४-१० साउन २०७१ | 20-26 July 2014

ओलीलाई चुनौतीको थुप्रो

Share:
  
- सुवास देवकोटा
नवौं महाधिवेशनबाट नेकपा (एमाले) को अध्यक्षमा निर्वाचित केपी शर्मा ओली स्वास्थ्यले साथ दिए तथा राजनीतिक लचकता देखाउन सके मात्र सफल हुने देखिन्छन्।

नवौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित केपी शर्मा ओली १ साउनमा शपथ ग्रहण गर्नुअघि।
१९ असारमा शुरू भएर १ साउनमा सम्पन्न नेकपा (एमाले) को नवौं महाधिवेशनद्वारा निर्वाचित नयाँ नेतृत्वसामु धेरै चुनौती रहेकोमा सबैथरी एमाले नेता एकमत छन्। केपी शर्मा ओलीको अध्यक्षतामा बनेको १५९ सदस्यीय केन्द्रीय कमिटीले महाधिवेशनको प्रतिस्पर्धामा देखिएको गुटबन्दी, आरोप/प्रत्यारोप र तिक्तताको तुष मेटाउन सक्दा मात्र सफल हुने उनीहरूको धारणा छ। नवनिर्वाचित अध्यक्ष ओली र प्रतिस्पर्धी माधवकुमार नेपालले केन्द्रीय कार्यालय बल्खुमा आयोजित समापन समारोहमा विगतको गुटबन्दीको तुष मेटेर सहयोग लिन र दिन तयार रहेको बताए पनि त्यसलाई व्यवहारमा उतार्नुपर्ने चुनौती दुवै पक्षसामु छ।

लचकतामा निर्भर

२००८ सालमा जन्मिएर २०२६ सालदेखि राजनीतिमा लागेका ओली २०२९ सालमा आन्दोलनकारी झापा जिल्ला कमिटीको सचिवबाहेक अहिलेसम्म कहिल्यै प्रमुख भएनन्। उता, नेपाल भने २०३२ सालमा को–अर्डिनेशन केन्द्र बनेदेखि नै निरन्तर दोस्रो र २०५९ सालमा एमालेको सातौं महाधिवेशनदेखि पहिलो नेता रहे। यस्तोमा ओलीले पहिलो नेताका रूपमा र नेपालले तेस्रो नेताका रूपमा गर्ने व्यवहारले एमालेको भविष्य निर्धारण हुने देखिन्छ।

नेपाल पक्षबाट सचिवमा निर्वाचित योगेश भट्टराईको विचारमा अनुभव र स्वास्थ्य स्थितिका कारण जीवनको उत्तरार्द्धमा पुगेकाले ओलीले विगतको तुष मेटाएर पार्टीलाई एकताबद्ध बनाउने सम्भावना पनि छ। तर, त्यसका लागि ओलीले महाधिवेशनले पारित गरेको कार्यदिशालाई कार्यान्वयन गर्नुपर्र्ने र पक्ष–विपक्ष नछुट्याई सबैलाई कामको जिम्मा दिनुपर्ने उनी बताउँछन्। “प्रमुख जिम्मेवारीमा नरहेको अवस्थामा उहाँ कठोर हुनुभएको होला, पार्टी अध्यक्ष भएपछि उहाँको स्वभावमा परिवर्तन आउने मेरो विश्वास छ”, भट्टराई भन्छन्, “स्वास्थ्यको कारण पनि उहाँलाई छिट्टै राम्रो काम गरेर सफल बन्ने दबाब भएकाले सबैलाई समेट्नुहुनेछ भन्ने लाग्छ।” नेपालले पनि महाधिवेशन समापन कार्यक्रममा ओलीको विजयलाई सहज स्वीकारेकाले पार्टी एकताबद्ध बनाउन सहज हुने भट्टराईको विश्वास छ।

ओली पक्षबाट सचिवमा विजयी प्रदीप ज्ञवाली भने विचार समूह र प्यानलबीचको तिक्ततालाई मेट्न ओलीको प्रमुख भूमिका हुने भए पनि नेपालको सहयोग पनि उत्तिकै आवश्यक रहेको बताउँछन्। भावनात्मक रूपमा एकताबद्ध बनाउँदा मात्र पार्टीलाई अघि बढाउन सकिने ओलीले बुझेकाले त्यसमा कमजोरी नगर्ने पनि उनको विश्वास छ। “नबुझ्ेकाले मात्र उहाँलाई रिजिड भनेका हुन्, आवश्यकता अनुसार उहाँ लचिलो पनि हुनुहुन्छ”, ओलीबारे ज्ञवाली भन्छन्, “पार्टी भित्र र बाहिर कैयौं प्रसङ्गमा उहाँले त्यो क्षमता देखाउनु पनि भएको छ।”

सरकार परिवर्तनको आशंका

एमालेमा ओलीको उदयले वर्तमान सरकार र सत्ता समीकरण संकटमा पर्ने आशंका गरिए पनि एमालेका दुवै पक्षका नेताहरू भने त्यस्तो मान्दैनन्। एमालेको ध्यान अहिले समयमै संविधान निर्माण गरेर जारी गर्नु रहेकाले सरकार परिवर्तनतर्फ एमाले नलाग्ने उनीहरूको भनाइ छ। सरकार फेर्न लाग्दा नयाँ द्वन्द्व शुरू भएर संविधान निर्माण ओझेलमा पर्ने उनीहरू बताउँछन्।

नेपाल पक्षीय सचिव भट्टराई सरकार परिवर्तन जस्ता विषयमा पार्टीले निर्णय गर्ने हुनाले ओली अध्यक्ष हुँदैमा केही फरक नपर्ने बताउँछन्। महाधिवेशनले संविधान निर्माणलाई अहिलेको कार्यभार बनाएकाले पनि पार्टी सरकार परिवर्तनतर्फ नलाग्ने उनको विश्वास छ। “त्यसो गरियो भने अस्थिरता आउनेछ र मुलुकमा गलत परिस्थिति सिर्जना हुनेछ”, भट्टराई भन्छन्, “त्यसैले सरकार परिवर्तनको सम्भावना अहिले छैन।”

ओली पक्षीय सचिव ज्ञवालीलाई पनि अध्यक्षको ध्यान सरकार परिवर्तनतर्फ रहेको विश्वास छैन। पार्टी र ओलीको पनि ध्यान अहिले संविधान निर्माणमा रहेकाले सरकार परिवर्तनको विषय नउठ्ने उनी बताउँछन्। “अहिले सरकार परिवर्तनतिर लागियो भने संविधान निर्माण प्रक्रिया संकटमा पर्नेछ”, ज्ञवाली भन्छन्, “यो स्थितिलाई पार्टी अध्यक्षले राम्ररी बुझनुभएकोले त्यस्तो केही हुँदैन।”

तर, प्रधानमन्त्री सुशील कोइराला उपचार गरेर अमेरिकाबाट फर्केपछि भने सत्ता समीकरणका बेला नेपाली कांग्रेससँग भएको सातबुँदे सहमति कार्यान्वयन गर्न एमालेले बल लगाउने देखिन्छ। त्यो सहमतिका प्रमुख रचनाकार ओली आफैं भएकाले त्यसलाई त्यसै नछाड्ने संकेत उनले निकटहरूलाई दिएका पनि छन्। राष्ट्रपति र उपराष्ट्रपति विधायिका संसद्बाट अनुमोदन हुनुपर्ने प्रमुख बुँदा रहेको त्यो सहमति कार्यान्वयनको विषय उठाउँदा कांग्रेस र एमालेबीचको सम्बन्धमा संकट आउन पनि सक्छ।

स्वास्थ्य चुनौती

महाधिवेशनमा प्रमुख मुद्दा बनेको ओलीको नराम्रो स्वास्थ्य अवस्था एमालेको आगामी राजनीतिमा पनि निर्णायक बन्ने देखिन्छ। आफ्नो स्वास्थ्य स्थिति कमजोर रहेको र जीवन धेरै लामो नरहेको महाधिवेशन समापन समारोहमा ओलीले पनि स्वीकारेका छन्। एमालेका गुट–उपगुटलाई कमजोर पार्न र एमालेलाई राष्ट्रिय राजनीतिमा प्रभावकारी बनाउन स्वास्थ्य राम्रो रहँदा मात्र ओली सफल हुने देखिन्छ।

सचिव ज्ञवाली पनि ओलीको सफलता उनको स्वास्थ्यले निर्धारण गर्ने स्वीकार्छन्। “स्वास्थ्य कस्तो हुन्छ, त्यसले पनि उहाँको सक्रियता निर्धारण गर्नेछ”, ज्ञवाली भन्छन्, “स्वास्थ्यले साथ दियो भने पार्टीको समस्या समाधान गर्न र राष्ट्रिय राजनीतिमा पार्टीको प्रभावकारिता बढाउन उहाँ सफल हुनेमा शंका छैन।”

मिर्गौला प्रत्यारोपण गरेर पनि राजनीतिक सक्रियता उस्तै राखेकाले ४ मंसीरको संविधानसभा निर्वाचनपछि अस्वस्थ बनेका ओली त्यस्तै अवस्थामा २१ फागुनमा भएको संसदीय दलको नेताको निर्वाचनमा तत्कालीन पार्टी अध्यक्ष झ्लनाथ खनाललाई पराजित गरी विजयी भएका थिए। त्यसपछि भारतको राजधानी दिल्ली र थाइल्याण्डको राजधानी बंैकक्मा लामो उपचार गरी फर्केपछि ओली अध्यक्षमा नेपालसँग भिडेका थिए। दुई साता लामो महाधिवेशनको दौडधुपले गलेका ओलीलाई अहिले रुघाले सताएको छ। त्यही कारण उनले समापन समारोहमा छोटो मन्तव्य दिएर लिखित भाषण वितरण गरेका थिए। मिर्गौला प्रत्यारोपण गरेका बिरामीको शरीरको प्रतिरोधात्मक शक्ति कमजोर हुने हुँदा साना रोगले पनि सताउने गर्छ।

गुटको गठजोड

तस्वीरहरुः देबकी बिष्ट
नेकपा (एमाले) को नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु १ साउनमा शपथ ग्रहणपछि।
नवनिर्वाचित केन्द्रीय कमिटीमा ओलीको सुविधाजनक बहुमत भए पनि महाधिवेशनअघि बनेको उनको समूह कायम रहनेमा शंका गर्ने धेरै छन्। उनको समूहमा पछि आएका उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल समर्थकको यो केन्द्रीय कमिटी राम्रै संख्या रहेकाले उनीहरूको साथ निरन्तर पाउँदा मात्र ओलीको सुविधाजनक बहुमत कायम रहनेछ। अन्यथा उनले बहुमत गुमाउनुपर्ने हुन सक्छ।

तर, ७० वर्षे उमेर हदका कारण गौतम अर्को महाधिवेशनमा अध्यक्ष बन्न नमिल्ने र यो समूहबाट पोखरेल आगामी महाधिवेशनका लागि निर्विवाद अध्यक्षको उम्मेद्वार हुने भएकाले समूह नतोडिने ओली पक्षको विश्वास छ। केही भने अर्की उपाध्यक्ष विद्या भण्डारीले पनि आगामी महाधिवेशनमा अध्यक्षको दाबी गर्ने सम्भावना रहेकाले यो समूहमा समस्या आउन सक्ने आकलन गर्छन्। ओली समूहमा पहिलेदेखि रहेकाहरूले भण्डारीलाई अघि बढाउने सम्भावना पनि देखिन्छ। तर, यो विषय आगामी महाधिवेशन नआई अघि नआउने हुनाले यस अवधिमा यो विषयले समस्या नपार्ने ओली समूहको दाबी छ।

उता, महाधिवेशनको केहीअघि मात्र बनेको नेपाल समूहको अवस्था पनि भिन्न छैन। नेपाललाई पहिल्यैदेखि नजिक मान्नेहरू, घनश्याम भुषाल/योगेश भट्टराईको युवा समूह र झ्लनाथ खनाल निकट रहेकाहरू मिलेर बनेको यो समूह छिट्टै छिन्नभिन्न हुने ओली पक्षको विश्वास छ। ७० वर्षे उमेरहदका कारण नेपाल पनि आगामी महाधिवेशनमा अध्यक्ष बन्न नमिल्ने हुनाले उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र उपमहासचिव घनश्याम भुषालबीच अध्यक्षका लागि प्रतिस्पर्धा हुन सक्छ। यस्तोमा यो समूहका केहीलाई महासचिव पोखरेलले तान्ने सम्भावना पनि छ। खनालको समूहले अध्यक्षमा नेपाललाई महाधिवेशनमा मत नदिएको विषय चर्कियो भने यो समूह संकटमा पर्न धेरै समय नलाग्न सक्छ। यो समूह संकटमा पर्दा ओलीलाई केही सजिलो हुने देखिन्छ।

यी बाहेक दुवै समूहमा रहेका पूर्व माले भनिनेहरूको नयाँ गठबन्धन बन्ने सम्भावना पनि छ। २०५४ मा विभाजन भएर २०५७ मा एमालेसँग एकीकृत भएको मालेमा रहेकाहरूबीच भावनात्मक एकता रहेको यो महाधिवेशनमा दुवै समूहमा रहेकाहरूले एकआपसमा मत साटासाट गर्नुले पनि देखाउँछ। त्यस्तो समूह निर्माण भएमा अहिलेका दुवै समूह कमजोर हुनेछन् भने माले भनिने समूहमा यो केन्द्रीय कमिटीको झ्न्डै एकतिहाइ शक्ति रहनेछ।

तर, ओली, खनाल, नेपाल र गौतम चारै जना ७० वर्षे उमेरहदका कारण आगामी महाधिवेशनमा अध्यक्षको उम्मेद्वार बन्न नमिल्ने हुनाले नयाँ आधारमा नयाँ समूह निर्माण हुने सम्भावना पनि छ। जसलाई अहिले नै आकलन गर्नु छिटो हुने दुवैतर्फका नेता बताउँछन्।

comments powered by Disqus

रमझम