गर्व

Share:
  
- रवीन्द्र समीर
p92
 
रविन साय्मि

विश्व सम्मेलनको अन्तिम साँझ्, सात तारे होटलमा भव्य पार्टी। सधैं औपचारिक भाषण गर्ने राष्ट्रप्रमुखहरू मदिराको चुस्कीसँगै अनौपचारिकतामा पोखिंदा हलुङ्गो महसूस गर्दै छन्। भव्य हलको एउटा कुनामा चालु मदिरा बहसः 

“हामी के कुरामा कमी छौं?” 
“तिमीहरू हाम्रा लागि मगन्ते जस्तै हौ।” 
 
“विश्वको सर्वोच्च शिखर सगरमाथा हामीले तिमीहरूसँग मागेको हो?” 
“पृथ्वी बन्ने क्रममा सगरमाथा आफैं उत्पत्ति भएको हो, फुर्ती नलगाऊ।” 
 
“तिमीहरूले शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध हाम्रो देशमा जन्माइदिएका हौ?” 
“लुम्बिनी पछि नेपालमा परेको हो। यसमा तिमीहरूको केही भूमिका छैन।” 
 
“हाम्रोमा हिमाल, पहाड, तराईको अतुलनीय भौगोलिक–जैविक विविधता छ, कुरा गर्छौ?” 
“तिमीहरूले प्रकृतिको यो सिर्जनालाई पनि जोगाएर राख्न सकेनौ!” 
 
“नेपाल वीरहरूको देश पनि हो।” 
“नेपाल मजदूरहरूको देश हो।” 
 
“तिमीहरूका उद्योग मालिकका भरमा चल्छन्?” 
 
“तिमीहरू जस्ता २० मजदूरको काम एउटै रोवोटले गर्छ। तिमीहरूको देशमा गरीबीले मान्छे मर्न लागे भनेर मात्र रोजगारी दिएका हौं, हामीले। हामीले त्यति पनि ठाउँ नदिएको भए तिम्रो देशका युवा आपसमा बन्दूक हानाहान गरेर सकिन्थे। हामीले जीवन दिएका छौं, के ठानेको?” 
 
“तर, पहिचान दिएनौ!” 
 
“तिमीहरूलाई पहिचानको के काम?” विकसित देशका एक राष्ट्रप्रमुखले मुख विकृत बनाए, “तिमीहरूले आफ्ना जनतालाई रोग, भोक, शोक, गरीबी, अशान्ति, असमानता बाहेक के दियौ? हाम्रो देशमा हामीले गरेका शिक्षा, स्वास्थ्य, रोजगारी, शान्ति, विकास आदि हेर। आफूले नबनाएको सगरमाथा र नजन्माएको बुद्धको धाक लगाउन छाडेर काम गर्न थाल।” 
 
मदिरा धेरै भइसकेको थियो क्यार, त्यसपछि दुवै देशका प्रमुखले वमन गर्न थाले।
comments powered by Disqus

रमझम