास छन्। तिनलाई उजागर गर्ने चेतना नयाँ नेपालको आवश्यकता हो। हाम्रा नयाँ पुस्ताले गुल्मीलाई कफी, काभ्रेलाई किवी (फल), नुवाकोटलाई ट्राउट र स्ट्रबेरी, कपिलवस्तुलाई अष्ट्रिच (चरा) को जिल्लाको नयाँ पहिचान दिंदैछन्। दूध र घिउको संस्कारबाट उठेर चौंरीको याक चिज, गाईको काउ चिज र बाख्राको गोट चिज बजारमा सामान्य भइसकेको छ। इलामको चिया र ताप्लेजुङको तोङ्बा प्रायः सबै नेपालीको जिब्रोमा टाँसिइसकेको छ।

आफ्नो जिब्रोमा टाँसिएका नेपाली स्वादलाई कोट्याएर हेर्‍यौं भने विभिन्न ठाउँका स्वाद उजागर हुन्छन्। धरानको च्वाँचे र ओलाङ्चुङको च्यांग्रा, झापाको मालदह र कैलालीको मालभोग, सिन्धुलीको जुनार र जुम्लाको स्याउ, दैलेखको सुन्तला र फर्पिङको नासपाती, लुक्लाको सिमी र लुम्लेको आलु, कास्कीको जेठी बूढो र जनकपुरको बासमती, मुस्ताङको जिम्बु र सल्यानको टिमुर, बुटबलको वर्फी, भैरहवाको पेडा र नेपालगञ्जको रावडी, त्यस्तै भादगाउँको दही, टोखाको चाकु र खोकनाको तेल, मेलम्चीको असला, सुनकोशीको सहर र रोशीको वाम, डोटीको रोटी र डोल्पाको चप्पा सम्झँदै जाँदा नेपालको प्रत्येक वर्गइन्च जमिन र त्यहाँको माटो कति उब्जाउ र मानिस कति उन्नतशील भन्ने छर्लङ्ग हुन्छ। दशैं खान घर पुगेका प्रत्येक नेपालीले आफ्नो माटोको सुवास अनुभव गरून् भन्ने शुभकामना त छँदैछ र आफ्नो भविष्यलाई त्यसमा कसरी आवद्ध गर्न सकिन्छ भन्ने चेतना पनि लिएर बिदाबाट फर्कून् भन्ने इच्छा राख्नु अन्यथा नहोला।

नेपालमा ८३,००० मेगावाट जलविद्युतको अपार भण्डार छ भन्ने तथ्यांक सुन्दा–सुन्दा करोडौं नेपालीका कान टट्याइसकेको पनि छ,तर अहिलेसम्म ७०० मेगावाट पनि उत्पादन हुनसकेको छैन। गाउँघरका स–साना वा मझौला जलस्रोतको सदुपयोग गर्ने सम्भाव्यतातिर धेरैको आँखा जाँदैन वा गएको छैन। नदीनालाको संख्या ६००० भन्दा बढी पुर्‍याउँदछौं, तर पिउने पानी र सिंचाइ कुलोको अभाव गाउँगाउँमा खट्किन्छ। संघीयताको संघारमा बसेर नदीनालालाई गाउँ, जिल्ला, अञ्चल वा राज्य विभाजनका रेखा हैन समायोजनका कडीका रूपमा प्रयोग गर्नुपर्ने दिन आएको छ। अरुण नदीले लिम्बूवान र खम्बुवान छुट्याउने हैन तिनलाई समायोजन गर्ने दृष्टिलाई अघि सारेर जलस्रोतको विकास गर्नुपर्छ। गाउँ पुगेर आफ्नो स्रोत र सम्पदालाई फर्केर हेर्ने अवसर दशैं बिदाले प्रदान गर्ने नै छ। आफ्नै पैतालामुनि नयाँ संसार भेट्नु परेको छ २०६९ सालको दशैंमा। 

इजरायलका एक वैज्ञानिक सल्लाहकार नेपाल आएको बेला उनलाई असारमा रोपाईं गरिरहेका किसानहरूसँग परिचय गराउने अवसर मिलेको थियो। ती वैज्ञानिकले यहाँको धान उत्पादन क्षमता कति छ भनेर सोधे। हामीले प्रति रोपनी, एकड र हेक्टरमा फल्ने धानको परिमाण प्रस्तुत गर्‍यौं। उनी जिल्ल परे र भने, “प्रति लिटर पानीमा कति उत्पादन हुन्छ भन्ने मेरो प्रश्न हो।” नाजवाफ भएर सबै चुप लाग्नुपर्‍यो। नेपालको जलसम्पदामा प्रत्येक लिटर पानीको उत्पादन खोज्नु हाम्रो कर्तव्य होर त्यसको प्रारम्भ आफ्नै गाउँ, आफ्नै जिल्लाबाट हुनुपर्छ। अथाह जलसम्पदाको थेगोलाई परित्याग गरेर आफ्नै जिल्लाको सम्पदालाई थाहामा परिणत गर्ने दिशातिर पनि हामीले ध्यान पुर्‍याउन सक्नु परेको छ। हामीले अथाह सम्पदाको संसारमा हैन थाहाको वास्तविकतामा बाँच्नु छ।
 
जैविक विविधताको अथाह भण्डार पनि छ नेपालमा। विश्व मानचित्रको ०.१ प्रतिशत भूभाग ओगटेको १,४७,१८१ वर्गकिलोमिटरको नेपालमा २००० भन्दा बढी थरीका धान पाइन्छन्। विश्वको ९.३ प्रतिशत चराका प्रजाति नेपालभित्रै छन्। वनस्पति पनि त्यस्तै वैभवी हुने नै भयो। फूल फुल्ने वनस्पतिको प्रजातिले विश्वको २.७ प्रतिशत भेट्छ, यार्सागुम्बा छोडेर। आजभोलि त्यही एउटा बुटीले करोडौं आम्दानी गर्छ। यसै वर्ष कर्णालीको मुगुले मात्र रु.४० करोडको बेचबिखन गर्‍यो। मुगु जिल्लाको जनसंख्या लगभग ४५ हजार हाराहारी छ। तर त्यो आम्दानी मुगु जिल्लामा लगानी भएको देखिंदैन। कहाँ गयो भनी सोध्यौं भने कर्कलाको पातमा जमेको मोती झै झ्रेर कहाँ बिलाउँछ थाहा हुँदैन भन्ने उत्तर पाउँछौं।  
 
आफ्नो जिल्लाको सम्पदाको आम्दानीलाई यसरी बिलाउन दिनु हुँदैन। आफ्नो सम्पदाको सदुपयोगप्रति चेतना फैलाउने र त्यसको आम्दानीको व्यवस्थापन गर्ने काममा जिल्लाका चेतनशील व्यक्तिहरूले मन्थन गर्नुपर्छ। यार्सागुम्बाको कमाइ वा वैदेशिक रोजगारीको रेमिट्यान्स काठमाडौंको जुवा–तास वा अरू विलासी जीवनशैलीमा बग्न थाल्यो भने नेपालको कहिल्यै विकास हुँदैन भन्ने सबैले बुझेको कुरा हो। तर, गर्नुपर्ने के त भन्ने विवेचना जिल्लामै बसेर गर्नुपर्दछ। दशैंमा जिल्ला पुग्दा यस्तो सोचलाई पनि छलफलमा ल्याउन सकिन्छ होला।
 
हाम्रा पुर्खाहरू भन्दथे― 'उत्तम खेती, मध्यम व्यापार र निर्घृण चाकरी।' अहिले त्यो भनाइको उल्टो चालमा हाम्रो अर्थतन्त्र चलिरहेको छ। नेपालको अर्थतन्त्रको सबभन्दा ठूलो हिस्सा वैदेशिक रोजगार र अन्य सेवामूलक व्यवसायबाट आर्जन हुन्छ। उद्योग धन्दा र व्यापार प्रतिदिन खस्कँदो छ। श्रमिक आन्दोलन, जबरजस्ती चन्दा, ऊर्जा संकट, लगानी असुरक्षा आदि समस्यामा जकडिएको छ 'मध्यम व्यापार'। 'उत्तम खेती' त खेताला विना चौपट छ। हुन त प्रकृतिले हामीलाई यस्तो वरदान दिएको छ, उष्ण, शीतोष्ण वा लेकाली जस्तो हावापानी पनि भएको हाम्रो देशको जमिनमा संसारका कुनै पनि अन्न, फलफूल, तरकारीको खेती हुन्छ; जस्तै पशुपक्षी पनि हुर्काउन सकिन्छ। हाम्रो किसानी अनुभवले जुन बाली पनि सफल पार्न सक्छ भन्ने थुप्रै उदाहरण छन्। तसर्थ 'उत्तम खेती' नेपालको लागि ज्यादै सहज छ। हिमाली भूभागमा पशुपालन, पहाडी क्षेत्रमा फलफूल, तरकारी र तराई–मधेशमा अन्नबाली भन्ने कृषि चिन्तनलाई बजारमुखी व्यवहारमा सजिलै उतार्न सकिन्छ भन्ने उदाहरणहरू संचारमाध्यममा देखिंदैछन्।  
 
एउटै गाविसमा रु.७ करोडको गोलभेंडा (डडेलधुराको बगरकोट), फूलको व्यापारबाट रु.९१ करोड आम्दानी, तरकारी खेतीले अरबमा पलायन भएका पति फर्काउन सफल महिला, एकै किसानद्वारा रु.२० करोडको बाँस बिक्री (तनहुँको ब्यास), करोडौं रुपैयाँको स्याउ अलपत्र (कर्णाली) आदित्यादि समाचार प्रत्येक हप्ता पढ्न र सुन्न पाउँछौं। अब आफ्नो गाउँ आफैं बनाऔं भन्ने नारा लगाउने हैन, अभियान चलाउने बेला आएको छ।  
 
दशैंमा पर्यटक बनेर हैन परी (फरिश्ता) बनेर, विकासको नयाँ संवाहक बनेर घर जाने हैन त?
comments powered by Disqus

रमझम