खै के भन्ने आमालाई

Share:
  
- कमलमणि दीक्षित
p50
 
ललितादेवी

यसपालि हिमाल ले 'नेपाली आमा' भन्ने विषय छान्यो रे दशैं अङ्कका लागि। सधैंझै मलाई पनि केही लेख्ने कि? भनेर सोधियो। हिमाल मा छाप्न रहर लाग्छ मलाई। त्यसैले म पाएको मौका गुमाउन चाहन्नँ। तर यस पटक समस्या पर्‍यो― नेपाल आमा होइन, नेपाली आमा रे! भनेपछि भौतिक आमा नै चाहियो, सशरीर। शंकर लामिछानेले जस्तो याब्स्ट्र्याक्टको वर्णन गरेर नहुने! 

मेरो आफ्नै आमा बाहेक धेरै अरू आमाहरूसँग चिनजान थिएन। उहाँका बारेमा एउटा सानो पुस्तिका नै लेखिहालें २०४१ सालमा, 'विद्यादेवी दीक्षितः एउटा कथा' भन्ने। अब कुन नेपाली आमालाई उभ्याउँक म हिमाल मा? कविशिरोमणि लेखनाथलाई सम्झे। उनले गएको शताब्दीमै भनिदिएका रहेछन्―  
 
जननी, गुरुमा, सासू, रानी, मित्रकी पत्निमा, 
सम राखनु सम्मान भेद छैन यी पाँचमा। 
 
कुरो बुझियो? कविशिरोमणि बूढाले सजिलो पारिदिएका रहेछन् हामीलाई। भनेपछि, यी पाँचै थरी महिला नेपाली आमा भए नि मेरा लागि पनि! जसका बारेमा लेखिदिए पनि भयो। अरूलाई त सजिलो हुन्थ्यो होला, मलाई भएन। कारण? मेरी आफ्नी जननी स्वर्ग गैहाल्नुभो। गुरुआमा पनि ऐजन ऐजन भन्नुपर्छ होला। त्यसबाहेक मेरै 'बिर्सेको सम्झेको' (२०४०) ले भन्छ मेरो जीवनमा गोडा चालीसेक गुरुआमाहरू भए होलान् (मेरा गुरुहरूका पत्नीहरू) कुन चाहिं गुरुआमालाई सम्झेर लेखूँ म? त्यसमा विदेशी (भारतीय) बीस जना जतिलाई छाडे पनि बाँकी बीस जना नेपाली गुरुआमाहरूमा को को अझ् जीवित छन् कसरी पत्तो लगाएर लेखूँ म तिनका बारेमा? समस्या पर्‍यो। गुरुआमा पनि नभएपछि कविशिरोमणिले दिएको अर्को 'अप्सन' थियो रानी। राणाकालमा लेखिएको त्यो कुरा ऐले गणतन्त्रमा के होस्! रानीको त अस्तित्व नै लोप भैसक्यो। त्यो विकल्प पनि खेर गयो। अब 'डिफल्ट्' मा 'मित्रकी पत्नी' मात्र बाँकी भए। अझै जीवित छन् मेरा केही नेपाली मित्र–पत्नीहरू, जीवनको उत्तरार्द्धमा रहेका हजुरआमाहरू। तर वरिष्ठ नागरिक भत्ता खाने तिनीहरूका विषयमा लेखूँ लेखै 'रिजेक्ट' हुने डर! 
 
त्यसैले मैले अर्कै चाल चलें। शब्दमा खेल्ने। अचेल नेपालमा 'आमा' हरू छैनन्। कि 'मम्मी' छन् कि 'माँ' कि त 'मुवाँ' र 'मम्' हरू छन्। नेपाली मुवाँका बारेमा लेखूँ माओवादीले त्यसलाई 'बुर्जुवा' भनिदिने! त्यसभन्दा पनि ठूलो कुरा― कहाँ 'नेपाली आमा' कहाँ 'नेपाली मुवाँ' र 'नेपाली मम्'? त्यो फ्लेबरै आउँदैन यो शीर्षकमा। 'नेपाली मम्मी', 'नेपाली माँ' समेत त्यसै गरी रिजेक्ट हुने भएपछि अब मैले केमा लेख्ने?  
 
यस्तैमा मलाई यौटा आइडिया आयो। ऐले त यस्तो छ, आमालाई सम्बोधन गर्ने शब्दका बारेमा यति अन्योल छ भने पैले–पैले कस्तो थियो होला भनी खोजिपसे कसो होला भन्ने लाग्यो। किनभने एकल परिवारमा हुर्केका हालका पुस्तालाई साबिक अर्थात् पुरानो नेपाली समाजको सगोल परिवारका कुरा थाहा नहुन पनि सक्छ भनी त्यही विषय उठाउने अठोट गरें मैले।  
 
पैले 'सगोल परिवार' भनेको के? त्यही बुझुँ। कोशले भन्छ― भातभान्छा नछुट्टिएको, अंशबण्डा नभएको एकै छानामुनि बस्ने परिवार। कति ठूलो हुन्थ्यो त्यो? पचास–साठी सम्म हुन्थे सदस्य बाहुनछेत्रीका केही परिवारमा। तर, सुनेको कुरा हो, उपत्यकाका नेवार परिवारमा कुनै कुनै घरमा त सय जनासम्म पनि पुग्थे रे एउटै भान्छामा भात खाने परिवारजन नै। रे र अरेको कुरा नगरेर आफूले जानेबुझेकै र भोगेको कुरा गर्छु। म 'मणि फेट' भनिने मणिहरूको 'ठूलोघर' नामक सगोल परिवारको सबभन्दा कान्छो भएर जन्मेको हुँ १९८६ सालमा। त्यसबेला नेपालमा चन्द्र शमशेरको राज्य। मणिहरूको ठूलो रोबरवाफ थियो। दबदबा नै थियो भनूँ। त्यस परिवारका मुख्य मान्छे, थकाली, थिए मेरा बराजु काशीनाथ आ.दी., माइलापण्डित। चन्द्रशमशेरका दाहिने हात। उनका सात जना छोरा थिए, त्यहीं सगोलमा बस्थे। छोरा, नाति र पनातिसम्म गर्दा परिवारै पचास नाघ्थे। त्यसमाथि नोकरचाकर, कमारा कमारी समेत थिए। उनको त्यो सगोल घरमा खाने मुखले सयको संख्या समेत छुन्थ्यो भने के अचम्म!  
 
म जन्मेपछि महाराज चन्द्रशमशेर बिते। 'ठूलोघर' को फुर्तीफार्ती पनि विलुप्त भो। तर परिवार घटेन। दुई–चार वर्ष त्यत्तिकै रह्यो। त्यस्तो परिवारको कान्छो सदस्य म। मैलेसम्म 'आमा' भनिने एकै जना व्यक्ति हुनुहुन्थ्यो माइलापण्डित काशीनाथकी पत्नी ललितादेवी। त्यो ठूलो घरमा सबैका बाबु र आमा थिए उनै दुई जना, सम्मानित 'बा', 'आमा'। जेठा छोरा राममणिको पनि, पनाति कमलमणिको पनि! भएपछि स्वभावतः प्रश्न उठ्छ त्यसो भए राममणिको छोराछोरीले आफ्ना बा–आमालाई के भनेर बोलाउँथे? स्वाभाविक थियो उनका भाइहरूले उनीहरूलाई जे भन्थे त्यही भन्न सिकिहाल्थे यिनले पनि। अर्थात् राममणिका पुत्र, मेरा पिताजी, केदारमणिले आफ्ना बालाई 'ठूल्दाइ' र आमालाई 'ठूलीभाउजू' भन्न थाल्नुभयो रे! अलिपछि केही जान्ने भएपछि उहाँले आफ्नो आमालाई 'ठूली भाउजू' नभनेर 'भाउजूआमा' भन्न थाल्नुभएछ।
 
शीनाथका जेठा छोरा मात्र होइन, सातै जना छोराका सन्तानले पनि त्यस्तै त्यस्तै गरे। छोराले मात्र होइन नातिनातिनाले पनि त्यही सिके। मेरो आमालाई मेरो दाजुले समेत 'भाउजू' भन्न थाल्नुभयो किनभने सातै जनाका सन्तानले उहाँलाई 'भाउजू' भनेर बोलाउँथे। अनि त मेरा दाजु दिदीहरूले जस्तै मैले पनि आमा भन्न जानिनँ। भाउजू नै भनिरहें आमालाई पचपन्न वर्ष, उहाँ स्वर्गे हुने बखत सम्मै! 
 
यहाँनेर अलिकति व्यतिक्रम भएको पनि जिकिर गरिहालूँ। काशीनाथका सात जना छोरामध्ये साहिंला र ठूलोकान्छा छोराका सन्तान भने आमालाई भाउजू भन्दैनथे। आमा पनि होइन अर्कै–अर्कै सम्बोधन गर्थे। ठूलोकान्छा छोरा नरेन्द्रमणिका छोराछोरीहरू आमालाई 'दिदी' भन्थे। त्यसको कारण खोज्न गाह्रो छैन। शुरू शुरूमा कार्यकारणले उहाँ माइतीमा धेरै बस्नुभयो, त्यसै हुँदा माइतीमा उहाँका भाइबहिनीहरूले 'दिदी' भनेको सुनेर त्यही सिको गरी उहाँका छोराछोरी कुमारमणि, कल्याणमणिहरूले पनि आमालाई दिदी भन्न थाल्नुभएको हो। यो अर्थ्याउन सकिन्छ तर साहिंला छोरा लक्ष्मणमणिका सन्तान मदनमणि, महेशमणिहरूले आफ्नो आमालाई गर्ने गरेको सम्बोधनको व्युत्पत्ति पत्ता लगाउन या अर्थ्याउन मेरा काका मदनमणिले स्वयं पनि सक्नुभएन रे! उहाँले नै भनेको हो। उहाँका ६–७ जना भाइबैना सबै आफ्नो आमालाई 'हैंञा' भन्थे। मदनमणिजीले नसके पनि मैले अन्दाज गरिहेरें त्यो 'हैंञा' को व्युत्पत्ति। बिहार, रामनगरकी छोरी उहाँलाई माइतीमा त्यहाँको रिवाज अनुसार काम गर्नेहरू 'मैञा' भन्थे। केटाकेटी बेला बनारस पुगेकी मदनमणिजीकी ठूल्दिदी (देवकुसुम अर्याल) को कलिलो कानले 'मैया' लाई 'हैया' सुन्यो र उहाँले आफ्नो आमालाई 'हंञा' भन्न थाल्नुभयो। त्यही सम्बोधन उहाँका भाइ र बैनीहरूले गर्न थाल्नुभयो होला। मेरो अनुमान हो। 
 
यस्तै व्यतिक्रम भयो मेरै बाजे (राममणि) ले दोस्रो विवाह गरेपछि जन्मेका मेरा काका र फुपूहरूको पनि। उहाँहरूले पनि 'आमा' भन्नुभएन, 'सानू' भन्न थाल्नुभयो! यसलाई मैले अलि अर्थ्याउनुपर्छ। आफूबा (राममणि) ले आफ्नी नयाँ दुलहीलाई 'सानू' भनेर बोलाउनुहुन्थ्यो। 'सानू' आमाले जन्माएकाहरूले पनि त्यही भन्न थाले आफ्नो आमालाई। कसैले उहाँहरूलाई हप्काएन। त्यसो नभन भनेन, बरु रमाइलो नै मानियो केटाकेटीहरूको मुखबाट 'सानू' शब्द निस्कँदा। यो परम्परा चलिरह्यो नब्बेसालमा भैंचालो जाउञ्जेल। अनि काका फुपूहरूले आमा भन्नुभयो, आमाले नै सिकाएर होला! तैपनि मेरा माहिला काका (केशरमणि) ले भने पछिसम्म पनि आमालाई सानू नै भनिरहनुभएको थियो! म सम्झ्न्छु।  
 
अन्त्यमा, 'हिमाल' लाई पनि छोएर एउटा व्यंग्य गरुँ र यो लेख टुंग्याऊँ। आमालाई 'आमा' नभन्ने रोग हिमाल का प्रकाशकहरूलाई पनि लागेको छ। कुन्द र कनक दीक्षितले आफ्नो जीवनको पहिला तीन–चार वर्षसम्म आफ्ना बाजेबजैको सिको गरेर आफ्नी आमालाई नामै काढेर 'अञ्जु' भनी बोलाउँथे। पछि अलि बुद्धि पलाएपछि होला, उनीहरूले आफ्नो बाबुको सिको गरेर 'देवीजी' भन्न थाले। र, ऐलेसम्म त्यसै भन्दैछन्!  
 
अब के भन्ने नेपाली आमालाई? 
comments powered by Disqus

रमझम