फिलिम

Share:
  
- लेनिन बञ्जाडे
p91
 
रविन साय्मि

“बसन्ते, एक... एक... एक ही रास्ता लाग्यो ...।” 

रमेशले एकाएक गाउँ थर्कायो। एक हप्तादेखि चित्रहार मा अजय देवगन र रविना टण्डन नाचेको हेर्दा–हेर्दा हामी वाक्क भइसकेका थियौं। अजय देवगनले फूल और काँटे देखि रमेश र मेरो मनमा हुन्डरी ल्याएको थियो। उसले बन्दूक भिरेका पोस्टकार्डहरूले बजार पिटेका थिए। रमेश र म उसका 'डाइहार्ट फ्यान' भएका थियौं।  

“विद्यानाश?” 
 
“आम्मापोइ ...। कस्सोनाले छिरिसक्या थें, त्यस्का बाउ गजेले देखिहाल्यो”, दायाँतिर कन्सिरी देखाउँदै रमेशले भन्यो। 
 
“या... मसँग त दुईरुप्पे छ, हाप्ट्यामबाट छिर्छु”, मैले दाहिने हात मुठी पारेर दायाँ कुहिनो पछाडि हुत्याएँ। 
यस्तो उल्लासमय खबर सुनाउन वायुवेग भएर आएको रमेश अनायासै ओइलायो। ऊसँग पैसा थिएन। 
 
“तँ जा, म ढोकामा आउँछु। ढोकैनेरै बसेस् नि, पापीहरूले आँखा खाइदेलान् फेरि।” 
“ल। बरु भेली (सक्खर) ल्याएर आएस्, फर्किंदा चिउरासँग खानुपर्छ।” 
 
घोराहीको बीच बजारमा थियो, राप्ती हल। फिल्म हेर्नेहरू गेट बाहिरको डुङडुङ गन्हाउने नालीलाई सराप्दै फर्कन्थे। हलभित्रबाट आउने पिसाबको कुलो पनि पुरानो पिनास हटाउने खालकै थियो। हलको ढोकामा टिकट जाँच्न बसेको हुन्थ्यो– गजवीर। उसका चनाखा आँखाहरू हामी जस्ता घुसपैठलाई खोजिरहेको हुन्थ्यो। हलभित्र पनि टर्च बालेर खोज्थ्यो, टिकट नलिएको फेला पार्दा ट्वाइलेटमा लगेर थुनिदिन्थ्यो।  
 
रमेशकी आमा थिइनन्, दिदी पार्वती र कान्छी आमासँग बस्थ्यो। कान्छी आमा डल्ली भएकीले हामी 'घैंटे दिदी' भन्थ्यौं। रमेशले उनीबाट कहिल्यै आमाको माया पाएन। माया गर्ने दिदी पनि कहिलेकाहीं सौतेनी आमाको कुरा सुनेर उसैलाई भकुर्थी। 
 
उमेरले ११ वर्षका हामी गोली (गुच्चा)मा गाउँभरि कुख्यात थियौं। हामी सबैसँग भिड्थ्यौं, जित्थ्यौं र फेरि उनीहरूलाई नै गोली बेच्थ्यौं। त्यसको उद्देश्य हुन्थ्यो– राप्ती हलमा चार रुप्पेको टिकट किन्नु। दुई रुप्पे भयो भने गजवीरलाई फकाएर हाफटाइममा छिर्थ्यौं। हर दिन चार र दुई रुप्पेकै तनाव हुन्थ्यो। गाउँका साथीहरू हामीसँग गोली खेल्न हच्कन्थे र हाम्रो आम्दानीको बाटो सुक्थ्यो। अनि अरू गाउँ चहार्थ्यौं र जितेरै फर्किन्थ्यौं। रमेशले जितेको मध्ये बढी पैसा खाजामा खर्चिन्थ्यो, म फिल्ममा। घैंटे दिदीले उसलाई हप्तामा चार दिनजति खानै नदिएर लखेट्थिन्। उसलाई यसरी हेलाँ गरेको देखेर मेरा कन्सिरी तात्थे!  
 
“ए रमेश, तेरी आमाको भुँडीमा एउटा टुटी झ्ुण्ड्याइदिम् न, लास्टै खिसखिस गरिन्”, एकदिन मैले भनें। तर, सौतेनी आमालाई माया गरेर हो या मैले होच्याएको ठानेर, रमेश मसँग तीन दिन बोलेन। यी तीन दिन सग्ला तीन जुनी बराबर थिए। 
 
घरबाट लखेटिनेमा म रमेशभन्दा कम थिइनँ। सिंगो खानदानमै मजत्तिको फटाहा कोही निस्केको थिएन। घरको जुनसुकै कुनामा लुकाएको पैसा पनि म भ्याइदिन्थें। गाउँका सर्वाधिक लठ्ठक गोलीबाजको सूचीमा टप फाइभभित्रै पर्थें। रमेश पनि सूचीबाट कहिल्यै बाहिरिएन। हामी दिनभर गोलीमा रमाउँथ्यौं। फिल्मको टिकट किन्ने पैसा पुग्दा १२–३ को शो हेर्थ्यौं। दोस्रो शो हेरेर ढिलो घर जाँदा मलाई आमाले बाँसमा बाँध्थिन्। कोही कोही बेला फुत्किएर भाग्दा गाउँको पुछारसम्म लखेट्थिन्। आमाको दायाँ गालामा आगोले पोलेको टाटो थियो। जहिल्यै डल्लाले हान्दै लघार्दा रीसले भाउन्नै हुन्थें र 'टाटी' भन्दै चिच्याउँथें। आमा तरर्र आँशु झार्दै फर्किन्थिन्, म पनि सुँक्कसुँक्क गर्थें। 
“हेर्दाहेर्दै बसन्ते काम नलाग्ने भो!” एक बेलुकी बुबासँग आमाले कुरा लगाइरहेको सुनें, “अब बोर्डिङमा हाल्दिम्, यत्तिकै त सर्वस्व हुन्छ।”  
 
म खुशीले हुरुक्क भएँ। म पनि चाहन्थें टाई लगाएर बोर्डिङ स्कूल जाऊँ। छरछिमेकका साथीहरूले टाई कसेर ब्याग बोकेको देख्दा म डाहले गलक्क पाक्थें। भाइ त पहिलेदेखि नै बोर्डिङ जान्थ्यो, अब दिदी र म पनि बोर्डिङमा भर्ना भयौं। गोली खेल्ने र चोर्ने बानी चाहिं छुटेन।  
 
‌एकदिन घरमा हल्लीखल्ली भयो, दिदीको ५०० जति भएको खुत्रुके रित्तिएछ। कामै नलाग्ने एउटा पाँच रुप्पेको नोटबाहेक सब गायब। भाइ सानो भएकोले कसैले शंका गरेन, बाआमाले चोर्ने कुरा भएन, खुत्रुके दिदीकै भइहाल्यो।
 
“बसन्ते ह्याँ आ।”  
म लुरुलुरु आमाको अगाडि उभिएँ। 
“यो भुर्कीको पैसा काँ हालिस्, खुरुक्क भन् नत्र तेरा हड्डी भाँच्छु।”  
 
“मलाई के था? लगे पनि त्यत्रो ५०० लग्छु त मैले? जहिले नि मलाई मात्रै देख्ने!” मैले निन्याउरो मुख लगाएँ, “ऊ त्यत्रो भ्वाङ र'छ, मुसाले लग्यो होला!” 
आमाले खुत्रुकेतिर हेर्नुभो, त्यसमा दुई इञ्च जत्रो प्वाल थियो।  
“त्याँ हेर्नुस्, नोट पनि धुजाधुजा भा'छ, मुसाले नै टुक्रा पारेको हो।”  
 
अब आमाको शंका मुसातिर सोझियो।
 
त्यो पैसाले मैले आँधीबेहरी, आँखें, दिल है बेताब, डर, बाजीगर, दामिनी, अनाडी, गर्दिस, लुटेरे, खलनायक जस्ता फिल्महरू भ्याइसकेको थिएँ। पैसा हराएपछि पहिलो निशाना आफू बन्ने पक्का भएकोले मैले खुत्रुकेमा फराकिलो दुलो र पाँच रुप्पेको नोट धुजाधुजा पारेर छाडेको थिएँ। त्यसपछिका वर्षमा त्यस्ता अरू दुइटा खुत्रुके फुटे, आमा र दिदीले मुसालाई सरापी रहे।
 
एक ही रास्ता लागेको दिन आमाले बिहानै भकुरेपछि रमेश भात नखाई स्कूल गएको थियो। फर्किंदा राप्ती हलमा बडेमानको नयाँ पोस्टर देखेर छिर्न खोज्दा गजवीरले कन्सिरी समातेर हुत्याइदिएछ। मसँग दुई रुप्पे भए पनि दुवै जना चरमा गयौं।  
 
“ऐया, मार्‍यो कुकुर्नीको छोरोले।”
 
हलभित्र अजय देवगनको सेकेन्ड फाइट चलिरहँदा रमेश एक्कासि चिच्यायो। एकमाथि अर्को खप्टिएर चरबाट हेरिरहेका सबै हुत्तियौं। रमेशभन्दा माथि अरू दुईजना थिए, त्यसपछि म।  
 
“तेरा बाउको के खाइद्या छम् र माटो हाल्छस् ए ... ? तँ पुर्ने त होस्, पख् न साले, आम्मापोइ छाड्दिनँ”, देब्रे आँखा छोपेर रमेश करायो।  
 
हलको उत्तरतिर नालीछेउको ढोकाको तीन इन्चजति चरबाट हामीले यसैगरी लगभग ५० फिल्म पूरै भ्याइसकेका थियौं। फाइट र गीत मात्रै त कति हो कति! प्रत्येक सिन र डाइलग कण्ठ हुन्थे। चरमा आँखा टाँस्ने ठाउँ नपाउँदा त्यत्तिकै उभिएर हिरो सँगसँगै डाइलग बोलिन्थ्यो। टिकट काटेर पसेकाहरू चरबाट हेर्नेको आँखामा माटो फाल्नुलाई बहादुरी ठान्थे। चरबाट आधा पर्दामा आधा सिन हेरिरहँदा कतिखेर आँखामा झयाप्प माटो पर्थ्यो, ठेगान नहुने। त्यसपछि गालीको वर्षा हुन्थ्यो। टिकटमा छिर्दा हामी पनि चरबाट हेर्नेको आँखामा नबिर्सिकन माटो फाल्थ्यौं।
 
“कुकुरहरू!” रमेशले आँखा खोल्नै सकेको थिएन। मैले नालीछेउको ड्रमको पानी ल्याएर छ्यापिदिएँ। 
“भो नकरा, त्यसलाई भोलि यै नालीमा पुर्नुपर्छ।”  
 
“भोलि हैन, अहिले निस्किएला नि तीन बजे! पख् न!”  
रमेशको अड्डीले मलाई गलायो। लडाइँझ्गडा भनेपछि मेरा नौ–नाडी फतक्क हुन्छन्। पुर्नेको सप्रेको ज्यान सम्झ्ेर मेरो मुटु जोडले धड्कियो। देव्रे आँखा चिम्म गरेर दाहिने आँखाले हेरिरहेको रमेशलाई देख्दा भने मलाई जोडले हाँसो उठ्यो।
 
“तँ त अशोक होन्डा जस्तै देखिइस् यार!”  
“तँ पनि मर्लास्, हल्ला नगर धेरै।” उसले थर्काएपछि मलाई कलेजो बटारिने गरी हाँस्न सजिलो भयो। 
“पुर्नेलाई पछार्लास् त तैंले?”
 
“पछार्ने मात्रै हैन, त्यसले आज बाउको बिहेमा पञ्चेबाजा बजाउँछ।”
 
मेरो हाँसो रोकिएन। रमेशले जोडले हुत्ताइदियो। तीन बजे फिल्म छुट्यो। हलबाट निस्केको भीड बीचमा पुर्ने अर्थात् पुरनकुमार गुप्ता पनि देखियो।
 
“ओए हरामी, किन माटो हानिस्?” रमेशको देब्रे आँखा अझ्ै टालिएको थियो। 
“किसको हरामी भनिस्?” हिन्दी लवजमा पुर्ने गर्जियो, “मैले हालें, के गरिलिन्छस्? तैंले नि अस्ति हालेथेनस्?” 
 
उमेरले जेठो भए पनि पुर्ने रमेश जत्तिको हक्की र ज्याद्रो थिएन। रमेशले सीधै थुतुनोमा मुड्की बजारिहाल्यो। मेरो हंसले ठाउँ छाड्यो। भर्खरै अजय देवगनको एक्सन हेरेर निस्किएको पुर्नेले पनि किक् हान्यो। एक आँखाको भरमा युद्धमा उत्रिएको रमेशको देब्रे गाला पुक्क भयो। 
 
“साले कुकुर्नीको छोरो, भेली बेच्छु भनेर फुर्ती लाउँछस्?” पुर्नेको घाँटी अँठ्याएर रमेशले वर्गीय र क्षेत्रीय गाली गर्‍यो, “साले बिहारी ...।”  
लल्याकलुलुक भएको पुर्नेलाई केटाहरूले छुट्ट्याए, म चाहिं छेउ परिनँ।
 
“मार्दिन्छु साले”, दुई जनाले समातेको हात उछिट्ट्याउँदै रमेश चिच्यायो, “छाड् साला, यसलाई आज कटुवा खोलामा लगेर पुर्दिन्छु।”
 
पुर्नेका मुखभरि चोट थिए। गजवीरले दौडिंदै आएर उसलाई लग्यो। उसले कहिलेकाहीं भेली र चिउरा ल्याइदिएर गजवीरसँग दोस्ती जमाएको थियो। 
यसरी हाम्रो एक ही रास्ता को पहिलो शो छुट्यो।
 
बेलुकी रमेशको घरमा चर्को हल्लाखल्ला सुनियो।  
 
“यो कुकुर्नीको छोरोले मलाई बाँच्न नदिने भो, तेरी आमाले के छोरो पाई, थुक्क कुलङ्गार!” घैंटे दिदी चिच्याएको प्रष्टै सुनिन्थ्यो। “तँलाई हरिया बाँसमा चुइँकाउनी, मैले के पुर्‍याएकी थिइनँ र गुन्डागर्दी गर्ने भइस्? खै पार्वती दाम्लो ले, यसलाई बाँधेर खारखोलीमा बगाइदिन्छु।”
 
पार्वती दाम्लो लिन गई। रमेश पनि तथानाम गाली गर्दै आमालाई जोडले हुत्याएर निस्क्यो, पछि–पछि दौडिएकी दिदीको गालामा एक मुक्का बजायो। पार्वती रुँदै फर्किई। 
“ए बसन्ते, बसन्ते ...।”  
 
राति जाने ठाउँ कहीं थिएन। रमेश हाम्रै घरको पेटीमा आएर बिस्तारै करायो।
 
म सुटुक्क बाहिर आएँ। उसको गाला सिंगै सुपारी हालेजस्तो भएको थियो। एउटा आँखा पाकेको र अर्को काँचो टमाटर जस्ता थिए। 
“अलिति भात दे न, मस्तै भोक लाग्यो यार। बरु त्यो १२ रुप्पे दिनुपर्दैन, यसैमा सुलाएस्।”
 
उसले मलाई तीन वटा फिल्म हेराएको १२ रुप्पे सम्झायो, म अवाक् भएँ। विस्तारै भित्र भान्सामा गएर प्लास्टिकमा एक डल्लो निस्तो भात ल्याएर दिएँ। उसले कपाकप खायो– आफ्नो जिग्रीले बेचेको बासी भात।
 
त्यसको ६ दिनपछि रमेश फेरि गाउँ थर्किने गरी करायोः “बसन्ते!! गुमराह लाग्यो!!!” 
comments powered by Disqus

रमझम