सपनाको गाँस

Share:
  
- दीपक सापकोटा
p102
 
भानु भट्टराई

“सपनाले सिध्यायो सर।” 

यति भनेर ऊ थ्याच्च सोफामा बस्यो।   
 
नाम कृष्णकुमार केसी, घर कालीकोट, वर्ण कालो। हिजो यसले मोबाइलबाट कल ब्याक गर्न लगाएर पाँच मिनेट मेरो टाउको खायो। आज निवेदनको चाङमा अर्को एक थान हस्तलिखित पाना थपिदियो। 
 
कालोमैलो पहिरन छ। पहिरन के भन्नु, बल्ल–बल्ल आङ ढाकेको छ। गन्हाइरहेको छ, मैले सेन्ट नलगाएको भए अफिसमा बसिसक्नुहुने थिएन। माओवादी भएकोले मात्र म यो सब झेलिरहेको छु। जीवनमा उपलब्ध हुन आएका सबै राजनीतिक बर्को ओढियो, फ्याँकियो, तर अध्यक्ष माओप्रतिको सम्मान घटेको छैन, मभित्र। मेरो अगाडि अहिले तिनै बूढाको एक जना भुक्तभोगी अनुयायी हैरान अवस्थामा उपस्थित छ। उमेर २६ वर्ष भन्छ तर अनुहारमा ५६ का रेखाहरू छन्।  
 
“सर, कि मलाई आर्थिक सहयोग दिइयोस् कि त एक गोली हानेर शहीद बनाइयोस्”, उसले टेन्सन दियो, “सरले कि सरकारी सहयोग जुटाइदिनुपर्‍यो कि त अध्यक्ष कामरेडलाई भनेर गोलीको व्यवस्था गरिदिनुपर्‍यो।” 
 
मेरो कन्सिरी तातेर आयो। तर, उसको बलिरहेको आँखाले मलाई संयमित बनायो। म राजनीतिक नियुक्ति लिएर शान्ति मन्त्रालयमा छु। यहाँ मेरो काम पार्टीका नेताहरूलाई आर्थिक सहयोगको मेसो मिलाउनु र आफ्नो पनि कल्याण गर्नु हो। तर, यो मान्छेको बुझाइमा म मर्कामा परेका माओवादी कार्यकर्ता, युद्धको चेपुवामा परेका जनता र माओवादी पीडितहरूका लागि देश–विदेशबाट मन्त्रालयमा जम्मा भएको डलर सहयोग गर्ने महत्वपूर्ण सज्जन हुँ।  
 
“तपाईंलाई खास के भएको रे?” शान्त बनाएर टारिपठाउन सोध्छु। 
“हिजै फोनमा भनिसकेको छु सरलाई।” 
 
“हेर्नुहोस् कृष्णजी, यस्ता कुरा दैनिक कति सुनिन्छ कति। सबैलाई सहयोग गर्न सक्ने अवस्था पनि हुँदैन। व्यक्तिगत सहानुभूतिका कारण मात्र सोधेको हुँ”, मलाई झोंक चल्यो। 
 
गालाभरि छर्राका दाग भएको कृष्णको अनुहारमा पीडाभाव मडारियो। उसको देब्रे हातमा बूढीऔंला मात्र छ। उसले त्यही औंलाले कुहिनाभन्दा करीब दुईइन्च माथि नै ठुटो भएको दाहिने हातको घाउ मुसार्‍योे। पिंडुलाको गोली अझै ननिकालेकाले खुट्टाको भर रहेनछ। दुनियाँभरको सिफारिस लिएर आउनेहरूभन्दा पार्टीको सिफारिस नभएको ऊ भिन्न छ।  
 
पार्टीका केही मान्छेले भने अनुसार यो मान्छेले मसुरियातिरकी एउटी केटीका कारण क्यान्टोन्मेन्ट छोडेको थियो। क्याम्प परिवर्तन गरिदिंदा पनि बानीमा सुधार नआएपछि पार्टी कारबाहीमा पर्‍यो। यसले स्वेच्छिक अवकाशको रकम पनि त्यही केटीसँग उडाएको बताइन्छ। एड्स पनि भएको छ रे! पार्टीले नसकेको यसलाई अहिले मैले सम्हाल्न परिरहेको छ। एक कामरेडले त यसको दिमागको पुर्जा नै खुस्केको बताएका थिए। पिली भिडन्तमा लगभग मरेको उसलाई पार्टीले उपचारका लागि बैङ्गलोरसम्म लगेको र शान्ति प्रक्रिया शुरू भएपछि कैलालीको तालबन्दस्थित सातौं डिभिजनको घाइते दस्तामा राखेको उनले बताएका थिए।  
 
“मैले माथिल्ला तहका कामरेडहरूको आलोचना गरेकै हो, गद्दारलाई गाली गरेकै हो। आज मेरा हातखुट्टा छैनन्, न घर छ न त भविष्य नै। हामीमाथि घात भयो सर!” 
मैले सुनेको भन्दा फरक रहेछ, उसको फ्ल्यासब्याक।  
 
टुहुरो कृष्ण र उसकी बहिनीलाई विवाह नभएकी फुपूले हुर्काइन्। सदरमुकाममा भारी बोकेर बहिनीलाई तीन कक्षामा पुर्‍याएको बेला क्रान्तिकारीहरूले कामरेड 'काफिला' बनाइदिएपछि ऊ देश बदल्न हिंड्यो। एक रात उसले छोडेको झोला पड्कँदा उत्तरी कालीकोटस्थित उसको घर खाल्डोमा परिणत भयो। उसकी  फूल जस्ती बहिनी र बूढी हुँदै गएकी फुपू खाल्डोमा टुक्राटुक्रा भएर छरिए।  
 
यो पीडा र अपराधबोधलाई जित्न ऊ मोर्चाहरूको अग्रपंक्तिमा हेलियो। यसरी दर्जनौं पुल, प्रहरी चौकी, स्कूल, स्वास्थ्य चौकी, गाविस भवन, टेलिफोन टावर, सैनिक व्यारेक उडाउने क्रममा पिलीमा गम्भीर घाइते भयो, कामरेड 'काफिला'।  
 
“गरीबका बच्चासँग खेलबाड गरियो सर!” उसले उच्छवास छाड्यो। 
 
बैङ्गलोरसम्म पुर्‍याए पनि राम्रो उपचार नपाएको उसलाई बरु यसबीचमा रगतमार्फत एचआईभी इन्फेक्सन भएछ। त्यो पनि बल्झेको हातको उपचार गर्न नेपालगञ्ज अस्पताल बस्दा मात्र थाहा भयो। त्यहीं उसले विष खाएकी राजमार्गमा देहव्यापार गर्ने एउटी युवती भेट्यो। उसले घरमा बमको झ्ोला नछाडेको भए बहिनी पनि अहिले यत्रै हुन्थी। केटीलाई देखेर उसको बहिनीप्रतिको भावना र अपराधबोध बढ्यो।  
 
डोटीतिरकी त्यो केटी सेनामा जागिरे श्रीमानले गर्भावस्थामा पिटेर बच्चा खेर गएपछि सम्बन्धबिच्छेद गरेर सडकमा आइपुगेकी रहिछे। एचआईभी संक्रमित भएको कामरेड 'काफिला' ले केटीलाई मसुरिया लगेर राख्यो। घाउको दुखाइ, एड्स भएको पीडा र पार्टीको हेलाँहोचो बिर्सन ऊ लोकल दारुको शरणमा पर्‍यो, क्यान्टोन्मेन्ट–मसुरिया ओहोरदोहोर पनि बढ्यो।  
 
“आफ्नै कमाण्डरहरूले नै बद्नाम गरे सर!” उसले दाह्रा किट्यो। 
 
केही महीनापछि ऊमाथि मदिरा सेवन गरी विवाहित महिलालाई भेटेको, एड्स पीडित भएको र साङ्गठनिक प्रक्रिया मिचेकोमा कारबाही भयो, आइन्दा ऊप्रति पार्टी जवाफदेही नहुने गरी।  
 
“सत्य यही हो सर!” उसको सुस्केराले मलाई दिक्क बनायो।  
 
अकुत मुनाफामा सरकार चलाइरहेको पार्टी छ, पैसाको चाङ लगाएर बसेको हेडक्वाटर छ, निजी लगानीको क्षेत्र खोजिरहेका एक से एक नेता छन्। सपनाको गाँस लगाउन हिंडाइएको यो मान्छे चाहिं यहाँ मेरो टाउको खाइरहेको छ! मेरो दिक्दारी बढेर गयो।
comments powered by Disqus

रमझम