कामरेड क्रान्ति

Share:
  
- गोकर्ण भट्ट
p94
 
रविन साय्मि

स्कूलको हाजिरी रजिष्टरमा मात्र हैन, सात कक्षाको मार्कसीटमै स्पष्ट लेखिएको थियो– हर्कबहादुर सार्की। र पनि, गाउँठाउँका ठकुरी राजासाबहरूको लागि ऊ सधैंको 'डूम'। उसले आफ्नो असली नाम कहिल्यै सुन्न पाएन। बोलाउने मान्छेपिच्छे उसको नाम फरक पर्ने। भट्ट, जोशी, पाण्डे, पन्तहरूका लागि ऊ 'खल्या' र विष्ट, भण्डारीहरूका लागि 'साला डुम्या'। ११ वर्षअघि पहिचानको खोजीमा ऊ त्यो चौहद्दीबाट बलात् बाहिरिएर मुक्ति यात्रामा हिंडेको थियो। एउटा यस्तो यात्रा जहाँको बाटोलाई यसका अगुवाहरूको चम्किलो बस्त्रले चकाचौंध बनाएको थियो।  

तर, बीच बाटोमा अगुवाहरू अँध्यारोमा रूपान्तरण भए, ऊ जस्ता स्वप्नजीवीहरूलाई अलपत्र पार्दै। बाघजस्तै निर्धक्क, निष्पि्कक्री विचरण गर्दै जता पनि, जसलाई पनि र जुनसुकै अवस्थामा पनि घाइते बनाउन सक्ने हैसियत बनाएको बेला ऊ आरक्षभित्र धितो बन्धकी बन्न पुग्यो। उसको लुरे ज्यानले आरक्षको ३२ इन्च छातीको मापदण्ड छोएन, उसको सपनालाई धराशायी बनाउँदै। सपना भत्किनु आफैंमा धेरै ठूलो कुरा हैन, तर तिनका गला रेट्दै गरेको थाहा हुँदाहुँदै पनि प्रतिवाद गर्न नसक्दाको निरुपाय अवस्था धेरै पीडादायी हुन्छ। तर, ऊसँग स्वप्निल यात्रा भताभुङ्ग हुँदा टुक्राटुक्रामा फाटेको मनलाई जोडजाड पार्दै घर फर्किनुको विकल्प रहेन। हर्कबहादुर अत्तरियाबाट बैतडी उक्लने जीपमा कोचियो। गोदावरीको पुल काटेर एकपछि अर्को घुम्ती पार गर्दै सहजपुरको ओरालो पुग्दा सडकछेउमा झयाउले सिंगारिएको गेटमा उसका आँखा परे– 'जनमुक्ति शिविरमा यहाँलाई स्वागत छ।' आफ्नो पहिचानसँग जोडिएको प्रिय शब्द 'जनमुक्ति' थाहै नपाई पीडाको स्रोत बनेको उसले महसूस गर्‍यो।  
 
'करोड–करोडका घर आफ बस्स्या, यी बिचरानलाई येई खोड थुनिराख्छि।'  
कोचाकोच जीपभित्र कसैले मुख खोल्यो।  
 
'जन्ताका चेला चेलिनलाई इस्याँ बर्बाद गर्‍यो, इनले। कतिन्का हात काट्या, खुट्टा काट्या, कतिन्का घरबार उजाड्या।' 
'आफ् भण्या ठेक्दारौनसित पैसा खान लार्‍यान् ई बिचरा न इथ न उथ।'  
 
'और त छाड्देऊ, शहीद कमिटीमा आया पैसालै सप्पै खाइ दि'छ। बेलीका दिन उई होइरन्थ्यो ठूलो नेता। विलासी होइग्या सप्पै।' 
 
'विलासी' शब्दले उसलाई राजधानीमा अध्यक्ष कमरेडको निवासको सम्झ्ना गरायो। भव्य महल, राजसी कोठा, आयातीत सोफा–कार्पेट ...। फराकिलो कम्पाउण्डमा महँगा गाडीहरू। अध्यक्ष कमरेडका सम्मुख पर्दा हर्कबहादुर अर्थात् कमरेड मुक्तिले गाउँमा बिष्टहरूको आँगनमा पुगेका आफ्नै बाउको अनुहार सम्झेको थियो। 'थुक्क साला जिन्दगी ...' उसले जीपभित्र उच्छवास छोड्यो। जीप एकनास गुडिरहेको थियो– भत्काँडा, क्रिम्डया, अनारखोली, पाटन ...। 
 
साँझ्पख धूलोमैलो हर्कबहादुर सतबाँझ् चोक भन्दा सय मिटर वर नै ओर्लियो। थकित, क्लान्त उसलाई चोकसम्म जान मन लागेन। सकेसम्म मान्छेहरूसँग भेट नहोस् भन्ने लाग्यो। क. मुक्तिले कुनै दिन यही चोकमा कम्ब्याटको टाँक फुकाल्दै 'क्रान्ति' को व्याख्या गर्दा बन्दूकले आतंकित पारिएका आँखाहरूले मोहित भएर हेरेका थिए। अहिले ऊ त्यो बाटो हिंड्न पनि धक मानिरहेछ। त्यहाँबाट करीब बीस मिनेट ओरालो झ्रेर तेस्रो घुम्ती काटेपछि उसको गाउँ आउँछ। धरतीमा रात खस्नै लागेको बेला उसका गह्रौं पाइलाहरू ओरालो लागे। पीपल चौतारीमा पुगेर उसले चुरोट सल्कायो। यही चौतारो हो, जहाँ उसले धेरै पटक अब समाजमा कोही चन्द राजासाहेब, कोही बाहुन या कोही डुम्या नहुने परिवर्तनको जोसिलो चर्चा गरेको थियो। यतिका वर्षपछि उसको यात्रा पुनः यहीं फर्किएको छ। मनमा तर्कनाहरूको हुण्डरी छ।  
 
'मैले जीवनमा के पाएँ?'  
 
'के मेरो बाटो नै गलत थियो?' 
'केका लागि गाउँ–गाउँमा कारबाही ...।'  
 
'यो सब यस्तै परिणामका लागि थियो त?' 
 
अकस्मात् चुईं–चुईं, सुईं–सुईंको आवाजले तेर्सो बाटोमा लम्किरहेको उसको सोचाइमा क्रमभङ्ग भयो। उसका आँखा पारिपट्टिको खोल्सामाथि अँध्यारोमा लपेटिएको बाँसझयाङमा ठोक्किए। भूतप्रेत नमान्ने दर्शनबाट दीक्षित उसको बाटोमा बाँसझयाङ ड्राकुला बनेर नाच्न थाल्यो। आँखा अगाडि घुँडा टेकेर हात जोड्दै जीवनको भीख मागिरहेको एउटा रगताम्ये अनुहार प्रकट भयो। 
 
'साला सुराकी, दुश्मनको भरौटे।' 
'साला, पुरानो व्यवस्थाको तावेदार, दुनियाँलाई धर्मको अफिम चटाउँदै हिंड्ने?' 
 
उसलाई कखरा सिकाउने कमल सर। बनारस पढेका उनी गाउँमा पुरेत्याईं पनि गर्थे। कक्षामा उसलाई 'एई हर्के' भनेर बोलाउने कमल सर एक्ला शिक्षक थिए। कमरेडहरू तिनै कमल सरलाई कारबाही गर्दैछन्। मुक्तिले सुस्तरी 'अब छाडिदिऊँ' भनेकै हो, तर कारबाहीका बेला अवरोध खडा गर्नु गम्भीर प्रकृतिको छापामार अनुशासनको विषय पनि थियो। 'दुश्मन'माथिको कारबाहीमा कमाण्डरको आदेशको पालना बाहेक सुझ्ाव या प्रश्नको गुञ्जायस हुँदैनथ्यो। उसले प्रशिक्षण विभाग प्रमुख रवीन्द्र कमरेडको भनाइ सम्झयो, 'क्रान्तिले रगतको माग गर्छ। क्रान्तिका विरोधीहरू हाम्रा दुश्मन हुन् र दुश्मन भनेको केवल दुश्मन हुन्।'  
 
हर्कबहादुरले बुझ्ेको कमल सर दुश्मन थिएनन्, तर यो सत्यलाई अस्वीकार गर्न ऊ विवश भयो।  
खोल्सोछेउ पुग्दा डर यति बढ्यो कि ऊ दौडिन खोज्यो, तर सकेन।  
 
'कसको रगतमाथि कसले भोजभतेर गर्दैछ त मुक्ति कमरेड?'  
'क्रान्तिले बलिदान माग्छ भन्थ्यौ, कसको बलिदान भयो कमरेड?'  
 
'म त दुश्मन थिएँ रे, तर तिमी'नि बचेनौ नि उनीहरूबाट?' 
लगातार कानमा ठोक्किन थालेका यी आवाजहरू कमल सरकै हुन्। 
 
'गाउँघर रगताम्य पार्दै गरेको सपनाको व्यापारमा तिम्ले'नि चार लाख नगद आर्जन गर्‍यौ हैन?' 
कमल सरको आवाज क्रमशः सघन हुँदै जाँदा उसको मथिङ्गलले काम गर्न छाड्यो। त्यसमा घुम्न थाले जंगल, खोला, मैदान, बस्ती, भोक, थकान, सपना, गोली, बारुद, बम, लडाइँ अनि सत्ता, महल, प्राडो ...। उसलाई भाउन्न भएर आयो।  
 
हर्कबहादुरले आँखा खोल्दा टाउको आमाको काखमा अडेको पायो। उसले मलिन र क्लान्त आमालाई हेर्‍यो। बहिनी नङले भुईं कोतर्दै कुनामा बसेर उसैलाई नियालिरहेकी थिई। यसो सम्झिन बल गर्‍यो– चौतारी, खोल्सो अनि कमल सर ...। फेरि उसको मुटु काँप्यो र आँखा चिम्म गर्‍यो।  
 
“के भो छोरा तिमीलाई?”  
 
हिजै आइपुग्ने खबर पाएका आमा र बहिनीले उसलाई पर्खंदापर्खंदै रात काटेका थिए। बिहान आत्तिंदै आएका पण्डितका छोराले ऊ खोल्सामा बेहोश लडिरहेको खबर ल्याएका थिए।  
 
केही क्षणपछि हर्कबहादुर विस्तारै उठेर बस्यो अनि हिलाम्ये झोलाभित्र डायरीमा चेपेर राखेको चेक निकाल्यो। मानसपटलमा फेरि रगताम्य कमल सर नाच्न थाले। उसले मनमनै कमल सरलाई भन्यो, “सर मेरो समर्पणमा खोट थिएन, मेरा सपनाहरूको अन्त्य यसरी हुन्छ भन्ने पनि सोचेको थिइनँ। अगुवाहरूले रगतमाथि भोतभतेर गरेर हाम्रा सपनाहरूको मोलमोलाइ गरे। मलाई कसैको बाध्यतामा टेकेर हिंड्नु छैन, सपनाहरूलाई ब्याङ्कको चेकसँग साट्नु छैन।”  
 
उसले फेरि आँखा चिम्लेर चेकलाई धुजाधुजा पार्‍यो र विस्तारै आमाको काखमा मुख लुकाएर क्वाँ–क्वाँ रुन थाल्यो। 
comments powered by Disqus

रमझम