शकुनि राजनीतिका बिम्ब

Share:
  
- पुरुषोत्तम दाहाल
समकालीन नेपाली राजनीति जनताको मनमा कोमल शब्दावलीको प्रयोगबाट कठोर प्रहार गरे शासन सफल हुन्छ भन्ने हिटलरवादी चिन्तनबाट प्रभावित छ।
p42
 
 

बल्झाउन सकिन्छ कि शकुनिका जुवाहरू 
बल्झाउन सकिन्छ कि पानीका खालहरू 
च्याँखे थापेर भाग्य, च्याँखे थापेर निर्णय  
कौडा फ्याँक्तै टिप्तै नाङ्गो तिघ्रा खेल्दैछ माझी

कवि मोहन कोइरालाको 'नदी किनाराका माझीका यी पंक्ति आजको नेपाली राजनीतिको प्रतिबिम्ब भएका छन्, तिनमा हाम्रो राजनीतिको तन्मयता मिलेको छ। २०३७ सालमा तिनै मोहन कोइराला कविताका नयाँ हरफ लेख्नासाथ राष्ट्रपुकार साप्ताहिकको कार्यालय पुगेर पत्रकार होमनाथ दाहालदेखि नेपाली साहित्यका युवा अध्येता कोषराज न्यौपानेका सामु पस्किन हतारिन्थे। त्यतिबेला राष्ट्रपुकार को समाचारदाता यो पंक्तिकार नबुझे पनि बुझेझै गरी कोइरालाको सिर्जनामा एकाग्र हुने गर्थ्यो।  
 
'फर्सीका जरा' नबुझेका पाठकहरू कोइरालालाई दुर्बोध कवि भनेर आलोचना गर्थे। समकालीनताले नबुझेको साहित्य युगले समेत बुझदैन भन्नु मूर्खता हो। कोइरालाका कविता अहिले बुझिने गरी समाज, राजनीति र समयको परिवर्तनमा अनूदित हुँदैछन्। सही अर्थमा 'नीलो मह' आज देखिन लागेको छ, राजनीतिको अज्ञानतामा छाएको पराकाष्ठामा। 
 
वामे सरेको अज्ञानी,  
एक भित्ता छाडेर ज्ञानमा  
अर्को भित्ता एउटा अज्ञानी, 
पिपासु कुनै कैलाशको भिसा खोज्छ  
 
लाग्छ, गंगा प्रवासमा रचिएका मोहन कोइरालाका यी जीवन्त पंक्तिले तीन दशकपछि नेपाली राजनीतिक पद्धति र राजनेताको तस्वीर उतारिरहेका छन्। निरंकुशताको जगजगीताका मदन पुरस्कार गुठीले नदी किनाराका माझीलाई मदन पुरस्कार प्रदान गर्ने साहस देखाएको थियो। नदी किनाराको माझीत्यस समयको राजनीति पनि हुनसक्छ। कालजयी सिर्जनाले समयलाई कुनै न कुनै रूपमा स्पन्दित गराइरहेका हुन्छन्। समयको स्पन्दन प्रत्येक सिर्जनामा सुनिनु पर्दछ। कालखण्डमा विलाउने रचनाको सार नियमित हुनसक्दैन। निरन्तर तुलना गरिने रचनाले कलाकार, कवि, लेखक, दार्शनिकलाई बचाइरहेको हुन्छ। कोइरालाका नबुझिएका ती रचनाहरूको सार अहिले बल्ल भेटिंदैछ।  
 
नदी किनारामा बल्छी थापेर बसेको पुरातन माझीको मानसिकतामा बाँचेर आफ्नो भाग्य फैसला गर्न आतुर नेपाली राजनीति अवसरको पर्खाइमा छ। च्याँखे थापेर बसेको शासनको जाली खेलले देश र जनतालाई दाउमा राखेको छ। निर्बोध तर अज्ञानी माछालाई जालमा अल्झाउने खेलमा लिप्त माझीजस्तै आजका नेताहरू देश र जनतालाई आफ्नो बल्छीमा अल्झाउने राजनीतिको चारो फ्याँकिरहेका छन्। परिवर्तनले पुरातन सामन्ती राजमहल ढाल्यो, धर्म परित्याग गर्‍यो, केही वर्ग पराजित जस्ता भए, नयाँ धर्मको ढोका खुल्यो र विजयी मुद्रामा देशभरि छरपस्ट भए। नयाँ परिवर्तन हो, सबैले स्वीकारे।  
 
p42a
 
 

संघीयताको नाममा देशै अंश लगाउने बहस चल्यो। अंश जातमा लाग्नुपर्छ भन्ने मान्यता आज तीव्र छ। अकुत सुविधाभोगी केही मूर्धन्य जातिवादीले नयाँ घाट बनाउने घोषणा गरेका छन्। पुराना शक्ति विस्थापित गरी नयाँ शक्तिको सपना बाँड्नेहरू कवि कोइरालाको नयाँ माझीका अवतार हुन्। अर्थात् राजनीतिको दुनो भर्न विगतमा भएका वितण्डाका अवशेषहरू नयाँ रूपमा अवतरित हुंदैछन्। राजनीतिको जालो हातमा बोकेका शक्तिहरू अवसरको पर्खाइमा छन्। सबैजना आफ्नै जालमा माछा पर्ने विश्वासमा देखिन्छन्। 'यो परिवेश हिजोको' कवितामा कवि मोहन कोइरालाले भनेझै– 

के सुनिन्छ के भेषमा, कुन बुत्ता कसले भाषामा बोल्छ 
याँ दोछायाँमा, को आएको हो आउन खोज्छ जान्छ 
बर्बराए जस्तो कोहीसँग, सँगै गएजस्तो कसैसँग 
कैले केहीमा छरिए जस्तो, कैले केहीमा उछिट्टिए जस्तो 
कहिले केही खासखुस खासखुस सुनिए जस्तो, हलचल विना 
एउटा भूत शहरमा बस्छ, एउटा भूत शहरमा हिंड्छ  
चिन्न खोज्दा चिन्न सकिंदैन।  
 
शहरमा बसिरहेको राजनीतिको भूतको परिचय नेपाली जनताले पाउन सकेका छैनन्। केही हलचल भइरहेको प्रतीत हुन्छ, तर केही भइरहेको छैन। काल्पनिक भूत जस्तै राजनीति कतै खासखुस गरिरहेको छ, प्रकट छैन। यो भूत कि देखिनु पर्‍यो कि मेटिनु पर्‍यो। भूत कसको हो कसैले भन्न सकिरहेको छैन। असमयका अनगिन्ती निर्णयको थुप्रो मात्र भूत हो कि अयोग्यताको पहाड? त्यो भूत यतिखेर धर्मका सन्दर्भमा छ, संघीयताका विषयमा छ र गणतन्त्रका विषयमा जागृत भइरहेको छ। यसमा व्याप्त त्रुटिहरूले आम नागरिक भ्रमित छन्। 
 
धर्म निरपेक्षता कि धार्मिक स्वतन्त्रता, बहस आवश्यक भएको छ। साना जातको पहिचानको विषयले धर्मको माग र संस्कृति खोजिरहेको छ। नेपाल अधर्मी राष्ट्र हुन सक्दैन, यहाँ धर्मविरोधी वा तटस्थ समुदाय छैन र धार्मिक उपेक्षा छैन। यस अवस्थामा 'सनातन राज्य नेपाल', 'हिन्दू बहुल नेपाल' जस्ता परिचयको माग केन्द्रीय शासनको पहिचान हुनुपर्ने भएको छ। अनि पहाड र मधेशबीचको भावनात्मक सम्बन्ध सेतु कायम हुनसक्छ। आर्थिक स्रोत र आधार विनाको संघीयता अभाव वितरणको आधार बाहेक समृद्धि विरोधी हुनसक्छ। सचेत कोही पनि आजको परिवर्तन गुमाउन चाहँदैनन्।  
 
तर नेपाली राजनीतिक नेतृत्व कवि कोइरालाको कविता 'नदी किनाराका माझी' को भावमा अनुवाद भइरहेको छ। केही पारम्परिक विवशतालाई विस्तारै किनारा लगाउनुको साटो बल्छीमा चारो हालेर बसेको राजनीतिले विकर्षणको पहाड विस्तार गर्दैछ। जनतालाई सधैं सहमति, लोकतन्त्र, सामाजिक न्याय, समानता, रोजगारी, समृद्धि, विकास, सामाजिक सुरक्षा जस्ता शब्दको आहालमा डुबाउनु राजनीतिक सफलता होइन।  
 
p42b
 
 

जनताको मनलाई कोमल प्रहार गर्नुपर्छ भन्ने हिटलरको मान्यता छ। आफ्नो पुस्तक मेन क्यम्फ मा उनी लेख्छन्, “जनताको मन छुने र विनम्र हुने गरी जति आफ्ना कुरा राखिन्छ त्यति नै शासकको सफलता हुने गर्दछ।” अर्थात् केही कोमल शब्दावली प्रयोग गर्दै जनताको मनमाथि कठोर घन प्रहार गरियो भने शासन सफल हुनेछ।  

नेपाली राजनीतिको बागडोर हिटलरको चिन्तनबाट प्रभावित भइरहेको छ। उपयोगितावादमा निर्भर नेताहरू जनता, देश र राज्य संयन्त्रलाई उपयोग गर्दै आफ्नो पक्षमा ऊर्जा थपिरहेको भ्रान्त धारणामा मस्त छन्। तर जनता विनम्र शब्दको जालोमा सधैं परिरहँदैन। माझीले सोचे जस्तो गरी माछा जालमा सधैं पर्दैन। कवि कोइरालाको अभिव्यक्ति जस्तै जनता भन्न थालेका छन्:
 
अब त खर्चिएका दिन फिर्ता गर्ने 
इच्छा पनि छैन मनको नजिक,  
न यस भ्रमणले वय फर्काउन सकिन्छ  
अभिप्राय उत्साहको यो होइन समय 
प्रतिबिम्ब प्राप्त गर्न 
माया फुकालेर झ्रेका, माया गर्न आएका, 
उमेर फर्किने आश पनि छैन कुनै बैंसको, 
यसरी सधैं भ्रमण गर्न सकिन्छ  
उत्साह छैन। 
 
राजनीतिको निसारतामा धेरैले घर–परिवार, जीवन र सर्वस्व गुमाए। यात्रा कठिन थियो, पार गर्दै गए तर के भयो त? आज यसरी नै विगत हेरिरहेको आम नागरिक अबोध बालक भएर सोध्न चाहन्छ। उत्तर दिनेहरू जनता विरोधी जाल थाप्नमा व्यस्त छन्। कसरी भनौं विजया दुर्गा तिमी जनविरोधी रक्तबीज, महिषासुरहरूको समाप्ति खोज र हामी सबैको कल्याण गर। सबैको कल्याण होस्। जनविरोधी जाल चुँडियोस् र जनताले सुख पाउन्। 
 
हजार हजार धाँजा पारेको शरीरको जमिन 
हजार चिरा चाउरीहरू 
चिरा परेका छन् पैताला 
रोगले ग्रस्त त्रिकोणमा दोब्रिएको 
निधार विरुद्ध 
आजका प्रभावितहरू, चाउरिएका मुटुहरू  
आजका भ्रमणहरू 
 
कवि मोहन कोइरालाको 'एउटा बितेको प्रभात' जस्तै हाम्रो प्रभात बितिरहेको छ। तैपनि हामी नयाँ प्रभातको खोजीमा हुन्छौं।
comments powered by Disqus

रमझम