प्रधानमन्त्री आउने घर

Share:
  
- नारायण वाग्ले
p84
 
रविन साय्मि

प्रधानमन्त्री मेरो घरमा पाहुना आउने कुरा पार्टीकै एउटा बैठकमा सुनेको थिएँ। सुरक्षाका कारण यस्तो भ्रमण गोप्य राखिन्छ पनि भनिएको थियो। तर, एक कान, दुई कान भइहाल्यो। हल्ला चलेदेखि घरमा छरछिमेकीको आउजाउ बढेको छ। 

मेरो घर तल मूल बाटो हिंड्नेले सजिलै खुट्याउन नसक्ने गरी घिरौंलाका झालले छोपिएको छ। अब काँक्रो बाँकी रहला जस्तो छैन। आउन ढिलो गरे भने चाहिं अचार चखाउँछु। खुर्सानी हरियै छ। घैयाको चामल मिठै मान्लान्। आफूसँग जे छ त्यही टक्र्याउने त हो नि! आमा भने त्यसै थरथर हुनुहुन्छ। पिंढीमा बसेर उल्टै मलाई सोध्नुहुन्छ, “किन आत्तिरहेको?” 
 
“कमरेड, के कस्तो व्यवस्था हुँदैछ त?” रामशरणले आज पनि जिस्क्याउने छन्। स्कूल लाग्ने बेला भयो होला। उनी पात हल्लिएजस्तो हलुङ्गो गरी हिंड्छन्, मलाई खिप्न छाड्दैनन्। “के गर्‍यो त तपैंको पार्टीले? त्यत्राविधि बन्दूक पड्काएर वर्षौं हिंड्नुभो, आखिर रित्तोहात घर फर्किनुपर्‍यो।”  
 
आमा दश वर्षले बूढी हुनुभयो। सधैं पिलपिल गर्दै मलाई पिंढीमा पर्खिनुभयो। म रात परेपछि एकैछिन टुसुक्क बस्न आउँथें। बुहारी मारिएको खबरपछि झ्न् तड्पिंदै पर्खनुभयो। गाउँमा सजिलै फैलिने हल्लामा म पनि श्रीमतीसँगै भिडन्तमा परेको खासखुस उहाँको कानमा नपरेको होइन। लडाइँमा रहँदा घरिघरि आमाको ख्याल आउँथ्यो, तर त्यो बेला अर्कै तुजुक थियो। नेपालै जितिन्छ भन्ने लाग्थ्यो, ठूलो माद् लागेको थियो।  
 
म आफू भने कहिल्यै मोर्चामा गइनँ, आँत कमजोर छ भन्थे। डोके रेडियो फुक्दै हिंडियो। घटनास्थलबाट वीरताको गाथा गाइन्थ्यो। आफ्नातर्फ जति जना मारिए पनि अर्को पक्ष सिद्दिएको सुनाइन्थ्यो। शत्रुको घेरामा हुँदा पनि उनीहरूले आत्मसमर्पण गरे भनिन्थ्यो। आफ्ना साथी धेरै मर्दा शहादतलाई शक्तिमा बदल्ने भन्दै जोश बढाइन्थ्यो।  
 
श्रीमती भने स्वास्थ्यसेविका भएकाले मोर्चाकै वरपर हुन्थिन्। अरूले बोकेर ल्याएका घाइतेलाई आफूले सकेजानेको औषधीमुलो गर्ने, नसकिने सिकिस्तहरूलाई तत्काल अन्तै रिफर गरिदिने कमरेड नाइटिंगेल नै बनेकी थिइन्, उनी। उनले जति रगत बगेको अरू कसले देख्यो होला र! चिसापानी आक्रमणको बिहान पानीमा रगत बगेको देखेर लुक्दै आएका सैनिकहरूले घाइते योद्दाहरूलाई नदीछेउ उपचार गर्दागर्दै उनलाई गोली हाने। उनी पानीमै ढलिन्। उनलाई बचाउन सकिन्थ्यो, तत्काल बोकेर दौडाएको भए। तर सबैजना दुई रातको बाटो दुई घन्टामै काट्ने गरी आफूआफू दौडिएछन्। त्यस दिनदेखि कैयौं महीनासम्म मैले मोबाइल एफएममा समाचार फुक्न सकिनँ।   
 
आमालाई बुहारी भेटाएको जम्मा एक रात हो। अँध्यारोमा बिरालोझ्ैं आयौं, भाले बास्नुअघि नै निस्क्यौं। आमाले अनुहार छामेर अनि दुईचार बोली सुनेर बुहारीको भेउ पाउनुभयो। गहतको झ्ोलमा आँटा खुवाउनुभयो र छामछाम छुमछुम गर्दै खानेकुराको पोका उनको झोलामा अटेसमटेस हालिदिनुभयो। आमाले आखिरी आशिष दिंदा उनले भनेकी थिइन्, “लडाईं सकिएपछि नर्स बनेर तपैंको उपचार गर्नेछु आमा, तपाईंको जीवन लामो छ।” 
 
स्याउलाले बारेको पार्टी बैठकस्थल अगाडि चौरमा हामीले अबिर दलेका थियौं। छोटो शुभकामना मन्तव्य दिने लहरमा क्षेत्रीयस्तरका कमरेडहरू थिए। हामीले मुट्ठी कस्दै अभिवादन गर्‍यौं। दुश्मन सुदृढ हुँदै गएको अवस्था थियो, त्यो। हेलिकप्टरहरू रातविरात उडिरहन्थे। हाम्रोतर्फ क्षति पनि उत्तिकै बढ्दो थियो। तर, ब्यारेक कब्जा गरेर ल्याएका तेजिला हतियारहरूले पार्टीमा पनि नयाँ रौनक छाएको थियो। 
 
“स्कूल जानुअघि सोधिहालँु भनेर पसेको”, तिनै छिमेकी शिक्षक घिरौंलाको झालतिरकै बाटो घिरौंला जत्रो नाक देखाउन आइहाले, “के छ तपैंंको तयारी?” 
 
“हल्लै हो, प्रधानमन्त्री आउने भन्या”, मैले नाक खुम्च्याएँ। आमाले पछ्यौरा शिरमा राख्दै आँखा तन्काएर रामशरणलाई हेर्नुभयो। उहाँका चाउरी थपिंदै गएका थिए। जो आए पनि आमा भरे हो कि भोलि भन्दै आफ्नो घ्यारघ्यार बढेको सुनाउन तम्सिहाल्नुहुन्थ्यो।  
 
“तिमारु दौंतरी भए'नि एकजना सधैं स्कूल जान्छन्, छोराछोरी हुर्किदै छन्”, उहाँ शुरू हुनुभयो, “मेरो छोरो भने डुकुलण्ठकै भएर गयो। क्यार्ने हो बाबु? म त भरे हो कि भोलि, घ्यारघ्यार यस्तरी बढेको छ।”  
 
“हा आमा”, उनले आँगनमा उभिएरै भने, “यस्ता क्रान्तिकारीकी आमा भएर'नि यस्तो हरेश खाने? तपैं मेरी आमा भन्दा दह्री हुनुहुन्छ।”  
 
“क्यार्नी त नि बाबु, यही छोराको सन्ताप लाग्छ। बूढा चाँडै नखसेको भए'नि यस्तो दुर्गति हुन्थेन होला। घरमा सम्झाउनी कोही भएन। अर्को बिहे गर्न त भन्दा'नि सुन्ने होइन। नातिनातिनाको मुखै नदेखी मर्नी भएँ।”  
 
“हत्तेरी आमा, उहाँको नाम छ पार्टीमा। नेता बन्ने जोग छ, बिहे जाबो पार्टीले नै गर्दिन्छ। तपैं बित्थामा किन सुर्ता मान्नुहुन्छ?” 
“काँ पाएर नेता होओस्”, आमाले मुन्टो बटार्नुभयो।  
 
“प्रधानमन्त्री जो पायो उसको घर आउँछन्? शहीद परिवार भन्ने मान्यता छ अहिले, पदमा नियुक्ति दिनेछन्”, उनले फुर्क्याए, “तपैं हेर्दै जानोस्। म आज पनि तपैंंहरूको बन्दोबस्त कस्तो हँुदैछ भन्ने खसखसले आएको हुँ।” 
 
“मान्छे त बगालका बगाल आइरा'छन्। छोरा त्यसै हड्फिल होलाजस्तो भइसक्यो। यसरी आँगनमा उभिएको उभियै हुन्छ दिनभरि। अर्को मै बूढी छु क्यै लछारपाटो लाउन्न, बाबुहरूले नै सघाइदिनुपर्छ हाम्लाई।”  
 
“हामी छँदैछम् नि! हाम्री जहान आएर भान्छा सम्हालिदिन्छिन्, भाँडावर्तन हामी नै ल्याइदिन्छौं, तपाईंले त एकाघरका पो सम्झिनुपर्‍यो त!” 
 
“त्यै त नि बाबु। छोरो त्यत्रा वर्ष लडाईंमा हिंड्दा बाबुहरूकै त भरथेग थियो नि मलाई। नत्र त यसरी यो दिन देख्न पाउने थिएँ होला र?” 
 
रामशरण हिंडेपछि भित्र पसें। आमा बाहिरै चकटीमा बसिरहनुभयो। अघिदेखि खोजिरहेको घैयाको पोको जतनले अर्को ठाउँ सारें, देखिने ठाउँमा। आमाले आफ्नो थाल मस्काइसक्नुभएको थियो। मेरो पनि मस्काएर दाउरामाथि सुकाएँ। भित्र पस्दापस्दै हेलिकप्टरको आवाज सुनेर हतारिंदै निस्किएँ। दक्षिण आकाशतिर मडारिएको बादलले आखिरी झ्र पानी पारेर मनसुन समापन गर्लाजस्तो थियो। आँगनमा उभिएर घिरौंलाको झयाङभन्दा माथि टाढासम्म दृष्टि पुर्‍याउन आँखामाथि हातलाई अर्ध चन्द्रमा पारें। प्रधानमन्त्री कुनै पनि दिन आइपुग्न सक्छन् भन्ने अरूको कुराकानीले मलार्ई अत्याउने गरेको थियो। आमाले देखिहाल्नुभएछ। 
 
“हा बाबु, तँ फेरि के सुनेर झ्स्किइस्? गुहेकिरो कराएको होला, आइज यहाँ पिंढीमा सुस्ता।”  
 
अघि भर्खरको आँटाले पेट गह्रुङ्गो भइरहेकै थियो। खाँबोमा अडेस लाउँदै थ्याच्च भुईंमा बसेर दुई औंला चलाउँदै थिएँ, उँघेछु।  
 
तन्द्रामा मनरी आइपुगी। लाम्चो नाक, तिखा आँखा, खिरिलो ज्यान भएकी उसको भूमिगत नाम 'उडान' थियो। उसले कस्सिएर प्यान्ट लगाएकी थिई। ऊ चिनियाँ जुत्ता चिप्ल्याउँदै चिसापानीको उकालोमा एकजना घाइतेलाई मल्हमपट्टी गर्दैगर्दै रूखको जरामा सुस्ताउन के टुसुक्क बसेकी थिई, चारैतिरबाट सैनिक पोशाकमा सुगाजस्ता चराहरू ओइरिए। म हेर्दैछु, तिनीहरूले उसलाई चुच्चाले कोतर्न थाले। उसले ऐया भनेको झ्न् झ्न् सुन्दै जान्छु, चराहरू झ्न् कोतर्दै जान्छन्। उसको चित्कारसँगै मेरो ढुकढुक बढ्दै मुटु फुट्ला जस्तो हुन्छ। हात बढाएर चरा धपाउन खोज्छु, दुबै हात त्यही रूखको जरामा बाँधिएका छन्। ऐंठनले एक्कासि चिच्याउँछु। 
 
“फेरि छातीमा हात राखेर निदाइस्?” आमा कराउनुभयो, “तेरो सास्ती यस्तरी बढेको छ, बरु मन्त्री नआएकै जाती।”  
 
एकछिन पछि खुट्टा तन्काउन गाउँ निस्किंदा चप्पल लगाउन भुलेछु। तीन चार जना छिमेकीको माझ्मा पल्लो डिहीका घलेदाइ हतारमा उभिएरै दुःख फुकाइरहेका रहेछन्। उनले भनेको खुट्याउन मलाई केही बेर लाग्यो। उनको छोरा साउदीमा मरेको खबर आएको रहेछ। शव ल्याउन पच्चीस पचास रुपैयाँ उठाउन हिंडेका रहेछन्। दौडिंदै घर आएर प्यान्टको खल्ती टक्टक्याउँदै भएजति पैसा ल्याएर दिएँ।  
 
“लौ न बाबु, तपाईंको घरमा प्रधानमन्त्री आउन लागेका रहेछन्, मलाई तपैंले यो पैसा नदिनुस्, बरु मेरो छोराको बाकस ल्याउने व्यवस्था गर्न भनिदिनुस्, त्यो नै मलाई ठूलो रिन हुनेछ।” 
 
“त्यो त हल्लै हो दाइ”, मैले भनें। 
 
“बरु पार्टीमा कुरा चलाएर सरकारसम्म उहाँको पुकारा पुर्‍याउनुपर्‍यो”, अर्का छिमेकीले सुझाए।  
 
म हस्याङफस्याङ गर्दै कुइनेटो पूर्वको घरमा 'विष्फोट'लाई भन्न गएँ, तर उनी पार्टीले बोलाएर जिल्ला गएका रहेछन्। अनि घर फर्किएर फेरि आमासँग दश, बीस रुपैयाँ मागेर चप्पल लगाइवरी देउरालीतिर उक्लिएँ। त्यहाँको पसलबाट विष्फोटलाई फोन गरेर घलेदाइको मर्का टिपाइदिएँ। पुछारमा मसिनो स्वरमा सोधें, 
“प्रधानमन्त्री हाम्रो गाउँतिर आउने हल्ला कत्तिको सत्य हो कमरेड?” 
 
“हो, तर कहिले, कसरी भन्ने ठेगान छैन भन्ने सुन्छु, हामीलाई खबर गर्लान् नि!” उत्तर आयो। 
 
फर्किंदा चौतारामा कुशप्रसाद काकाले कुरा कसलाई पुर्‍याइयो भनेर सोधे। बूढाले 'विष्फोट' भनेर चिन्थेनन्। 
 
“चित्तराजलाई भन्दिएको छु काका।” 
 
“ए उनलाई भनेपछि त काम पटिन्छ”, बूढा ढुक्क भए।  
 
म ओरालोतिर लाग्दा उनीहरूले विष्फोटको प्रगतिको चर्चा थालिसकेका थिए। “चित्ते कति चतुर छ, पल्लो पहाडमा सडक खन्न दुईटा डोजर भाडामा लगाएको छ, काठमाडौंमा घडेरी जोडिसकेको छ, अर्को साल त घरै ठड्याउला। छोराछोरीलाई बेसीशहर लगेर बोर्डिङमा राखिसकेको छ।”  
 
“गर्न नसक्ने त यही बाबु होला पार्टीमा लागेर। श्रीमती पनि गुमायो।” 
“यो जमानामा डोके रेडियोमा काम गरेर के नाप्न सकिन्छ त?” 
 
“ठाउँमा आफ्नो मान्छे नभई कोही अघि बढ्न सक्दैन। यस्ता लट्ठक त देशभरि कति होलान्, कति!” 
 
घरमा दुईजना आइसकेका थिए। साँझ्सम्म भीड बढ्दै जानेछ। एकजना हुद्दराज हुन्, अर्कालाई चिनिनँ। दुवैले सिफारिस गराउन खोजेको चाहिं काठमाडौंमा पढिरहेका छोराहरूलाई राम्रो ठाउँमा जागिर लगाउने भन्ने थियो। कसैको छोरालाई कतार पठाउने पैसा भएन, कसैकी छोरीलाई नर्स पढाउने भनेको ठाउँमा आफ्नो मान्छे छैन। कोही युद्ध पीडित राहत माग्ने, कोही बेपत्ताका परिवारले सास वा लास खोजिदेऊ भन्ने, कोही मल पाइएन भन्ने, कोही जातीय मुक्तिका लागि संघीयता भन्ने त कोही छुवाछूत हटाउने अभियान भन्ने। मैले यस्ता अनेक थरी भनसुन टिप्न छाडिसकेको थिएँ।  
 
रामशरण स्कूल सकेर फेरि पस्नेछन् र दोहोर्‍याउने छन्, “मलाई कुनै भनसुन गर्नु छैन, तपैंको केही राम्रो देख्न पाए पुग्यो। तपैं र म त सँगै हुर्के बढेका तँ तँको साथी। भूमिगत भएदेखिन् न हो हामी तपैंमा उक्लिएको। मलाई अपहरण गरेर पहिलो बास पुर्‍याउँदा तपाईंको जोर चलेर नै फर्किन पाएँ। त्यो गुन त म कहिले बिर्सुंला र?” 
 
गुहेकिरो भनेको त एक दिन साँच्चै हेलिकप्टरको आवाज बढ्यो। मैले त्यस्तो आवाज सुन्दै कति वर्ष जंगलमा बिताएँ। हत्तपत्त घिरौंलाको झयाङ छेउमा उभिएर आकाशमा दृष्टि लाएँ। आमा पनि पछिपछि आउनुभयो। पल्ला घरतिरका केटाकेटी मेरै घरतिर सोहोरिए। आवाज बढेपछि रामशरण र श्यामप्रसादको परिवारसँगै रेशमका बूढा बाआमा पनि हाम्रै आँगन आए। मैले जतनले राखेको जुम्ली गलैंचा ल्याएर पिंढीमा बिछ्याइसकेको थिएँ। आमा र रामशरणकी श्रीमती भान्सा मिलाउन भित्र पसेपछि हामी सबै चौतारातिर उक्लियौं।  
 
चौतारामाथि भलिबल चौरमा सेनाको हेलिकप्टर ओर्लिने गरेको थियो। त्यहाँदेखिन् उनलाई हिंडाएर ल्याउनुपर्ला। गाउँको वृत्तान्त भन्न जो पनि तम्सिहाल्छन्। मलाई बीचमा पारेर उकालोमा हस्याङफस्याङ गरिरहेका सबैले 'ल है मेरो पुकारा सुनाइदिनुपर्छ नि' भन्दै झ्न् अत्याइदिए। अपरान्हको पातलो हावा र पहंेलो घाममा गड्गडाउँदै हेलिकप्टर होचिन थाल्यो। घरि हिंड्दै घरि अडिंदै गर्नेहरू 'ऊ मैले प्रधानमन्त्रीलाई देखें' भन्न थाल्दा म भने खल्खली पसिना चुहाउँदै केही नबोली हिंडिरहें। तर, हेलिकप्टर चौतारोमाथि एक फन्को लाएर देउरालीतिर सोझ्ियो। त्यहाँको भलिबल चौर अझ् फराकिलो भएकाले पाइलटले त्यता लगेका होलान्। 
 
हामी सबै देउरालीतिरै उक्लियौं। रातो माटो, भत्केको बाटो, प्रधानमन्त्रीलाई कसरी हिंडाउने भन्ने चिन्ता थपियो।  
“चिन्ता गर्नुपर्दैन, गार्डहरूले बोकेरै ल्याउँछन्”, रामशरणले भने।  
 
देउरालीको भलिबल चौरमा कमिलासरह मान्छे थुप्रिसकेका थिए। प्रधानमन्त्रीसँगै विष्फोट पनि ओर्लिए। गार्डहरू हस्याङफस्याङ गर्दै अघिपछि लाग्दा देउरालीका पसले र गाउँलेहरू फूलपाती र कतिपय मालासमेत टक्र्याउन लाइन लागे। हाम्रो गाउँतिरको हूलको अगाडि मैले पसिना पुछें। प्रधानमन्त्रीलाई कतिले नमस्कार गर्दै थिए, कतिले लालसलाम भन्दै थिए। म चाहिं हातै मिलाउने सोचिरहेको थिएँ।  
 
कालो टोपी, कालो कोट, नीलो कमिज र खैरो प्यान्टमा सजिएका प्रधानमन्त्रीले मुसुमुसु हाँस्दै फूलपाती र माला लिइरहे। मान्छे धेरै भएकाले होला विष्फोटले कानमा खुसुक्क केही भनेपछि प्रधानमन्त्रीले फूल दिन बाँकी सबै र हामीतिर हात हल्लाएर एकैचोटि बिदाइको संकेत गरे। विष्फोटले तत्कालै प्रधानमन्त्रीलाई देउरालीतिरको बाटोमा डोर्‍याए। एकैछिनमा थाहा भइहाल्यो, प्रधानमन्त्रीको बासको प्रबन्ध छोरा र बुहारी मारिएका शिवदत्तको घरमा भइसकेको रहेछ। सबैजना सवारीको पछि लागे। म लुसुक्क आफ्नो घरतिर फर्किएँ। यताउताका रूखहरूले साँझ्को हावा खेलाउँदै ओरालोमा मलाई गिज्याइरहेका थिए।
comments powered by Disqus

रमझम