२०३६ सालमा महाराजगञ्जमा यो घर बनाएपछि भने हामी दुवैले सोख पुर्याउने पूराका पूरा मौका पायौं। हामी त्यसवेलाका सीमित नर्सरीहरू धाई–धाई नयाँ–नयाँ बिरुवा ल्याउँथ्यौं। त्यही वेला ६ वर्षका लागि जर्मनी गयौं। त्यहाँको हरेक घरलाई फूलले सजाउने संस्कृतिले हामीलाई नछुने कुरै भएन। फर्केपछि हाम्रो बगैंचाले विविधता पायो। हाम्रो घरमा आउनेहरू अहिले पनि सबभन्दा पहिला बगैंचाको प्रशंसा गर्छन्। तर, फूल ढकमक्क हुँदा आफ्नो मनले पाउने सन्तुष्टि सबभन्दा मूल्यवान् छ। त्यसो त फूल फुलाउन र फल फलाउन गरिने सिर्जनात्मक मिहिनेतको मज्जा पनि कम्तीको हुँदैन।
एक रोपनी एक आनाको हाम्रो घर–कम्पाउन्डभित्र विभिन्न प्रजातिका गुलाब, थुप्रै खाले सिजनल र बाह्रमासे फूलका साथै टिम्बुर, भोगटे, आँप, अम्बा, अंगुर, हलुवाबेद, मुन्तला, आरुबखडा लगायतका फलका रूखहरू पनि छन्। सिजन अनुसारको तरकारी पनि लगाउँछौं। चिरबिर–चिरबिर गर्दै यहाँ आउने 'गार्डेन बर्ड' हरू यहाँबाट तृप्त भएर जाँदा निकै आनन्द लाग्छ। वास्तवमा, फूलको स्याहार भनेको खुशीको खेती हो। फूल फुल्दा मात्र होइन, दुई पातबाट क्रमशः बढ्दै कोपिलामा पुग्ने क्रममा पनि आनन्द दिइरहन्छन्।
फूल–बिरुवा रोप्नलाई ठूलो ठाउँ वा पूरै फुर्सद चाहिन्छ भन्ने होइन। सानो घर–कम्पाउन्ड वा थोरै ठाउँलाई पनि फूल–बिरुवाले सुन्दर–सुगन्धित बनाउन सकिन्छ। स–सानो फुर्सदको समयमा पनि गजबको बगैंचा सिर्जना गर्न र पूरा परिवारलाई अर्ग्यानिक तरकारी पुर्याउन सकिन्छ। म त वेला–वेला बाँडेर पनि आनन्द लिन्छु। आफैंले फलाएको फलफूल–तरकारी खानु र बाँड्नुको मज्जा अर्कै हुन्छ। फूल–बिरुवाले घर वरिपरिको वातावरणमा पुर्याउने योगदानको छुट्टै महत्व छ। मानिसलाई प्रकृति नजिक पुर्याउने चिज हो– बगैंचा। यसले दिने आनन्द पैसाले किन्न सकिंदैन।
मेरा श्रीमान् रेडियो नेपालबाट सेवा निवृत्त भए पनि एउटा जर्मन भाषा सिकाउने संस्थाका निर्देशक/प्रशिक्षक रहेकाले अझै व्यस्त हुनुहुन्छ। राष्ट्रिय नाचघरको कलाकारबाट निवृत्त भएकी म भने २०६२ बाट बगैंचाको 'होलटाइमर' भएकी छु। गार्डेनिङ जतिको उत्तम समय कटनी अर्को नहुने मेरो अनुभव छ। तर, उमेरले गर्दा पहिला जस्तो सबै काम गर्न नसक्दा गमला, माटो, मल आदि ल्याउन–लगाउन एक जना मालीलाई बोलाउने गरेकी छु।
प्रस्तुतिः ऋषिराम कट्टेल