१३,२४६

Share:
  
- श्याम साह
p97
 
रविन साय्मि

पिठ्युँमा डोको भरी घाँस। एउटी केटी रोइरहेकी। मैले बहिनी किन रोएकी भनेर सोध्नै परेन। तिनले आफैं भनिन्, “गाउँका सबै साथीहरूलाई अपहरण गरेर लगे।” 

खास्टो ओढेकी उदास युवती घोसेमुन्टो लगाइरहेकी छन्। पिठ्युँको बन्दूकले आकाश नियालेको छ।  
 
“बन्दूक बोकेकी छ्यौ, फेरि किन उदास?” 
आँखा उठाइनन् तिनले। मुखबाट करुण आवाज निस्क्यो, “मान्छे मरेको देखेर को खुशी भएको छ र?” 
एउटा अँध्यारो कोठामा तीन जना केटाकेटी छन्।  
 
“बा–आमाको धेरै सम्झ्ना आयो”, एउटीले रुँदै भनिन्।  
“दाइ कहाँ हुनुहुन्छ?” अर्को रुन्चे स्वर।
 
सम्पूर्ण आफन्तहरूको एउटै चिहान भएको देखेर आएकी अर्की केही बोलिनन्। अलिपर दुई छोरी च्यापेकी महिला भावविह्वल छिन्। 
“आमा, बा खोइ?” सानी छोरी सोध्छिन्।
 
“मेरो श्रीमान्ले कसको के बिगारेका थिए?” आमाको विलौना।  
त्यो डेकेन्द्र थापाको परिवार थियो।  
 
बूढो हुन लागेका असल शिक्षक मुक्तिनाथ अधिकारी! उनलाई रूखमा बाँधेर गोलीले निर्जीव बनाइएको छ।  
एउटा स्कूलको प्राङ्गणमा कलिला विद्यार्थीको हूल। सबैका मुठ्ठी आकाशतिर सोझ्िएका छन्।  
“नानीबाबुहरू के पढ्दै छौ?” 
“जनयुद्ध।”
 
“अहिले आकाशमा हेलिकप्टर देखिएला र दुई चार बम खसाउँला, अनि के पढ्छौ?” 
दूधे ओठहरू थर्थराए, आँखाहरू झुके अनि मुहारका रङ उडे– आतङ्क!
 
एउटा बर्दीधारी सिपाहीले बोकेको बन्दूक मेरो छातीतिर सोझिएको छ।  
“दाजु, तिम्रा बन्दूकले के मारे? आतङ्ककारी कि नेपाली?”
 
एउटा चनाखो ठिटो डाँडाबाट कतै निशाना साँधिरहेको छ।  
“साथी, तिम्रा निशानामा को छ? दुश्मन कि नेपाली?”
 
बबरमहल आर्ट ग्यालरीमा 'लडाईंमा जनता' को प्रदर्शनी। १० वर्षे त्रासद विगत लहरै वर्तमान भएर आउँछ मेरो सम्मुख। विदीर्ण भएर निस्कन्छु। कालो सडक उदास–उदास देख्छु। घाम पनि निकै मलिन लाग्छ। दिन ढल्छ, साँझ् पर्छ अनि रात हुन्छ। प्रकृतिको त्यो सामान्य प्रक्रिया पनि अत्यन्त गाह्रो भएको छ मेरोनिम्ति। छातीभित्र एउटा गह्रौं बोझ् छ। सारा चेतना तिनै तस्वीरहरूतिर  फर्कन थाल्छ। ती सबै फोटाहरू बोल्न सक्ने भइदिए अहिले के भन्दा हुन्?  
 
हलमा उज्यालो सँगै मानिसहरूको भीड पातलिन थाल्यो। अँध्यारो भयो। मानिस आउन पनि छाडे। मधुरो बत्ती चहकिलो हुन थाल्यो। तस्वीरहरू चलमलाउन थाले। कोही आक्रोशित, कोही आतङ्कित त कोही विक्षिप्त छन्। बन्दूक बोकेको सिपाही आक्रोशित देखिन्थ्यो। ऊ जुरुक्क उठ्यो र बन्दूक बोकेकी उदास युवतीछेउ पुग्यो। तिनी अझ्ै भुईं नियालिरहेकी थिइन्।  
 
“भो! अब ज्यादा निर्दोषिताको नौटङ्की नगर! हाम्रो रगतको होली खेलेको तिम्रो उदासीले अब दुनियाँलाई झुक्याउन सक्दैन।” 
युवतीले भरिएका आँखाहरू भुर्इंबाट उठाइन्।  
 
“...आक्रोश हामीमा पनि छ। रगतको होली हामीसँग पनि खेलिएको छ।” 
 
तर, तिनको भावुकताले सिपाहीलाई रत्तिभर छोएन। कसरी छोओस्? उसले एम्बुसमा परेका दर्जनौं साथीको लास बोकेको छ। कैयन् घाइते सहयोद्धालाई मर्न छोडेर लड्नुपरेको बाध्यता बेहोरेको छ। उसले बुबाको किरिया बस्न पनि पाएन, आमा भक्कानिएको केवल फोनमा सुनेको थियो। फोटो हराएदेखि श्रीमतीको अनुहार पनि धमिलिन थालेको थियो, उसको स्मृतिमा।  
 
“एक्लै हिडूँ, अपहरणमा परिने डर, समूहमा हिडूँ एम्बुसको। के बिगारेका थियौं र हामीले?” 
यस पटक युवतीको ओठमा अनायासै एउटा करुण मुस्कान हेलियो, मानौं तिनबाट आँशु खस्नेवाला छ।  
 
“कसको के बिगार्नु पर्छ र यहाँ ... .?” तिनले लामो सास फेरिन्, “... मेरो दशवर्षे भाइले कसको के बिगारेको थियो? तर, स्कूलबाटै उठाएर करेन्ट लगाएर मारे। माछा मार्न निस्कनुभएका मेरा सोझा दाजुलाई खोलामै गोलीको निशाना बनाइयो ...।”  
सिपाही केही बोलेन।
 
“यस्तै हो दाइ, तपाईंले हाम्रो एम्बुस देख्नुभयो, हामीले तपाईंका अप्रेशनहरू झेल्यौं। तपाईंले हाम्रो कारबाही हेर्नुभयो, हामीले तपाईंका यातनाहरू। आज समयले हामीलाई एकैठाउँमा उभ्याएको छ, अब कहाँ पुर्‍याउँछ, हामी हेर्न मात्र सक्छौं।”
 
सिपाही क्षितिजतिर एकोहोरियो। युवती पनि त्यतै हेर्न थालिन्।  
 
तिनीहरूको अगाडि एउटा बूढो हुन लागेको मानिस ठिङ्ग उभियो। युवतीले तिनलाई नियालिन्। 
“बाजे तपाईं को?”
 
“मलाई चिनिनौ? म मुक्तिनाथ अधिकारी!” 
युवती झ्स्किइन्। सिपाही अकमक्क भयो।   
“तपाईंले के गर्नुभयो?”
 
“मैले केटाकेटीलाई पढाएँ, जीवनमा आफूले जानेको सिकाएँ।” 
“के पढाउनुभयो?” 
“सबै पढाएँ, जनयुद्ध बाहेक।”
 
“फेरि किन मारिनुभयो?” 
“किनकि, मैले आतङ्क पढाइनँ। त्यही भएर मारिएँ।” 
“अब के भन्न चाहनुहुन्छ?”
 
“मलाई क्रूरता र आतङ्कले मार्‍यो। तर, समय बदलिरहन्छ। अबको समयले बाँच्न र बचाउन सिकाओस्।” 
युवती त्रसित थिइन्। मुक्तिनाथ क्षितिजमा अलप भए। जवान फेरि क्षितिज हेर्न थाल्यो। एउटा आवाज नजिक आइरहेको छ।  
“तिमीभित्र पनि मान्छेको मन छ भने 
मनभित्र आगो र जलन छ भने,
 
आऊ, एकचोटि माथि मलैगिरिमा आऊ  
आऊ, एकचोटि तिनकै बलिवेदीमा आऊ   
र मेरो छातीमाथि बर्बरहरूको बीभत्स नाँच हेर   
हेर, जल्लादहरूका टाउका माथि निर्लज्ज प्रजातन्त्रको ताज हेर ...।”  
(सेतु जैशीको घर, कृष्णसेन इच्छुक)
 
झोला भिरेको उनी नजिकै आइपुगे। उनको मुखबाट रगत बगिरहेको छ।  
“उहाँ कृष्ण सेन इच्छुक”, युवतीले चिनाइन्।  
“तपाईंले के गर्नुभयो?”, जवानको प्रश्न। 
“मैले कविता लेखें।” 
“कसका लागि लेख्नुभयो?” 
“जनताका लागि लेखें।” 
“कसका विरुद्ध लेख्नुभयो?”
 
“अन्याय विरुद्ध लेखें।” 
“फेरि किन मारिनुभयो?” 
“किनकि, शासकहरूमा मेरो कविता सुन्ने साहस थिएन। तिनीहरू मेरो कवितालाई मभित्रै कैद गर्न चाहन्थंे। मैले त्यो कविताको लागि लडें। त्यही भएर मारिएँ।” 
“अब के चाहनुहुन्छ?” 
“जहाँ जीवन बन्धनहरू भित्र कैद हुन्छ  
जहाँ सुन्दर सपनाहरू सधैं अवैद्य हुन्छ 
जहाँ मुक्त आकांक्षाहरूमा बन्देज हुन्छ 
जहाँ हार्दिक भावहरूमा ठेस हुन्छ  
अनि, जहाँ बासी हावामा पनि  
निर्धक्क सास फेर्न प्रतिबन्ध हुन्छ  
बन्दूकको पहरा होस्  
अथवा त्यो कानूनको घेरा होस्  
के फरक पर्‍यो र मित्र, 
भयभीत परिवेशमा त्रसित जिन्दगी  
जहाँ बाँच्नु परे पनि त्यो जेल हुन्छ।”  
(जेल, कृष्णसेन इच्छुक)
 
यति भन्दाभन्दै ती पर पुगिसकेका थिए। जवानले टाउको उठाएन। युवतीले उनी क्षितिजमा विलीन नभएसम्म हेरिरहिन्।  
 
फेरि तिनीहरूले एउटा कोलाहल सुने। तिनीहरूले देखे, एउटा आँगनमा एक हूल मानिसका बीच एउटा लाश लम्पसार छ। छेउमै एउटी महिला गगनभेदी विलौना गरिरहेकी छन्। नजिकै दुई बालिका रोइरहेका छन्। उपस्थित सबैको आँखा भिजेका छन्।  
 
युवती र सिपाही अपरिचित जसरी आँगनमा उभिए। एउटा आवाज तिनीहरूतिर आयो।  
“चिनेनौ? म हुँ डेकेन्द्र थापा।”
 
तिनीहरू झ्सङ्ग भए।  
“तपाईंले के गर्नुभयो?” 
“मैले जे देखें, जे भोगें संसारलाई बताउन खोजेँ।” 
“के देख्नुभयो? के देखाउन खोज्नुभयो?” 
“मैले अन्याय देखेँ, अत्याचार देखेँ। त्यही संसारलाई देखाउन खोजें।” 
“फेरि किन मारिनुभयो?”
 
“सत्य बोकेकाले। तिनीहरू सत्यबाट परपर भाग्थे। म सत्य बोकेर तिनीहरूको पछि पछि कुद्थें। त्यही कारण मेरो हत्या गरे।” 
“अब के चाहनुहुन्छ?”
 
“सत्यसँग डराउने कोही नहोऊन्।” 
श्रीमतीको चित्कार र छोराछोरीको रुवाइमा डेकेन्द्रको आवाज बिलायो। 
 
त्यहाँबाट एक्लै हिंडेको जवान एक हूल मानिसको समीप पुग्यो। बाहिर सबै मौन थिए, तर भित्र–भित्रै आक्रोशित। तिनीहरूका आँखाहरू निकै विष्फोटक देखिन्थे।  
“को तपाईंहरू?” 
“जसलाई तिमीहरूले दोरम्बामा मार्‍यौ।”
 
सिपाही झ्स्क्यो। ऊ अगाडि बढ्न सकेन। 
एक्लै हिंडिरहेकी युवती भण्डारा पुगिन्। त्यहाँ जलेर क्षत–विक्षत भएको एउटा बस थियो। सम्पूर्ण शरीर जलेकी ६ वर्षकी बच्ची तिनको अगाडि आइपुगिन्।  
“म काजोल खातुन! तपाईंले हामीलाई जिउँदै जलाउनुभयो, किन?” 
 
निरुत्तर युवतीमा अगाडि बढ्ने साहस रहेन। अब युवती र सिपाहीमा एकअर्काप्रति कुनै गुनासो थिएन। दुवैले एकअर्काको आँखामा हेरे। त्यहाँ विश्वासका किरण फुट्न लागे जस्तो थियो। दुवैले एकअर्काको हात दह्रोसँग समाए।  
 
'१३,२४६ हामी सधैं सम्झिरहने छौं।'
 
साँझ्सँगै माइतीघरस्थित अष्टमण्डल धपक्क बल्यो। सयौं मानिसको हातमा हजारौं मैनबत्ती। मैनबत्तीको मधुरो उज्यालोमा उदास, गम्भीर र शान्त अनुहारहरू।  
“बाबा, हामीले सम्झ्ने भनेको कसलाई हो? यो १३,२४६ भनेको के हो?”
 
मैले एउटा निर्दोष अनुहार देखें। त्यो सुकोमल अनुहारमा परिस्थितिले भारी गम्भीरता थुपारिदिएको थियो। छोराको बाबा देखेर अनायासै म झ्स्किएँ। मेरो छाती ताकेर बन्दूक बोक्ने सिपाही त यही मान्छे हो, जो अहिले फौजी परिधानमा छैन।  
 
“छोरा, हाम्रो देशमा अस्ति ठूलो आँधी आएको थियो। त्यतिबेला यति मानिस हराएका थिए। हामीले तिनैलाई सम्झिने।”
 
यो उत्तर भने नारी आवाजको थियो। म नजिक पुगें। उदास मुहार भएकी युवती त्यही सिपाहीको छेउमा उभिइरहेकी थिइन्। बच्चाको अनुहारमा ती युवतीको उदासीपन देखिन्थ्यो। अब कसरी बुझला उसले त्यो त्रासद १० वर्षलाई?  
 
“म पनि बत्ती बाल्छु।”  
 
आमा र बाबाले उदास मुस्कान साटासाट गरे।  
 
त्यहीं उभिएर सहस्र मैनबत्ती र मलिन अनुहारहरू नियालिरहें। १३,२४६ हत्याका प्रत्यक्षदर्शी आकाशका ताराहरू पनि म जस्तै मौनदर्शक थिए।
comments powered by Disqus

रमझम