आमाको प्रतिभा

Share:
  
- डा. सरोज धिताल
आमाहरूको खेर गएको प्रतिभा फर्काउन त नसकौंला, तर छोरीहरुमा त्यसलाई टुसाउन, हुर्किन, झ्याङ्गिन दिन सक्छौं। आमाप्रति प्रेम र भक्ति जनाउने उत्तम र सम्भव माध्यम पनि यही नै हो।
p64
 
चूडाकुमारी धिताल ।

६०–७० वर्षअघिको नेपाली समाजमा एउटी १४ वर्षकी सानी केटीको मनमा के कुरा खेल्दा हुन्? त्यस बेलाकी किशोरी कस्ता सपना देख्दी हो र कस्तो खेलमा रम्दी हो? उसका निम्ति जीवनको केही लक्ष्य हुन्थ्यो? हुने भए कस्तो हुँदो हो? आफ्नै विवाह वा भावी लोग्नेका बारेमा पनि केही कल्पना गर्दी हो? कस्तो कल्पना हुँदो हो त्यो?  

कुनै सन्दर्भ विना यस्ता प्रश्न जन्मिंदैनन्र यिनको उत्तर पाउन पनि त्यति सहज हुँदैन। तर कसरी हो कुन्नि, मेरी आमा (हे.तस्वीर) को किशोरावस्थाका बारेमा मैले धेरै सुन्न पाएको छु।  
 
म सानो हुँदा, आमा मलाई खुवाउनुहुन्थ्यो, नुहाइदिनुहुन्थ्यो, तेल घसी दिनुहुन्थ्यो, कथा सुनाउनुहुन्थ्यो, भाषा सिकाउनुहुन्थ्यो...। आमाको स्पर्श, सान्निध्य र मायामा म हुर्कें। बिहान सबेरैदेखि घरधन्दामा लाग्नु हुन्थ्यो आमा। अलिकति हुर्किसकेपछि, हरेक दिन बिहान आमासित भान्सामा भेट हुन्थ्यो। चुलेसीको 'बैठक' लाई एउटा पाइतालाले थिचेर टुक्रुक्क बसेकी आमाले बिजुलीको गतिमा मसिनो गरी साग, तरकारी काटेको देख्दा मलाई जादू गरे जस्तो लाग्थ्यो। अनि आमा ताप्के वा कसौंडीमा बेस्सरी तातेको घिउमा केही फुराउनुहुन्थ्यो। त्यसपछि तरकारी ओइरिंदाको 'झवाईंयँ' आवाज र त्यसलगत्तै भान्सामा फैलिने मीठो बास्नाको शायद मलाई लत लागिसकेको थियो।  
 
म नजिकै कतै टुक्रुक्क बस्थें। अनि 'आमा, अनि क्या! ... अनि क्या' भन्दै के के सुनाउँथे, के के। त्यो बानी निकैपछिसम्म पनि हराएन। अनेक घटना विवरण, आफूले पढेका कुरा, कसैको ठट्टा आदि सुनाइहाल्थें। कुनै बेला आमा हाँस्नुहुन्थ्यो, कुनै बेला सुन्दै सुन्नुहुन्नथ्यो। कुनैबेला भने र्झ्को मानेर गाली गर्नुहुन्थ्यो, “काम छैन तेरो? खाली भान्सामा बसेर फत्–फत् गरिरहन्छ। जा, पढ्न!” तर आमाले पनि केही सुनाउन भ्याउनुहुन्थ्यो। आमाका अनेक कथा सुन्थें पाउँथें। त्यो बेलामा टेलिभिजन थिएन। कि रेडियो हुन्थ्यो, कि 'फुनबाजा' भनिने ग्रामोफोन। रेडियोमा बुबाले ध्यान दिएर सुन्ने 'खबर' को मेरो लागि अलिकति पनि मनोरञ्जनात्मक मूल्य थिएन। धर्मराज थापाको 'चढ्यो हिमाल चुचुरा, हाम्रो तेन्जिङ शेर्पाले' जस्ता गीत आउँदा चाहिं बुबाको छेउमा घोप्टो परेर दुवै हातमा चिउँडो अड्याएर बेलाबेलामा बुबाको मुख हेरेर फिस्स हाँस्दै सुन्न मजा लाग्थ्यो।  
 
तर, आमाले भनेका कथाले जति रमाइलो अरू केहीले दिंदैनथ्यो। धेरै कथाकी पात्र आमा स्वयं हुनुहुन्थ्यो। त्यस्ता कथाहरू अहिलेसम्म पनि सुनिरहेको छु। आमाका कथाहरू इतिहासका महत्वपूर्ण चित्र हुन्। तिनले धेरै प्रश्न उब्जाउँछन्, र ध्यानस्थ भएर सुन्ने हो भने बाटो देखाउँछन्।  
 
सानी छँदा आफ्ना भाइहरूले जस्तो आमाले पढ्न पाउनु भएन। कारण स्पष्ट छ― छोरीलाई पढाउनुको तुक देख्दैनथे त्यतिबेलाका अभिभावकहरू। तर भाइहरू पढिरहेको ठाउँ नजिकै उभिएर उनीहरूले 'कपुरी क' भन्दा आमा पनि ठूलै स्वरले 'कपुरी क' भन्नुहुन्थ्यो रे! छोराहरू के निहुँ पाऊँ र भागूँ जस्तो गर्ने, छोरीले चाहिं पर उभिएरै पढ्न खोज्ने गरेको देखेपछि हजुरबुबा आफैंले बोलाएर अक्षर सिकाउनु भएछ। छोराहरूले जस्तो किताब त कहाँ पाउनु छोरीले, छुट्टै कागजमा आफैंले वर्णमाला लेखेर पढाउन थाल्नुभएको थियो रे! यसरी आमा साक्षर हुनुभयो। त्यसपछि बाहिरको मास्टर राखेर मामाहरूलाई अंग्रेजी सिकाउँदा पनि आमाले पढ्न रहर गर्नुभयो। तर बाहिरका केटाहरू पनि सँगै पढ्ने हुँदा त्यो क्रम लामो समय चलेन।  
 
समय बित्दै गयो। बालसुलभ चकचक, रमाइलो, बेलाबेलामा मामाघरको यात्रा हुँदै किशोरावस्था टेक्नुभयो आमाले। १४ वर्षको किशोरवयमै विवाह भयो, ३५ वर्षको अधवैंशेसँग। मेरो जागिरे बुबाको यो पहिलो विवाह थिएन, ठूली आमाबाट दिदीहरू समेत जन्मिसक्नुभएको थियो रे!  
 
एक दिन 'दिदी, दिदी, तँलाई बिहे गर्न आएको मान्छेको त लामो–लामो जुँगा रहेछ' भनेर अचानक भाइले भन्न आउँदा त्यो १४ वर्षकी केटीलाई पक्कै पनि विस्मय, डर, खिन्नता, दुःख... अनेक किसिमका भावले छोपे होलान्। किशोरवयका कति सपना भताभुङ्ग भए होलान्। आमाले शायद सुनाउनुभएको छैन होला।  
 
अनमेल विवाह थियो त्यो, तर उसबखतका निम्ति त्यति आश्चर्यजनक थिएन। तीन वर्ष माइतीमा बसेपछि आमा नयाँ घर जानुभयो। माइतीबाट घर गइसकेपछि पनि आमाले पाएसम्म नयाँ कुरा सिक्न र पढ्न चाहनुभयो, देवरसँग अंग्रेजी अक्षर पनि सिक्नुभयो रे! सी ए टी क्याट पनि घोक्नुभयो रे!  
 
केही वर्षपछि म जन्मिएँ। किशोरी आमाको पहिलो सन्तान, जानी नजानी हुर्काउनु भो। श्रीपञ्चमीको एक दिन सरस्वती पूजा गरेर मलाई आमाले नै क ख ग सिकाउन थाल्नु भो। अलिपछि ए बी सी पनि सिकाउनु भयो। दुई एकान दुई, दुई दुना चार भनेर हल्लीखल्ली गर्दै घोक्ने भएँ म― आमाले नै सिकाएर। मेरो पहिलो गुरु, पहिलो परीक्षक, पहिलो साथी सबै आमा नै हुनुभयो। ठट्टा गर्न जिस्किन समेत आमाबाटै सिकें। घुर्की लाउन पनि आमा नै चाहिन्थ्यो!  
 
हरेक तीन–चार वर्षमा बुबाको सरुवा भइरहन्थ्यो। यसरी सरुवा हुँदा आमा साना बच्चाहरूलाई लिएर पहाड घरमा बस्नुहुन्थ्यो। अलि पाको उमेरमा पाएको जेठो छोरो मलाई साथै लिएर बुबा सरुवा भएको ठाउँमा जानुहुन्थ्यो। अरू साना केटाकेटीलाई लिएर जागिरे लोग्नेकहाँ जान आमाले केही समय पर्खनुपर्थ्यो। एक–दुई वर्ष सँगै बसेपछि फेरि बुबाको सरुवा हुन्थ्यो। अनि आमा पहाड घर, म बुबासँग नयाँ ठाउँमा। ६ वर्षको उमेरदेखि मेरो यही क्रम चल्यो र समय बित्दै जाँदा आमासँगको सामीप्य मैले त्यति पाउन सकिन। 
 
त्यसो गर्दागर्दै म घर र परिवारको परम्पराबाट टाढिएँ। पहिले होस्टेलको बसाइले, पछि पढ्न विदेश गएकोले। आमासँगको मेरो संवाद चिठीमा सीमित रह्यो। अहिले जस्तो 'स्काईपि'को के कुरा, टेलिफोन गर्न पनि गाह्रै हुन्थ्यो। परिवारको परम्परागत मान्यताबाट धेरै टाढा हुँदै गएका मेरा सोचहरूले भाइबहिनीलाई समेत प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पार्न थाले। मैले अन्तरजातीय विवाह गरेपछि परिवारमा ठूलै भुईंचालो गयो। आमाको चित्त कति दुख्यो कुन्नि? चित्त दुख्ने भन्दा पनि अरूले के भन्लान् भन्ने र बुबाले कसरी पचाउनुहोला भन्ने पीर धेरै थियो होला। अनेक किसिमले अभिव्यक्त भयो त्यो पीर। त्यसपछि सृजना भएको असहजताको प्रभाव धेरै समय रह्यो।  
 
तर, विद्वानहरूले जगतको परिवर्तनशीलताको कुरा त्यसै गरेका हैनन्। आफ्नी 'खत्री' नातिनी (मेरी जेठी छोरी) को मगर नातिनीज्वाईंसँग अन्तरजातीय विवाह हुँदा आमा मज्जैले सरिक हुनुभयो। 'आधुनिक' स्वयम्बरमा दुलाहा दुलहीले 'शपथग्रहण' गर्दा हाँसेर हेरी मात्र रहनु भएन, 'जातपातका वाहियात कुरा' विरुद्ध सानो–सानो प्रवचनै दिनुभयो। मुसलमान, इसाई, बौद्ध र हिन्दू धर्मगुरुहरूको आशीर्वाद लिएर समावेशिता, सहिष्णुता, सद्भाव र ऐक्यबद्धताको सांकेतिक उद्घोष गरिएको त्यो समारोहमाअनावश्यक रूपमा हजारौंलाई निम्तो बाँडिएको थिएन,नवदम्पतीमध्ये कम्तिमा एक जनाले राम्रोसँग चिनेको र सहज अनुभव गर्ने मानिसलाई मात्र निम्त्याइएको थियो। तिनमा कतिपय हाम्रा नजिकका नातागोता र साथीसंगी पनि परेका थिएनन्। हरेक किसिमले त्यो विवाहले परम्परा तोडेको थियो। तर आमाले गजबसँग साथ दिनुभयो।   
 
आजकल जब म आमालाई भेट्न जान्छु, आफूले भर्खर पढेका नयाँ किताबका कुरा सुनाउन उहाँ आतुर हुनुहुन्छ। आमाका छनोटमा पर्ने किताब कि पौराणिक कथाका हुन्छन्, कि आध्यात्मिक ज्ञानका। जति जति उमेर ढल्दैछ, आमाको सोच झ्न् झ्न् फराकिलो हुँदैछ। बेला बेलामा विद्यमान राजनीतिक अवस्था प्रति कडा र स्पष्ट शब्दमा असन्तुष्टि जनाउन पनि उहाँ पछि पर्नुहुन्न।  
 
एक दिन आमाले आफूले लेखेका केही कुरा देखाउनुभयो। कमजोर हुँदै गएका आँखामा बाक्लो चस्मा लगाएर वर्षौंसम्म छुटेको अभ्यासलाई ब्यूँताउँदै पुरानो बान्कीका अक्षरले आमाले जे लेख्नुभएको थियो, त्यो सुन्दर साहित्य थियो। त्यो पढिरहेको बेलामा मेरो मनमा आएको भावलाई के भन्ने मलाई थाहा छैन। आमाभित्र लुकेको प्रतिभा देख्न पाएर म खुशी थिएँभने त्यत्रो प्रतिभा त्यत्तिकै सुषुप्तावस्थामै खेर गएकोमा दुःखी पनि भएँ। यस्ता असंख्य आमाहरूका असीमित प्रतिभा समयमै विलुप्त भएको आभासले म रोएँ।  
 
स्पष्ट छ, अवसर पाएको भए मेरी आमाले धेरै पढ्न सक्नुहुन्थ्यो। विदुषीको बीज थियो मेरी आमामा। तर १४ वर्षको उमेरमा आफूभन्दा २१ वर्ष जेठो मानिससँग बिहे गरेर, २० वर्ष पुग्दानपुग्दै बच्चाकी आमा बन्न बाध्य उहाँले त्यसपछि छोटो–छोटो अन्तरालमा बच्चाहरू जन्माइरहनुभयोर आठ–आठ जना सन्तानकी आमा हुनुभयो।
 
माभित्रको त्यो विदुषीको बीज कता गयो कता! भित्र लुकेका प्रतिभाहरू प्रस्फुटित हुनै पाएनन्,उकुसमुकुस गर्दै लुकिरहे। बेलाबेलामा ती भान्सामा प्रकट भए, अत्यन्त स्वादिष्ट पकवानका रूपमा। कुनै बेला कपडामा भरिएका सुन्दर फूलबुट्टामा प्रकट भए। बच्चाहरूलाई सुताउन गाइएका गीतमा, केटाकेटीलाई फकाउन सुनाइएका कथामा, आफूले पढेका पुराणका कथाका व्याख्यानमा... ती पोखिइरहे। 
 
आमाहरूको बितेको किशोरावस्था हामी कसैले फर्काउन सक्दैनौं। आमाहरूमा लुकेको त्यो बीज अब टुसाओस् भनेर पनि हामी केही गर्न सक्तैनौं। तर ती बीजहरू जीवित छन् हाम्रा छोरीहरूमा। तिनलाई टुसाउन दिने, हुर्किन दिने, झयाङ्गिन दिने काममा लाग्न भने हामी सक्छौं। त्यो हाम्रो स्वधर्म हो। शायद आमाप्रति प्रेम र भक्ति जनाउने उत्तम र सम्भव माध्यम पनि यही नै हो। 
comments powered by Disqus

रमझम