भरजन्म घायल

Share:
  
- रामेश्वर बोहरा
माओवादीको हिंसात्मक द्वन्द्वमा सबैभन्दा ठूलो बज्रपात काख रित्तिएको र बुढेसकालको सहारा खोसिएका आमाहरूमाथि परेको छ।
p56
 
आमाको आँशुः २०५७ मंसीरमा
प्रहरीबाट मारिएका छोराको
तस्वीरका साथ १३ असोज २०६९
मा सप्तरी मलेकपुरकी
इनरबत्तीदेवी यादव। १२
वर्षमा पनि उनका आँखा
ओभाएका छैनन्।
तस्विर: श्रवण देव

७० नाघेको उमेर, त्यसमाथि एउटै छोरा पनि बेपत्ता छ। नौ वर्षदेखि छोरा भोजराजको अनुहार सम्झ्ँदै तीन नातिनातिनाको व्यवहार सकी–नसकी धान्नु र फुर्सदमा एक्लै रुनु दैनिकी भएको छ, बाँके कोहलपुर–८ पिपरीकी विष्णुमाया ढकालको। हतियारधारी माओवादीले २५ भदौ २०६० को बिहान बाबुको श्राद्ध गरिरहेका छोरालाई पिण्ड चढाउन पनि नदिई उठाएर लगेका थिए।  

रजगडुको जंगलतिर लगिएका भोजराजलाई केही दिनमै बर्दिया सोरहवाको एउटा कार्यक्रममा माओवादीले 'सफाया' गरेको सार्वजनिक गरेपछि विष्णुमायाले छरछिमेकको सल्लाह र सहयोगमा कुशको शव बनाएर छोराको अन्त्येष्टि गरिन्। बुहारीले वर्षदिनमै दोस्रो बिहे गरिन्। छोराको लाश नदेखेकी विष्णुमायालाई ऊ कतै जिउँदै छ कि जस्तो लागिरहन्छ। छोराको खोजीमा थुप्रै राष्ट्रिय–अन्तर्राष्ट्रिय संघसंस्था चहारेकी उनी माओवादी नेताहरूलाई 'कि सास देऊ, कि लास देऊ' भनिरहेकी छन्।  
 
खडेरीले खेती बिगारेपछि कमाइका लागि भारतको टिहडी गढवाल जान महेन्द्रनगरको बस चढेका बर्दिया मोतीपुर–६ दमौलीका आठ युवकलाई १६ भदौ २०५९ मा बर्दिया राष्ट्रिय निकुञ्जको रम्भापुर चेकपोष्टमा पुगेपछि सेनाले बसको छतबाट झ्ारेर चिसापानीको भीमकाली दल गुल्म पुर्‍यायो। ससुरा सेनामा भएकाले जोगिएका टेङनु थारूले आफूसँग गएका सबै साथीलाई सेनाले मारिसकेको हुनसक्ने खबर दिए। नभन्दै, त्यसपछि सबै हराएको हरायै भए।
 
त्यस घटनामा परेका २४ वर्षीय भवन चौधरी आमा, बाबु र दुई बहिनी पाल्ने एक्ला छोरा थिए। छोरो खोज्दै सेनाका व्यारेक, प्रहरी कार्यालय, जिल्ला प्रशासन, मानवअधिकार आयोगदेखि आईसीआरसी र ओएचसीएचआरसम्म चहारेकी भवनकी आमा रामकृष्णी हिंड्न पनि नसक्ने भएकी छन्। छोराको याद आउँदा उनी नागरिकतामा टाँसिएको धमिलो श्याम–श्वेत तस्वीर हेरेर आँशु खसालिरहेकी छन्। “कहिलेकाहीं त आमा–आमा भन्दै अहिल्यै आइपुग्छ कि जस्तो लाग्छ”, उनी भक्कानिइन्, “मारेकै भए पनि लास त देखाउनुपर्थ्यो नि!”
 
असीम पीडा 
एउटा निर्दयी भनाइ छ― हराएको भन्दा मरेको सन्तान जाती! मरेकाको शोकमा धीत मरुञ्जेल एकचोटि रोएर चित्त बुझ्ाउन सकिन्छ, हराएकाले जीवनभर रुवाउँछन्। माओवादीको हिंसात्मक विद्रोहले विष्णुमाया र रामकृष्णी जस्ता आमालाई त्यस्तै अवस्थामा पुर्‍याएको छ। माओवादीले त्यस अवधिमा पुर्‍याएको भौतिक क्षतिको हिसाब विशेषज्ञहरूले अंकमा गर्लान् र पैसा भए सहजै पुनर्निर्माण होला। तर, आमाहरूले बेहोर्नुपरेको पीडा नाप्ने यन्त्र छैन र विद्रोह समाप्त भएको ६ वर्षमा त्यो गुणात्मक हिसाबले बढिरहेको छ। 

हिंसाकालमा आमाहरूले आफ्नै आँखा अगाडि सन्तान मारिएका दर्दनाक दृश्य देख्नुपर्‍यो। सेनाले बाँके रझेना–२ मदनचोककी भूमिसरा थापाका छोरा दलबहादुर र बुहारी पार्वतीलाई घरैमा गोली ठोक्यो, अन्तिम सास लिइरहेका छोराबुहारीलाई पानी खुवाउन र अस्पताल लैजान समेत दिएन। कुनै पार्टीमा नलागी खेतीपातीमा रमाएका जवान छोराबुहारीको हत्यापछि उनी त्यही घटनामा घाइते भएकी नातिनीका कारण मात्र जिउँदो बसेकी बताउँछिन्।  

p57a
 
विष्णुमाया ढकाल।
तस्विर: यम रावत

सप्तरीको मलेकपुर–५ खुरहुरियाकी इनरबत्तीदेवी यादवका आँखा १२ वर्षदेखि ओभाएका छैनन्। २०५५ सालमा एसएलसी गरेर माओवादीमा लागेको जेठो छोरा विनोद कहिलेकाहीं घर आउँदा उनी 'पढ्दैनस् भने बरु खेती–किसानी गर्, पार्टीमा नलाग्' भनेर कर गर्थिन् र केही नलागेपछि 'बाबु, आफ्नो सुरक्षा गर्नू, भगवानले तँलाई जोगाउन्' भन्दै आधा रातमा बिदा दिन्थिन्। अन्तिम पटक २०५७ असारमा घर आएर 'माय, तु चिन्ता नहि कर, हमरा किछो नहि हेतै' भनेर गएको छोरालाई पर्खंदा–पर्खंदै इनरबत्तीदेवीले सप्तरीको बोदे–बर्साइनमा ऊ मारिएको खबर सुन्नुपर्‍यो, त्यही साल मंसीरमा। “लास मगला पर उल्टे धमकलैए”, उनी भन्छिन्, “हमराके जे दागबत्ति देतियै ओहि बेटाके सद्गत सेहो नहि कर सकलियै।” (लाश माग्दा धम्क्याए! मलाई दागबत्ती दिनुपर्ने छोराकै सद्गत गर्न पाइनँ।) 

त्यसको पाँच वर्षपछि २०६२–६३ को जनआन्दोलनमा उनका पति दशन यादव मधेशमा पहिलो शहीद भए। मुलुकको राजनीतिक आन्दोलनमा शहादत प्राप्त गर्नु गर्वको कुरा होला, तर यसबाट इनरबत्तीदेवीमाथि परेको मारको कथा विकराल छ।  
 
माओवादीका कारण भएको हिंसाको असर नेपाली आमाहरूमाथि नै बढी पर्‍यो। धरपकड र यातना होस् या हत्या र बेपत्ता, आमाहरू नै धेरै पिल्सिए। आफ्नै अगाडि छोराछोरीलाई मारिंदा या थुतेर बेपत्ता पारिंदा उनीहरू मानसिक रूपमा विचलित भए, कतिले मानसिक सन्तुलन गुमाए। द्वन्द्वपीडित आमाहरूका लागि चाडबाड उत्सव हैन, आँशुको सागर बनेर आउने गरेका छन्। “कति आमाहरू आफू मरेर भए पनि केही गरेको भए छोराछोरी जोगिन्थे कि भन्ने पछुताउमा बाँचिरहेका छन्”, द्वन्द्वमा पीडित आमाहरूलाई न्याय दिलाउन क्रियाशील संस्था एड्भोकेसी फोरमकी अध्यक्ष मन्दिरा शर्मा भन्छिन्, “तर द्वन्द्वको यत्रो मुद्दा सामान्य छलफलको विषय पनि बन्न नसक्नु विडम्बना भएको छ।”  
 
नौ महिना गर्भमा राखेर र अढाइ–तीन वर्ष छाती चुसाएर हुर्काएको सन्तान गुमाउनु पर्दा आमाले झेल्ने पीडाको अरूले अनुमान पनि लगाउन सक्दैनन्। द्वन्द्वमा मारिने–बेपत्ता हुनेमा नेपाली समाजमा बुढेसकालको सहाराका रूपमा हेरिने छोराको संख्या धेरै छ। समाजशास्त्री प्रा.डा. डिल्लीराम दाहाल यस्तो सामाजिक परिवेशमा द्वन्द्वले आमाबाबुहरूमाथि झ्न् बज्रपात गरेको बताउँछन्। “काजकिरिया, श्राद्ध आदि गरेर मोक्ष दिलाउने छोरा नै हो भन्ने मान्यता छ”, डा. दाहाल भन्छन्, “एउटै छोरो मारिनु वा बेपत्ता हुनुको पीडा आमाबाबु र त्यसमा पनि आमालाई कति हुन्छ भन्ने कुरा अनुमानै गर्न सकिन्न।” 
 
आमा विनाको संसार  
९ मंसीर २०५९ को झिसमिसेमै बाख्र्रालाई घाँस हाल्न निस्केकी रुकुम गरायला–१ की देउसरी पुनलाई सदरमुकाम खलंगाबाट गस्तीमा निस्केका सैनिकले हानेको गोली लाग्यो। आँगनमै गोली लागेर घाइते उनलाई उपचारका निम्ति जिल्ला अस्पतालमा भर्ना गरियो। उपचार गर्न 'सदरमुकाम बसेको' आरोपमा त्यसपछि उनीहरूलाई गाउँमा बस्न दिएनन्, माओवादीले। गाउँबाट लखेटिएपछि खलंगामा गिट्टी कुटेर आफ्नो उपचार गराउँदै पाँच छोराछोरी पालिरहेकी देउसरीको २२ पुस २०६७ मा मृत्यु भएपछि केटाकेटीको पढाइ छुटेको छ। बुबा  लोकबहादुर दिनरात रक्सी पिएर बरालिन्छन्, छोराछोरीको मतलब गर्दैनन्। कक्षा ९ मा पढिरहेकी जेठी छोरी ललिता गिट्टी कुट्न र माहिली सानु होटलमा काम गर्न थालेका छन्। “आमा हुँदा उहाँ काम गर्नुहुन्थ्यो, हामी स्कूल जान्थ्यौं”, तीन बहिनी र एक भाइको 'आमा' बनेकी १९ वर्षकी ललिता भन्छिन्, “अहिले हामीले काम नगरे भाइबहिनी भोकै पर्छन्।” उनीहरूले सरकार वा अरू कतैबाट कुनै राहत पाएका छैनन्।  
 
p57b
 
रामकृष्णी चौधरी।

आठजनाको सुखी परिवार तहसनहस हुँदा रुकुमकै खारा–३ की भावना ओली पाँच वर्षकी थिइन्। १० फागुन २०५६ मा माओवादीको बैठक चलिरहेको सूचनाका आधारमा प्रहरीले गाउँमा गरेको आगजनीमा मारिने १५ जनामध्ये भावनाका जेठा दाजु लालबहादुर पनि थिए। आफ्नै अगाडि छोरा मारिंदा मानसिक सन्तुलन गुमाएर हराएकी आमा कृष्णालाई खोज्न हिंडेका सोही घटनाका घाइते बाबु नरबहादुरको पनि अत्तोपत्तो छैन। कान्छो दाजु इण्डियातिर भासिए। अहिले १८ पुगेकी भावना भन्छिन्, “खोज्न कहाँ जाऊँ, सिडिओ कार्यालयमा कसैले सुन्दैनन्।”  

द्वन्द्वले आमाको काख खोसेका बालबालिका कति छन्, कुनै आँकडा छैन। यस्तै अबोधहरूका लागि छुट्याइएको राज्यकोषमा नक्कली द्वन्द्वपीडितहरूले लूट मच्चाइरहेका छन्, वास्तविक पीडितहरूलाई चाहिं उल्टो 'नाबालक' भन्दै कानूनी जटिलता र संरक्षकत्वका कुरा झिकेर सरकारी सहयोगबाट बञ्चित गरिएको छ। 
 
आश मरेको छैन  
७ फागुन २०६० मा काभ्रे खरेलथोक–६ मा घरैबाट सेनाले लगेर हत्या गरेको १५ वर्षीया मैना सुनारकी आमा देवीले छोरीलाई न्याय दिलाउन गरेको कानूनी संघर्ष उदाहरणीय छ। छोराछोरी बेपत्ता पारिएका देशभरका आमाले अतिशय पीडामा पनि न्यायका लागि सिंहदरबारमा धर्ना दिए, राष्ट्रिय मानवअधिकार आयोगमा तालाबन्दी गरे। तर, न्यायको दुहाई गरिरहेका यी आमा कति बुढ्यौलीले त कति रोग र शोकले कमजोर बन्दैछन्।  
 
परिस्थिति पीडित आमाहरूले जीवनकालमै न्यायको अनुभूति गर्न नपाउने बन्दैछ। कानून बनाएर न्यायको पहल गर्ने ठाउँमा पीडकहरू हाबी भएका छन्। युद्धकालका आफ्ना जघन्य कर्तुत ढाकछोप गर्न उद्यत सत्तारुढ एमाओवादी न्यायमा पीडितहरूको पहुँच बन्द गर्ने प्रयासमा छ। त्यसैको प्रमाण हो, 'आममाफी' को लविङ। एड्भोकेसी फोरमकी अध्यक्ष शर्मा न्यायका लागि पीडितहरूको अभियानमा राज्य संचालकहरू नै अवरोध बनेकाले न्याय टाढिंदै गएको बताउँछिन्। “पीडित आमाहरूले आफ्नो जीवनकालमै न्याय पाउने सम्भावना घट्दैछ”, शर्मा भन्छिन्, “र पनि, उनीहरूले आश मारेका छैनन्।”  
 
कतिपय आमाले न्यायको ढोका नखुलेपछि प्रतीक्षाका पलहरू काट्ने आ–आफ्नै तरिका अपनाएका छन्। ७० काटेकी बर्दिया नेउलापुर–२ की जगतकुमारी बस्नेत बेपत्ता छोराको सकुशल फिर्तीको लागि देवी भाकल गरेर बसेकी छन्। त्यतिबेला भुरीगाउँमा मेडिकल पसल खोलेका छोरा केशर बस्नेत (३०) लाई २८ फागुन २०५९ मा सेनाले उनकै अगाडिबाट लिएर गयो। छोरो फर्कने आशमा बसेकी उनी भन्छिन्, “मारेकै भए पनि लास पाएर उसको कर्मकाण्ड गर्न सके आफ्नो सास शान्तिले जानेथियो।”  
 
कति आमाले छोराछोरीको जीवन रक्षाका निम्ति उनीहरू हराएकै दिनदेखि पूजाकोठामा अटुट दियो बालेका एड्भोकेसी फोरमकी अध्यक्ष मन्दिरा शर्मा बताउँछिन्। उनका अनुसार, लास नदेखेका अधिकांश आमाहरू आफ्ना छोराछोरी कुनै दिन, कुनै रात वा कुनै बिहान फर्केर आउने चामत्कारिक क्षणको प्रतीक्षामा छन्।  
 
माओवादीकै दशवर्षे हिंसात्मक द्वन्द्वमा झ्ण्डै १४ हजार मान्छे मारिए, एक हजार बेपत्ता बनाइए। अपवाद बाहेक प्रायः सबै घटनामा आमाहरू नै बढी पीडित छन्। समाजशास्त्री प्रा.डा. दाहाल यति ठूलो सामाजिक पक्षलाई ध्यान नदिने र यी आमालगायतका पीडितहरूलाई न्याय नमिल्ने हो भने समाज स्वस्थ रूपमा अगाडि बढ्न नसक्ने बताउँछन्। “त्यसपछि बदलाको भावना जन्मन्छ”, डा. दाहाल भन्छन्, “र त्यसबाट पूरै सामाजिक संरचना खल्बलिन तथा समाज विश्वासको संकटमा फँस्न सक्छ।” 
 
साथमा श्रवणकुमार देव राजविराज र
लक्ष्मण केसी रुकुम
comments powered by Disqus

रमझम