हे आमा!

Share:
  
- डम्बरकृष्ण श्रेष्ठ
अनेक संघर्षहरूका प्रतीक नेपाली आमाहरूको व्यक्तित्व आधुनिकतासँगै रूपान्तरित हुँदै गएको छ, परम्परागत छवि र महिमालाई अक्षुण्ण राख्दै।
p44
 
आमाको माया : बर्दियाकी गीतादेवी
घर्ती मगर (क्षेत्री) जन्मँदै कम तौल
(डेढ किलो) को छोरा अंकितलाई
स्वास्थ्य स्वयंसेविकाको सल्लाह
अनुसार छातीमा टाँसेर राख्ने विधि '
मायाको अँगालोमा' लिंदै। यसरी
दैनिक शिशुलाई छातीमा टाँसेर
आमाको न्यानो दिंदा बच्चाको
हुर्काइमा सुधार आएको उनले
बताइन्। तस्विर: डम्बरकृष्ण श्रेष्ठ

आमाले अनेक कष्ट व्यहोर्दै नौ महीना गर्भमा राखेर शिशुलाई अन्न, जल र श्वाससँगै ममता, स्नेह र संस्कारले सिंचन गर्छिन्; कठोर प्रसव पीडा झेलेर सन्तानलाई पृथ्वीमा पदार्पण गराउँछिन्; आफूले नखाई–नखाई सन्तानको भोको पेट भर्छिन्; आफ्नो ज्यानको पर्वाह नगरी सन्तानको जीवन रक्षा गर्छिन्; र मानव संसारको जीवनचक्र चलाउँछिन्। यही कारण आमालाई जगत जननी भनिन्छ। मानव जातिका लागि धर्तीले जति बोझ् थामेकी हुन्छिन्, सन्तान र परिवारका लागि आमाले त्यतिकै कष्ट उठाउँछिन् भन्ने मान्यता छ।  

नेपाली समाजमा यी पुज्य जननीलाई आमा, माता, मुमा, मुवाँ, मामु, मा, अम्मी, माई, माय, ममीदेखि मदरसम्म भनेर पुकारिन्छ,जातीय र भाषिक विविधताले धनी हाम्रो देशमा आमालाई चिनाउने अनेक नाम छन् जसको उच्चारणले ममता, स्नेह, आनन्द र सुरक्षाको भावबोध गराउँछ। आमालाई नेपालका सबै धर्म–सम्प्रदायदेखि साहित्य, सङ्गीत र फिल्मले पनि उच्च स्थानमा राखेका छन्।  
 
बदलिंदो भूमिका 
छवि र पहिचान उही भए पनि बदलिंदो समयसँगै नेपाली आमाको भूमिका र शैली परिवर्तन भइरहेको छ। बाल र बहुविवाहमा बन्देज, शिक्षा र स्वास्थ्योपचारमा पहुँच, परिवार नियोजन, विद्युत्, सडक, खानेपानी लगायतका सुविधाको विस्तारले आमाहरूको जीवनलाई सहज बनाएको छ। समाजशास्त्री चैतन्य मिश्र बितेको ४० वर्षमा नेपाली आमाको भूमिकामा व्यापक बदलाव आएको बताउँछन्। “पहिले त सुत्केरी हुँदै र बच्चा स्याहार्दैमा आमाहरूको आधा जीवन बित्थ्यो”, मिश्र भन्छन्, “अहिले उनीहरू घरको चौघेरा बाहिरको व्यावसायिक प्रतिस्पर्धामा पनि संलग्न छन्।”  
 
हुन पनि, अहिले निरक्षर आमाहरू समेत छोराछोरीलाई पढाउन र आफैं कखरा सिक्न थालेका छन्। केही दशकअघिसम्म अधिकांश आमाहरू लेकबेंसी वा तराईको खेतीपातीको आवश्यकतालाई सम्झ्ँदै छोराछोरी हुर्काउँथे; अहिले हिउँ छल्न कुम्लोकुटुरोसँगै छोराछोरी बोकेर पहाड वा तराई र्झ्ने हिमाली आमा हुन् या छोराछोरीलाई बाढी, शीतलहर या लूबाट जोगाउन अनेक यत्न गर्ने मधेशका आमा; आफ्ना सन्तानहरू त्यो परिवेशभन्दा फराकिलो संसारमा रमेको हेर्न चाहन्छन्। छोराछोरीको स्याहार, घरधन्दा र खेतीपातीमा व्यस्त आमाहरू सन्तानको शिक्षाको तारतम्य मिलाउन लागिपर्छन्। आमाहरूको जीवन निर्वाहसम्बन्धी मूलभूत सोचमै परिवर्तन आएको डा. मिश्र बताउँछन्।
 
p44a
 
पहिले र अहिलेः १८९० सालमा खिचिएको (दायाँ तस्वीर)
नेपालको पहाडी क्षेत्रकी एक आमा कोक्रामा बच्चा बोक्दै
र फागुन २०६७ मा सुदूर पश्चिमको डडेल्धुराबाट
डोटी जाने सडकमा छोरो बोकेर हिंड्दै महिला।

चारदशकअघि एउटी आमाले सरदर ६.२ सन्तान जन्माउँथिन्, अहिले यो दर ३.१ मा झ्रेको छ; शहरमा त अझ् कम छ― १.६। यो परिवर्तनले आमाहरूलाई छोराछोरी बोल्ने–हिंड्ने भएपछि मन्टेसरी वा किन्डरगार्डेनमा हालेर आफू आयआर्जनमा लाग्न सक्ने बनाएको छ। स्वदेशदेखि विदेशका श्रमबजारमा नेपाली महिलाको बढ्दो उपस्थिति त्यसैको परिणाम हो। यस्तो अद्भुत परिवर्तनको बीचमा खास गरेर ग्रामीण आमाहरू चाहिं अन्यायमा परिरहेका छन्। उनीहरूले हुर्काएर पढाइ वा रोजगारीका लागि शहर वा विदेश पठाएका सन्तानहरू गाउँघर फर्कन छाडेका छन्। छोराछोरीले शहर वा विदेशमा घरजम गर्नुलाई उनीहरूको प्रगति ठान्दै आमाबाबुहरू सुनसान घरमा चित्त बुझाएर बसेका छन्।  

कतिपय ठाउँमा त्यसले राम्रै पनि गरेको डा. मिश्रको विश्लेषण छ, किनभने त्यसबाट भित्रिने बाहिरी कमाइ नहुँदा झ्नै दुःख हुन्थ्यो होला। सँगसँगै, त्यसले समाजमा एक्लोपन पनि बढाउँदै छ। तन्नेरीहरूले छोडेर उजाड गाउँका घरमा एक्लो र असक्त जीवन बिताउने आमाबाबुको संख्या बढ्दो छ। यता छोराछोरीका पनि आ–आफ्नै बाध्यता छन्। तर, नेपालमा दशैं नै एउटा यस्तो अवसर हो, जसले वर्षमा एकपटक भए पनि आमाबाबु–छोराछोरीको अनुहारमा खुशीको झिलिमिली उतारिदिन्छ, एक ठाउँमा जुटाएर। सधैं झै यस पटक पनि नेपालका अधिकांश ग्रामीण भेकका आमाबाबु वर्षमा (कति धेरै वर्षमा) एक पटक मुख देखाउन आउने छोराछोरीका लागि मीठोमसिनो जुटाउने चटारोमा छन्। 
 
आमाका अनेक रूप 
नेपाली आमाका अनेक रूप छन्। २५–२५ सन्तान जन्माउनेदेखि छोराछोरीसहित आत्महत्या गर्ने र छोरालाई मृत्युदण्डबाट जोगाउन आकाश–पाताल एक पार्ने आमाहरू यहाँ छन्। दोलखा, जोगीमाराकी ६७ वर्षीया सन्तकुमारी परियारले १३ छोरा र १२ छोरी जन्माइन्, जसमध्ये सात जना जीवित छन्। ताप्लेजुङकी ७५ वर्षीया तुलसा बरालले २० सन्तान जन्माएर १६ जनालाई बचाइन्। परिवार नियोजनको सुविधा नपाएकी अर्घाखाँचीकी सुन्तली विकले ४५ वर्षको उमेरमा १५ सन्तान जन्माएकी छन्। अहिले तीन नाति–नातिनाकी हजुरआमा बनिसकेकी उनको काखमा चार वर्षकी छोरी पनि छिन्। 
 
p47
 
आमा हुँदाको छटपटीः कालिका–८
बर्दियाकी देवी परियार (२५) लाई
गर्भ रहेको १० महीना लागेपछि १३
जेठ २०६७ मा व्यथाले च्याप्यो।
श्रीमान् प्रकाश वैदेशिक रोजगारीमा
गएकाले घरमा १३ वर्षका छोरा अनि
सात र तीन वर्षका छोरीहरु मात्रै थिए।
उनी घरबाट करीब २० मिनेट हिंडेर
राजमार्ग पुगिन् र लोकल बसमा
नेपालगञ्जतिर लागिन्। त्यस्तो
अवस्थामा उनलाई एक्लै एक घण्टा
बस चढेर आइपुगेकी देखेर भेरी अञ्चल
अस्पतालका डाक्टर–नर्सहरु छक्क परे।
अस्पताल भर्ना भएको केही घण्टामै देवीले
अढाई र डेढ केजीका जुम्ल्याहा छोरा
जन्माइन्। त्यसपछि मात्र देवीकी आमा
नानीमैयाँ अस्पताल आइपुगिन्। सुत्केरी
भएको तेस्रो साता यो तस्वीर खिच्दासम्म
देवी तरोताजा भइसकेकी थिइन्।

हत्याको अभियोगमा संयुक्त अरब इमिरेट्समा मृत्युदण्ड सुनाइएका पर्वतका दुर्गाबहादुर सुनारलाई बचाउन आमा मनकुमारी (६४) ले गरेको हारगुहार सन्तानको जीवनरक्षाका लागि आमाले गर्न सक्ने प्रयासको बेजोड उदाहरण बनेको छ। नौ वर्षअघि काम गर्न यूएई गएको एक्लो छोरालाई २७ भदौ २०६९ मा दिन लागिएको मृत्युदण्ड टार्न उनले संसार गुहारेर मृतकका परिवारलाई रु.१० लाख 'ब्लडमनी' उपलब्ध गराइन्, जबकि उनको आर्थिक अवस्था रु.१० हजार जुटाउने पनि थिएन। छोरो बचाउन नसके आफू पनि नबाँच्ने उनको पुकारले यत्रो रकम जुटायो।  

 
गरीबीले गर्दा छोराछोरीलाई खुवाउन नसकेर बझाङकी सञ्जुदेवी पुजारा (३५) ले साउन २०६७ मा सात र पाँच वर्षका छोरासहित स्थानीय माटेखोलामा फाल हालिन्। छोरा–छोरीलाई विष खुवाउने, इनारमा फालेर आफू पनि आत्महत्याको प्रयास गर्ने आमाहरूका समाचार बेला बेला आइरहेका छन्। बच्चा तुहाउने आमाका निर्दयी रूप पनि देखिन्छन्।  
 
तर, क्रूर बाध्यतामा परेका आमाहरू अपवादको रूपमा मात्र आफ्नो बच्चालाई खत्तम गर्न विवश हुने डा. मिश्र बताउँछन्। सदियौंदेखि हुने गरेका यस्ता घटनामा आमा भन्दा पनि अरू कारण बढी दोषी हुने उनको भनाइ छ। “तर, कानूनबाट संरक्षित आजका महिलाले आफ्नो शरीरमाथि आफ्नो अधिकार स्थापित गरेका छन्”, डा. मिश्र भन्छन्, “अब आमाहरू अनिच्छित गर्भधारण नगर्न स्वतन्त्र छन्।”  
 
करबलमा परेका कतिपय आमा बच्चा फालेर हिंड्छन्, तर त्यस्ता शिशुलाई उठाएर वात्सल्य दिने अर्की आमा पनि प्रकट हुन्छन्। बिचल्लीमा परेका बालबालिका र कृतघ्न सन्तानको हेलाँहोचोमा परेका वृद्धवृद्धालाई आमाले झै स्याहारसुसार गर्ने दिलशोभा श्रेष्ठ, पुष्पा बस्नेत, ललिता धौभडेल आदि कर्मआमाहरू पनि यहीं छन् (हे. छुट्टै रिपोर्ट सीमाहीन मातृत्व)। जन्म दिने र कर्म दिने दुवैलाई आमाको स्थान दिने नेपाली संस्कार पनि हो।  
 
अर्कोतिर, समाजको विधिविधान विपरीत विना बिहे आमा बनेर सगर्व सन्तान हुर्काउने कुमारी आमादेखि टेष्ट ट्युब विधिबाट बच्चा जन्माएर ममता–वात्सल्यको तृष्णा मेट्ने आमाहरू पनि छन्। पैसा लिएर अरूको शिशु जन्माइदिने अप्राकृतिक आमा (सरोगेट मदर) को अभ्यास पनि नेपालमा भित्रिसकेको छ, जसअनुसार नौ महीना 'सरोगेट मदर' को गर्भमा हुर्कने शिशु जन्मेपछि उसका लागि पैसा तिर्ने आमाको काखमा हुर्कन्छ। विदेशतिर त समलिंगी महिला (लेस्वियन) र पुरुष (गे) ले पनि बच्चा 'एडप्ट' गरेर आमा वा बाबुको चाहना पूरा गर्ने कानूनी अधिकार पाएका छन्। परिवारका भाउजू, फुपू र बुबाहरूले आमाको भूमिका निर्वाह गरेका नेपाली समाज पनि बदलिंदो जीवनशैलीका कारण त्यस्तो अभ्यासबाट टाढा नभएको अनुमान गर्न सकिन्छ।  
 
नेपाली समाजमा सन्तानका लागि जीवन समर्पण गरेका युवा विधवा आमाहरू पनि छन्। हिन्दू विद्यापीठ नेपालका संस्थापक डा. चिन्तामणि योगी सन्तानका लागि आमाले त्याग गर्ने सदियौं पुरानो मातृपरम्परा रहेको बताउँछन्। समाज विज्ञानमा कलम चलाउने काठमाडौं मोडल अस्पतालका डा. सरोज धिताल सामाजिक रूपान्तरणले नेपाली आमाको परिभाषालाई बहुआयामिक बनाउँदै लगेको बताउँछन्। डा. धिताल भन्छन्, “बाहिर जस्तो देखिए पनि शिशुको सुरक्षा र स्याहार गरेर उसलाई योग्य बनाउने भूमिका निर्वाह गर्नेलाई नै आमा भन्नुपर्छ।” 
 
धर्ममा आमा 
सबै धर्मले आमालाई शान्ति, क्षमा, करुणा, वात्सल्य, दान र दयाको स्रोत मानेका छन्। आमाको पैतालामुनि स्वर्ग हुन्छ भन्ने विश्वास गरिने इस्लाम धर्ममा आमाबाबुका सामु उँचो स्वर गर्न पाइन्न। काठमाडौं, घण्टाघरको कश्मिरी तकिया मस्जिदका इमाम मौलना अली मञ्जरका अनुसार, पवित्र कुरानमा 'आमाबुबाको सामु त्यसरी उभिनु जसरी मालिकको अगाडि सेवक उभिन्छ' भनिएको छ। अर्को इस्लाम धार्मिक ग्रन्थ हदिशमा गुरु महम्मद सल्लाहु अलैहो होसल्लमले 'आमाको पैतालामुनि स्वर्ग छ' भनेको बताउँदै मौलना मञ्जर भन्छन्, “अल्लाह त्यो बेला मात्रै खुशी हुन्छन्, जतिबेला हामी आमाबुबालाई खुशी पार्छौं।”  
 
गुरु महम्मद सल्लाहुसँगै जोडिएको अर्को प्रसङ्गमा सबभन्दा बढी कसको सेवा गर्ने भन्ने प्रश्नमा लगातार तीन पटक 'आमाको' भन्ने उत्तर दिएका सल्लाहु चौथो प्रश्नको उत्तरमा भन्छन्, 'आमापछि बुबाको'। नेपाल मुश्लिम संघका अध्यक्ष अब्दुल सतार आफ्नो समुदायमा घर बाहिर जाँदा अम्मीलाई सोधेर जाने अनि फर्कंदा सबभन्दा पहिले उनैलाई सलाम गरेर हात चुम्ने परम्परा रहेको बताउँछन्।  
 
इसाई मतअनुसार, आमाबाबुको सम्मान गर्ने सन्तान चिरायु हुन्छ। इसाई धर्मग्रन्थ बाईवलको १० आज्ञामा आमाबाबुको इज्जत गर्नेको आयु लामो र जीवन सुखी हुन्छ भनिएको छ। इसाईको क्याथोलिक सम्प्रदायले क्राइष्टलाई जन्म दिने मरियमको पूजा गर्छन्। प्रोटेष्टेन्ट सम्प्रदायको राष्ट्रिय मण्डली समितिका उपाध्यक्ष टेक दाहाल भन्छन् “मरियमरूपी पवित्र भाँडोमार्फत परमेश्वर पृथ्वीमा आउनुभएकोले प्रोटेष्टेन्टहरूले मरियमको मूर्ति पूजा नै नगरे पनि जन्मदिने आमालाई जस्तै आत्माबाटै सम्मान गर्छन्।”  
 
आमाबुबालाई भगवान र पहिलो गुरु मान्ने बुद्ध धर्ममा उनीहरूको पूजा–सेवा गर्ने सन्तान कहिल्यै निन्दित नहुने विश्वास गरिन्छ। बज्रयान दर्शनमा विद्यावारिधि गरेका नरेशमान बज्राचार्य भन्छन्, “बुद्ध धर्ममा शील, समाधि र प्रज्ञा प्राप्तिबाट बुद्धत्व प्राप्त हुन्छ। प्रज्ञा र आमा एउटै कुरा हो।”  
 
यसैगरी, हिन्दू धर्म भन्छ― 'आमा जस्तो अरू कुनै तीर्थ छैन, उनको पूजा गर्नेको इहलोक र परलोक सुध्रन्छ।' हिन्दूहरूको नीतिशास्त्रले '१० उपाध्याय बराबर एक आचार्य, १०० आचार्य बराबर एक पिता र १००० पिता बराबर एक माता' भनेको छ। जगतगुरु शंकराचार्यले 'कुपुत्र हुनसक्छ, तर कुमाता कदापि हुन सक्दिनन्' भनेका छन्। हिन्दू र बुद्ध धर्म दुवै मान्ने मिश्रित नेवार समुदायमा प्रचलित आमाको मुख हेर्ने चाड त्यसै नेपालभर लोकप्रिय भएको हैन। हिन्दू धर्ममा मातातीर्थ, मातृऔंसी जस्ता मातृ दिवसहरू नै छन्। मातृ दिवस मनाउने परम्परा संसारका प्रायः सबै देशमा छ।
 
हिन्दू धर्मका ग्रन्थहरू गीता, चण्डीदेखि वेदका सयौं ऋचामा आमाको महिमा उल्लेख छ। महाभारतमा अर्जुनका छोरा अभिमन्युले आमाको गर्भमै चक्रव्यूह तोड्ने ज्ञान हासिल गरेको प्रसङ्ग छ। रामायणमा राम १४ वर्ष वनबास जान सौतेनी आमा कैकेईले दिएको आदेशको पालना गर्छन्। लंका विजयपछि लक्ष्मणले अयोध्यामा भाइ भरतले राज्यभार थामेकाले लंकामै शासन गरेर बस्ने सुझाव दिंदा राम भन्छन्ः
 
अपि स्वर्णमयी लंका नमे रोचते लक्ष्मण 
जननी जन्मभूमिश्च, स्वर्गादपि गरियसी। 
(लंका सुनकै भए पनि हे लक्ष्मण, आफू जन्मेको ठाउँ आमा समान हुन् र त्यो स्वर्गभन्दा प्यारो छ।) 
 
आमाको गुण 
हरेक महिलामा मातृत्व (मदरहूड) को चाहना हुन्छ र सन्तान जन्माउने क्रममा आमाले आफ्नो ज्यान दाउमा राख्छिन्। एक अध्ययन अनुसार, नेपालमा अझै पनि प्रसूतिको क्रममा एक लाखमा २८१ आमाले ज्यान गुमाइरहेका छन्। १० वर्षअघि यो संख्या ५३९ थियो। प्रसूतिको बेला शिशुको मृत्यु हुँदा सर्वाधिक पीडा पनि आमालाई नै हुन्छ। अहिले एक लाख आमामध्ये ५५ जनाले प्रसूतिको क्रममा शिशु गुमाइरहेका छन्। जति कष्ट र संघर्ष गर्नु परे पनि बाँचेका सन्तानलाई बेहिसाब हार्दिकताका साथ हुर्काउने मुख्य भूमिका पनि आमाकै हुन्छ। २०५२–६२ को माओवादी हिंसात्मक विद्रोहले हजारौं सन्तानको ज्यान लिएर नेपाली आमाहरूमाथि अकल्पनीय पीडा थोपरेको छ (हे. छुट्टै रिपोर्ट भरजन्म घायल)। 
 
बच्चा जन्माउनेदेखि हुर्काउने–बढाउनेमा मुख्य भूमिका आमाकै हुने भएकाले सन्तानको आत्मीयता बाबुसँग भन्दा बढी आमासँगै हुन्छ। सन्तानप्रति आमाको आत्मिक सम्बन्ध गर्भकालदेखि नै विकास भएको हुन्छ। आमाको यही लगाव सन्तानको शिक्षा र संस्कारको पनि जग बन्छ। कतै ठेस लाग्दा मुखबाट अनायासमा 'आमा' नै आउँछ। “महान सन्त होस् या खुँखार बदमाश, सन्तान आमाको सामु नतमस्तक हुन्छ”, समाजशास्त्री डा. डिल्लीराम दाहाल भन्छन्, “आमालाई उपेक्षा गर्ने वर्ग–समुदाय र साहित्य संसारमा कहीं पाईंदैन।”  
 
p46a
 
छोरा होस् या छोरी, अहिलेका
आमाहरू शिक्षामा जोड दिन्छन्।
दुई छाक खुवाउन सकेपछिको
प्राथमिकता हुन्छ― शिक्षा।
निरक्षर आमाहरू समेत जति
दुःख गर्नु परे पनि छोराछोरीलाई
पढाउन चाहन्छन्।
– डा. चैतन्य मिश्र,
समाजशास्त्री

आमाले सन्तानको सुखमा आफ्नो खुशी देख्छन्। सन्तानप्रति आमाको यस्तो दृष्टिलाई बुढेसकालमा उनीहरूबाट सुरक्षित भइने स्वार्थसँग पनि जोड्ने गरिन्छ। तर, 'आमा' टेलिसिरियलमा ८० वर्षकी आमाको जीवन्त अभिनय गरेका कलाकार हरिवंश आचार्य सन्तानका लागि आमाको माया माथिल्लो गह्राबाट तल्लोमा बगेको पानी जस्तै हो भन्छन्। आचार्यका अनुसार, छोराछोरीले आमाबाबुलाई भन्दा बढी माया आफ्ना छोराछोरीलाई गर्छन्, तिनका छोराछोरीले पनि तिनलाई भन्दा आफ्नै छोराछोरीलाई बढी माया गर्छन्। “त्यसकारण, आमाबाबुलाई साँच्चिकै माया गर्नु भनेको तल्लो गह्राको पानी माथिल्लो गह्रामा फर्काउनु जस्तै हो”, आचार्य भन्छन्, “तल–तल छोराछोरीतिर बग्ने मायालाई माथि आमाबाबुतिर फर्काउन छोराछोरीले हृदयमा अलिकति पम्प चलाउनुपर्छ।” 

साहित्य–कलामा आमा 
नेपाली साहित्यमा आमा देश (धरा) को प्रतीक हुन्। समालोचक डा. गोविन्दराज भट्टराई आमा र मातृभूमिबारे नलेख्ने नेपाली कवि–साहित्यकार पाउन गाह्रै हुने बताउँछन्। राष्ट्रकवि माधवप्रसाद घिमिरेको 'नेपाल आमा कहीं छ घाम, कहीं छ छायाँ रे ...' होस् या गोपालप्रसाद रिमालको 'आमा, त्यो आउँछ? हो बा त्यो आउँछ ...'; यस्ता पंक्तिहरू धेरै नेपालीको मस्तिष्कमा ढुंगाको अक्षर बनेका छन्। ईश्वर बल्लभले 'मेरी आमाले आत्महत्या गरेको देश' भन्ने कविता लेखेका छन्। मदनमणि दीक्षितका रचनामा 'धर्ती आमा हुन् र हामी छोराछोरी' भन्ने कुरा बारम्बार दोहोरिएको पाइन्छ।
 
दार्जीलिङबाट आएका धरणीधर कोइरालाले शुरूमा 'नेपाल तिम्रो मोहडा हँसिलो, देखेर मर्छु कि म यसै मर्छु ...' भनेर लेखेका थिए। पछि नेपालको विकास हुँदै गएको देखेपछि 'हे आमा तिम्रो मुहार हँसिलो हुँदैछ अब म ढुक्कले मर्छु' भन्ने आशयको अर्को कविता लेखे। दार्जीलिङकै कवि वीरेन्द्र सुब्बाले 'नेपाल आमा' कवितामा 'हे आमा! म मेघ हुँदो हुँ त तिम्रो काखमा सारा आँशु बिसाउने थिएँ ...' भनेर लेखेका थिए।  
 
कवि मञ्जुलले आमाबारे श्रृंखलाबद्ध कविता लेखे। मोमिला, नवराज सुब्बा, रक्ष राई, विमला तुम्खेवा आदिसँगै उदीयमान उमेश अकिञ्चन, सजनकुमार लगायत धेरैले 'आमा' लाई सम्बोधन गरेर वा प्रतीक बनाएर शक्तिशाली कविता रचिरहेका समालोचक डा. भट्टराई बताउँछन्। उनका अनुसार, प्रवासका नेपाली कविहरूले त आमाबारे झ्न् धेरै कलम चलाएका छन्। 'आमा र गाउँ' कविताका सर्जक श्रवण मुकारुङ नेपाली आमाहरूलाई त्याग र संघर्षको प्रतीक मान्छन्, जो अभद्र पुरुष वर्चस्व र अभावका बीच आफ्ना वैयक्तिक आकांक्षा–अवसरहरूलाई बेवास्ता गर्दै छोराछोरीलाई सबल बनाउँछन् र अन्ततः कन्दरा जस्तै सुनसान बन्न पुग्छन्।  
 
मुकारुङले भनेको आमाको तस्बीर सङ्गीतकार आलोकश्रीकी आमासँग ठ्याक्क मिल्छ, जो बहुसंख्यक नेपाली आमाका एक प्रतिनिधि हुन्। “गोरखाको आँपपीपल, बोहोरा गाउँमा आठ वर्षको हुँदा मेरो मुनि चार भाइ–बहिनी थिए”, नेपाली संगीत उद्योगमा सफलताको कथा बनेका आमा भन्दै रुन पाऊँ... गीतका संगीतकार आलोकश्री आफ्नो बाल्यकाल र आमालाई सम्झ्न्छन्, “हरेक साँझ् हामी आमाको व्यग्र पर्खाइमा हुन्थ्यौं। उहाँले घर फर्कंदा मेलापातमा पाएको कोदोको रोटी र भुटेको मकै आफूले नखाई पोल्टामा लुकाएर ल्याइदिनुहुन्थ्यो।”
 
आमा र मातृसेवालाई देशभक्तिसँग जोडिएका तथा आमाप्रति व्यक्तिगत अनुभूति गरिएका अनगिन्ती बान्की छन्, नेपाली आधुनिक र लोक गीति परम्परामा पनिः 
 
हे आमा नेपाल तिमीलाई, संसारकी राम्री बनाउँला ... 
 
आमा भन्दै रुन पाऊँ, बिराउँदा बाटो ... 
 
आमा रुँदै गाउँबेसी मेलैमा, छोरा रुँदै गोरखपुर रेलैमा ... 
अमि्रकामा 'नेपाली आमा' 
 
p48
 
धर्मछोरा ब्रोट कोबर्नसँग अमेरिकाको
सडकमा विष्णुमाया।

२०३० सालतिर पीसकोर स्वयंसेवक ब्रोट कोबर्न पोखराबाट एकदिन टाढाको बाटो स्याङ्जाको डाँडागाउँ पुगे र विष्णुमाया गुरुङको कटेरामा डेरा गरेर बसे। रहँदा बस्दा विष्णुमाया कोबर्नकी आमा भइन् र उनी विष्णुमायाका छोरा। आफ्नी धर्मआमाबाट मिलेको वात्सल्य र प्रेमको प्रतिदानस्वरुप कोबर्नले २०३९ सालमा एउटा सचित्र पुस्तक निकाले, जसको शीर्षक थियो– नेपाली आमा।

२०४५ सालमा कोबर्नले नेपाली आमा लाई आफ्नो देश घुमाउन लैजाने निधो गरे। त्यसबेला उनको उमेर ८४ वर्ष पुगिसकेको थियो। तैपनि धर्मपुत्रको आग्रहलाई नाइँ भन्न सकिनन् र सात समुद्रपारिको 'अमि्रका' गइन्। रातो मखमलको चौबन्दी, कम्मरमा सेतो पटुकी, छिटको फरिया, मुगासहितको तिलहरी र टाउकामा मजेत्रो लगाएकी विष्णुमायालाई कतिले मदर टेरेसा भन्ठाने।
 
संयुक्त राज्य अमेरिकाको विशाल भूभागको एक छेउदेखि अर्को गर्दै विष्णुमायाले २५ वटा राज्य चहारिन्। डिस्नेल्याण्डको मिकी माउससित भलाकुसारी गरिन्, आदिवासी रेडइण्डियनहरूसित साक्षात्कार गरिन्। क्यालिफोर्नियाको ठूलो गोलाइका अजङ्गका रूखहरूको 'रेडउड' जङ्गल घुम्न गइन्। अमेरिकाको अन्नभण्डार मानिने मध्य–पश्चिम अमेरिकाका किसानहरूलाई 'फार्म' मै गएर भेटिन्। समुद्री जीवहरू राखिएको पार्कमा ओर्का–ह्वेलको खेल तमासा हेरिन्। जमिनमुनिबाट निश्चित समयमा एकाएक पानीको फोहोरा छुट्ने कोलोराडोको उदेकलाग्दो दृश्य देखेर दङ्ग परिन्।
 
कुनै लाहुरेको बखान सुनेकीले जुनसुकै समुद्री किनारमा विष्णुमाया मलेशिया कहाँ छ भनेर खोज्थिन्। जताततै एकैनासका पेट्रोल पम्प र राजमार्ग देखेर उनलाई कोबर्नले झुक्याएर एकै ठाउँमा घुमाइरहेको जस्तो पनि लाग्थ्यो। प्रशान्त सागरमा यात्रा गर्दा त्यसलाई पवित्र गंगा नदी ठानेर बीच समुद्रमा देउताको मन्दिर हुनैपर्छ भनेर कोबर्नसँग ढिपी गर्थिन्। अर्काले भनेको सितिमिति पत्यार नगर्ने विष्णुमाया प्रत्येक कुरामा आफ्नो निजी निर्भीक टिप्पणी गर्थिन्, कसैलाई मन परोस् या नपरोस्। समुद्री पार्कमा आफ्नै हातले छोएको ओर्का ह्वेल जिउँदो र साँच्चिकै थियो भन्ने कुरा ज्यान गए पत्याइनन्।
 
गाईको दूध पनि मिसिनले दुहेको देखेर उनलाई दिक्क लाग्थ्यो, के नहुने काम गरेको भनेर। अमेरिकाको झिलिमिलीबीच पनि विष्णुमायाले आफ्नो प्यारो डाँडागाउँलाई बिर्सन सकिनन्। एकरात छोरी मरेको सपना देखेर बिउँझिन् र धेरैबेर रोइरहिन्।
 
आधुनिक सभ्यतादेखि टाढा आफ्नै गाउँमा वृद्धावस्था बिताइरहेकी नेपाली महिलालाई अमेरिकाको सयर गराएर कोबर्नले ठीक गरे वा बेठीक, अर्कै कुरा हो। तर अमेरिकामा खिचिएका विष्णुमायाका तस्बीरहरूले एउटी गाउँले नेपाली महिलाको अद्भुत यात्रालाई सधैं सम्झाइराख्ने छन्।
 
अमेरिकाबाट फर्किएको केही वर्षपछि विष्णुमाया आफ्नै गाउँमा परलोक भइन्।
 
हिमाल, साउन–असोज २०५२ बाट सामान्य सम्पादनसहित 
१०० वर्षकी आमा, ७४ वर्षे छोरा 
 
p49
 
तस्विर: मीनरत्न बज्राचार्य

बाल्यकालमा आमा दुर्गा लक्ष्मीदेवीले बिहान उठ्नासाथ सरस्वतीको श्लोक कण्ठ गराएको, बिरामी हुँदा औषधीमुलो गर्दै एकछिन नछाडेको सम्झना ताजै छ, संरक्षणविद् डा. तीर्थबहादुर श्रेष्ठसँग। अहिले उनी १४ असोजमा १०० वर्ष लागेकी तिनै आमाको हेरचाहमा दिनरात तल्लीन छन्। हरेक बिहान आमालाई सरस्वतीको त्यही श्लोक सम्झाउँदै भन्न लगाउँछन्। आमाको यति लामो छहारी पाएकोमा आफूलाई सौभाग्यशाली ठान्ने श्रेष्ठ भन्छन्, “मलाई हुर्काउन आमाले जे–जे गर्नुभयो अहिले म त्यही–त्यही गरिरहेको छु।” ७६ वर्षको उमेरमा ४० वर्षअघि बुबा लोकबहादुरको निधन भएको र गत वर्ष तीन बहिनीमध्ये एक हजुरीलाई ७० वर्षको उमेरमा गुमाएका डा. श्रेष्ठ परिवारका एक्ला छोरा हुन्। उनका लागि आमा अहिले छोरी जस्तो भएकी छन्। आमा–छोरा खेल्छन्, जिस्किन्छन् र रमाउँछन्। आमालाई अहिलेसम्म कुनै रोग नलागेको डा. श्रेष्ठले बताए।  

 

comments powered by Disqus

रमझम