सीमाहीन मातृत्व

Share:
  
- सन्त गाहा मगर
आफ्नै सन्तान र आमाबाबुलाई तिरस्कार गर्ने स्वार्थी समाजमा अरूलाई मातृत्व दिने आमाहरू पनि छन्।
p54
 
पुष्पा बस्नेत। तस्बीरहरुः मीनरत्न बज्राचार्य

काठमाडौं माइतीघरको सेन्ट जेभियर कलेजले 'सोसल सर्भिसेस्' विषयका विद्यार्थीहरूको समूहलाई अध्ययन भ्रमणको सिलसिलामा सुन्धारास्थित केन्द्रीय कारागारको महिला शाखामा लैजाँदा आमासँगै कारागारमा बसेकी बालिका सानुकान्छी तामाङ एउटी छात्राको कुर्ता समात्न आइपुगिन्। सात वर्षअघिको त्यो घटनाले ती छात्रा पुष्पा बस्नेतलाई एउटी असाधारण आमा बनायो, जो अहिले अविवाहित भएर पनि दर्जनौं सन्तानकी 'पुष्पा मामु' बनेकी छन्। उनका सबै छोराछोरी बाबुआमासँग कारागारमा बस्न बाध्य निर्दोष नानीहरू हुन्। 

एकैरातको निर्णयमा सानुकान्छीसहित चार छोराछोरीको आमा बनेकी २८ वर्षीया पुष्पा बस्नेत अहिले ४८ बालबालिकाको लालनपालन गरिरहेकी छन्। बूढानीलकण्ठस्थित उनको 'प्रारम्भिक बाल विकास केन्द्र' मा अढाइवर्षे नानीदेखि १७ वर्षका किशोरकिशोरीले असल आमाबाट पाइने स्नेह, सुरक्षा र शिक्षा पाइरहेका छन्। बोर्डिङ स्कूल जाने उनीहरूलाई पढ्ने, खेल्ने बाहेक उमेर सुहाउँदो जिम्मेवारी (जस्तो सानुकान्छीले खाना खानेबेलामा चम्चा वितरण गर्नुपर्छ) पनि दिइएको छ। “अर्काले हुर्काइरहेका बालबच्चा भनेर हेलाँहोचो नगरुन् भनेर स्कूलको फिसमा छुट मागेकी छैन”, पुष्पा भन्छिन्, “सबै ज्ञानी बनुन् भनेर उनीहरूको पढाइमा कडा मिहिनेत गराएकी छु।”  
 
बिहान ६ बजे शुरू हुने पुष्पाको दिनचर्या देशका १४ कारागारबाट ल्याइएका नानीहरूको हेरचाहमा बित्छ। उनका हातहरू छोराछोरीको गृहकार्यदेखि पोशाक, खाना, विस्तरा र शौचालयसम्म पुग्छन्। केटाकेटीले भनेको नमान्दा कहिलेकाहीं चित्त दुखाउने पुष्पा तिनका कलिला हातले बनाएका चित्र वा खेलौना उपहार पाउँदा पुलकित हुन्छिन्। उनीहरू कक्षामा पहिलो–दोस्रो भएर वा खेलकुदमा पुरस्कार विजेता बनेर आउँदा उनलाई गर्व लाग्छ। पुष्पा अहिले 'आमा' शब्दमा निहित 'शक्ति' को पूर्ण अनुभूति गरिरहेकी छन्, जुन शक्तिले उनलाई सीएनएन हिरोको टपटेनमा पुर्‍याएको छ। 
 
p54a
 
अनुरोधा कोइराला।

अमेरिकाको अन्तर्राष्ट्रिय टेलिभिजन सेवा 'केवल न्यूज नेटवर्क' को 'सीएनएन हिरो–२०१२' हुनसके सम्मानसँगै आउने एक लाख अमेरिकी डलर पुरस्कार आफ्ना छोराछोरीका लागि ठूलो भरथेग हुने पुष्पा बताउँछिन्। त्यो अवस्थामा थप ७० छोराछोरीको अभिभावकत्व लिन सकिने उनको हिसाब छ। विना अपराध कारागारमा बस्न बाध्य बालबालिकाको भविष्यलाई सम्झ्ेर आगामी डिसेम्बरमा घोषणा हुने सीएनएन हिरोको लागि 'पुष्पा मामु' लाई। जततउस्ररजभचयभक।अलल।अय्कर मा गएर मत दिन सकिन्छ।  

गर्वको कुरा, दुई वर्षअघि नेपालकै सामाजिक संस्था 'माइती नेपाल' की संस्थापक अनुराधा कोइराला 'सीएनएन हिरो–२०१०' भएकी थिइन्। माइती नेपालकी अनुराधा 'दिज्यू'ले बाबुआमाले छाडेका, बेचिएका, वेश्यालयबाट फर्किएका, डान्स रेस्टुरेन्टमा भेटिएका र एचआईभी/एड्स तथा हेपाटाइटिस्–बी भएका हजारौं चेलीको उद्धार र पुनर्स्थापनाको काम गरेकी छन्। 
 
चेलीबेटी बेचबिखन नियन्त्रणको पर्याय बनेकी अनुराधाको सामाजिक अभियान महिला स्वावलम्बनबाट शुरू भएको थियो। पशुपति दर्शन गर्न जाँदा मन्दिर परिसरमा देखिने माग्न बसेका महिलाहरूको दुःखले उनलाई अंग्रेजी शिक्षिकाबाट सामाजिक अभियन्ता बनायो। शुरूमा आठ महिलालाई नाङ्लो पसल खोलिदिएकी उनले तीसहित अरू असहाय महिलाका १० छोरीको जिम्मेवारी लिइन्। यसरी अनुराधाले अहिलेसम्म २५ हजार भन्दा बढी चेलीको मुहार हँसाएकी छन्। १९ वर्षअघि उनले स्थापना गरेको माइती नेपाल संसार प्रसिद्ध भएको छ। मदर टेरेसालाई प्रेरणाको स्रोत मान्ने ६३ वर्षीया अनुराधा भन्छिन्, “बेचिएका चेलीहरूलाई उद्धार गरेर ल्याएपछि समाजमा पुनर्स्थापित गराउनु सबैभन्दा ठूलो चुनौती बनेको छ। गाउँ–गाउँका महिलाहरू चेतनशील र आर्थिक रूपमा सबल नभएसम्म यो समस्याको समाधान निस्किंदैन।”  
 
आमाहरूकी आमा 
काठमाडौंको कालीमाटी सोल्टीमोडबाट कलंकीतिर जाँदा बायाँपट्टिको एउटा साँघुरो गल्लीभित्र छिरेपछि अनुराधाकै उमेरकी दिलशोभा श्रेष्ठ भेटिन्छिन्। उनी त्यहाँ १८ महीनाको नानीदेखि ९२ वर्षका वृद्धवृद्धालाई ममता बाँडेर बसेकी छन्। नश्वर जीवनमा मानवीय दिलको विशालता र मानवताको शोभा बढाइरहेकी दिलशोभाले ६ आना जग्गामा बनेको आफ्नो पुरानो तीनतले घरमा ९२ जनालाई आमाको स्नेह दिएकी छन्।  
 
p55a
 
ललिता धौभडेल। तस्बीर: डम्बरकृष्ण श्रेष्ठ

जीवन सोचे जसरी बग्दैन, त्यसमा असामान्य उतारचढावहरू आउँछन्। १८ वर्षकी छोरीको विवाहको तयारी भइरहेको बेला सबै चल सम्पत्ति चोरेर हिंडेका श्रीमानले दोस्रो विवाह गरेर उनलाई छाडिदिए। त्यो अवस्थामा उनले तीन पटक आत्महत्याको प्रयास गरिन्। चौथो पटक छोरीले 'बाबाले छोरो नजन्माएको भनेर तपाईंलाई छाड्नुभयो। म छोराले जस्तै काम गर्छु। हामी नमर्ने माँ' भनेको अझ्ै पनि गुन्जिन्छ, दिलशोभाको कानमा। आज तिनै छोरीले असहायहरूका लागि अमेरिकाबाट मासिक रु.२० हजार पठाउँछिन्, जसको बलमा दिलशोभाले १५० भन्दा बढीको स्याहार गरिसकिन्। अहिले उनको आमाघरमा ३९ वृद्धा, चार वृद्ध र ४९ द्वन्द्वपीडित बालबालिका छन्। यसबीचमा चामल, तरकारी र दाल नभएको बुझ्ेर वृद्धवृद्धाले 'आज हामी व्रत बसेको है माँ' भनिदिंदा कति पटक मायाले भक्कानिएकी छन्, दिलशोभा।  

छोरी अन्माएर एक्लिएकी दिलशोभालाई २०५३ सालको हिउँदमा एक महिलाले त्रिपुरेश्वरको एउटा घरको छिंडीमा लगिन्। ट्वाइलेट नजिकैको त्यो अँध्यारो र गन्हाउने छिंडीमा हीराको टप लगाएकी एक वृद्धा थिइन्। उनी राजधानीका ठूला गहना व्यापारीमा गनिने चार छोराकी आमा रहिछन्। तर दिलशोभा पुग्दा उनको मुखमा माड नपरेको तीन दिन भएको थियो। उनीसँग मुखसम्म हात लैजाने तागत पनि बाँकी थिएन। दिलशोभाले तिनै आमालाई लगेर आमाघर शुरू गरेकी हुन्।  
 
आमाघरमा वीर अस्पताल, प्रहरी चौकीमा अलपत्र परेकाहरूले ममता पाएका छन्। यहाँ आउन नागरिकता, स्थायी ठेगाना वा ठूला मान्छेको सिफारिस चाहिंदैन। दिलशोभा ती आर्तहरूको विगत पनि कोट्याउँदिनन्। कर्णालीका द्वन्द्वपीडित बालबालिका पनि थपिएपछि आमाघरमा अझ् उल्लास छाएको छ। हजुरबा–आमाले नातिनातिना र नातिनातिनाले हजुरबा–आमा पाएका छन्। दिलशोभा भन्छिन्, “एउटा चकलेट हात लाग्यो भने मेरो नातिलाई भनेर राखिदिन्छन्।” 
 
p55b
 
दिलशोभा श्रेष्ठ।

उता भक्तपुर, दूधपाटीकी ६० वर्ष काटेकी ललिता धौभडेलले ४५ देखि ११२ वर्षका असक्त वृद्धाहरूको स्याहारसुसार गरेर मातृत्वको दायरालाई माथि उठाएकी छन्, मानौं ती उनका नाबालक सन्तान हुन्। दुई छोरा र एक छोरीकी आमा ललिताले ३५ वर्षको नर्सिङ पेशाबाट अवकाश पाएपछि रोगले थलिएका वृद्धवृद्धाको हेरविचार गर्ने उद्देश्यले २०६५ सालमा 'करुणा आश्रम' खोलिन्। हाल ६ वृद्धा र तीन वृद्धले सेवा पाइरहेका आश्रममा उनले अहिलेसम्म १८५ जनालाई हेरविचार गरेकी छन्। “रोगले थलिएका वृद्धवृद्धाले खुशी भएर थोते गिजा देखाउँदा भनिनसक्नुको आत्मसन्तुष्टि पाउँछु”, ललिता भन्छिन्, “उनीहरूको सेवा गर्न थालेपछि मेरो रक्तचाप र मुटु रोगको समस्या पनि घटेको छ।”  

सहारा चाहिने बेलामा सडकमा फालिएर शरीरमा कीरासम्म परेका वृद्धवृद्धादेखि घरमा सौता भित्रिएपछि रक्सी र चुरोटको कुलतमा फँसेका महिलालाई आश्रममा ल्याएर तन्दुरुस्त पारेकी छन्, ललिताले। नेपालमा ज्येष्ठ नागरिकहरूप्रतिको सम्मान लज्जाजनक तरिकाले घटेको अनुभव सुनाउँदै ललिता भन्छिन्, “समाजमा लोकलाजको डर घट्दै गएको र मायाममता हराउँदै गएको छ।”
comments powered by Disqus

रमझम