१-३० कात्तिक २०६९ | 14 Oct- 15 Nov 2012

काम उही तरीका फरक

Share:
  
- जानुका कार्की
मासु बेस्सरी पकाएर खाने काठमाडौंवासीको बानी छ, कसै कसैले नेपालीको आन्द्रै तगडा पनि भन्छन्। नत्र यहाँको मासुले के के गरिसक्थ्यो होला !
p68a
 
अत्याधुनिक प्रविधियुक्त नयाँबजारस्थित
भ्याली कोल्ड स्टोरका व्यवसायी
मासु बनाउँदै।
तस्बीरहरुः मीनरत्न बज्राचार्य
 
स्वीट्जरल्याण्डबाट छुट्टी मनाउन आएकी क्रिष्टिना बेट्टिसलाई 'नेपालमा मासु नखानू' भनेर उहींदेखि सजग गराइएको रहेछ। नभन्दै, काठमाडौंमा बसुञ्जेल उनले फोहोर सडक छेउछाउ जताततै राँगा–खसी काटेर रगत चुहाउँदै ओसारेको र किनबेच गरेको देखिन्। नेपाल छाड्नुअघि उनले ठट्टा गर्दै भनिन् पनि, “यतातिर त जुत्तालाई शोकेस र मासुलाई धूलोमा राखिंदो रहेछ।”  
 
काठमाडौंको मासुको कारोबार ज्यादै जोखिमपूर्ण छ। यस विरुद्ध आवाज नउठेका वा मापदण्ड नबनेका हैनन्, तर पनि लापरबाही हदैसम्म छ। यस्तो अवस्थाका बीच पनि केही व्यवसायीले काठमाडौं उपत्यकामा सफा, ताजा र स्वस्थ मासु बेच्ने अभियान चलाएका छन्।  
 
आइ कालु मिट  
भक्तपुरका कृष्ण खड्गी (३१) ले दाजु बल्लुबलराम (३४) सँग मिलेर काठमाडौं शंखमूलमा एउटा शटर खोलेर शुरू गरेको आइ कालु मिट सेन्टर अहिले चेन स्टोरका रूपमा बानेश्वर, बुद्धनगर र सिनामंगलमा पनि खुलेको छ। “हामीहरू दुवै कालो वर्णको भएकाले पसलको नाम वी कालु राखूँ कि भन्ने लागेको थियो, फेरि दाइको मन बिग्रेला भनेर आइ कालु राखियो”, कृष्ण भन्छन्, “यही नाम अहिले १२ वर्षमा एउटा ब्राण्ड हुनपुगेको छ।”  
 
p68b
 
नयाँ वानेश्वरस्थित आईकालु मिट
सेन्टरका प्रबर्द्धकहरू।
 
आइ कालु सानैदेखि चिटिक्क पर्ने कृष्णकै बानीव्यहोराको जगमा खडा भएको छ। उनले आफू जस्तो मासु खान चाहन्थे, त्यस्तै बेचे। विदेश बसेर आएका एक ग्राहकले भनेपछि पसलमा टायल र सिसा राखे। एक बिहान सडकमा खसी काटिरहेको बेला मन्दिर गइरहेकी एक वृद्धाले 'यसरी मासु काटेको देखेपछि दिनभर नराम्रो लागिरहन्छ' भनेपछि बधशाला भित्र सारे। मासु किन्न आएकी एक महिलाले 'बाख्राको जस्तो छ नि' भनेपछि कामदारसँग खोजीनिती गरे र सप्लायरले खसीसँगै बाख्रा पनि पठाएको थाहा पाएर बाख्राको मासु उसैलाई फर्काइदिए। “यस्तो बेला नाफाघाटाको कुरा हेरिंदैन”, कृष्ण भन्छन्, “आफ्नो जिम्मेवारी र ग्राहकको विश्वासको कुरा आउँछ।” 
'आइ कालु' को सरसफाइको प्रभाव शंखमूल र बुद्धनगर क्षेत्रका अरू मासु पसलमा पनि परेको छ।  
 
भ्याली कोल्ड स्टोर  
हनुमानढोकाका महेश श्रेष्ठ कुखुराको मासु किन्न सधैं नयाँबजारस्थित भ्याली कोल्ड स्टोर पुग्छन्। रामेछापका श्रीकृष्ण घिमिरे, काठमाडौं फुटुङ्गका हरिकृष्ण रावल र धर्मस्थलीका ज्ञानुबाबु बिन्दुकारले २०३८ सालमा शुरू गरेको भ्याली कोल्ड स्टोर ले मासुको तयारीमा अत्याधुनिक प्रविधि अपनाएको छ। साताको एक लाख चल्ला समेत उत्पादन गर्ने यो स्टोरबाट बिक्री हुने ४० प्रतिशत मासु आफ्नै फार्मको हुन्छ।  
 
p68c
 
एच उण्ड एचमा मासु तयार गरिंदै।
 
सरकारले १८ वर्षअघि मासुको स्वस्थता सुनिश्चित गर्न गरेको कानूनी व्यवस्था भ्यालीले पालना गरिरहेको छ। अधिकांश महिला कार्यरत भ्यालीका कर्मचारीको मासिक स्वास्थ्य जाँच गरेर रुघाखोकी लाग्दा समेत बिरामी बिदा दिइन्छ, कुखुरा वा मासुमा संक्रमण नहोस् भनेर। भ्यालीको चिकेन आम उपभोक्तादेखि तारे होटल र अन्तर्राष्ट्रिय उडानमा खाना पस्कने स्काइसेफसम्मको रोजाइमा परेको छ।  
 
गुणस्तर कायम गर्दा उत्पादन महँगो हुँदैन। अन्यत्र भन्दा प्रतिकेजी रु.२० कममा कुखुराको मासु बेचिरहेको भ्यालीका एक प्रबर्द्धक ज्ञानुबाबु बिन्दुकार भन्छन्, “सरकारले बिजुली, पानी र सडकमा सुधार गरिदिने हो भने हामी योभन्दा पनि सस्तोमा बेच्न सक्छौं।”  
 
कान्तिपुर सप्लायर्स 
ओखलढुङ्गाका बुद्धि कार्की (३८) ले बानेश्वरको थापागाउँमा दि न्यू कान्तिपुर सप्लायर्स नामको मासु पसलका लागि टहरा बनाउन २०५२ सालमा भाडामा लिएको जमिन आज उनैको भएको छ। अनामनगरको आफ्नै पसल घरमा मासु बेच्ने उनले थापागाउँको त्यो ठाउँमा व्यवस्थित बधशाला बनाएका छन्।  
 
p69
 
 
१७ वर्षदेखि कान्तिपुर सप्लायर्स का ग्राहक अशोक श्रेष्ठ (५२) सँगै भेटिएका मिजासिला कार्कीले भने, “कुरा पैसाको मात्र हैन, ग्राहकप्रतिको दायित्वको पनि हो।” पशु सेवा विभाग, वाणिज्य विभाग र काठमाडौं महानगरपालिकाको अनुगमनमा पटक पटक प्रशंसित उनलाई गत साउनको निरीक्षणमा वाणिज्य विभागले फ्रिज, एप्रोन र पन्जाहरू दिएर पुरस्कृत पनि गरेको थियो।  
 
पुल्चोक कोल्ड स्टोर  
ललितपुर पुल्चोकका सरजु शाही (४०) ले बाबुले शुरू गरेको मासु व्यवसायलाई फरक तरीकाले व्यवस्थित बनाए। पशु सेवा विभागको दुईदिने तालीममा मासु खानेकुरामध्ये सबैभन्दा संवेदनशील वस्तु भएको बुझ्ेपछि उनले तालीममा आफूले सिकेका कुरा सहयोगीहरूलाई पनि सिकाए, पसलमा टायल लगाए। टायल, पंखा र डिप फ्रिजले मात्र मासुलाई स्वस्थ नबनाउने हुनाले दिनमा पाँच पटक पसलको सफाइ अनिवार्य गराए।  
 
एच एण्ड एच 
नेपालीहरू खानामा मासु बढी मन पराउँछन् र यसको व्यावसायिक सम्भावना निकै राम्रो छ, तर मासुको काटमार, तयारी र बेचबिखन व्यवस्थित नहुँदा व्यवसायी र उपभोक्ता दुवैलाई राम्रो भइरहेको छैन। यो कुरा बुझेका सविन तामाङ, राधाकृष्ण गुणी, शिव गुणी, डा. प्रणव जोशी, नृपेन्द्रनरसिंह खत्री र राजनीतिकर्मी गगन थापाले दुई वर्षअघि गल्फुटारमा एच एण्ड एच (हेल्थ एण्ड हाइजिनिक) नामको मासु पसल खोले। 'स्वस्थ मासु, स्वस्थ जीवन' भन्ने नाराका साथ स्थापना भएको एच एण्ड एचको सामाखुशी र कीर्तिपुरमा शाखा खुलिसकेको छ भने जावलाखेलमा खुल्ने तयारी हुँदैछ। अर्को वर्षसम्म १० ठाउँमा आउटलेट खोल्ने योजना खत्रीले सुनाए।  
 
ब्राण्डको रूपमा स्थापित हुनलागेको एच एण्ड एच मा काट्नुअघि खसी वा कुखुराको स्वास्थ्य परीक्षण गरिन्छ। अनि धेरै दुःख नदिई मारेर रगत फालिन्छ। रगत बाँकी नरहोस् भनेर २० मिनेट जति झ्ुण्ड्याएर राखिने मासु २४ घण्टा माइनस १ डिग्रीमा चिस्याएर बेचिन्छ। विज्ञहरू यस्तै मासुलाई स्वस्थकर मान्छन्। आफूहरूले ग्राहकलाई मासुसँगै स्वास्थ्य पनि बेच्न खोजेको संचालकहरूको भनाइ छ।  
 
आइ कालु, भ्याली, कान्तिपुर, पुल्चोक र एच एण्ड एच सबैले बाहिरबाट देखिने सरसफाइसँगै मासुलाई भित्रैदेखि स्वस्थकर बनाउने उपायहरू अपनाएकाले व्यावसायिक सफलता हासिल गरेका हुन्।
comments powered by Disqus

रमझम