माई के जीह गाई सन्

Share:
  
- चन्द्रकिशोर
नेपाली आमाहरूका सुख–दुःखका सबै कथा भनिएकै छैनन्। मधेशी आमाका जीवनवृत्त त झन् बन्द चिठीकै रूपमा छन्।
p52
 
 

तराई–मधेशमा आमालाई ईया, माँ, माय, बुआ, अम्मा, मैया, माई आदि भनेर पुकारिन्छ। मधेशका आमाहरू गरीबी, अशिक्षा, घरेलु हिंसा, वैधव्यपीडा आदिको अन्त्यहीन दंश झेलेर पनि 'लडिका सभ क कारण गलफसरी नई लगवै छि' अर्थात् छोराछोरीकै कारण गलपासो लगाउँदैनौं भन्न सक्षम छन्। मधेशका परिवार र समाजको मियो बनेका उनीहरूको यो भावना आफैंमा सन्ततिप्रतिको लगाव, ममता र जिम्मेवारीको उद्घोष हो।  

बदलिंदो राजनीतिक–सामाजिक परिवेशमा मधेशका आमाहरूको वैयक्तिक संघर्ष सामूहिक आयाममा प्रस्फुटित हुनथालेको छ। कतै अज्ञात सीताहरू जन्मिंदैछन् त कतै अजीबोगरिब सफलताका कथा लेख्ने आतुरता छ, मधेशका आमाहरूमा। काखमा बच्चा बोकेर मोही मथ्ने, धान रोप्ने, परीक्षा केन्द्रमा जाँच दिने, बच्चालाई स्तनपान गराउँदै किताब पढ्ने र बालविवाह वा घरेलु हिंसाविरुद्धका अभियान चलाउनेदेखि बाबुविनाका बच्चा जन्माउने, हुर्काउनेसम्मका आमाहरू मधेशमा देखिंदैछन्।  
 
बदलिंदो परिवेशमा मधेशी आमाहरूको भूमिकालाई मोटामोटी चार 'क' अर्थात् कर्मशील, कामकाजी, कुरुवा र कारागारकी आमामा वर्गीकरण गर्न सकिन्छ। पहिलो र परम्परागत समूहमा ती कर्मशील आमाहरू पर्छन्, जो एकै पटक कडा मिहिनेत र सन्तानको लालनपालन गरिरहेका हुन्छन्। उनीहरूलाई नजिकै रूखको छहारीमा छोराछोरी राखेर खेतमा काम गरिरहेको, इँटा बोकिरहेको वा गिट्टी कुटिरहेको देख्न सकिन्छ।  
 
कामकाजी भनेर परिभाषित गर्न सकिने दोस्रो समूहका आमा सन्तानको लालनपालनमा परिवारका अन्य सदस्यको मद्दत लिएर सरकारी, गैर–सरकारी, निजी वा सामुदायिक प्रतिष्ठानहरूमा काम गर्छन्, राजनीतिक–सामाजिक क्षेत्रमा क्रियाशील हुन्छन्। पति वैदेशिक रोजगारीमा गएकाहरूलाई कुरुवा आमाको समूहमा राख्न सकिन्छ, जसमध्ये धेरै अहिले गाउँ नजिकको शहरमा सरेर बालबच्चालाई पढाउन लागिपरेका छन्। तराईमा बढ्दो रेमिट्यान्स अर्थतन्त्रले यस्ता आमाहरूको संख्या बढाइरहेको छ।  
 
यी तीनै समूहका आमाले आफ्ना बच्चाहरूलाई दिने मायामा भिन्नता छैन, बदलिंदो सामाजिक–आर्थिक आधारले उनीहरूको शैलीमा फरक ल्याएको मात्र हो। आमा र छोराछोरीको सम्बन्ध भत्किनसकेको कृषि संस्कृति र विकसित भइनसकेको औद्योगिक संस्कृतिको बीचबाट गुज्रँदा यो अवस्था आएको हो।  चौथो समूहमा कारागारका 
 
बन्दी आमाहरू छन्। यीमध्ये कतिपय आमाले नाबालक सन्तानलाई पनि सँगै राखेर आफूले गरेको वा नगरेको अपराधको सजायको भागिदार बनाइरहेका छन् भन्ने आरोप छ। यस्तो आरोपका बीचमा पनि सन्तानप्रति उनीहरूको ममतामाथि कसैले औंला ठड्याउन सक्दैन। तर पनि, कारागारको चार दिवारभित्र उनीहरूले चाहेर पनि सन्तानको लालनपालन गर्न, शिक्षा दिन सकिरहेका छैनन्। बाहिर रहेका सन्तानको पनि केवल सम्झ्ना मात्र गर्ने हुन्। त्यसैले पछि सन्तानबाट आउनसक्ने दोषको चिन्ताबाट पनि उनीहरू नै पिल्सिएका छन्। 
 
गाई सन् माई 
केही वर्षअघिसम्म तराईको हाटबजार वा मेलामा भेट भएका आमा–छोरीहरूको मिलाप अरूका लागि रोचक सन्दर्भ हुन्थ्यो। आमा–छोरीहरूले गला मिल्दै, रुँदै र आफ्ना कथा–व्यथा पोख्दै गरेको त्यस्तो दृश्य अब देख्न छोडियो। सञ्चारको साधनमा बढ्दो पहुँचले आमाहरूको जीवनमा अभूतपूर्व परिवर्तन ल्याइदिएको छ। वैदेशिक रोजगारीमा गएको छोरासँग घरमै बसीबसी मोबाइल फोनमा कुरा गरिरहेका आमाहरूको मुहारमा कुनै समाजशास्त्रीले मापन गर्न नसक्ने चमक देखिन्छ। 
 
मधेशी समाज आम नेपाली समाजकै एक भाग हो। अलि बढी पारम्परिक स्वरुपको यो समाज विस्तारै खुलाहुँदै गएको छ। परिवर्तनको माहोलमा मधेशी आमाहरू चौखट बाहिरको हरेक सामाजिक मञ्चमा प्रतिस्पर्धी भएर आएका छन्। उनीहरूको पहुँच र प्रतिनिधित्वसँगै प्रभाव बढ्दो छ। र, यसले निश्चय नै आमा र बच्चाबीचको समय, स्नेह र स्याहारको रूपलाई पनि फेरिदिएको छ। 
 
पहिला मधेशमा दादीमाँ (हजुरआमा), माय, बड्की माय (बडीआमा) हरू एउटै छानामुनि बस्दथे। यस्तो सामूहिक परिवारमा एकै पटक धेरै मायको स्तनपान गरेर हुर्किने छोराछोरी धेरै हुन्थे। अहिले मधेशमा पनि संयुक्त परिवारहरू टुक्रने क्रममा मायहरू 'मम्मी' मा परिवर्तन हुँदैछन्। तर, यो परिवर्तनमा पनि समग्र तराई–मधेशमा 'माई के जीह गाई सन्' अर्थात् आमाको मन गाईको जस्तै सहज, सरल र स्नेहमयी हुने भाव भने उत्तिकै शक्तिशाली छ र रहिरहने विश्वास गर्न सकिन्छ।
comments powered by Disqus

रमझम