१-३० कात्तिक २०६९ | 14 Oct- 15 Nov 2012

निर्मला आमा

Share:
  
- रुपा जोशी
परिस्थितिले सानैमा घारको अभिभारा बोक्न बाध्य बालबालिकालाई पढ्ने र सीप सिक्ने अवसरको खाँचो छ।
p62
 
निर्मला (दाउरा बोकेको), एक
वर्षअघि मंगलसेन अछाममा।
तस्विर: रुपा जोशी

निर्मला १४ वर्षकी भइन्, पहिले बालविवाहको समयमा भए आमा बन्ने उमेर पुगिसकेकी। तर, उनी योभन्दा कलिलो उमेरमै 'आमा' बनिसकिन्। सात वर्षकी छँदा एचआईभीबाट आमाको मृत्यु भयो, भारत गएका बा फर्केनन्, भएका एक दाजु पनि विरलै घर आउने गर्दथे― दुई वर्षको भाइ सुरेश र चार वर्षकी बहिनी सीतालाई हुर्काउने–बढाउने जिम्मा निर्मलाकै काँधमा आइपर्‍यो। न 'गर्दिनँ' भन्न पाउनु, न 'सक्दिनँ' भन्न!  

यसरी बालखैमा 'आमा' बनेकी निर्मलाको बालापन कता पुग्यो कता। अनुहारमा पीडा झ्ल्किन्थ्यो, ओठमा हाँसो विरलै छचल्किन्थ्यो। चिन्ताले ग्रस्त मनमा कुरा खेलिरहन्थे होलान्― भरेको छाक कसरी टार्ने? भोलि के खाने? दशैं आयो, भाइबहिनीलाई कसरी लुगा छेक्ने? उनीहरूको कापीकलमको खर्च कसरी पुरुर्‍याउने? 
निर्मला भाइ–बहिनीसँग अछामको मंगलसेन गाविसमै बस्छिन्। उनीहरूको बास एउटा घरको कुनाका स–साना दुई कोठामा सीमित छ। बारीको नाममा दुई अंगुलको कान्लो छ। अगाडि एउटा छाउपडी गोठ छ, जसको प्रयोग निर्मला पनि गर्छिन्, नत्र देउता रिसाउँछन्, घरमा सर्प आउँछ भनेर।  
 
घरबाट सदरमुकाम 'बजार' टड्कारै देखिन्छ, तर दाउराको भारी बोकेर जाँदा झ्ण्डै एक घण्टा लाग्छ। त्यहाँ निर्मला दोकानै पिच्छे, 'दाउरा चाहिन्छ?' भनेर सोध्दै हिंड्छिन्। कसैले किनिदिए, एक–दुई दिनको खाना जोहो गरेर घर फर्कन्छिन्। दाउराको चटारो बाहेक भ्याएसम्म छरछिमेकमा ढिकीजाँतो, गोडमेल गरेर अलिकति अन्न र पैसाको जोहो गर्छिन्। 
 
बर्खाको बेला मजदूरी गरेर पनि केही कमाइ हुन्छ। गाउँ वरिपरि कुलो लगाउने–बनाउने र खेतबारीको काम पाइन्छ। पछि फेरि उही दाउराको भर। त्यो पनि झ्न् झ्न् गाह्रो हुँदै आएको छ। दाउरा खोज्न झ्न्–झ्न् पर, झ्न्–झ्न् माथि जानुपर्छ। समय बढी लाग्छ। अघिल्लो दिन दाउरा खोजेर, चिरेर, ठिक्क पारेको गह्रौं भारी बोकेर निर्मला झिसमिसेमै मंगलसेनतिर लम्किन्छिन्। फर्केर आएर खाना बनाउनु, भाँडा मोल्नु, पानी ल्याउनु, लुगा धुनु पर्छ। कामै काम, थकाइ मार्न त अधिकारै छैन जस्तो।  
 
आमा बित्दा निर्मला यति सानी थिइन्, उनलाई आमाको माया र ममताको खासै सम्झ्ना छैन। बा पनि बेपत्ता भए। दाइ–भाउजू कहिले–कहिले आउँछन् र फेरि भारत पलायन हुन्छन्। यो बर्खामा आएर निर्मलाले 'गरीबी निवारण' बाट पाएको बाख्रै काटेर खाइदिए।  
 
आफ्नो जीउ–ज्यान त कसले हेरिदेला भन्ने उमेरकी निर्मलाले बहिनी र भाइको स्याहारसुसारमा स्तनपान गराउने बाहेक आमाले गर्नुपर्ने सबै काम गर्नुपरुर्‍यो। उनीहरूलाई खाना पकाउने, खुवाउने, कुवाबाट पानी ल्याउने, लुगा धोइदिने, नुहाइदिने, स्कूल पठाउने। टुलुटुलु हर्छिन् भाइबहिनी स्कूल गएको।  
 
निर्मलाको बालापनको झ्ल्को मैले पोहोर युनिसेफको अमेरिकी समितिको डकुमेन्ट्री बनाउने सिलसिलामा कुराकानी गर्दा पाएँ। निर्मलालाई पढ्न जाने ठूलो धोको छ, तर गर्न केही सक्नु छैन! अनि त भविष्यको कुरो सोध्यो भने उनी केही नबोली बस्छिन् र निःशब्द हामीलाई नै प्रश्न गरिरहेकी हुन्छिन्― 'के को भविष्य?' 'कसको भविष्य?'  
 
“तिम्रो जीवनको सबैभन्दा बेमोजको बेला कुन थियो?” भन्ने प्रश्नमा 'आमा बित्दा' भन्ने जवाफ आउने अपेक्षा गरेका थियौं। तर निर्मलाले जमिनको धूलो खुट्टाले कोतर्दै सानो स्वरमा भनिन्, “स्कूल जान नपाउँदा!”  
 
“तिम्रो सबैभन्दा खुशीको दिन कुन हो त।” उनले त्यसै गरी मसिनो स्वरमा भनिन्, “स्कूल जान पाएको दिन!”  
 
“त्यस्तो स्कूल जान मन लाग्दोरहेछ, अहिले पनि जान सक्दिनौ र?” भन्ने प्रश्न साह्रै बेकारको जस्तो लागेर होला केही बेर मौन भइन्, अनि सटिक जवाफ दिइन्, “म पढ्न गए हामी भोकभोकै मर्छौं!”  
 
“तिमीलाई भविष्यमा के भइदिए हुन्थ्यो जस्तो लाग्छ?” प्याट्ट जवाफ आयो, “स्कूल जान पाए हुन्थ्यो!”  
 
त्यो फिल्म खिच्ने दौरानमा मंगलसेनको एउटा एनजीओका दयालु साथीले निर्मलालाई स्कूल भर्ना गरिदिने बाचा गरे, स्कूल युनिफर्मको सेट दिए। कत्ति दंग परेर पूरै दाँत देखाएर हाँसेकी थिइन् उनी, त्यो आकाशे रंगको कमिज र गाडा नीलो स्कर्ट पाउँदा!  
 
निर्मलालाई ती साथीले भर्ना गराए। तर स्कूलले उमेर अनुसार एकैचोटि ३–४ कक्षामा नाम लेखाइदिएछ, के टिक्न सक्थिन् र? केही दिनपछि स्कूल जान छाडिन् र उही घरधन्दाको चटारोमा लागिन्।
 
निर्मलालाई नभेटेको एक वर्ष भयो। तर सकेसम्म सोधपुछ गरेर जानकारी लिइरहन्छु। पायक परेको बेला खर्च पठाउँछु ती सानी 'आमा' लाई अलिकति फुर्माइस गर्न। अनि यतैबाट अलि अलि पहल गर्छु, जिल्लाका साथीहरूको मद्दत लिएर, निर्मला र उनी जस्तै सानैमा घरको अभिभारा बोक्न बाध्य 'आमा' र 'बा' हरूलाई अक्षर–अंक चिन्ने र केही सीप सिक्ने अवसर दिलाउन।  
 
खुशीको खबर, शायद तिहारपछि स्कूलको पहुँचबाट बञ्चित किशोरकिशोरीका लागि जिल्ला शिक्षाको पहलमा विशेष अनौपचारिक कक्षा सञ्चालन हुँदैछ रे! अनि बल्ल निर्मला 'आमा' फेरि हाँस्ने र छिनिएको बालापनमा अलिकति भए पनि रम्ने थिइन् होला!
 
(जोशीका यसमा व्यक्त विचार निजी हुन्।)
comments powered by Disqus

रमझम