सुट्टामार

Share:
  
- राजव
p95
 
रविन साय्मि

सुट्टामार बारे मलाई पटेलले सुनाएको हो। मेरो जानकारीमा त ऊ टम कार्सन थियो। उसले आफ्नो नाम यै भनेको थियो। साँवलो रंगको उसलाई देखेको साँझ्देखि नै म ऊसँग नजिकिन उत्सुक थिएँ। त्यो साँझ् पनि ऊ मेक्लिन पार्कको झाडीपट्टिको त्यै बेञ्चमा झोक्राइरहेको थियो। तर, त्यो साँझ् म उसलाई हेर्दै आफ्नै हिसाबले टहलिरहें। यस्ता धेरै साँझ्पछि मात्र म ऊ नजिक पुगेको हुँ।  

अक्सर साँझ् म मेक्लिन पार्कमै टहल्छु। लगभग एक माइल लामो र आधा माइल चाक्लो यो पार्क भीडभाड नहुने एकदम शान्त ठाउँ हो। सुरक्षित पनि मानिने यो पार्कमा मानिसहरू अबेरसम्मै कुदिरहेका, टहलिरहेका हुन्छन्। पार्क  पछाडि सघन झाडी छ। म उसलाई अक्सर त्यसभित्र फुत्त पसेको देख्थें। केहीबेर झाडीमा बिताएर ऊ फेरि त्यै बेञ्चमा फर्कन्थ्यो। बेञ्च र झाडीबाहेक पार्कको अरू ठाउँसँग उसको सम्बन्ध देखिएन। झाडीसँग उसको के नाता जोडिएको छ भन्नेमा म उत्सुक थिएँ।  
 
मलाई पार्कमा उसलाई हेर्न बानी परिसकेको थियो। ऊ कि झाडीमा हुन्थ्यो कि त बेञ्चमा। धेरैबेर कुर्दा पनि बेञ्चमा आएन भने आज ऊ पार्क नआएको निर्क्योल गरे हुन्थ्यो। तर, त्यस्तो कमै हुन्थ्यो। मैले उसको नाम सोधेको साँझ् ऊ झाडीबाट निस्केर भर्खर बेञ्चमा बसेको थियो। त्यस साँझ् म ऊसँग गफिन्छु भनेरै पार्क पसेको थिएँ। म बेञ्च नजिक पुगेर 'एक्स्क्युज मी' भन्दा ऊ मज्जाले झ्स्किएको थियो। यो बेञ्चमा कोही आफूसँग बस्न आउला भन्ने अन्दाज शायद उसलाई थिएन। उसले मलाई आश्चर्यले हेरेको थियो। बस्ने अनुमति माग्दै मैले सोधेको थिएँ,  
 
“एनी प्रोब्लेम?” 
ऊ गम्भीर थियो। 
स्थानीय ढर्रामा मैले सोधें, “हाउ यू डुइङ?” 
“गुड, एन्ड यू?” उसको स्वर टर्रो थियो।  
 
तर, म ऊसँग बोल्ने निर्णय गरेरै बेञ्चमा बस्न गएको थिएँ।  
“के नाम तिम्रो?” ऊ उठ्न नपाउँदै बच्चालाई जसरी सोधें।
 
“किन चाहियो?” ऊ टिमुर्कियो। 
“त्यसै सोधेको।” 
“टम।” 
“टम के?” 
 
“टम कार्सन, एन्ड यू?” 
“म विष्णु।” 
“ओके।” 
 
ऊ शतप्रतिशत अमेरिकी लवजमा बोलिरहेको थियो। तर, अनुहारले उसलाई इण्डियन भन्दा हुन्थ्यो। मलाई भने ऊ इण्डियन हैन नेपाली लागिरहेको थियो र यही भावले उसलाई घुरेको थिएँ। उसको उठ्ने सगपग चालु थियो। अब ऊ झ्ाडीमा पस्छ कि भन्ने मलाई शंका थियो, तर सरासर पार्कको ट्रयाकतिर लाग्यो।  
 
त्यस्तै २०/२१ वर्षको हुँदो हो। उसको टोनले मलाई विश्व चर्चित अमेरिकी उपन्यासकार जे डी सालिङगरको 'दि क्याचर इन द रि' को मूल पात्र होल्डेन काउल्पि्कल्डको सम्झ्ना गरायो। होल्डेन भन्दा ऊ केही वर्ष जेठो थियो। तीन घन्टा उपन्यास पढेर मैले होल्डेनलाई बुझे, तर टम कार्सनबारे जान्न मैले धेरै पर्खनु पर्‍यो। ऊबारे मैले जानेको उनान्सय दशमलव नौ प्रतिशत तथ्य पटेलले नै भनेको हो। बाँकी शून्य दशमलब एक प्रतिशत कुरो मैले उसको भावनामा पसेर जानें। टम हिंडेपछि मेरो लागि बेञ्को प्रयोजन सकिएको थियो।  
 
टम पार्कबाट बाहिरिने गेटतिर जाँदै थियो। पर ट्रयाकमा पटेल पनि सुस्त टहल्दै थियो। टम मेरो उपस्थिति बुझन एक पटक पछाडि फर्किन्छ कि भन्ने लागेको थियो, तर ऊ त्यसो नगरी गेटबाट निस्कियो। म उठेपछि पछाडिको झ्ाडीको कुनै वृक्षमा बास बस्ने गरेका चार–पाँच साना खैरा चरा कतैबाट उडेर त्यो बेञ्चमा ओर्लिए।  
 
जूनको पहिलो साता वृक्ष र बुट्यानहरूमा पात पलाइसकेका थिए। सबतिर हरियाली थियो। टम बाहिर निस्कँदा सूर्यास्त भइसकेको थियो। म पार्कका बहुरङ्गी फूलका ब्याड छेउको ट्रयाकमा हिंड्दै थिएँ। परको ट्रयाकमा हिंडिरहेको पटेल हाछिउँ गर्दै थियो। पोलन (पराग) एलर्जी भएको ऊ खल्तीबाट टिसुपेपर निकालेर नाक पुछ्न थाल्यो। जून महीनाभर उसको हालत यस्तै हुन्छ। पोलन फैलन थाल्ने अप्रिल, मेबाटै दैनिक एक चक्की क्ल्यारटिन डी चक्की निल्न थाल्छ।  
 
“क्ल्यारटिनले पनि ठीक हुँदो रहेनछ त तिम्रो एलर्जी?”  
“घरमा बस्दा औषधिले काम गर्छ, यत्ति साह्रो हुँदैन।”  
 
पटेलले एक पटकमा चार/पाँच पटक हाच्छिउँ गर्नुपर्छ, त्यसपछि केहीबेर शान्ति पाउँथ्यो। म डेढ मिटर पछाडि पुगिसक्दा पनि ऊ हाच्छिउँ गर्दै थियो।  
“छिंको, खुब छिंको, यह अमेरिका हे जहाँ छिंक्ना मनाह नहीं हे!” मेरो हिन्दीले उसको हाच्छिउँलाई गज्जबसँग रोकिदियो।  
 
“ओ! नो, दिस पोलन किलिङ मि, आइ न्यु यू आर बिहाइण्ड मि।” 
ऊ टिसुले नाक रगड्दै पछाडि फर्कियो।  
“हाउ आर यू?”
 
“एक्स्सेप्ट दिस नोज, फाइन। एन्ड यू, विष्णु?” 
“हिंड्दैछु”, मैले जिस्क्याएँ। हामी हिंड्न थाल्यौं। 
“सुट्टामारसँग गफमा मस्त देख्या थें।” 
“को सुट्टामार?” म छक्क परें।
 
“अघि जोसँग बसेका थियौ।” 
“त्यो टम थियो।” 
“त्यो टम पनि हो, तर ऊ सुट्टामारको रूपमा बढी चिनिन्छ।”  
 
पटेलले मलाई हिंड्दाहिंड्दै रन्थनिने कथा सुनाएको थियो। पहिले त पटेलले त्यो नेपाली नै हो भनेको थियो। मेरो अन्दाज पनि त्यै थियो।  
 
“जेनेटिकली, बायोलजिकली सुट्टामार नेपाली नै हो। म सुट्टामारलाई शुरूदेखि नै चिन्छु। मेरो छिमेकी मिस्टर रिचर्ड कार्सन र मिसेस क्यारोल कार्सनले १९९४ मा नेपालको एक गैर–सरकारी अनाथालयबाट उसलाई राम्रो रकममा किनेर ल्याएका थिए।”  
 
पटेलको यो जानकारीले मलाई झ्ट्का लागेको थियो। मलाई त ऊ कुनै आप्रवासी नेपालीको अमेरिकामै जन्मिएको सन्तान भन्ने लागेको थियो। पटेलको कुरो सुन्दै जाँदा म रन्थनिंदै गएँ। पटेलले मलाई टम सुट्टामार हुन थालेसम्मको कुरो सुनायो।  
 
पटेलले त्यस्ता कुरा सुनाएर नेपालीको कि आफ्नो छिमेकीको बेइज्जत गर्न खोज्दै थियो, स्पष्ट थिएन। तर, प्रकटतः ऊ छिमेकीप्रति बढी रोष व्यक्त गर्दै थियो। पटेलको कन्थो अगाडि बढ्दै गएपछि मेरो मनमा टमको नेपाली नाम जान्ने उत्सुकता बढ्यो।  
“टमको नेपाली नाम थाहा छ तिमीलाई?” 
 
शायद म टमको नेपाली नाम पछि जात जान्न चाहन्थें। यो मेरो अनायासको प्रयास थियो, जसको कुनै अर्थ थिएन।  
“नेपालबाट ल्याएदेखि नै तिनले उसलाई टम भनेको सुनें, त्यसलाई पक्का क्याथोलिक क्रिश्चियन बनाउन व्याप्टाइज पनि गरे।” पटेललाई हाच्छिउँले रोक्यो।   
“कार्सन दम्पतीका अरू सन्तान थिएनन्?” 
 
“थिएनन्, त्यसैले कुनै दलालको सहयोगमा नेपाल गएर लक्कु खर्च गरेर ल्याए पनि, तर?”   
“तर के?” 
 
“डिभोर्स। उसलाई ल्याएको आठ वर्ष हुँदा नहुँदै क्यारोल कता लागिन् थाहा भएन, रिचर्डले जेक्लिनसँग बिहे गर्‍यो। जेक्लिनबाट रिचर्डका दुई छोरा भए। टमलाई क्यारोलले लगिनन् वा रिचर्डले लान दिएन थाहा भएन, तर टम रिचर्डसँगै रहेर हेलत्वमा पालिन थाल्यो। रिचर्डले टमको निकै यौन शोषण गर्‍यो भन्नेसम्म छ। वास्तवमा क्यारोल हुँदै रिचर्डले टमसँग यस्तो सम्बन्ध थालेको थियो। आठ नौ वर्षको उमेरदेखि नै टम बिलखबन्द, भ्रमित र गम्भीर देखिन्थ्यो। उसको पढाइ बिग्रन थाल्यो। र अन्ततः १२ क्लासबाटै ड्रप आउट भयो।”   
 
म मुटु रोक्दै सुनिरहेको थिएँ। पटेल हाच्छिउँ गर्न रोक्कियो। लगातार पाँच पटक हाच्छिउँ गरेर टिसु पेपरले नाक पुछ्दै भन्यो, “त्यसपछि टम सुट्टामार भयो।”  
पटेल गुजराती इण्डियन हो– पूरा नाम भीम भाइ पटेल। तर, सबैले उसलाई पटेल नै भन्छन्।  
“यो सुट्टामार हो के?” 
 
“हाम्रो गुजरातमा गाँजा, चरेस तान्ने नसाखोरलाई सुट्टामार भन्छन्।”  
 
पटेलले अर्थ बुझाएपछि मलाई टम बस्ने बेञ्च र त्यस पछाडिको झाडीको सम्झ्ना भयो। “त्यो, झाडीमा सुट्टा लाउन जान्छ” पटेलले भन्यो, “अनि बेञ्चमा फर्किएर नसामा झोक्राइरहन्छ।” 
 
त्यो साँझ् मैले नियाल्दा पनि ऊ पटेलले भनेकै मुद्रामा थियो। उसका आँखा लोलाएका थिए। ओठ जोडिएका थिएनन्। आँखाको दृष्टिभाव दृश्यहरूको यथार्थमा नभएर नशाले देखाइरहेको सुरयलिष्ट दृश्यको लोक हेरिरहे झै लाग्थ्यो। तर, त्यसबेला उसको मुखमुद्रालाई मैले यसरी बुझेको थिइनँ। त्यसबेला त मलाई ऊ सालिङगरको होल्डेन जस्तै अराजक र क्रूद्ध केटो लागेको थियो। म त्यै हिसाबले सचेत रूपमा ऊसँग नजिकिन खोज्दै थिएँ। तर ऊ हठात् उठिहाल्यो।  
 
“जसलाई म अनाथ हुँ, विदेशबाट ल्याइएको हुँ भन्ने लाचार जानकारी हुन्छ, यौन लगायतका दुर्व्यवहारको पीडाग्रस्त मनस्थिति हुन्छ, जो स्कूल ड्रप आउट समेत हुन्छ, त्यो स्वभावतः कि सुट्टातिर लाग्छ कि त कसैलाई मारेर जेल पर्छ या आत्महत्या गर्छ।” पटेलले थप खरो विश्लेषण सुनायो।  
 
पटेलले मलाई निद्राबाट बिउँझाउन चिमोटेको हो कि जस्तो लाग्यो। ऊ भने फेरि टिसु पेपरले नाक, मुख ढाकेर हाच्छिउँ गर्न थाल्यो। मलाई 'अब तँ पनि छिंकमार भइस् भनेर ठट्टा गर्न मन लागेको थियो, तर सुट्टामारको कुरोले नै मलाई रन्थनाइरह्यो। पटेल नर्थइस्टर्न युनिभर्सिटीमा ह्युमनबिहेबिएर एण्ड लिटरेचर पढाउँछ। सुट्टामार बारेको उसको व्याख्या त्यस हिसाबले पनि मलाई विश्वसनीय लागिरहेको थियो।  
 
“त्यसो भए उपाय के त?” मैले पटेललाई सोधें। 
 
“त्यो चाहिं त्यसलाई किनेर ल्याउने रिचर्डलाई सोध्ने।” पटेल रन्क्यो, “ममताको ग्यारेन्टी गर्ने क्यारोललाई सोध्ने अनि उसलाई बेच्ने नेपालको एन्जिओको डलर भुँडेलाई सोध्ने।” 
 
हरेक कुनाका लठ्ठाबाट नियोन ट्युवहरूले पार्कलाई झ्लमल पारेको थियो। घाँसमा पल्टने, ट्रयाकमा हिंड्ने, बेञ्चमा सुस्ताउने, कुकुर डुलाउने, डेटिङमा रमाउनेहरू घटेका थिएनन्। पटेलमा भने पोलन प्रभाव बढिरहेको थियो। 
 
“टक यू लेटर” ऊ हाच्छिउँ गर्दै र नाक पुछ्दै घरतिर लाग्यो। म ट्रयाकमा एक सुरको हिंडाइमा थिएँ। मेरो कानमा पटेलले भनेको पछिल्लो कुरो भुनभुनाइरहेको थियो– “रिचर्डले आफ्ना चार कुकुरलाई गरेको मायाबाट केही माया टमलाई पनि गरेको भए ऊ सुट्टामार हुने थिएन।” 
 
“बाँझ्ी भनिएकी क्यारोलले लगेकी भए पनि हुन्थ्यो।” क्यारोलबारे सोच्दै मैले भनेको थिएँ। पटेल कड्किएको थियो, “के–के हुन्थ्यो–हुन्थ्यो। मुख्यतः डलरको धन्दामा त्यो नबेचिएको भए हुन्थ्यो!” 
 
पटेलका यस्ता बिझाउने कुराले मेरो मर्ममा प्रहार गरेको थियो। टम चाहिं आफ्नो बारे के सोच्दो हो? यो बुझन लगत्तैको साँझ् म ऊ हुने त्यै समयमा पार्क पुगेको थिएँ। ऊ बेञ्चमा थिएन। पछाडिको झाडीतिरबाट पनि निस्किएन। बरु तिनै साना खैरा चराहरू बेञ्चमा ओर्लिएर पल्याकपुलुक हेर्दै बेञ्चको काठमा ठुँड पुछ्न, ठुंग्न थाले। चराहरू बेञ्चबाट तल घाँसमा र्झ्थे र फेरि बेञ्चमा उक्लन्थे। निकै बेरसम्म चराहरूको खेल गरिरहँदा पनि टम देखिएन।  
 
साँझ् बाक्लिन थालेपछि चराहरू बेञ्च खाली पारेर झाडी पछाडिका रूखहरू ताक्दै उडे। पार्कमा फेरि नियोन बत्तीको समय आयो। यस्ता धेरै साँझ्हरू क्रमागत भए। पोलन प्रकोपको महीना पनि बित्यो। जुलाइको आखिरी साँझ् पटेल एलर्जी मुक्त भइसकेको थियो।  
 
“टम आजकल पार्कमा देखिंदैन नि?”  
 
“सुट्टामारको के भरोसा?” पटेल खरो टोनमा बोल्यो। 
“तँ त देख्दो होलास् नि, त्यो तेरो छिमेकी हो?” मलाई पनि झोंक चल्यो। 
“साँच्चैको कुरा भनौ?”
 
“भन्।” 
“त्यसलाई तँ अब केही महीनामा मेरो उपन्यासमा देख्नेछस्, त्यसमा कि ओभरडोज सुट्टा लिएर आत्महत्या गर्छ कि त कसैको हत्या गर्छ।” 
“हो?” 
“हो, नयाँ म्याकमा लेख्दैछु।” 
 
पटेलले कहीं उपन्यासको बहानामा सत्य भनेको त हैन? नहोला, उपन्यासकै कुरो होला भन्ने सोच्दै म पर त्यै बेञ्चलाई घुर्दै थिएँ। त्यहाँ तिनै साना खैरा चराहरू वायुमण्डलबाट ओर्लिएर आफ्ना ठुँड बेञ्चको काठमा पुछपाछ गर्दै खेल्न थालेका थिए। 
 
(हालः अमेरिका) 
comments powered by Disqus

रमझम