१-१५ साउन २०६९ | 16-30 July 2012

प्रेरणादायी डा. केसी

Share:
  

हिमाल (१६–३१ असार) आवरणमा प्रकाशित डा.गोविन्द केसी सम्बन्धी विस्तृत जानकारीसहितको सामग्रीका लागि हिमाल लाई धन्यवाद। केसी सच्चा सेवाभक्त हुन्, जसले स्वदेशमा मात्र नभई विदेशमा समेत गरीब, दुःखी, बाढी पीडित तथा भूकम्पग्रस्त क्षेत्रमा रातदिन निःशुल्क उपचार गरेका छन्। केसीले पचहत्तरै जिल्लामा पुगी ६० भन्दा बढी स्वास्थ्य शिविर सञ्चालन गर्दै गरीब दुःखीको लागि निस्वार्थ रूपमा समर्पित व्यक्तिको परिचय दिएका छन्। केसीमा लोभ र महत्वाकांक्षा नहुनु महत्वपूर्ण पक्ष हो। आफू कार्यरत शिक्षण अस्पतालमा वरिष्ठता, क्षमता र योग्यताका आधारमा पदाधिकारी नियुक्त गर्नुपर्छ भन्ने मागसहित आमरण अनशन गर्नु सराहनीय काम हो।
डा. केसी आफ्नो अभियानमा आंशिक रूपमा सफल भई शिक्षण अस्पतालमा नयाँ डीन नियुक्त भएको समाचार पढ्न पाइयो। उनको अभियानले भविष्यका डाक्टरलाई पनि गरीब दुःखीको निःशुल्क सेवा गर्न प्रेरणा मिल्छ जस्तो लाग्छ।

बुनु चौधरी थारू
चैलाही–६, दाङ
हालः कीर्तिपुर

राजनीति गर्न खोज्ने र गरी हिंडनेहरूले डा. केसीबाट एक प्रतिशत मात्रै सिके पनि कति हो कति हुनेथियो। तर के गर्नु यस्तो नैतिकवान मान्छेलाई आदर्श मान्ने नेताहरू भेटिए पो!

नवराज शर्मा
हिमालखबर डटकमबाट

खोक्रो राष्ट्रवाद
हिमाल (१६–३१ असार) मा प्रकाशित 'खतरामा नेपालको पानी' पढें। नेपालमा भएको जलस्रोतको अधिकतम फाइदा कसरी लिन सकिन्छ भन्ने कुरा दुवै देशबीच आपसी समझ्दारीबाट हुनुपर्छ। खोक्रो राष्ट्रवादले मात्र केही हुनेवाला छैन। कुनैबेला दक्षिण एशियामा नेपालभन्दा गरीब भुटानले जलविद्युत्द्वारा यो क्षेत्रमा सबै देशलाई पछाडि पारिसकेको छ। विश्व ब्याङ्कका प्रतिवेदनलाई समेत शंका गर्ने आफू चाहिं केही गर्न नसक्ने स्थितिमा भारतसँग सहकार्य गरेर अघि बढ्नुको विकल्प छैन।

नेपालका जलस्रोतविद्, नेताहरू, बुद्धिजीवी सबैले यो बुझनु जरुरी छ कि अहिलेको आवश्यकता भनेको जलस्रोतको सदुपयोग छिटोभन्दा छिटो गरेर विकास र रोजगारीको अवसर जुटाउनुमा नै नेपाल र नेपालीको हितमा हुन्छ। मेरो गोरुको बाह्रै टक्का तथा अन्ध राष्ट्रवाद बेकारको वादविवादमा समय खेर फाल्नु मूर्खता मात्र ठहरिनेछ।

शान्ता बोहरा
हिमालखबर डटकमबाट

निरुत्साहित गरौं
हिमाल (१६–३१ असार) 'नामको निर्धो नक्कल' पढेपछि छक्क परें। फिल्मले राष्ट्र, समाजको पहिचान दिनुपर्छ तर यी नाम हेर्दा त यसमा नेपाली फिल्मको छनक कतै पाईंदैन। यो होडले पनि हाम्रा चलचित्रकर्मी बौद्धिक रूपमा कति दरिद्र छन् भन्ने प्रष्ट हुन्छ। नेपाली फिल्मको नाम समेत गतिलो राख्न सक्दैनन् भने नेपाली फिल्म हेर्न जानुको के अर्थ? यस्ता फिल्मलाई निरुत्साहित गर्नुपर्छ।

निश भट्टराई
हिमालखबर डटकमबाट

शहरिया युवा र प्लस टु जेनेरेशनलाई तान्न अंगेजी नाममा चलचित्र बन्नु स्वाभाविक भए पनि विषय प्रस्तुतिको शिल्पमा गतिलो काम नगरे पनि यस्ता नाममै जोड दिने गलत संस्कारको विकास भएको छ। कथाको आवश्यकताभन्दा फेसनका कारण जबर्जस्त यस्ता नाम राखेको पाइन्छ। चलचित्रकर्मीले सोच्ने बेला आएको छ।

खडानन्द शर्मा
हमालखबर डटकमबाट

हुम्लाको पीडा
हिमाल (१६–३१ असार) को अन्तिम पानामा प्रकाशित 'चामलको मान' पढेपछि त्यहाँ नपुगे पनि प्रत्यक्ष देखेको अनुभव भयो। त्यहाँका सोझासाझा दाजुभाइ, दिदीबहिनीको पीडाको महसूस भएको छ। मलाई लाग्छ सडक विस्तार नै त्यो अवस्थामा सुधार ल्याउने विकल्प हुनसक्छ। अर्को विकल्प कृषि प्रणालीलाई आधुनिकीकरण गरी उत्पादन बढाउन सकिन्छ। सरकारी, गैरसरकारी तथा निजी क्षेत्र सबै मिलेर वैकल्पिक उपाय अपनाउन सके समस्याबाट मुक्ति पाइएला।

ङिमा पाखि्रन
हिमालखबर डटकमबाट

मधेशबारे गलत बुझाइ
जनताको सवाल उठाउँदै आएको हिमाल विगतमा निकै लोकप्रिय थियो। तर यो बीचमा खोज पत्रकारिताको लागि सरला गौतमको 'मलिन मिथिला' शीर्षकको समाचारले दुःखित बनाएको छ। हो मधेश आन्दोलनपछि केही पहाडिया समुदायका व्यक्तिहरू विस्थापनमा परे। तर त्यही पीडा र दुःखद् क्षणलाई पटक पटक लेख्नुको उद्देश्य के हो? यस्तै समाचार वैशाख अंकमा प्रकाशित भएको थियो 'सम्बोधन चाहियो' शीर्षकमा।

यसरी पटक–पटक एउटै समाचार प्रकाशित गरेर मधेशलाई गलत ढंगले प्रस्तुत नगर्न अनुरोध छ। मधेशमा आज पनि किसानले मल पाउन प्रहरीको कुटाइ खानु परेको छ। नक्कली इन्काउन्टरको नाउँमा हत्या हुन्छ। त्यतातिर किन ध्यान जाँदैन? मधेशका जनता के चाहन्छन् भन्नेतिर पनि हिमाल को ध्यान जानुपर्‍यो।

वीरेन्द्र रमण
जनकपुर

हाम्रो संलग्नता छैन
हिमाल (१६–३१ असार) मा प्रकाशित 'नेताका कलेज' शीर्षकको समाचारमा नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको साउथ वेष्टर्न कलेजमा लगानी रहेको भन्ने कुराप्रति उहाँले आश्चर्य व्यक्त गर्नुभएको छ। कलेजमा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता नरहेको स्पष्ट पार्दै, उहाँले आम पाठकलाई भ्रममा नपर्न आग्रह गर्नुभएको छ।

दीपेन्द्र श्रेष्ठ, स्वकीय सचिव, महासचिवको सचिवालय,
नेकपा (एमाले)

यस गोल्डेनगेट कलेजमा नेकपा एमालेका नेता पशुपति चौलागाईंको लगानी छ भन्ने गलत समाचार संप्रेषणले हामी मर्माहित भएका छौं। यस कलेजका संस्थापकहरू शिक्षाविद् एवं शिक्षासेवीहरू मात्रै रहेको र, कुनै पनि राजनीतिक दलका नेताको संलग्नता नभएको जानकारी गराउन चाहन्छौं।

रमेश सिलवाल, कार्यकारी प्रमुख, गोल्डेनगेट इन्टरनेशनल कलेज, प्रकाशित समाचारबाट पर्न गएको असुविधाप्रति सखेद क्षमा चाहन्छौं।– सम्पादक

भारतीय कम्पनीलाई विमानस्थल
हिमाल (१६–३१ असार) मा प्रकाशित विमानस्थल भारतीय कम्पनीलाई शीर्षकको समाचार पढ्दा 'जुन जोगी आए पनि कानै चिरेका' भन्ने उखानको याद आयो।

भारतसँग १९५० को असमान सन्धि, पारवहन सन्धि, जलस्रोत सम्बन्धी असमान सन्धि, नेपाल–भारत सीमा सन्धि, सुपुर्दगी सन्धि, एअर मार्शल राख्ने भन्ने कुरा भारतले बारम्बार उठाउँदै आएको थियो। त्यसैलाई घुमाउरो पारामा माओवादी सरकारले कायम गर्न खोजेको प्रष्ट हुन्छ। देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल जुन केही दिनअघि एशियाली विकास बैंकको ऋण सहयोगमा नेपाल नागरिक उड्डयन प्राधिकरणले काम आरम्भ गर्ने भन्ने समाचार थियो त्यसलाई बेवास्ता गर्दै किन भारतीय कम्पनीप्रति यति मोह?

न्यूहो लामा ह्योल्मो
हिमालखबर डटकमबाट

comments powered by Disqus

रमझम